ISMT

HUB Education

क्रिकेट रंगशालाकाे सपना र केही यक्ष प्रश्नहरू

Education Park

 

Kathmandu Trade Show

 

देशैभर गणतन्त्र दिवसको माहौल चलिरहँदा २०७६ जेठ १५ गते पश्चिम चितवनको रामपुर भने अर्कै विषयमा उद्वेलित भइरहेको थियो । निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको प्रस्तावित क्षेत्र घेर्ने क्रममा लगाइएको तारबारमाथि स्थानीयले डोजर चलाइदिएपछि घटना राष्ट्रिय चासोको विषय बन्यो । स्वभाविक रूपमा विश्वभर फैलिएका नेपालीहरूको पनि यसमा ध्यान केन्द्रित भयो र देश बाहिर पनि यो घटना चर्चाको विषय बन्यो ।

 

धुर्मुस सुन्तली फाउण्डेशनले भरतपुर महानगरपालिकासँगको सहकार्यमा निर्माण गर्न लागेको रंगशालाको पर्खाल भत्किएलगत्तै घटनाको चौतर्फी विरोध सुरू भयो । रंगशालाको पर्खाल भत्काउनेलाई कानुनी कारबाही गर्नुपर्ने कुराहरू त आफ्नै ठाउँमा थिए, त्यसभन्दा माथि उठेर जब पर्खाल भत्काउनेलाई जुत्ताको माला लगाउनुपर्ने, कालोमोसो धस्नुपर्ने, नागरिकता खोस्नुपर्ने, देशनिकाला गर्नुपर्नेजस्ता अराजक टिप्पणीहरू हुन थाले, त्यससँगै माहोल बिग्रिन थाल्यो ।

 

कुनै पनि घटना घटिसकेपछि त्यसको कारणमा पुगेर समस्या समाधान गर्नु बुद्धिमतापूर्ण कार्य हो । तर नेपालीको आम मनोविज्ञान भने भावनामा बग्ने खालको छ । भावनामा बगेर गरिने टिप्पणीहरू सतही मात्रै होइन, अक्सर अविवेकी पनि हुने गर्छ । यहि अविवेकीपनाको पछिल्लो पटाक्षेप रंगशालाको पर्खाल भत्किएपछि हुन पुग्यो ।

 

पर्खाल भत्किनुअघिः

 

आम मानिसले रंगशालाको पर्खाल भत्किएपछि मात्रै त्यहाँ के भइरहेको छ भन्ने थाहा पाए । तर पर्खाल भत्किनुअघि पनि त्यहाँ पर्याप्त रस्साकस्सी चलिरहेको थियो भन्नेतर्फ धेरैले ध्यान दिएको पाइएन ।

 

अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्ने सुर कसेर धुर्मुस–सुन्तली फाउण्डेशन जब देशभर जग्गाको खोजीमा जुटिरहेको थियो, त्यतिबेला भरतपुर महागरपालिकाकी मेयर रेनु दाहालले एक कदम अघि बढेर २०७४ चैत १९ गते आयोजित पत्रकार सम्मेलनमा रंगशालाको लागि आफुले जग्गा जुटाइदिने घोषणा गरिन् । 

 

मेयर दाहालले धुर्मुस–सुन्तलीलाई रंगशाला निर्माणको लागि चितवन आउन आह्वान गर्दै यस्तो घोषणा गर्नु पछाडी उनका आफ्नै राजनीतिक स्वार्थहरू छैनन् भन्नु अराजनीतिक तर्क हुन्छ । यद्यपि यस विषयमा अहिले चर्चा गर्न खोजिएको होइन । तर दाहालको घोषणालाई त्यतिबेला अधिकांश चितवनवासीले स्वागत गरे ।

 

देशकै ‘गौरव’को आयोजनाको रूपमा हेरिएको रंगशाला चितवन आउने कुराले जिल्लावासी खुशी नहुनुपर्ने कुनै कारण थिएन । त्यसैले जब धुर्मुस सुन्तली फाउण्डेशनले रंगशाला चितवनमा निर्माण गर्ने निर्क्याैल गरे, तब चितवनमा एक किसिमको हर्षबढाइँ नै भयो ।

 

रंगशाला बनाउने उद्घोष गर्दै जब धुर्मुस सुन्तली चितवन झरे, चितवनवासीले उनीहरूको भव्य स्वागत गरे । उनीहरूलाई बाजागाजा र र्‍यालीसहित निर्माणस्थलमा समेत पुर्‍याइयो । यससँगै २०७५ माघ २० गते धुर्मुस सुन्तलीले प्रस्तावित निर्माणस्थलमा संयुक्त रूपमा डोजर नै चलाएर निर्माण सुरू भएको घोषणा गरे । चन्दा संकलन अभियान पनि सँगसँगै सुरू भयो ।

 

किन चल्यो डोजर ?

