बच्चा जन्माउन किन चाहँदैनन् जापानिजहरु ?

जोउ मात्सुवाराको एउटै सपना थियो, स्नातक गरेर राम्रो जागिर खाने। यो एक औसत जापानीले देख्नेभन्दा ठूलो सपना होइन।

 

उनको सपना लगभग पूरा पनि भयो।

 

सामान्य आर्थिक स्थिति भएको कामकाजी परिवारका मात्सुवाराले एक प्रतिष्ठित निजी कलेजबाट स्नातक गरे। राजधानी टोकियोको आवास निर्माण कम्पनीमा स्थायी जागिर पनि पाए। त्यो कम्पनी आफूलाई ‘स्तरीय रोजगारदाता’ का रूपमा प्रचार गर्थ्यो। त्यहाँ जागिर पाउनुलाई मात्सुवारा आफ्नो भाग्य ठान्थे।

 

जागिर खाएपछि भने उनको अनुभव बेग्लै रह्यो।

 

नियमअनुसार कम्पनीको कार्यअवधि बेलुकी ७ बजेसम्म थियो। आधिकारिक रूपमा त कर्मचारीको छुट्टी ७ बजे नै हुन्थ्यो, तर त्यसपछि पनि उनीहरूको काम सकिन्थेन। मात्सुवारा हरेक दिन काममा यति व्यस्त हुन्थे, मध्यरात नभई सुत्ने फुर्सदधरि हुन्थेन।

 

कम्पनी कति चलाख थियो भने, उसले हरेक कर्मचारी काम सकेर ठीक ७ बजे नै अफिसबाट बाहिरिएको आधिकारिक रेकर्ड राख्थ्यो। जबकि, त्यतिबेला सबै कर्मचारी काममा अतिव्यस्त रहन्थे। कोही–कोही बाहिर गएका छन् भने पनि मध्यरातसम्म अफिसले दिएको आइप्याडमा काममै भिडिरहन्थे।

 

कसैले आधिकारिक रेकर्डमा ७ बजे बाहिरिएको जनाउ दिएन भने उसलाई कम्पनीबाट तारन्तार फोन आउँथ्यो। काम भने त्यसपछि पनि जारी नै रहन्थ्यो।

 

‘जापानमा अफिस छुट्टी हुने कागजी समय र वास्तविक समयबीच आकाश–पातालको फरक छ,’ मात्सुवारा भन्छन्, ‘अफिसबाहेक म अरू कामका लागि विरलै फुर्सद पाउँथेँ। यस्तोमा डेटिङ जान समय निकाल्नु त असम्भव कुरा हो। म कुनै पनि केटीसँग अलिकति निकट हुने अवसर त्यतिबेला मात्र पाउँथेँ, जब मलाई हाकिमले आफूसँगै क्याब्रे क्लब लैजान्थे। त्यहाँ पनि म अफिसको काम गर्न उनको ट्याब्लेट नै बोकिरहेको हुन्थेँ।’

 

लामो समयदेखि यही रफ्तारको व्यस्त जीवनशैलीले मात्सुवारा बिरामी पर्न थाले। उनलाई राम्ररी निद्रा पर्न छाड्यो। काममा एकाग्र हुन सकेनन्। ‘डिप्रेसन’ ले गाँज्दै लग्यो। बेला–बेला सास फेर्नै गाह्रो हुन थाल्यो। कयौंपटक एम्बुलेन्समा राखेर अस्पताल दौडाइयो।

 

यही क्रममा एक दिन मात्सुवाराको मानसिक सन्तुलनै बिग्रियो। यस्तो अवस्थामा पनि कम्पनीले दया देखाएन। बरु बिरामी मात्सुवारालाई राजीनामा दिन बाध्य पार्यो। कम्पनीको आवास पनि तुरुन्तै खाली गर्न लगायो। र, त्यहाँ बसेबापतको पैसा पनि तिरायो।

 

युवा मात्सुवारा यतिबेला एक कल्याणकारी संस्थामा आश्रित छन्।

 

‘मैले राम्ररी पढेर राम्रो जागिर खाने सपना देखेँ, त्यसैलाई पछ्याएँ, आज त्यही सपनाले मेरो जिन्दगी खाइदियो,’ उनी भन्छन्, ‘मेरो जिन्दगी कम्पनीले ध्वस्त पार्यो।’

 

उनका अनुसार उक्त कम्पनीमा काम गर्ने आठ सय जनामध्ये छ सयले जागिर छाडिसकेका छन्।

 

