

उस्तै छ सुस्ताको पीडा
महेन्द्र कँडेल[ ]
त्यो दिन ४ मार्च २००८ को थियो । जुन दिनले ४ मार्च १८१६ को करबि १९३ वर्ष पुरानो इतिहासलाई फेरि सम्झना गराइरहेको थियो । इतिहासकारहरु भन्ने गर्छन् सुगौली सन्धिमा हाम्रा पुर्खाले आर्जेको ग्रेटर नेपाललाई गुमाएको कानुनी मान्यताका लागि तत्कालीन इष्टइन्डिया कम्पनीले नेपाल सरकारलाई कागजपत्रहरु पठायो । तर, नेपालले एक महिना बितिसक्दा पनि सही नगरी बस्यो । फेरि नेपाल सरकार समक्ष अर्को महिना त्यस कागजपत्रको कपी इन्डियाको तर्फबाट पठाइदियो । अन्ततः हामीहरुले घुँडा टेक्नै पर्यो । त्यही दिन थियो ४ मार्च १८१६ । त्यस दिनपछि त्यो हाम्रो भूमिमा सधैँ गुन्जिरहने गीत त्यो एउटा जीवित आत्मीय गीत सदाका लागि भित्रै रुपलियो । त्यसै दिनदेखि नेपालसँगसँगै रमाउँदै आइरहेको भूमिमध्येको एउटा भाग थियो सुस्ता गाविस ।
बेलायतमा धेरै वर्षदेखि नेपाली पत्रपत्रिकामा पढ्दै आइरहेको सीमा विवाद बारेमा चासो नहुने हामीहरु को होला र ? त्यसै सिलसिलामा यो वर्ष 'संयुक्त नेपाली मोर्चा यूरोप'ले सुस्तालाई बढी गम्भीर रुपमा लिइरहेको देखिन्छ । त्यसै सन्दर्भमा यस एउटा विशेष जिम्मा मलाई दिइएको थियो । त्यसैका लागि हामी यूरोपमा बसोबास गररिहेका केही साथीहरु नेपाल पुग्यौं र सोह्र जना पत्रकार लगायत सीमाविद् बुद्धिनारायण श्रेष्ठ सहितको एउटा टीम बनेर ४ मार्च २००१ का दिन सुस्ताको स्थलगत निरीक्षणका लागि प्रस्थान गर्यौं ।
एकछिन् सुस्तेली जनताको दुःखदर्द सुनौं -'मेरो उमेर ८५ वर्ष भैसक्यो । मैले केही प्रमाण जुटाउन सकिन नेपाली हूँ भन्ने । मलाई काठमाण्डुले बृद्ध भत्ता पनि दिएन, तपाईं काठमाण्डु पुगेपछि मेरो समस्या सुल्झाइदिनुस् हजुर' यो गाथा थियो एउटा बृद्ध नेपाली आमर नवीया खानको अनि मैले उनीसँग एकाध प्रश्नहरु गरेको थिएँ । अनि आफ्नो जीवनका विगतका दिनहरु स्मरण गर्दै भन्न थालिन्, '२०४० सालमा हामी गाउँलेले सीमापारिबाट भारतीय सीमा प्रहरीका साथमा एउटा हुल हाम्रो गाउँतर्फ आइरहेको देख्यौं । त्यो हुल केही समयमा हाम्रो नजिकै आइपुग्यो । अनि मेरो श्रीमानलाई सोध्यो तिमीलाई बिहारी भाषा बोल्न आउँछ ? उहाँले मलाई आउँदैन भनी जवाफ दिनेवित्तिकै श्रीमानको खुट्टामा हिर्कायो । उहाँको घाइते शरीरलाई निन्त्रणमा लिएर भारततर्फ लग्यो । उनीहरु फर्किने बेला तिमीहरु नेपाली हौ, भारतमा बस्न सक्दैनौ नेपाली गाउँमा गई बस भन्दै उनीहरु फिर्ता गए । त्यसपछि हाम्रो गाउँमा एकदमै त्रासको वातावरण सिर्जना भयो । भोलिपल्ट हामी नेपाली सीमा सुरक्षा गस्तीसँग गुहार माग्यौं । तत्कालीन पुलिस इन्सपेक्टरले मलाई आश्वासन पनि दिनुभयो, तपाईंको श्रीमान्लाई हामी ल्याइदिन्छौं भनी । केही दिनपछि हाम्रो गाउँमा नवीया खानको हत्या भएका हल्लाहरु चल्न थाले । विस्तारै-विस्तारै हामी गाउँ छोडेर नेपालतर्फको नजिकको यो गाउँमा आयौँ । मेरो आठ विघा जग्गा पनि गुम्यो । म अहिले यो गाउँमा निमेक गरी दिन बिताइरहेकी छु ।'
