गणतन्त्रमा केराका कुरा !

काठमाडौं । माओवादी जनयुद्धका क्रममा ७ बर्ष जेल परेका तिलक शर्माले चार बर्ष पहिले गज्जबको योजना सुनाए । सादगी नेताको छबी बनाएका बर्दियाली नेता शर्मा पूरा आत्मबिश्वासका साथ भन्दै थिए –केरा खेती गर्ने, ०७० सालमा संविधानसभाको निर्वाचनमा उम्मेदवार हुँदा लागेको ऋण पनि तिर्ने र स्थानीय पनि भइ टोपल्ने । बाग्लुङबाट बर्दिया बसाइ–सराइ गरेको ४० बर्ष बितेपनि उनलाई बर्दियामा पयर्टक उम्मेवारका रुपमा हेरिएको थियो । भूमीगत राजनीति र जेल जीबनका कारण उनको सार्वजनिक छबी बन्न सकेको थिएन ।

 

नभन्दै, सदरमुकाम गुलरिया नजिकै जग्गा भाडामा लिएर शर्माले केरा खेती थाले । जीबनभर श्रम र श्रमिकका कुरा गर्ने तर श्रम फिटिक्कै नगर्ने ‘कमाउनिष्ट’हरुको भीडमा उनी कम्युनिष्ट हुन हौसिएका थिए । होष्टेमा हैंसे गर्न क्यामरासहित म उनको केराबारी पुगेँ । हर्लक्क हुर्केका केराका खाम देखाउँदै उनले दामको आँकलन गर्न भ्याए–यसपाली कम्तिमा ६ लाख उब्रिएला ।

 

६ महिना नबित्दै शर्मासँग भेट भयो । ‘नाफा कति भयो ?’ प्रश्न सुन्न नपाउँदै उनी खित्का छाडेर हाँसे, मानौ म उनीसँग मजाग गरिरहेको थिएँ । लज्जामिश्रित भावमा उनले प्रतिक्रिया दिए–केराले डुबायो, ऋणमाथि ऋण थप्यो ।

 

लेखक पाैडेल

 

त्यसबीचमा उनी केरा कृषकका अगुवा भइसकेका रहेछन् । खेतीमा अनुभव कम भएपनि उनको तिख्खर अभिव्यक्ति र राजनीतिक विरासतका कारण अरु कृषकले पनि उनको मुख ताक्न थालेछन् । भित्रभित्रै खेतीबाट पूरै निराश भएपनि उनले बाहिर कृषकलाई आशा जगाउने प्रयास जारी राखेका थिए । यिनै पृष्ठभूमीसहित शर्माले कृषकका लम्बेतान कन्तबिजोग सुनाए । सार यस्तो थियो ।

 

नेपालमा केरा खेती राम्रो हुन्छ । हावापानी सुहाउँदो भएकाले खेती गर्न खाशै कठीन छैन । कठीन छ त बजार पाउन । अधिकाँश कृषकसँग आफ्नो जमीन छैन । जमीन भाडामा लिँदा देखि खर्च शुरु हुन्छ । भरपर्दो सिचाइँ छैन । बिद्युतीय सिचाइँको भर पर्नुपर्छ । बिजुली यात छैन, भएपनि महँगो छ । मल महँगो छ । मजदुर पाइँदैन, पाइहाले पनि टिक्ने र भरपर्ने मजदुरी छैन । सरकारी योजना खेतसम्म पुग्दैन । जसोतसो गरेर केरा फल्छ । तर, बजारसम्म पुर्याउने संयन्त्र छैन । बजारमा पुर्याएर पनि हाम्रो केरा बिक्रि हुँदैन ।

‘किन ?’

 

किनकी हाम्रो केराले भारतीय केरासँग प्रतिष्प्रर्धा गर्नै सक्दैन । न्युनतम फाइदा राखेर बेच्दा पनि हाम्रो केरा महँगो हुन्छ । हामी दर्जनको कुरा गर्छौ, त्यो भन्दा सस्तोमा भारतीय केरा किलोमा पाइन्छ । अरबौँको केरा भारतबाट नेपाल भित्रदो रहेछ ।

‘कारण ?’