यो जापानका शिक्षित युवा मात्सुवाराको जीवनकथा मात्र होइन, बहुसंख्यक जापानी युवा पुस्ताले झेलिरहेको यथार्थ हो। र, यसैभित्र लुकेको छ, जापानको जनसंख्या घट्नुको रहस्य।

 

जापान सरकारले जनसंख्या गणना गर्न थालेको सय वर्षभन्दा बढी भयो। यस अवधिमा गत वर्ष पहिलोपटक जापानमा १० लाखभन्दा कम बच्चा जन्मे। कुल जनसंख्या तीन लाख कम भयो।

 

जापानीहरूले कम बच्चा पाउनुमा हामी धेरैले एउटा ‘सकारात्मक’ धारणा बनाएका छौं– त्यहाँको युवा पुस्ता काममा यति गम्भीर र यति व्यस्त हुन्छन्, उनीहरूसँग पारिवारिक सम्बन्ध बनाउने समयधरि हुन्न। जापानी महिला पनि पारिवारिक सम्बन्धभन्दा व्यक्तिगत करिअरमा बढी केन्द्रित रहेको हामीले सुनेका छौं। बिहेबारी गरेर बच्चा जन्माउनुभन्दा करिअर बनाउनुलाई उनीहरू पहिलो प्राथमिकता दिन्छन् भन्ने हाम्रो धारणा छ।

 

हामीले सुन्दै र बुझ्दै आएको यो धारणा सत्य पनि हो, तर यसको कारण हामीले सोचेजस्तो सकारात्मक छैन। हामी जुन कारणले जापानको युवा पुस्ता काममा व्यस्त छ भन्छौं, वास्तविकता त्योभन्दा फरक छ।

 

जापानको घट्दो जनसंख्याबारे केही अध्येताले नयाँ अवधारणाका साथ व्याख्या गर्दै सिक्काको अर्को पाटो उजागर गरेका छन्। उनीहरू भन्छन्, ‘यहाँ यस कारण जनसंख्या घटिरहेको छ, किनकि युवा पुस्तासँग राम्रो अवसर र दीगो रोजगारको कमी छ।’

 

विकसित राष्ट्र जापानमा आज पनि पुरुषप्रधान समाज छ। परिवारको आर्थिक भार पुरुषले नै वहन गर्नुपर्छ। तिनै पुरूषलाई सुविधाजनक स्थायी जागिर पाउन ठूलै माथापच्ची छ। राम्रो कमाइ हुने दीगो जागिर अभावले उनीहरू बिहे गरेर परिवार सुरु गर्न हच्किन्छन्। महिलाहरूमा पनि आफ्नो भावी जीवनसाथीले सन्तानको आर्थिक भार वहन गर्नसक्नेमा शंका छ।

 

‘यहाँ पुरूषहरू कठिन समय भोगिरहेका छन्,’ जापानसम्बन्धी एक निबन्ध संग्रहका सम्पादक तथा ड्युक विश्वविद्यालयका सांस्कृतिक मानवशास्त्र प्राध्यापक एना एलिसन भन्छिन्, ‘जन्मदर घटेको छ, बिहेबारी गरेका युवा पुस्ताको अनुपात पनि कम छ। यसको मुख्य कारण यहाँको आर्थिक असुरक्षा हो।’

 

जापानजस्तो स्थिर अर्थतन्त्र र बेरोजगारी दर तीन प्रतिशतभन्दा कम भएको देशमा यस्तो स्थिति देखिनुलाई विज्ञहरू आश्चर्यजनक मान्छन्। तर, यथार्थ यही हो।

 

यहाँका बहुसंख्यक युवा अस्थायी प्रकृतिको काम गर्छन्। विगतमा यस्तो थिएन। रोजगार नियमित र स्थायी हुन्थ्यो। कुनै पनि क्षेत्रमा करिअर बनाउन चाहनेले राम्रो अवसर पाउँथ्यो। पारिश्रमिक राम्रो थियो। सेवा–सुविधा आकर्षक थिए। निश्चित अवधि काम गरेपछि तलब बढ्थ्यो। अवकाशपछि पेन्सन पाइन्थ्यो। राम्रो काम गर्नेलाई अतिरिक्त आम्दानी सुनिश्चित थियो।

 

यी कुनै पनि स्थिति अहिले छैन।

 