 

रंगशाला निर्माण गर्ने कुरा आफ्नो ठाउँमा थियो भने स्थानीय चासो र चिन्ताहरू पनि आफ्नो ठाउँमा थियो । विशेषगरी रंगशालाको पश्चिमतर्फ मानव बस्ति भएको क्षेत्रमा बाटो खोल्नुपर्ने माग स्थानीयवासीले उठाइराखेका थिए ।

 

नक्सामा ७ देखि ९ मिटर रहेको शान्तिचोकदेखि रामपुर जोड्ने बाटो ३१ मिटर बनाउने विषयमा सहमति भइसकेको थियो । सोही सहमतिअनुसार स्थानीयवासीले २० प्रतिशत र कृषि विश्वविद्यालयले ८० प्रतिशत छोड्ने गरी बाटोको क्षेत्रफल कायम गरिएको थियो ।

 

सो विषयमा छलफल हुँदै गर्दा धुर्मुस सुन्तली फाउण्डेशनले बाटोको लागि जग्गा नछोडी अस्थायी पर्खाल लगाएपछि पर्खाल भत्काएको स्थानीयले दाबी गरेका छन् । यस विषयमा स्थानीय वडा कार्यालय, महानगरपालिका, विश्वविद्यालय, र धुर्मुस सुन्तली फाउण्डेशनसँग पटक पटक छलफल गर्दा पनि अपेक्षित परिणाम ननिस्किएको उनीहरूले आरोप लगाएका छन् ।

 

निर्माणाधीन क्षेत्रमा आवेशमा डोजर लगाइनु पक्कै पनि सही कार्य होइन । तर घटना घटेपछि भने डोजर लगाइनु मात्रै गलत कार्य हो जसरी चर्चा चल्यो । डोजर चल्नु जति गलत हो, डोजर चल्नुअघि नै स्थानीयको चासो र चिन्तामाथि सरोकारवाला निकायले समयमै ध्यान नदिनु पनि उत्तिकै गलत थियो ।

 

स्थानीयले डोजर चलाएर पर्खाल भत्काएपछि महानगरकी मेयर रेनु दाहालले स्थानीयको मागबारे आफुलाई जानकारी नभएको अभिव्यक्ति दिइन् । यो आफैमा गैह्रजिम्मेवार अभिव्यक्ति थियो । स्थानीयले यतिबेला मेयर दाहाललाई आफ्नो अभिव्यक्ति फिर्ता लिन आग्रह गरिरहेका छन् ।

 

धुर्मस सुन्तलीलाई सम्हालः

 

पर्खाल भत्किएपछि धुर्मुस सुन्तली फाउण्डेशनका सिताराम कट्टेल मिडियाको अघि रोए । विदेशिएका नेपालीहरूले गाँस काटेर दिएको रकमले लगाएको पर्खाल भत्काइएपछि आफुले आफैलाई सम्हाल्न नसकेको उनको दाबी थियो । 

 

धुर्मुसको दाबी आफ्नो ठाउँमा ठिकै थियो । तर जब सुन्तली अर्थात् कुञ्जना घिमिरे मिडियामा च्याँठ्ठिइन्, तब माहोल पुरै खराब हुन पुग्यो । घटनाको उनले विरोध मात्रै गरिनन्, अत्यन्तै रुखो शैलीमा पर्खाल भत्काउनेलाई जुत्ताको माला लगाउनुपर्ने, नागरिकता खोस्नुपर्ने र देश नै निकाला गर्नुपर्ने जस्ता अविवेकी प्रस्ताव राखिन् ।

 

न्यायनिसाफ गर्ने अदालतको न्यायाधीशले जसरी घटनाको समीक्षा नै नगरी उनले दिएको अभिव्यक्तिले स्थानीयवासीको मन कुँडियो । आफुलाई विकासविरोधीको आरोप लागेपछि स्थानीयवासी पनि त्यसको प्रतिवादमा उत्रिए ।

 

यस प्रकरणपछि स्थानीयवासीले आफु विकासविरोधी नभएको तर आफुहरू उठिबासको चिन्ताले मात्रै बोल्न बाध्य भएको बताइरहेका छन् । तर सामाजिक सञ्जाल र मिडिया जगत स्थानीय नै समस्याको जड भएको भाकामा बोलिरहे । यसले स्थानीयवासीको मनोविज्ञानमा ठूलो दरार पैदा गरेको छ ।

 