 

हामीले प्रयोग गर्ने मल, बिउ, मजदुरी सबैजसो भारतकै हो । मल, बिउ भारतीय भन्सारमा कर तिरेर ल्याइएको हुन्छ । भारतले आफ्ना कृषकलाई अनुदान दिन्छ । यता अनुदानको कुरा छाडौँ, सरकारी संयन्त्रले दुःखमात्र दिन्छन् । भारतमा चक्लाबन्दी गरेर ठूलो मात्रामा उत्पादन गरिन्छ । त्यसो गर्दा लागत कम हुन्छ । यता हाम्रोमा टुक्रे खेती गरिन्छ । त्यसमाथि नेपाली बजारमा भारतीयहरुको यस्तो सेटिङ छ कि उताको केरा सजिलै बिना कर आयात हुन्छ, हाम्रो केराको कारोवार हुनै दिइँदैन । त्यसैले केराले लोप्पा खुवाउला जस्तो छ ।

 

शर्माले सुस्केरा हाले । मौकामा चौका हान्दै गणतन्त्रका योद्धा उनलाई मैले दनक दिएँ–केरा गणतन्त्रमा यस्तै हो । 

 

‘हामीले लडेर ल्याएको गणतन्त्रको खिल्ली उढाउने तँ को ?’ प्याच्च उनले प्रश्न गरेनन्, बरु ध्यान दिएर गणतन्त्रको ब्दख्वाइँ सुन्न तयार भए । 

 

सरल भाषामा भन्दा सजिलै फलाउन सकिने केरापनि आयात गरेर खानुपर्ने, भ्रष्टाचारमा चुर्लुम्म डुबेको तर जनताको नाममा शासन गरिने निकम्बा व्यवश्थाको अर्को नाम हो –केरा गणतन्त्र ।

राजाको सक्रिय शासनमा गणतन्त्रको पक्षमा कलम चलाएकै कारण झण्डै चिलिम पारिएको मेरो विगतका बारेमा उनी जानकार थिए । गणतन्त्रका लागि कुर्लदा पिठ्युमा कहिल्यै नमिटिने गरी पारिएका ठामका बारेमा शर्मा अनभिज्ञ थिएनन् । सायद यही भएरपनि उनी मेरा कुराप्रति धैर्य थिए ।

 

अन्तराष्ट्रिय सम्बन्ध, व्यापार र विकासको विद्यार्थीका रुपमा अहिले केरा गणतन्त्र (बनाना रिपब्लिक)का बारेमा अनेक थुंगा र परिभाषा साभार गर्न सक्छु । तर केरा गणतन्त्रका बारेमा कुरा गर्न आफ्नै जीबन भोगाइ र देखाइ प्रयाप्त छ । त्यसैले कितावी कोरा कुरा गर्न भन्दा केरा गणतन्त्रका बारेमा अर्को अनुभव थप्छु । 

 

मैले देखे बुझेका मध्येका असल मान्छे जब्ढाने माइला हुन् । ०७१ सालमा बाढीले उनको श्रीसम्पत्ति सबै लगिदियो । बर्दिया पदनहाका छिमेकी उनलाई मैले सोधेँ–पीडाको सामाना कसरी गरिरहनुभएको छ रु अनपढ माल्दाइले महान बैज्ञानिक आइन्स्टाइनले झैँ उत्तर फर्काए–भगवानले परीक्षा लिइरहेको ठानेको छु , सायद जे थियो त्यो भन्दा राम्रो हुनका लागि सबै गयो । वाह ! उनको उत्तर सुनेर छक्क परेँ ।

 

केही महिनापछि उनै कर्मठ माल्दाइको हसिलो बोलि फोनमा गुन्जियो– तपाइँको बुबाको खेत अधियाँ लिएर तरकारी खेती गरेँ भाइ । खुब फलेछ । काठमाडौँ आउछु, कालीमाटीमा बुझिदिन प¥यो । म धम्मरधुस लाएर कालीमाटीमा तरकारी बेच्ने सूत्र खोज्न थाले । त्यहाँ जेरी जस्तो जेलिएको सिण्डिकेट रहेछ । बल्लतल्ल एकजना मजदुर नेतासँग सम्पर्क भयो । उनले बन्दा किलोको १४ सम्म बिक्रि गराउन सक्ने बचन दिए । ‘बाहिर हामीले ४० मा किनिरहेको बन्दा कालिमाटी नै ल्याएर दिँदा १४ मात्रै ?’ झोक मिश्रित प्रश्नको उत्तर उनले सजिलै दिए–तपाइँको आफ्नै बन्दा भनेर त्यति दिने हो, अरुको भए त्यति पनि कहाँ दिन्छन् र ?