जापानको ४० प्रतिशत श्रमशक्ति ‘अस्थिर’ र ‘अस्थायी’ रोजगारमा अल्झिएको टेम्पल विश्वविद्यालयका प्राध्यापक जेफ किंगस्टन बताउँछन्। उनी जापानसम्बन्धी विभिन्न किताबका लेखकसमेत हुन्।

 

यहाँ ‘अस्थिर’ र ‘अस्थायी’ भन्नाले त्यस्तो रोजगार हो, जहाँ एउटै कम्पनीमा स्थायी काम गरेर करिअर बनाउने गुञ्जायस हुँदैन। स्थायी जागिर नभएपछि महँगो बजारमा जीवन धान्न कम पारिश्रमिकका सानातिना अस्थायी काममा अल्झिरहनुपर्छ। जापान सरकारले भने त्यस्ता व्यक्तिलाई पनि रोजगारकै श्रेणीमा राख्छ।

 

किंगस्टनका अनुसार अस्थायी काम गर्ने जम्मा २० प्रतिशत मात्र करिअरको कुनै विन्दुमा स्थायी प्रकृतिको नियमित जागिरमा फर्कन्छन्। सन् १९९५ देखि २००८ भित्र जापानमा स्थायी कर्मचारी संख्या ३८ लाख कम भएको थियो भने अस्थायी कामदार संख्या ७६ लाख बढेको थियो।

 

अस्थायी कामदारलाई यहाँ ‘फ्रिटर’ भनिन्छ। यो अंग्रेजी शब्द ‘फ्रिल्यान्स’ र जर्मन शब्द ‘आर्बेटर’ ९कामदार० को मिश्रण हो। जापानमा सन् १९९० दशकको सुरुदेखि नै ‘फ्रिटर’ संख्या बढ्न थालेको किंगस्टन बताउँछन्।

 

यसको कारण हो, जापानको संशोधित श्रम कानुन, जसले कम्पनीहरूलाई अस्थायी र करार कामदार नियुक्त गर्न छुट दियो। त्यहीबेला विश्वव्यापीकरणले कम्पनीहरूलाई खर्च कटौती गर्न दबाब पर्‍यो। उनीहरूले संशोधित कानुनको छुट उपयोग गर्दै स्थायी कर्मचारीका सट्टा अस्थायी कामदार बढी नियुक्त गर्न थाले। विश्वव्यापी आर्थिक मन्दी बेला यो ‘ट्रेन्ड’ अझ चुलियो।

 

‘त्यो जापानको रोजगारमा आएको ठूलै परिवर्तन थियो, जसले श्रम बजारमा प्रवेश गरेका नव–स्नातकहरूलाई आफ्नो शिक्षाअनुसारको करिअरमा अगाडि बढ्न चुनौती र अवरोध सिर्जना गर्‍यो,’ किंगस्टन र जापान वुमन्स विश्वविद्यालयका प्राध्यापक माछिको कोसावाले एक किताबमा लेखेका छन्।

 

जापानजस्तो पुरूषप्रधान समाजमा रोजगार बजारको यो परिवर्तनले बिहेबारी र बच्चा जन्माउने दर स्वात्तै घटाइदियो। नियमित र स्थायी जागिर नभएका पुरूषलाई बिहेको निम्ति योग्य मानिन छाड्यो। एक तथ्यांकअनुसार ३० वर्ष उमेर समूहका व्यक्ति जो अस्थायी रोजगारमा छन्, उनीहरू करिब ३० प्रतिशत मात्र विवाहित छन्, जबकि कर्पोरेट क्षेत्रमा स्थायी काम गर्नेहरू करिब ५६ प्रतिशत विवाहित छन्।

 

‘कुनै जोडी बिहे गर्न चाहन्छ, तर दुवैको स्थायी जागिर छैन भने उनीहरूको बिहेमा अभिभावक अवरोध बन्न थाले,’ टोकियो इन्स्टिच्युट अफ टेक्नोलोजीका प्राध्यापक रूसुके निशिदा भन्छन्, ‘जापान यस्तो समाज हो जहाँ अझै पुरूषले नियमित जागिर खानुपर्छ भन्ने मान्यता छ। स्नातक गरेको पुरूषले स्थायी रोजगार पाएन भने उसलाई असफल श्रेणीमा राखिन्छ।’

 

रोजगार बजारमा आएको परिवर्तनले पुरूषलाई मात्र असर पारेको होइन। स्थायी प्रकृतिका पूर्णकालीन कामको खोजीमा रहेका महिला पनि यसबाट प्रभावित छन्।

 