घटनाको तीन दिनपछि १७ गते साँझ स्थानीयवासी र सरोकारवाला निकायबीच सहमति भएको खबर १८ गते शनिबार बिहानैदेखि फैलियो । त्यसपछि निर्माणस्थलमा रंगशालाका पक्षधरहरूले विजय जुलुसको शैलीमा र्‍याली निकाले । र्‍यालीलाई सम्बोधन गर्दै सिताराम कट्टेल ‘धुर्मुस’ले आफुले गल्ती गरेको भए निर्माणस्थल छेवैको रुखमा झुण्डिने भावुक भाषण गरे । सहभागीले ताली बजाएर समर्थन गरे ।

 

यी घटनाक्रमहरू हेर्दा धुर्मुस सुन्तलीलाई अत्यन्तै सम्हाल्नुपर्ने आवश्यकता देखिन्छ । कहिले भावुक र कहिले आक्रोशित भएर बोलिरहँदा उनीहरूले आफ्नो प्रतिष्ठालाई कायम राख्न सकेको देखिदैँन । आफ्नो अभिव्यक्तिले लाखौं जनसमुदायलाई कसरी प्रभावित तुल्याउँछ भन्ने कुराको आँकलन उनीहरूले गर्न सकेको देखिदैँन ।

 

जनसमुदाय माझ उनीहरू लोकप्रिय छन् भन्ने कुरामा कुनै दुई मत छैन । तर त्यहि लोकप्रियताको आडमा जनतालाई भ्रमित र उद्वेलित पार्ने अभिव्यक्ति दिएर उनीहरू चुकेका छन् । मिडियाले पनि उनीहरूको देवत्वकरण गरेको देखिन्छ । रंगशाला जति आवश्यक कुरा हो, स्थानीयको चासो र चिन्ता पनि उत्ति नै प्रधान हो भन्ने कुरा छायाँमा परेको छ । यसकारण जनमानसलाई भड्किलो अभिव्यक्ति नदिन सबैभन्दा पहिला धुर्मुस सुन्तलीलाई सम्हाल्नु आवश्यक छ ।

 

हास्यास्पद मोडालिटीः

 

क्रिकेट रंगशाला निर्माणको कुरा हुँदै गर्दा यसको निर्माण कुन मोडालिटीमा गर्ने भन्ने पनि चर्चाको विषय हुनुपर्ने हो । तर यसमा चर्चा त परै जाओस्, तर्कको गुन्जायस सम्म सुनिएको छैन । रंगशाला निर्माणको लागि करिब ३ अर्बको अनुमानित लागत प्रक्षेपण गरिएको छ । यति ठूलो प्रोजेक्ट चन्दाकै भरमा बनाउँछु भनेर धुर्मुस सुन्तली फाउण्डेशन तम्सिएको छ । मान्छेहरूले उनीहरूको साहसप्रति ओंठ लेप्र्याइहालेका छैनन्, तर जिब्रो भने टोकेका छन् ।

 

देशकै गौरवको आयोजना बनाउन तम्सिएकोमा धुर्मुस सुन्तली फाउण्डेशनको प्रशंसा नगर्नुपर्ने कुनै कारण छैन । तर चन्दाको भरमा बनाउँछु भनेर उनीहरूले के पुष्टी गर्न खोजेका हुन् ? प्रश्न गर्न सकिन्छ । बारम्बारका अभिव्यक्तिहरूमा उनीहरूले विदेशमा बस्ने नेपालीले आफ्नो गाँस काटेर चन्दा दिएको उल्लेख गरिरहेका छन् । यदी त्यस्तै हो भने विदेशिएका नेपालीको गाँस काटेर चन्दा उठाउँदै किन रंगशाला निर्माण गर्नुपर्‍यो ? के यसका लागि लगानी आह्वान गर्न सकिन्न ? यसको तार्किक उत्तर धुर्मुस सुन्तलीले दिनुपर्छ ।

 

धुर्मुस सुन्तलीले दिनुपर्ने जवाफ आफ्नो ठाउँमा छ । यसमा सबैभन्दा बढी जवाफ दिनुपर्ने सरकारले हो । तीन अर्ब रकम एउटा व्यक्तिको लागि ठूलो कुरा हो, एउटा संस्थाको लागि ठूलो कुरा हो । तर के एउटा देशको लागि पनि त्यो रकम ठूलो कुरा हो ? बजेट भाषणमा खर्बौं खर्बको कुरा गरिन्छ । ठीक छ, एक वर्षको बजेटले नसकिएला । दुई वर्षको बजेटले नसकिएला । तर के तीन वर्षको बजेटले पनि सकिदैन ?