माल्दाइलाई मैले फोन गरेँ–बन्दा उतै बेच्नु, यहाँ १४ भन्दा पर्दैन । दाइ त उल्टो उत्साहित सुनिए –यहाँ बारीबाट बेचे सात पर्छ, पूरा बिक्री पनि हुन के गर्छ । त्यहाँ डब्बल पर्ने रैछ । 

 

कालीमाटीमा किनवेचको वातावरण मिलाइदिने जिम्मा लिएका व्यापारीसँग माल्दाइ आफैँले संवाद थाले । तिथिमिति मिलाए । र, १५ हजार किलो बन्दा ट्रकमा लादेर माल्दाइ काठमाडौँ हानिए । थानकोट आइपुग्दासम्म सम्पर्कमै रहेका बिचौलिया नेतासँग कालीमाटी आइसकेपछि भने सम्पर्क हुन छाडेछ । कालीमाटीमा भेट हुँदा माल्दाइको होसहवास उढिसकेको थियो । त्यो दिन त्यत्तिकै बित्यो । माल्दाइको रात बन्दा कुरेरै बित्यो । भोलिपल्ट बिहान बिचौलियाले फोनमा क्षमायाचना गरेछन् । माल्दाइले निराश स्वरमा सुनाए–भाइ बर्बाद भयो, पाँच भन्दा नदिने भन्छ । 

बिचौलियाको भर नपर्ने निधो गरियो । आफैँ बेच्ने सुर कसियो । तर, बेच्नु कसरी ? कालीमाटीको कृषकमारा जालो तोड्न नसकिने रैछ । तेस्रो दिन काठमाडौँमा भुकम्प गइगो । त्यसपछि बन्दाको पछि को लागोस ! बन्दा भुकम्प पीडितलाई दिने निर्णय गरियो । 

 

नाफा कमाउन नसकेर बाँड्न लागिएकाले धर्म गरिएको उत्साह हामीमा थिएन । चौटा खान गएकी बुढी झोलमा डुबेर मरी जस्तो भएको थियो । अन्यथा, दुई लाख बराबरको बन्दा दान गरेको भन्दै नायक बन्थे दाइ । सहनायक बन्ने मौका मेरोपनि थियो । उनले लोभ गरेनन् । बिचरा, फर्कने भाडासमेत उनीसँग थिएन । स्वर्गवासी माल्दाइलाई सम्झेर यो सन्दर्भ लेख्दा मेरा आँखा रसाएका छन् । 

 

कृषीप्रधान देशमा कृषी र कृषक दुबैको हालत खराब छ । सफल राजनीतिकर्मीका रुपमा स्थापित भएपनि काँग्रेस नेता गगन थापा कृषिमा असफल भए । चुनावमा उनका बाख्राको खोजी निकै भयो । व्यवसायीक समस्याका कारण बाख्रा पालन धराशय भएको भन्ने थापाको स्पष्टिकरण रह्यो । सत्ताको दाउमा ताउ लाउने हैसियतका थापाको व्यवसाय धराशयी भयो भने अरुको हुनु नौलो भएन । थापाका हराएका बाख्रा खोजी गर्ने मुख्य व्यक्ति हुन्ः केशब स्थापित । स्थापित अहिले सोही क्षेत्रका प्रदेश मन्त्री छन् । अब स्थापितले नत थापाका बाख्रा खोज्छन्, नत थापाले कृषकका व्यथा सुन्छन् । 

 

प्रधानमन्त्री केपी ओलीका बिकासे कुरा बासी सुनिन थालेका छन् । एमालेको ५१ सालको अल्पमतको सरकार ९ महिनामात्र टिकेको थियो । ओली सो सरकारमा गृहमन्त्री थिए । कमजोर जगमा बनेको सो सरकारले छोटो अबधीमै बिकासको संचार र आभास गराएको थियो । अहिलेजस्तो संचारसंयन्त्र थिएन तरपनि गाउँगाउँमा बिकासको बाछिटा र नारा तिब्र बेगमा पुगेको थियो ।

