Techie IT
२०८१ वैशाख ६, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालभूकम्पले खोसेको गोरख–शोभाको खुसी

भूकम्पले खोसेको गोरख–शोभाको खुसी


कर्णाली । जाजरकोटको बारेकोट गाउँपालिका–४ जिरीका गोरख सिंह र शोभा सिंहलाई राहतभन्दा पनि खाइलाग्दो अवस्थाका दुई छोरीको निधनले आहत बनाएको छ ।

यही कात्तिक १७ गते शुक्रबार राति ११ः४७ बजे बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशलमलव ४ रेक्टर स्केलको भूकम्पले सिंह दम्पतीका दुई छोरी उपसना र ऊर्जाको ज्यान गयो ।

घटना भएको एक साता बित्न लागेको छ । २१ वर्षीया उपासना र १८ वर्षीया ऊर्जाको निधनले सिंह दम्पतीका आँखा ओभाएका छैनन् । पछिल्लो समय बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ मा बस्दै आउनुभएका सिंह दम्पती दुई छोरीसहित दसैँ मनाउन गत असोज २८ गते मात्र बारेकोट गाउँपालिकास्थित जिरीगाउँ उक्लिनुभएको थियो । दशैँ मनाएर बाबाआमासँगै बारेकोटबाट दुवै दिदी–बहिनी यही कात्तिक १० गते जाजरकोट सदरमुकाम फर्केका थिए । बुबाआमा मावली सदरमुकाम खलङ्गास्थित घरमा बस्दा उपासना र ऊर्जा शुक्रबार सानीआमाको घरमा बास बस्न गएका थिए । उनीहरूसँगै सानीआमाकी २५ वर्षीया छोरी मेरिना आरसीको पनि शुक्रबार राति भूकम्पमा परेर ज्यान गयो । मेरिना कुसे गाउँपालिका–९ पैंक निवासी सुष्मा र सनत आरसीका कान्छी छोरी हुन् ।

सिंह दम्पतीकी जेठी छोरी उपसना ललितपुरको सानेपास्थित एभरेष्ट इन्जिनियरिङ कलेजमा स्नातक तहको पाँचौँ सेमेस्टरमा अध्ययनरत थिइन् । उनको सपना थियो उच्च शिक्षा विदेशमा गएर लिने र पुनः नेपाल फर्केर सूचना तथा प्रविधिको पहुँचबाट बञ्चित रहेको दुर्गम कर्णालीका बस्तीमा काम गर्ने । गत कात्तिक १७ गते राति गएको भूकम्पले उनको सपना चकनाचुर बनायो ।

सिंह दम्पतीकी कान्छी छोरी ऊर्जाले नेपालगञ्जस्थित स्टी थोमस इङ्लिस माध्यमिक विद्यालयबाट विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरेकी थिइन् । उनी चिकित्सा शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जाने तयारीमा थिइन् । उनको सपना थियो चिकित्सक बनेर समाजसेवा गर्ने । त्यसका लागि अष्ट्रेलियाको सबै तयारी गरिँदै थियो । यही डिसेम्बरको अन्तिम साता अष्ट्रेलिया उड्ने ऊर्जाको सपना पनि भूकम्पले खरानी बनायो ।

ऊर्जाले यसअघि चिकित्सक बन्न निजी मेडिकल कलेजमा नाम निकाले पनि बुबाआमालाई आर्थिक भारमा पार्न खोजिनन् । महँगो डाक्टरी शुल्क तिरेर बुबाआमाले आफूलाई पढाउन सक्ने अवस्था छैन भन्ने कुरा ऊर्जाले राम्रोसँग बुझेकी थिइन् । घरायसी अवस्थालाई राम्रोसँग बुझेकी उनले आफ्नै बलबुतामा अष्ट्रेलियाको चिकित्सा क्षेत्रको उच्च शिक्षा हासिल गर्ने लक्ष्य राखेकी थिइन् ।

