खगेन्द्र संग्राैला भन्छन् : म राष्ट्रवादी हाेइन

फाइल फाेटाे

राष्ट्रवाद नश्लसँग जोडिन्छ । इतिहासैभरि सबै राष्ट्रवादीहरू नश्लवादी देखिएका छन् । समकालीन विश्वको कुरा गर्ने हो भने डोनाल्ड ट्रम्प नश्लवादी राष्ट्रवादी हो । ट्रम्पको राष्ट्रवाद अश्वेत विरोधी, आप्रवासी विरोधी, महिला विरोधी राष्ट्रवाद हो । नरेन्द्र मोदी नश्लवादी राष्ट्रवादी हुन् । राष्ट्रवादले शत्रु खोज्छ । मोदीले दुई वटा शत्रुको रचना गरेका छन् । एउटा मुस्लिम, अर्को पाकिस्तान । 

 

नेपालको कुरा गर्ने हो भने, नेपालमा कमरेड खड्गप्रसाद ओलीको राष्ट्रवाद पनि नश्लवादी राष्ट्रवाद हो । यो नश्लवादी राष्ट्रवादले आफुलाई श्रेष्ठ देखाउनका निम्ति शत्रुको निर्माण गरेको छ । ओलीले निर्माण गरेको एउटा शत्रु भारतीय विस्तारवाद हो, अर्को मधेसी हो । 

 

नश्लको आधारमा तपाईंको वर्ण के हो ? तपाईंको भाषा के हो ? तपाईंको धर्म के हो ? हामीकहाँ त अझ तपाईं कुन भूगोलमा बसोबास गर्नुहुन्छ ? यसको आधारमा कोही श्रेष्ठ हुन्छ, कोही तुच्छ हुन्छ । खस आर्य, पहाडवासी, नेपालीभाषी, हिन्दू धर्म मान्ने श्रेष्ठ, थारु, मधेसी महिलासमेत पनि तुच्छ हुन् । आफुलाई श्रेष्ठ देखाउनको निम्ति यस्ले केही तुच्छ चिजहरूको निर्माण गरेको छ । त्यसैले यो नश्लवादी छ । 

 

तेस्रो कुरा, राष्ट्रवादले अखण्ड नेपालको कुरा गर्छ । तर सारमा विखण्डनकारी हुन्छ । राष्ट्रवादले आफ्नै देशका बन्धुहरूलाई राज्यको वृत्तभन्दा बाहिर राख्छ । त्यसले विखण्डन गर्छ । जस्तो संविधान निर्माण प्रक्रियाको बारेमा चर्चा गरौं । संविधान कसरी बन्यो ? एकथरीले, एउटा जात अथवा नश्लले अर्को समुदायमाथि हिंसा थोपर्दै, मान्छे मार्दै, रगतको खोलो बगाएर नेपालको संविधान बनेको थियो । पृष्ठभूमिमा भूकम्प थियो । भूकम्पले हल्लिएको नेपाली थियो । फास्ट ट्र्याक भनियो । संविधान निर्माणका अन्तरिम संविधान स्थापित जे जे विधि र प्रक्रियाहरू छन्, ती सबैलाई उल्लघंन गरियो । 

 

संविधान निर्माण ज्यादतिको बिचमा भएको छ । खासगरी म दुईटा ज्यादतिको उल्लेख गर्छु । टीकापुर घटना घट्यो । टीकापुरको त्यो भूगोलमा अखण्डको नारा थियो । एउटा नश्लले, एउटा समूहले अखण्डको नारा थारुहरूको समानताको आकांक्षा र दाबीलाई उपेक्षित गर्दै अखण्डको नारा ल्याइएको थियो । त्यो पृष्ठभूमिमा टीकापुर घटना घट्यो । घटनामा केही प्रहरी अफिसरहरू मारिए । केही जवान मारिए । एउटा बालक मारियो । यी जो जो मारिए, यिनीहरू सबै पहाडी थिए । त्यसपछि थारू समुदायमाथि राज्यले जघन्य हिंसा थोपर्‍यो । तिनका पसल लुटिए । घरमा आगो लगाइयो । महिलाहरूलाई अपमान गरियो । तर हामीले काठमाडौँबाट के देख्यौं ? जो पहाडी मारिए ती श्रेष्ठ थिए । पहाडी श्रेष्ठ थिए, त्यसैले हाम्रो सम्पूर्ण मिडियाको निम्ति त्यो मात्रै समाचार बन्यो । थारूहरूमाथि थोपरिएको हिंसाको कहिँ पनि चर्चा भएन । किनकी तिनीहरू थारु थिए । त्यो खस आर्य होइन, त्यो नेपालीभाषी होइन, सनातनी शाषक वर्गको सदस्य समुदाय पनि त्यो होइन । 