बिकासे नारासहित चुनाव लडेका ओली दुई तिहाइ बहुमतधारी शक्तिशाली प्रधानमन्त्री हुनुहुन्छ । स्थानीय सरकारमा पनि ओली नेतृत्वकै पार्टीको बर्चश्व छ । अर्थात देशमा ओलीजीले बोलेको कुरामा ब्यवधान गर्ने सामाथ्र्य कसैको छैन । स्थानीय तह गठन भएको झण्डैँ एक बर्ष र सरकार गठन भएको आधाबर्षसम्म देखाउन लायक काम केही भएको छैन । घोषणापत्रमा लेखिए झैँ काठमाडौँमा दुई बर्षभित्र मोनो रेल गुड्नेवाला छैन । दुई बर्षको कुरा परै जाओस्, ओलीजीको कार्यकालभित्र पनि रेल गुड्ने छैन । ओलीजीले सपाट शैलीमा यो चुनावपछि नमस्कार गर्दै पाँच हजार बृद्धभत्ता खनखनी गनेर दिइन्छ भनेर गरेको भाषण अहिले भाइरल भइरहेको छ । काँग्रेसले ढुकुटी रित्ताएर बृद्धभत्ता बढाउन नसकिएको भन्ने जवाफ सायदै चित्तबुझ्दो छ । आफू प्रधानमन्त्री हुनुभन्दा दुई महिना पहिले यदि र तरसमेत नजोडी गरिएको सपाट वाचा थियो त्यो । 

 

प्रधानमन्त्री ओलीको भाषण सुन्दा विकासको र्याल छुट्थ्यो । नाकाबन्दीका बेला काठ खोजी खोजी खाना बनाएका काठमाडौँबासी जनताले ओलीजीको घरघरमा पाइपबाट ग्यास पुग्ने कुरा नपत्याएका होइनौँ । अब बिस्तारै ओलीजीको बोली पट्यार लाग्दो सुनिन थालेको छ । सामाजिक संजालमा अपलोड गरिएका प्रधानमन्त्रीका भाषणमा हिजो नगन्य आलोचना हुन्थ्यो, आज नगन्य समर्थन हुन थालेको छ । 

 

बेथितिको साक्षी बसेर भोलि सुशासन आउछ भन्न कम्तिमा दुई तिहाइ बहुमतवाला सर्वशक्तिमान प्रधानमन्त्रीलाई सुहाउँदैन । सरकार बनेको छ महिना बितिसक्दा पनि बिकासको छेकछन्द देखिएको छैन । प्रधानमन्त्री आफैँ दिनहुँ सवार हुने राजधानीकै बाटा पोखरीमा परिणत भएका छन् । आफ्नै बलबुताले बेलैमा बनाउन सकिने बाटा बनाउन नसक्ने संयन्त्र र अधिकारीको टुप्पी तान्न प्रधानमन्त्रीलाई कस्ले रोकेको छ ?

 

झमझम पानी परिरहेको बेला बाटो पीच गर्न झ्वामझ्वाम बजेट निकास भइरहेको छ । यही बजेट दुई महिना पहिले निकासा गर्न र बाटो मर्मत गर्न सर्बशक्तिमान सरकारलाई कसैले छेकेको थियो ? ऐन नियमको कुराले यो सरकार छेकिदैन, किनकी यो सरकार संविधान संशोधन गर्ने हैसियतको छ । 

 

अर्काले बनाइदिने भनिएको रेलका किस्सा सुनाएर मात्र अब पुग्दैन । रेल आइहाले पनि आमूल परिवर्तन हुने छैन । रेल ढिलो चाँडो आउँदै गर्छ, रेल आउनुभन्दा पहिले पनि बाच्नुपर्छ । प्रधानमन्त्री ओलीलाई सुझाब दिँदै जाममा फसेका पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई लेख्छन्– रेलका कुरा गर्दै गरौँला, भएका बाटा मर्मत गर्ने र बैकल्पिक बाटा तत्काल बिस्तार गर्ने कि ?