त्यहाँका गाउँहरु क्रमशः कसरी सीमारपारि सरे त ? यो एउटा रोचक घटना छ । करबि ३ बर्ष अगाडिको कुरा थियो । सारा गाउँलेहरु घाटतर्फ गएका थिए । किनकि त्यहाँ ठाडी घाटको मेला चलिरहेको थियो । सबैजना मेलामा रमाइरहेका थिए । गाउँ खाली भएको राम्रो मौका छोपी सीमापारिबाट सीमा सुरक्षादल सहितको एक जत्था आई उक्त गाउँलाई अतिक्रमण गर्यो । यस्तै छन् त्यहाँका गाउँलेका गाथाहरु । कहिले ती गाउँलेले आफ्नो उखुबारी सहित नै गुमाउनु पर्यो, कहिले आफ्नो केरा र आँपका बगान सहित । आफ्नो गुमाई आफू सुकुम्बासी हुनु परेको छ । उजुरीका लागि उनीहरु बालुवाटारदेखि सिंहदरबार, सिंहदरबारदेखि मन्त्रीका निवासहरुसम्म नपुगेको ठाउँ बाँकी छैन भन्छन् सुस्तेलीहरु । उनीहरु अझैपनि त्रसित देखिन्छन् । कुनदिन हाम्रा टहराहरु भत्काइदिने र जग्गाहरु ट्रयाक्टर लगाई जोतिदिने हुन् ? यस्तो त्रासमा उनीहरु दिनहरु बिताइरहेका छन् ।
सुस्ता बचाउँ अभियानका अध्यक्ष आदम खाँ पनि सुकुम्बासीको रुपमा भौतारिदै हिंडेको देखिन्छ । उनको करबि ६ बिघा जग्गा सीमापारि पुगेछ । त्यहाँको समस्याको बारेमा स्पष्ट पार्दै उनले भने- 'यहाँ हामीसँग एउटा हेल्थ पोष्ट छैन, हाम्रा बच्चाहरु पढाउने माध्यमिक विधालय छैन । वषर्ा लागेपछि नारायणीको भेल पनि बढ्दैजान्छ । त्यसकारण वर्षामा हाम्रो गाउँ तीनतर्फ भारतीय र एकतर्फ नारायणी खोलाको घेराबन्दीमा पर्छ ।'
सुस्ताका बारेमा नेपाली र भारतीय अधिकारीहरुको प्रतिक्रिया यस्तो पाइयो-
मंसिर ९-१० को नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री प्रणव मुखर्जीले भने- 'सुस्ता र कालापानीमा रहेको विवाद र असहमति वार्ता मार्फत समाधान गर्नुपर्छ, हामीले यसबारे छलफल गरेका छौँ । दुवै देशका सम्बद्ध अधिकारीले चाँडै सुस्ता र कालापानीको समाधान खोज्नेछन् ।'
त्यस्तै गरी प्रधानमन्त्री प्रचण्डले विमस्टेक सम्मेलनमा भाग लिई नेपाल र्फकदा विमानस्थलमा पत्रकारहरुको प्रश्नको जवाफमा भनेका थिएँ- 'सुस्ता, कालापानी लगायतका क्षेत्रका सीमा विवाद समाधान गर्नेबारे छलफल भएको थियो ।'
राजनीतिक रुपमा यस्ता मीठा भाषण र आश्वासनहरु आउने गरे पनि सुस्तावासीको पीडा कम हुन सकेको छैन । उनीहरु आफू लुटिनु, खोसिनु र सुकुम्बासी बनाइनुको पीडा बोकेर भौंतारिरहेका छन् ।


EDT 14:46
19:46
0:31
SYD 4:46