सिंह दम्पती आइटी इन्जिनियर बन्ने उपासना र डाक्टर बन्ने ऊर्जाको इच्छा पूरा गर्न जस्तोसुकै जोखिम मोल्न चाहन्थे । त्यसका लागि उनीहरूको उच्च शिक्षा र त्यसमा लाग्ने आर्थिक जोहो गरिरहेका उनीहरू तिहारलगत्तै ऊर्जालाई बाहिर पठाउने ध्याउन्नमा थिए । “सबैथोक भूकम्पसँगै बिलायो, कल्पना नगरेको बज्रपात सहनुपरिरहेको छ”, आँसु झार्दै सिंह दम्पतीले पीडा पोखे ।

शोकमा डुबेको परिवारलाई समवेदना प्रकट गर्न आउने र दिवङ्गत आत्माप्रति श्रद्धाञ्जलि व्यक्त गर्ने आफन्त शुभेच्छुकलाई घरको ढोका अगाडि राखिएका उपासना र ऊर्जाको तस्वीरले धरधरी रुवाउँछ । “घरको कुनाबाट छोरीहरूले बाबा भनेको आवाज मेरो कानमा गुञ्जिरहन्छ”, बुबा गोरखले भने ।

सिंह पत्नी शोभा शाह भन्छिन्, “काख रित्तिएको छ । घरमा उपासना गर्ने ऊर्जा समाप्त भएको छ । राति निद्राबाट ब्यूझँदा अगाडि छोरी उभिएको देख्छु तर स्पर्श गर्न पाउँदिन । अनि डाँको छाडेर रुनेबाहेक अरु केही उपाय भेट्दिन । यस्तो पीडा कसैले भोग्नु नपरोस् ।”

कठिन दुःख गरेर उच्च शिक्षा पढाउने र छोरीहरू राष्ट्रको अब्बल जनशक्ति बनेर सेवा गरेको खुसी देख्ने चाहना थियो सिंह दम्पतीको । भूकम्पले उनीहरुको आशा र खुसी सदाका लागि खोसेको छ । उपासनाको राति एक्लै पढ्ने बानी थियो । उनी थोरै पढेर धेरै बुझ्ने तेज दिमागकी थिइन् । ऊर्जा अत्यन्तै मेहनती र इमान्दार थिइन् । बुबाआमाको आर्थिक तथा घरायसी समस्यालाई नजिकबाट बुझ्ने समझदार बानीका कारण एमबिबीएस अध्ययनका लागि छात्रवृत्तिमा नाम निकालेकी उनले आफ्नो पढाइलाई एक वर्षपछि धकेलेकी थिइन् ।

यता पोखरा विश्वविद्यालयबाट छात्रवृत्तिमा परी मेरिनाले कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट नेपालगञ्जबाट सिभिल इन्जिनियर पूरा गरेकी थिइन् । देशको अब्बल इन्जिनियर बन्ने उनको सपना ध्वस्त मात्र भएन, आमाबुवाको आशाको दीयो पनि निभ्यो । भूकम्पका कारण आफन्त गुमाएका सयौँ परिवारको पीडा बुझेर सिंह र आरसी दम्पतीले चित्त बुझाएका छन् । जाजरकोट भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा एक सय ५७ जनाको मृत्यु भएको छ । दुई सय ५० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मोरङमा अर्को सूचना जारी नभएसम्म भेला, सम्मेलन, र्‍यालीलगायतमा रोक

मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङले अर्को सूचना जारी नभएसम्मको लागि जिल्लामा सभा, सम्मेलन, र्‍याली, भेला, प्रदर्शन गर्न रोक लगाएको

नबिराएर नडराएर काम गर्न कर्मचारीलाई मन्त्री शर्माको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कानुनको परिधिभित्र रहेर उच्च मनोबलका साथ काम गर्न कर्मचारीहरुलाई आग्रह गरकी

महालेखा परीक्षकमा तोयम राया नियुक्त

काठमाडौँ । महालेखा परीक्षकमा तोयम राया नियुक्त भएका छन् । संवैधानिक परिषद्को सिफारिसमा संविधानको धारा २४० को उपधारा २ बमोजिम

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा डा. अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको

धनुषामा एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल…

काठमाडौँ । धनुषामा एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल

Techie IT