 

आफ्नै बजेट ल्याउन नपाएपनि प्रधानमन्त्री भट्टराईले बाटो बिस्तारको ऐतिहासिक थालनी गरेकै हुन् । भट्टराईको कठोरता र तप्परता बिना बाटो बिस्तार असम्भव रहेको डाक्टर भाइकाजी तिवारीले पटकपटक सार्बजनिकरुपमै भनेका छन् । एमालेकै साँसद प्रेम आलेले बजेट बिनियोजनका भएको बेथितिका सम्बन्धमा संसदमा कुर्लिएको धेरै भएको छैन ।

 

‘बिकास बोलीले हुँदो रहेनछ भन्ने कुरा कस्ले सम्झाइदिने ?’ गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलमा भएको ढिलासुस्ती र कमिसनखोरीको प्रसंग निकाल्दै पूर्वप्रधानमन्त्री माधबकुमार नेपालले अघिल्लो संसदमा ओलीमाथि त्यसै ब्यंग्य कसेका होलान् र ? 

 

ओलीलाई नेता बनाउन कार्यकर्ताको महत्वपूर्ण भूमिका छ । तर, प्रधानमन्त्री बनाउन कार्यकर्ताभन्दा बाहिरका पंक्तिको मुख्य भूमिका छ । आफ्ना नेता प्रधानमन्त्री भएको बेला अलिकति उकासिउँ भन्ने अपेक्षा धेरैजसो कार्यकर्तामा हुनु स्वभाविक हो । अहिले सबैभन्दा खतरा ओलीजीका लागि यही आशा हो । यो आशा पूरा गर्नकै लागि बजेटको बिनियोजन भएका दृष्टान्त अनेक छन् । आफ्नै साँसदहरुलाई बजेटको बिरोध नगर्न प्रधानमन्त्रीले ह्रवीप जारी गरेको सन्दर्भ यसैको प्रमाण हो । साँसदको मुख थामिएला, किनकी भोलिको राजनीति जिवित राख्नु छ । तर, राजनीतिक लाभहानीको हिसाव नराखी ओलीजीको काँध थापेका लाखौँलाई ओलीजीको बोली कम्तिमा पनि अब काफी छैन । कामै चाहिएको छ ।

 

केही मन्त्री पेवा पत्रकार राखेर आफ्नो लोकप्रियता बढाउन उद्यत छन् । सारमा काम नगर्ने तर समाचार भने राम्रा बनाउने संयन्त्र केही समयलाईमात्र उपयोगी हुन्छ । यसअघि लोकप्रिय स्टन्डको संस्थागत थालनी गरेका गोकर्ण विष्टको गोपी क्याच्च हुने सम्भावना देखिएको छ । उम्दा लालबाबु पण्डित सुस्ताएका छन् । केही गर्ने हुटहुटी बोकेको देखिएका गृहमन्त्री बादलको कार्यशैलीमा बादल मडारिन थालेको आभाष हुन थालेको छ । प्रचण्डको राजनीतिक राप र तापमा छिट्टै उदायकी बिना मगरलाई पदीय गरिमा बचाउन धौ धौ परेको छ । करुण आँशु र मिठो मुस्कानले मात्र पदीय जिम्मेवारी पूरा नहोला । निकै आशा गरिएका रबिन्द्र अधिकारीको कार्यशैलीका बारेमा यतिविघ्न टिप्पणी होला भन्ने सायदै कसैले सोचेको थियो । अर्बौको सवाललाई झिनामसिना प्रश्नको संज्ञा दिने र चिटचिटी पसिना काड्ने परिश्थिति उनको हकमा सृजना होला भन्ने कल्पना गरिएको थिएन । यातायातमा सिण्डीकेड तोडिएकोमा पुरस्कृत हुनुपर्ने कर्मचारी जगेडामा राखेर तमासा गरेको आरोप रघुबीर महासेठमाथि लागेको छ । अर्थशास्त्रीका रुपमा ख्यातिप्राप्त युवराज खतिवडाले ल्याएको बजेटले आशा कम जगायो, आलोचना बढी कमायो । समग्रमा भन्दा सपनाको कार्गो बोकेर उडान भरेको जेटरुपी सरकारको राडारसँग सम्बन्ध विच्छेद भएको छ । यसर्थ दुर्घटनाको जोखिम ज्यादा देखिन्छ । 

 

यो सरकार सफल हुनु देश समृद्ध हुनु हो । किनकी अर्जुन दृष्टि राखेमा चाहेको परिणाम निकाल्न सक्ने सामाथ्र्यसहितको यति शक्तिशाली र स्थीर सरकार यसपछि अर्को बन्न कठीन छ । तसर्थ यो सरकारलाई सफल बनाउन रचानात्मक आलोचना अनिवार्य भएको छ । 

