फलमा आशा नराख तर कर्म नछोड

  • मंगलबार, १८ जेष्ठ, २०७३
  • 11 months ago
  • NepaliPatra Blog
  • भीमसेन सापकोटा

गीता,अध्याय२श्लोक४७।।

मृत्यु मर्नेका लागि एक यात्राको विश्राम हो भने बाँच्नेका लागि हामी सबै त्यही बाटोमा छौं भन्ने ठूलो सन्देश हो । अरूको निधनमा विचरा भनिरहँदा आफू पनि त्यहि विचराकै पात्र हो भन्ने मानिस भुलिदिन्छ ।

समसानमा ‘हत्तेरी जिन्दगी केहि रहेनछ भन्दै’ वैराग्यको प्रदर्शन गर्ने मलामी घर नपुग्दैं फेरि उहि लोभ, उहि इष्र्या र पुरानै घमण्डमा डुक्रिन्छ । परि आए बाटैमा आफ्ना मलामी साथीसँग झगडा गर्दै अगाडि बढ्छ । मृत्यु आफ्नै साथमा छ, जतिखेर पनि उ आउन सक्छ भन्ने थाहा छ, हरेक महिना वा वर्ष आफन्तको वियोगमा उ रुन्छ , तर क्षण भरमै भुसुक्कै विर्सन्छ । तसर्थ, महाभारत ग्रन्थमा मान्छेको यहि अनौठो स्वभाव देखेर भगवान कृष्णलाई युधिष्ठीर सोध्छन्, ‘किं आश्चर्यमः!’ मान्छेको यस्तै यसैले भागवत गीताको दोस्रो अध्यायमा भनिएको छः

‘नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः ।

नचैनं क्लेदयत्यापो न शोषयति मारुतः ।।’ —आगो, पानी र शस्त्र वा कुनै बलले आत्मा नष्ट हुँदैन ।

वैराग्यलाई सतत याद गर्दा मात्र मानिस आफ्नो स्वरुपमा सधैं बाँचिरहन सक्छ । र जीवन रहँदैं मर्ने कला सिकेर मृत्युलाई साक्षी बनेर हेर्छ, अनि हरेक मृत्युलाई दुःख हैन उत्सवका रुपमा मनाउन सक्छ । शरीरसँगैं आफू मरेर जाने होइन, बरू राम्रा कृति, मिठा सम्झना, परोपकारी काममा उ मृत्युपछि यस लोकमा अमर बन्छ भने फेरि बारम्बार जन्मनु मर्नुपर्ने चक्रबाट मुक्ति पाई परमात्मासँग मिल्न पुग्छ ।

जतिसुकै धनी पनि मर्दा निर्धन हुन्छ, त्यसैले त मृत्युको अर्को नाम निधन (विना धनको) हो । धन त समसान नपुगुन्जेलमात्र हो, सस्तो लोकप्रियता पनि मृत्यु शैय्यासम्म नपुग्दा मात्रै हो । तसर्थ केवल धनी हैन असल र सस्तो ख्याति हैन अमर कृति जोड्नेतर्फ पाइला चल्दा मात्र मृत्यु पीडाको मलम भेटिन्छ । जीवन भनेको दुई दिनको हो । एक जन्मेको दिन, जुन दिनदेखि हामीले जीवन्त रहन पहिलो कार्य श्वास लिन्छौं र अर्को मर्ने दिन जुन दिन हामी त्यो श्वास प्रकृतिलाई नै फिर्ता दिन्छौं ।

त्यसैले यो जीवन दुई दिनकै हो । हामी चितामा जल्दै गरेको लाशलाई देखेर डराउँछाैं, ‘कतै पोल्यो कि’ भनेर । मरिसकेको लाशलाई त के पोल्छ र उसले त लोभ, पाप,इष्र्या र मोहको भाग दौडबाट मुक्ति पायो, बरू संसारको लोभ, कहिल्यै तृप्ति नहुने मोह , हरेक दिनको तनाव, थोरै हाँसो र धेरै दुखाईले वित्ने दिनचर्या, देखासेखीले निम्त्याएको अनावश्यक ऋण रुपी संसारको आगोले हामी आफैं जलिरहेका छौं । जीवनले मृत्युलाई एकवार सोधेछ ‘मृत्यु’ तिमीलाई मानिस किन मन पराउँदैनन् र मलाई किन सुन्दर भन्छन् ! मृत्युको जीवनलाई जवाफ यस्तो थियो, ‘तिमी मिठो झुठ हाैं र म तितो तर साश्वत सत्य हुँं ।’

जवाफ सटिक थियो तर हामी थोरै मिठोको लागि झुटो मै रम्न मन पराउँछौ तर नभोगी नहुने तितो यथार्थ टाढा भाग्न कोशिस गर्छौं । आजकल आँशुको मूल्य यति सस्तो भएछ कि दोषीहरु पनि दुईचार थोपा आँशु खसालेर आफूलाई निर्दोष सावित गर्न खोज्दैछन् ।

मृत्युका बारेमा कवीर भन्छन् ः
झूठे सुखको सुख कहे, मानत है मन मोद ।
खलक चबैना कालका, कुछ मुंह में कुछ ।। —कवीर

झुठो सुखलाई मान्छे सुख ठान्छ तर संसारका सबै जीव कालको भोजन हो । कुनै खाइसक्यो भने कतिलाई खान काँखमा राखेको छ । त्यसैले त बुद्धले भनेका छन् ‘बुद्धिमान तरिकाले जो जिउँछ उसलाई मृत्युको डर हुँदैन । मृत्यु त थोत्रिएको, रोगले जीर्ण बनेको, दुःखले पिरोलोएको, सन्तुष्टिको खडेरी परेको शरीरबाट मुक्ति पाएर अर्को नयाँ स्वरुपमा प्रवेश गर्ने द्वार मात्र हो ।