 

मधेसको कुरा गर्नुस् । संविधान निर्माण भइरहेको बेलामा मधेसी नेतृत्वका केही असहमतीहरू थिए । अन्तरिम संविधानले स्थापित गरेका जे जति मानक र मानदण्डहरू छन्, त्यसैको आधारमा संविधान बन्नुपर्छ भन्ने तिनीहरूको आग्रह र दाबी थियो । गरियो के भन्दा एउटा नश्लले, एउटा समुदायले संविधान निर्माण गर्‍यो । मधेस बाहिर पर्‍यो । संविधान निर्माण प्रक्रियामा त्यो संलग्न भएन । त्यसलाई संलग्न गराइएन । र संविधान निर्माण प्रक्रियाप्रति असहमति राख्ने झण्डै ६० जना मानिसहरू मारिए । अन्ततः ६० जना मानिसको रगत लत्पतिएको रक्तरञ्जित संविधान निर्माण गरियो । 

 

संघीय संविधानको प्रयोजन ऐतिहासिक दृष्टिकोणले राज्यबाट पाखा परेकाहरू, अवसरबाट वञ्चित भएकाहरू, अपमानितहरूलाई राज्यको खोलभित्र ल्याउनको लागि थियो । त्यसले समावेशिताको कल्पना गरेको थियो । तर समावेशिता विरुद्ध देशको आधा जनसंख्यालाई निर्णय प्रक्रियाभन्दा बाहिर राखेर, त्यसमाथि जघन्य हिंसा थोपरेर मानिस मार्दै संविधान बनाइयो । त्यसैले संविधान निर्माण प्रक्रिया जुन छ, यो विशुद्ध नश्लवादी छ । 

 

राष्ट्रवाद अतीतमुखी हुन्छ । राष्ट्रवाद भविष्यको कल्पना गर्दैन । अतीतका मूल्यहरूको गौरवगान गरिन्छ । जस्तोः असली हिन्दूस्ताना । पृथ्वीनारायण शाहले नेपालका यस भेगका भूगोलका स–साना टुक्राहरू जोडेपछि एउटा नारा ल्याइएको थियो असली हिन्दूस्ताना । त्यसपछि हिन्दू र हिन्दूत्वलाई राज्यको धर्मको एउटा अंश बनाइयो । हिन्दूत्वलाई देशको पहिचान बनाइयो । हिन्दू बाहेक बाँकी अरु जो थिए, तिनीहरू त्यहिबेलादेखि नै बहिष्करणमा परेका हुन् । 

 

‘हाम्रा साना दुःखले आर्ज्याको मुलुक होइन’ भनियो । हाम्रा भनेका कसका ? शाहजीहरुका । राणाजीहरूका । तर पूर्खा त मधेसीहरूका पनि थिए । थारुका पनि पूर्खा थिए । तर राज्य तिनले बनाए, जस्को हातमा सत्ता थियो । जसको परम्परा र बर्चस्व थियो, र जोसँग बन्दूक थियो राज्य तिनले बनाए । 

 

कत्रा दुःखले आर्ज्याको मुलुक भन्दा कस्तो लाग्छ भने पृथ्वीनारायण ति वीर नायक हुन् जो गोर्खादेखि सारा वन फाँड्दै बस्ति बसाउँदै जग्गा आवाद गर्दै आएका हुन्, सबै तिनले नै गरेका हुन् । बाँकी तपाईंका पूर्खाहरू के जुम्रा मारेका बसेका थिए ? मदिरापान गरेर लठ्ठीएका थिए ? अथवा कुम्भकर्णजस्तो के तिनीहरू ६ महिनाको निद्रामा थिए ? 

 

नेपाललाई बहुजातीय देश भनिन्छ । यो देशको निर्माणमा प्रत्येक जातिको योगदान छ । तिनका योगदानका प्रकृतिहरू फरक होलान् । योगदानको मात्रा पनि फरक होला । तर मधेस आवाद गरेको कस्ले हो ? पहाडीहरूले हो ? मधेस आवाद गरेको मधेसीले नै हो । नेपालको सबैभन्दा आदिवासी भन्न लायक थारु समुदाय नै हो । नेपालको इतिहास निर्माणमा, नेपालको सभ्यता निर्माणमा, संस्कृतिको निर्माणमा तिनको पनि योगदान छ । तर यो सम्पूर्ण निर्माण प्रक्रियामा एउटा जात, एउटा भाषा र एउटा धर्मलाई मात्रै श्रेष्ठ मानियो । बाँकीका योगदानहरूलाई उपेक्षा गरियो । 