 

रंगशालाको पर्खाल भत्काइएकै दिन दिउँसो अर्थमन्त्रीले प्रस्तुत गरेको आव २०७६/७७ को बजेट भाषणमा सांसदहरूलाई आफ्नो क्षेत्र विकासको लागि लागि जनही रु. ६ करोड बजेट विनियोजन गरिएको छ । सांसदलाई यसरी बजेट छुट्याउने कार्यको सदाझैँ यसपालि पनि विरोध भइरहेको छ । सांसदलाई छुट्याइएको जनही रू. ६ करोडबाट १ करोड मात्रै घटाएर यता रंगशाला निर्माणलाई छुट्याइदिने हो भने पनि रंगशाला निर्माणको लागि सहजै खर्च जुट्छ ।

 

अर्बौंको चलखेल हुने यस्ता आयोजनाहरूमा सरकारले जिम्मेवारी लिनु के उसको दायित्व होइन ? धुर्मुस सुन्तलीको नियतमा प्रश्न उठाउन खोजिएको होइन । तर यति ठूलो परिमाणको आर्थिक चलखेल हुने प्रोजेक्टलाई कसले नियमन गर्छ ? सार्वजनिक खरिद ऐन यसमा आकर्षित हुन्छ कि हुँदैन । हुँदैन भने भ्रष्टाचारमा शुन्य सहनशीलतालाई कसरी सुनिश्चित गर्ने हो ? अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसमा अनुसन्धान गर्न सक्छ कि सक्दैन ?

 

राष्ट्रले ‘गौरव’ गर्न सक्ने एउटा आयोजना एकजोडी कलाकारले आफ्नो लोकप्रियताको आडमा उठाइदिएको चन्दाले बनाउनुपर्ने सरकारको यो कस्तो नियती हो ? 'महानिर्माणको महाअभियान' चलिरहेको समयमा फरक कोणबाट उठ्ने प्रश्नहरूलाई कम महत्वमा राख्न सकिएला । तर प्रश्नहरूकै हत्या गर्न भने मिल्दैन ।

Twitter: @shresthasuman88


थप समाचार

एक होटेलमा आगलागी हुँदा आठको मृत्यु

  • 5 hours ago
एक होटेलमा आगलागी हुँदा आठको मृत्यु

एजेन्सी । युक्रेनको बन्दरगाह शहर ओडेशामा शनिबार बिहान सबेरै भएको आगलागीमा परी आठ व्यक्तिको मृत्यु हुनको साथै अन्य अन्य १० जना घाइते भएका आपतकालिन सेवा प्रदायक संस्थाले जानकारी दिएको छ ।

कश्मीरमा आंशिक रूपमा टेलिफोन सेवा सुरू

  • 5 hours ago
कश्मीरमा आंशिक रूपमा  टेलिफोन सेवा सुरू

एजेन्सी । भारत प्रशासित कश्मीरमा झण्डै दुई हप्तादेखि बन्द गरिएको फोन सेवालाई आंशिक रूपमा सुरु गरिएको छ । कश्मीर उपत्यकामा अहिले अहिले १७ वटा टेलिफोन एक्सचेन्जमार्फत ‘ल्यान्डलाईन’ सेवा मात्र सञ्चालनमा

अक्षयको ‘मिशन मंगल’ को दोस्रो दिनमा कति कमायो ?

  • 6 hours ago
अक्षयको ‘मिशन मंगल’ को दोस्रो दिनमा कति कमायो ?

एजेन्सी । अक्षयले पछिल्लो समय जुन फिल्म पनि गरेका छन्, त्यसमा देशभक्ति झल्किएको हुने गर्दछ । उनको फिल्म ‘मिशन मंगल’ विहिबार बाट प्रदर्शनमा आएको छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

तौल बढेर हैरान हुनुहुन्छ ? एक कप चिया पिएर तौल घटाउनुहोस

तौल बढेर हैरान हुनुहुन्छ ? एक कप चिया पिएर तौल घटाउनुहोस

एजेन्सी । आफ्नो शरीरको चिन्ता सबै व्यक्तिलाई हुने गर्दछ । हरेक व्यक्ति वजन कम या आफ्नो तौललाई नियन्त्रणमा राख्न चाहन्छन् । बढ्दो वजन धेरै रोगको कारण पनि बन्ने गर्दछ ।

विचित्र विश्व

६ वर्षका बालकले ३ हजारभन्दा बढि पटक ‘पुश अप’ लगाएपछि...

६ वर्षका बालकले ३ हजारभन्दा बढि पटक ‘पुश अप’ लगाएपछि...

एजेन्सी । रुसका ६ बर्षीय बालक इब्राहिम ल्यानोभले अनौठो रेकर्ड बनाएका छन् । उनले दुई घण्टामा ३२७० ‘पुश अप’ लगाएर नौलो रेकर्ड बनाए । उक्त रेकर्डलाई ‘रशियन बुक अफ’ रेकर्ड्समा सामेल गराइएको छ । यसैगरि उनी सामाजिक सञ्जालमाभाइरल भएका छन् ।