 

यो सरकार सफल भएमा गणतन्त्र सफल हुने छ । गणतन्त्र आएपछि कायापलट हुने आशामा सडकमा निस्किएका लाखौँको भरोसाको भारी सरकारले बोकेको छ । 

 

नौ महिना गर्भमा राखेर प्रसव पीडा खेपेर जन्माएको सन्तानको कसैले खिल्ली उडाउदा आमाको मन अमिलो नहुने कुरा हुँदैन । तर, बुद्धिमान आमा ती हुन् जसले खिल्ली उडाउनेसँग झगडा गर्न छाडेर सन्तानको उपचारमा ध्यान दिन्छिन् । सन्तानलाई बिग्रन नदिन कमजोरीको लेखाजोखा गर्छिन । यही कुरा राजनीतिमा पनि लागू हुन्छ । गणतन्त्र ल्याउन कुनै भुमिका नभएका भनिएकाहरुले प्रिय गणतन्त्रलाई केरा भनि खुइल्याउन थालेपछि गणतन्त्रका जननीहरुको कन्सिरी ठाडा हुनु स्वभाविक छ । कन्सिरी ठाडा पार्दैमा यक्ष प्रश्नको उत्तर आउँदैनः केरामा समेत परनिर्भर गणतन्त्रको उपचार गर्ने कि केरा भनेर खिल्ली उडाउनेसँग जाइ लाग्ने ? आगे आमाहरुकै मर्जी ।

 


थप समाचार

बेलायतका लिम्बूहरुले मनाए सिसेक्पा तङनाम (फोटोफिचर)

  • 6 hours ago
बेलायतका लिम्बूहरुले मनाए सिसेक्पा तङनाम (फोटोफिचर)

बेलायतमा रहेका लिम्बुहरुले आफनो मौलिक पर्व सिसेक्पा तङनाम अर्थात साउने सक्रान्ति भव्य रुपमा मनाएका छन् ।

बेलायती राजदूतसंगको भेटमा गृहमन्त्री बादलले राखे गोर्खाहरुको समस्याबारे चासो

  • 6 hours ago
बेलायती राजदूतसंगको भेटमा गृहमन्त्री बादलले राखे गोर्खाहरुको समस्याबारे चासो

नेपालका लागि बेलायतका राजदूत रिचार्ड मोरिसंग मंगलबार भएको भेटवार्तामा मन्त्री बादलले गोर्खाका समस्याहरुबारे चासो व्यक्त गरेका हुन् ।

जुलाई २९ मा लण्डनको लर्ड्समा खेल्ने नेपाली टोली घोषणा

  • 7 hours ago
जुलाई २९ मा लण्डनको लर्ड्समा खेल्ने नेपाली टोली घोषणा

एमसिसी र नेदरल्याण्डसंग हुने नेपालको त्रिकोणात्मक खेलका लागि १५ सदस्यीय टोली घोषणा भएको हो । पारस खड्काको कप्तानीमा ४ जना वैकल्पिक खेलाडीसहित टिम घोषणा भएको हो ।


Loading...

भिडियो

जीवनशैली/स्वास्थ्य

‘S’ बाट नाम सूरु भएका मानिसहरु कस्ता हुन्छन् ?

‘S’ बाट नाम सूरु भएका मानिसहरु कस्ता हुन्छन् ?

एजेन्सी । अंग्रेजीको १९ औ लेटर ‘एस’ । किताबी ज्ञान बाहेक व्यवहारिक ज्ञानमा पनि ‘एस’ लेटरको महत्व रहेको बताइन्छ ।

विचित्र विश्व

यस्तो पनि ! १४ वर्षको उमेरमा प्रोफेसर...

यस्तो पनि ! १४ वर्षको उमेरमा प्रोफेसर...

सुन्दा अचम्म लाग्न सक्ला, १४ वर्षको उमेरमा प्रोफेसर । तर, यस्तै भएको छ । लीसेस्टर विश्वविद्यालयमा एक १४ वर्षीय मुस्लिम किशोर गणित विषयका प्रोफेसर बनेका छन् । याशा एस्लेलाई लीसेस्टर विश्वविद्यालयले अतिथि शिक्षकको रुपमा चयन गरेको हो ।