 

राष्ट्रवाद भन्छ, ‘साम्राज्य दुई हारे, हारेन शान हाम्रो ।’ कुन कुन साम्राज्य कसरी हारे र तपाईंको शान कसरी हारेन ? आफ्नो काल्पनिक श्रेष्ठता स्थापित गर्नको लागि यस्ता केही चिजहरू बनाइए । केही मिथकहरू रचना गरिए । केही प्रतीकहरू निर्माण गरिए । त्यसैको आधारमा एउटा श्रेष्ठ भयो, अर्को तुच्छ भयो । एउटालाई श्रेष्ठ भनिन र मानिनको निम्ति बाँकीलाई तुच्छको दर्जामा राखिन पर्ने भयो । 

 

राष्ट्रवाद र देशप्रेम सर्वथा फरक कुरा हो । आफु जन्मे, हुर्केको परिवेश र संस्कृतिले एउटा सम्बन्धको निर्माण गर्छ । आफुलाई जन्माउने आमाप्रति सबैमा ममता हुन्छ । आफुले टेकेको माटोप्रति सबैमा ममता हुन्छ । त्यो भूमि जस्ले तपाईंलाई अन्न दियो, त्यो आकाश जस्ले तपाईंलाई हावा दियो, त्यो प्रकृति जस्ले तपाईंमा सौन्दर्यचेतनाको निर्माण गरिदियो । त्यसप्रति मानिसमा स्वभाविक अपनत्व र ममता हुन्छ । 

 

देशप्रेम ममतापूर्ण हुन्छ, कृतज्ञतायुक्त हुन्छ । देशप्रेम नश्लीय छैन । देशप्रेम विखण्डनकारी हुँदैन । यसले विभाजन गर्दैन । यो श्रेष्ठ र त्यो तुच्छ भन्दैन । भूगोलको चौघेरा भित्र जति मानिसहरू बसेका हुन्छन् ति सबैलाई देशप्रतिको माया हुन्छ । माटोप्रतिको, आमाप्रतिको, आफ्नो सभ्यता र परम्पराप्रतिको कृतज्ञता नै देशप्रेम हो । 

 

जुन बेला संविधान निर्माण भएको थियो, जुन बेला मधेस आन्दोलन भएको थियो र जुन बेला टीकापुर घटना घटेको थियो, त्यो बेला सिंगो मिडिया सत्तामा विलय भएको थियो । मिडिया यति भयानक राष्ट्रवादी भएको थियो, अहिलेका जो राष्ट्रवादी नेताहरू छन्, त्यसको रचना मिडियाले गरेको थियो । टीकापुरमा जो पहाडी मारिए, मिडियाले तिनको श्रेष्ठताको गाथा गायो । थारूहरू मारियो, त्यसको तुच्छताको मिडियामा कहिँ चर्चा नै भएन । मधेसमा त्यतिधेरै मानिसहरू मारिदाँ पनि मिडियाले कहिँ पनि आपत्ति गरेन । ती घटनाहरूलाई मिडियाले यसरी प्रस्तुत गर्‍यो कि, संविधान निर्माणको बेलामा थारू र मधेसीहरू मारिनु मानौं गौरवको विषय हो । त्यस्तो किन गरियो भने सनातनी दृष्टिबाट हेर्दा यो देश खसआर्यहरूले बनाएका हुन् । लामो समयदेखि सत्तामा खसआर्यहरू नै थिए । राज्यको सम्पूर्ण स्रोतसाधनहरूमा तिनको एकलौटी बर्चस्व थियो । 

 

मैले जुनबेला राष्ट्रवाद सिकिरहेको थिएँ, त्यो बेलादेखि अहिलेसम्म मधेसमाथि कस्तो व्यवहार गरिन्छ भने मधेस सिंहदरबारको मालिकहरूको हो र मधेसी चैं बिहारको हो । किनकी त्यसको वर्ण कालो छ, नेपाली भाषा त्यसको मातृभाषा होइन, त्यसको वस्त्र फरक छ र भूगोल फरक छ । 

 

अहिले केही कुराहरू फेरिएका छन् । काठमाडौँमा मर्स्या, मधेसी, काले, धोती अचेल कम भनिन्छ । तर कम्युनिष्ट आन्दोलनको इतिहासले पनि मलाई वीर पृथ्वीनारायणकै सन्तान भनेर सिकाएको थियो । इतिहासले मधेसीलाई कायर हुन् भनेर सिकाएको थियो । त्यसैले मधेसमा ६० जना मानिस मारिदाँ पनि मान्छे मर्‍यो भनेर कहिँ कल्पना गरेन । कोही विदेशी अथवा विदेशको दलाल मर्‍यो, मधेसको भूमिलाई कुनै पनि बेला कतै लगेर बुझाउन सक्ने कुनै पात्र मर्‍यो भनेजसरी मिडियाले मधेसलाई प्रस्तुत गर्‍यो । यस हिसाबमा संविधान जुन पृष्ठभूमिमा जुन प्रक्रियाबाट जसरी निर्माण गरियो, त्यो एउटा अपराधको बिचमा आपराधिक दस्तावेजको रुपमा निर्माण गरिएको छ ।