उनीहरू पनि धेरैजसो अस्थायी जागिर खान बाध्य छन्। त्यस्ता अस्थायी जागिरमा कमाइ र समयको टुंगो हुँदैन। यसले धेरै महिला बिहे गरेर परिवार सुरु गर्न हच्किन्छन्। जापानमा करिब ७० प्रतिशत महिलाले एउटा बच्चा पाएपछि जागिर छाडेर केही समय श्रीमानको कमाइमा भर पर्ने गरेको तथ्यांक छ।

 

पछिल्लो समय श्रम बजारको परिवर्तनले पारेको असर यति विकराल बन्दै छ, ठूला सहरका महिला योग्य पुरूषको ‘अभाव’ भएको बताउन थालेका छन्। जोडी मिलाउने कम्पनीहरूको संख्या र व्यवसाय फस्टाएको छ। एक सर्वेक्षणअनुसार १८ देखि ३४ वर्ष उमेर समूहका करिब ७० प्रतिशत अविवाहित पुरूष र ६० प्रतिशत अविवाहित महिला कुनै सम्बन्ध ९अफेयर० मा पनि छैनन्।

 

यसले कस्तो स्थिति ल्याएको छ भने, अविवाहित पुरूष तथा महिलाहरू क्याफेमा कोठा भाडा लिएर त्यहीँ रात बिताउँछन्। त्यस्ता व्यक्तिलाई जापानमा ‘नेट–क्याफे’ शरणार्थी भनिन्छ। जापानी फोटोग्राफर शिहो फुकादाले यस्ता शरणार्थीको जीवन फोटोकथामा उतारेका छन्। स्थायी रोजगार नभएका केही युवा अझै पनि आफ्ना अभिभावक वा अरू कसैकहाँ आश्रित हुन्छन्।

 

जापानमा स्थायी कामदारको मासिक औसत आम्दानी १ हजार ८ सय डलर छ। यसको ठूलो हिस्सा घरभाडा, कलेजको ऋण र सरकारी सामाजिक सुरक्षा कार्यक्रममै खर्च हुन्छ। उनीहरू यसबाहेक अन्य कामका लागि पैसा बचाउन सक्दैनन्। बीस वर्ष उमेर नाघेकाहरूमा पनि घर बनाउने, बिहे गर्ने र परिवार सुरु गर्ने कल्पनासम्म हुँदैन। उनीहरू धेरै यसलाई ‘अवास्तविक’ मान्छन्।

 

अधिकांश युवासँग कुरा गर्ने हो भने भन्छन्, ‘हामी बाँच्नकै लागि संघर्ष गरिरहेका छौं।’

 

अस्थायी कामदारको यो वृद्धिले उनीहरूको जिन्दगी त समस्यामा पारेकै छ, स्थायी रोजगारवालालाई पनि दुःख भइरहेको छ। अस्थायी कामदारको बिगबिगीको फाइदा उठाउँदै कम्पनीले स्थायी कर्मचारीलाई नराम्रो व्यवहार गर्ने छुट पाइरहेका छन्। जतिसुकै नराम्रो व्यवहार सहन परे पनि काम छाडेर हिँड्ने विकल्प धेरैसँग छैन।

 

त्यस्ता स्थायी रोजगारवालाहरू कम तलब–सुविधाका कारण परिवार त धान्न सक्छन्, तर कामको धेरै चापले परिवारलाई समय दिन सक्दैनन्। उनीहरू आफ्नो अफिसमै यति व्यस्त रहन्छन्, त्यसबाहेक जम्मा दुईवटा कामलाई समय रहन्छ– खाने र सुत्ने। यसले धेरै युवामा सधैं कामको बोझ र तनाव देखिन्छ।

 

कम्पनीहरू रोजगार खोज्दै हिँड्ने २० देखि ३० वर्ष उमेरका युवालाई थोरै तलब दिएर धेरै घन्टा काममा जोताउँछन्। यति हुँदाहुँदै धेरै काम गर्नुलाई जापानमा नराम्रो मानिँदैन। लगातार धेरै समय काम गर्नु यहाँको पुरानै चलन हो।

 

रोजगार बजारले ल्याएका यी सबै उतारचढावका बाबजुद बढी काम गर्ने बाध्यतामा जापानी मात्र छैनन्। आजको विश्व अर्थतन्त्रमा अस्थायी कामदार संख्या स्थायीभन्दा बढी हुँदै गएको जापान एक मात्र देश पनि होइन। यति हुँदाहुँदै केही पक्ष यस्ता छन्, जसले जापानलाई अमेरिका तथा अन्य विकसित अर्थतन्त्रसँग छुट्टयाउँछ।