मृत्युले जीवनलाई टुङ्याउँदैन बरू स्थान परिवर्तन गराउँछ । कालले शरीर खोसे पनि आत्माको स्वतन्त्रता कहिल्यै खोस्न सक्दैन् । मृत्युको भयबाट पार पाउन निम्न अभ्यास सहयोगी हुन सक्छन् ।

—जीवनका हरेक घटना हाँसेर स्वीकार्ने बानी बसालौं ।
—कसैलाई साँच्चै माया गर्नु हुन्छ भने उसको मृत्यु नहुँदै सकेसम्मको उपकार गर्नुहोस् ।
—हरेक दिन तपाईंलाई ८६ हजार ४ सय सेकेन्ड समयको उपहार प्राप्त छ, तपाईंले यस्तो उपहार दिने परमात्मालाई धन्यवाद दिन के त्यो एक सेकेण्ड पनि उपयोग गर्नु भएन् ! कृतज्ञ बन्न आजैबाट हरेक सेकेन्डको उपयोग गरौं ।
—शरीर सुन्दर हैन, मन सुन्दर बनाउने अभ्यास गरौं, अरूलाई देखाउन हैन आफ्नै लागि जीवन जिउँ ।
—जो पक्षपाती छ उ सँग पो डराउने मृत्यु त सदैव निष्पक्ष छ, धनी, गरिव, जातजाती, रुप वर्ण कसैसँग पनि भेदभाव राख्दैन् ।
—जीवन र मृत्युको भोक्ता हैन , द्रष्टा वा साक्षी बनौं ।
—चिताको आगोले हैन, इष्र्या, लोभ लनले मानिस बदलिने गर्छ । चिताको चिन्ता नगरौ, बरू जलन र लोभको न्युनीकरण गर्न हरेक दिन योग ध्यान र साधनामा जुटौं ।
—हरेक दिन उठेर आज नै मेरो अन्तिम दिन हो भने म के—के गर्ने थिएँ सम्झनुस् र सोहि अनुरुप योजना छान्नुहोस् ।
—झोलाहरू धेरै भए यात्रा गाह्रो हुन्छ, इच्छाहरू धेरै भए बाँच्न र मर्न दुवै गाह्रो हुन्छ । अति लोभयुक्त हैन साधारण जीवन जिउ ।
—बोल्न सक्छौ भने मीठो बोल, छच्चो बोली कहिल्यै नबोल ।
—कुनै पनि चिज आफ्नो पसिनाको कमाइले किन्नुहोस् र उपयोग गर्नुहोस्, इच्छाहरु आफै घटेर जानेछन् ।
—मानिसले आफ्नो उद्धार आफै गर्नुपर्छ । आफैले आफूलाई बिग्रनबाट बचाउनुपर्छ किनभने मानिस आफै आफ्नो साथी हो र आफै आफ्नो शत्रु पनि ।
—सानो कुरामा मनमुटाव गर्नु महामूर्खता हो । घाउ त महलम लगाउँदा पनि चह¥याउँछ त्यसैले आजीवन खुशीको लागि क्षणिक पीडाहरु अगाल्न सक्नुपर्छ ।
—पानीका थोपाले झर्छु भनेर डराएको भए धर्तीमा मनसुन नै हुन्न थियो । झरेर पनि धेरैको मन जित्न सकिन्छ । आफू चुहिएपनि अरुको समस्या टाल्न सकिन्छ ।
—सधंै आफ्नो सानो—सानो गल्तीबाट बच्ने कोशिस गर्नुहोस् । किनकी मानिस पहाडसँग हैन, सानो—सानो ढुंगासँग ठक्कर खान्छन् ।


    Your Comment

    hamropatro


    प्रेम र यौन

    लुकी–लुकी मोबाइलमा पोर्न भिडियो हेर्छन् महिला

    लुकी–लुकी मोबाइलमा पोर्न भिडियो हेर्छन् महिला

    काठमाडौं । मोबाइलबाट पोर्न भिडियो हेर्नेमा महिलाहरु पुरुषभन्दा निकै अघि देखिएका छन् ।

    जीवनशैली

    वृद्धहरुले धेरै औषधि प्रयोग गर्दा हुन्छ यस्तो असर

    वृद्धहरुले धेरै औषधि प्रयोग गर्दा हुन्छ यस्तो असर

    एजेन्सी–वैज्ञानिकहरुले गरेको एक अध्ययनले दैनिक ५ वटाभन्दा बढी औषधिको चक्की लिनुले वृद्धहरुलाई झन् कमजोर बनाउने निष्कर्ष निकालेको छ । वैज्ञानिकहरुका अनुसार बढ्दो उमेरका साथै अधिक औषधि सेवनले कार्य गर्ने क्षमतामा प्रभावित पार्छ ।

    विचित्र विश्व

    यो हो विश्वकै सबैभन्दा ठुलो भान्छा

    यो हो विश्वकै सबैभन्दा ठुलो भान्छा

    एजेन्सी–विश्वको सबैभन्दा ठुलो भान्छा कहाँ रहेको छ ? सायद यसबारे कमै मानिसहरुले ध्यान दिने गर्छन् । तर भारतमा यस्ता धेरै ठुला भान्छाहरु रहेका छन् जसमा दिनहुँ लाखौ मानिसहरुले भोजन गर्ने गर्छन् ।