 

हामी संघीतामा गएको किन हो ? नेपालमा विभेद छ । त्यो विभेदलाई न्यूनीकरण गर्न, विभिन्न समुदायका बीच प्रेम, सदभाव, समानता र सहकार्यको निर्माण गर्नका निम्ति हामी संघीयतामा गएका हौं । तर राष्ट्रवादले संघीयताको सारतत्व झिकिदियो । प्राविधिक किसिमको संघीयता मात्रै बाँकी रह्यो । त्यो सबैको साझा भएन । अझै पनि देशको लगभग आधा जनसंख्या यो संविधानसँग असन्तुष्ट छ । त्यो असन्तुष्टी भनेको हामीलाई पाखा पारेर, हामीमाथि बन्दुक र गोली प्रयोग गरेर तिमीले संविधान बनायौ भन्ने हो । 

 

यो परिस्थिति राष्ट्रवादले निर्माण गरेको हो । यो राष्ट्रवाद नश्लिय छ । यो राष्ट्रवाद गणतन्त्रविरोधी छ । यो राष्ट्रवाद समाजवादविरोधी छ । यो राष्ट्रवाद असमावेशी छ । यो राष्ट्रवाद विभेदपूर्ण छ । सबै परम्पराका सबै रोगहरू यसले बोकेर हिँडेको छ । त्यसैले मलाई माफ गर्नुहोला, म राष्ट्रवादी होइन ।

 

(पोखरामा जारी नेपाल लिट्रेचर फेस्टिभल २०१८ मा ‘म किन राष्ट्रवादी होइन ?’ विषयक सेसनमा लेखक खगेन्द्र संग्रौलाले दिएको मन्तव्यको सम्पादित अंश)


थप समाचार

ट्रम्पको नयाँ प्रस्ताव स्वीकार्य नरहेको डेमोक्र्याटिक पार्टीको भनाइ

  • 3 minutes ago
ट्रम्पको नयाँ प्रस्ताव स्वीकार्य नरहेको डेमोक्र्याटिक पार्टीको भनाइ

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको पर्खाल निर्माणका लागि कङ्ग्रेसले बजेट छुट्याए अमेरिकामा रहेका लाखौं आप्रवासीलाई स्वदेश फर्काउने कार्य तत्कालका लागि स्थगन गर्ने नयाँ प्रस्ताव गर्

काँग्रेसमा अनुशासनकाे खाँचाे रहेकाे देउवाकाे जिकीर

  • 10 minutes ago
काँग्रेसमा अनुशासनकाे खाँचाे रहेकाे देउवाकाे जिकीर

दमौली । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अनुशासनको खाँचो रहेको बताएका छन् । तनहुँ काङ्ग्रेसले आज दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले अनुशासनभन्दा ब

बलात्कार मुद्दामा थुनामा रहेका कैदीकाे मृत्यु

  • 59 minutes ago
बलात्कार मुद्दामा थुनामा रहेका कैदीकाे मृत्यु

चितवन । जबरर्जस्ती करणी मुद्दामा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ ।



जीवनशैली/स्वास्थ्य

घरमा सुख शान्ति बनाइराख्न यस्ता कामहरु गर्नुहोस्

घरमा सुख शान्ति बनाइराख्न यस्ता कामहरु गर्नुहोस्

घरमा सुख समृद्धि बनाइराख्नको लागि हाम्रा पूर्वजहरुले पहिलेदेखी नै धेरै परम्पराहरु मान्दै आएको पाइन्छ । तर आजकालको आधुनिक युगमा धेरै मानिसहरुले पुराना परम्पराहरु मान्न छाडिसके ।

विचित्र विश्व

सिङ्गै गाउँ चार जनाको नाममा

सिङ्गै गाउँ चार जनाको नाममा

डोल्पा । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका, ५ फुल्चिङका ६९ वर्षीय चन्द्रलाल चलाउनेको नाममा एक टुक्रा पनि जग्गा छैन । घरअगाडिको प्रशस्त जमिनमा मेहनतका साथ अधियाँ खेती गरे पनि उनको परिवारलाई वर्षभरि जीविका चलाउन मुस्कल पर्छ ।