 

सबभन्दा पहिला त, जापानी समाजमा आज पनि नियमित र स्थायी प्रकृतिको रोजगारलाई बढी महत्व दिइन्छ। जतिसुकै पढेका भए पनि नियमित जागिर पाउन नसक्नेले समाजमा आलोचना खेप्नुपर्छ। यो समस्या जापानजस्तै अन्य विकसित देशमा छैन।

 

‘जसले जागिर पाउँदैन, उसलाई असफल व्यक्तिको सूचीमा राख्ने प्रवृत्ति छ,’ प्राध्यापक निशिदाले भने।

 

दोस्रो कारण, जापानमा लामो समय कठिन परिश्रम गर्नु सर्वस्वीकार्य छ। यहाँ हाकिमभन्दा पहिल्यै अफिस छाडेर हिँड्नुलाई ‘अभद्र’ मानिन्छ। जो व्यक्ति लामो समय काम गर्नुपरेकोमा गुनासो गर्छ, उसले सरकार त के, आफन्त र साथीभाइबाट पनि सहानुभूति पाउँदैन।

 

र, तेस्रो, जापान यस्तो देश हो, जहाँ मजदुर युनियनहरू फितला छन्। उनीहरू मजदुरको हकहितका लागि लड्नुभन्दा कम्पनीहरूसँग समन्वय गरेर राम्रो जागिर जोगाउनमै बढी केन्द्रित छन्।

 

पछिल्लो समय प्रधानमन्त्री शिन्जो आबेको सरकारले अस्थायी कामदारको दुरावस्थाबारे केही चासो देखाएको छ। यसलाई हल गर्न भने खासै केही नगरेको सरकारका आलोचक बताउँछन्।

 

सरकारले अधिकतम कार्यअवधिको सीमा तोक्ने तयारी पनि गरिरहेको छ। यस वर्ष पहिलोचोटि जापान सरकारले श्रम कानुन उल्लंघन गर्ने तीन सयभन्दा बढी कम्पनीको सूची सार्वजनिक गर्यो। त्यस्ता कम्पनीलाई सार्वजनिक बदनाम गरेपछि उनीहरू सच्चिन सक्नेमा सरकारको आस छ।

 

‘यति हुँदाहुँदै आबे सरकार व्यावसायिकमैत्री छ र धेरै नियमनकारी भूमिकामा विश्वास गर्दैन,’ टेम्पल विश्वविद्यालयका किंग्सटन भन्छन्।

 

घट्दो जन्मदर भने आबे सरकार र समग्र जापानले लामो समयदेखि चासो दिँदै सम्बोधन गर्न खोजेको मुद्दा हो। यही सिलसिलामा महिलाको निम्ति परिवार र कामबीच सन्तुलन कायम गर्नमा जोड दिन थालिएको छ।

 

समस्या महिलामा मात्र सीमित छैन।

 

अहिले पनि महिलाको दाँजोमा पुरुषको आर्थिक तथा समाजिक शक्ति बढी छ। शक्ति बढी भए पनि पुरुष आफैं यति कठिन समयमा गुज्रिरहेका छन्, रोजगारको स्थायित्व कायम गर्न उनीहरूलाई नै मद्दतको खाँचो विज्ञहरूले औंल्याएका छन्। पहिलोपटक द एटलान्टिकमा प्रकाशित रिपोर्टको नेपाली अनुवाद


थप समाचार

तमु धि यूकेको नेतृत्वमा आए नन्दजंग

  • 46 minutes ago
तमु धि यूकेको नेतृत्वमा आए नन्दजंग

लण्डन । बेलायतको सबैभन्दा ठूलो नेपाली जातीय संस्था तमु धि यूकेको नेतृत्व नन्दजंग गुरुङको कांधमा आएको छ ।

संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

  • 7 hours ago
संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

काठमाडौं । संरक्षित वन्यजन्तुको दाह्रासहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

संस्कृति संरक्षण नभए देश खतरामा : सभामुख महरा

  • 8 hours ago
संस्कृति संरक्षण नभए देश खतरामा : सभामुख महरा

दमौली । सभामुख कृष्णबहादुर महराले संस्कृति संरक्षण नभए देश खतरामा पर्ने बताएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको आयोजनामा आजदेखि दमौलीमा शुरु तेस्रो जनजाति सांस्कृतिक तथा पर्यटन महोत



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।