


बुद्ध एअरले ५ वर्षभित्र जेट खरिद गर्ने
निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एअरले आउँदो ५ वर्षभित्र लामो दूरी उडान भर्न सक्ने जेट एअरक्राफ्ट खरिद गर्ने भएको छ । राष्ट्रिय उडानबाट सीमावर्ती सहरहरूमा केही साताभित्रै अन्तर्राष्ट्रिय उडान प्रारम्भ गर्ने तयारीमा रहेको बुद्ध एअरले सन् २०१४÷१५ भित्र मध्यम तथा लामो दूरी उडानका लागि जेट एअर किन्ने तयारी थालेको हो ।
बुद्ध एयरलाई क्षमता विस्तारका लागि विश्व बैंकअन्तर्गतको आईएफसीले सन् २००८ मा १ करोड अमेरिकी डलर बराबरको दीर्घकालीन ऋण सुविधा दिएको थियो । बुद्ध यस्तो सुविधा पाउने नेपालको पहिलो र एकमात्र वायुसेवा कम्पनी हो । आईएफसीको सहयोगपछि बुद्धले आफ्नो सञ्चालन खर्चमा देखिएको कमी पूरा गर्दै क्षमता विस्तार गर्दै लगेको छ ।
“हाम्रो अहिलेसम्मको तयारीले सन् २०१४ को अन्त्य तथा सन् २०१५ को सुरुवातसम्ममा जेट एअरक्राफ्ट किन्न सक्ने अवस्थामा पुग्नेछौं,” कम्पनीका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले कारोबारसँग भने । राष्ट्रिय ध्वजाबाहक नेपाल एअरलाइन्सले नयाँ जहाज खरिद गर्न अघि बढाएको प्रक्रिया अबरुद्ध भएका बेला निजी क्षेत्रको एअरलाइन्सले यस्तो घोषणा गरेको छ ।
बुद्धले ठूलो आकारको जहाज खरिदपछि कसरी सञ्चालन गर्ने भन्ने ‘बिजनेस प्लान’ बनाएको भने छैन । तर जहाज खरिदको मनोवैज्ञानिक निर्णयमा भने पुगिसकेको बस्नेतले जानकारी दिए ।
बस्नेतका अनुसार कम्पनीको अहिलेसम्मको प्रगति र सरोकारवाला पक्षको विश्वासलाई आधार मानेर जहाज खरिदको मिति प्रक्षेपण गरिएको हो । उनले ठूलो जहाज खरिद गरेर नयाँ क्षेत्रमा उडान भर्ने जानकारीसमेत दिए । “हामी अहिलेसम्म नयाँ क्षेत्र खोजेकै कारण सफल भएका हौं,” उनी भन्छन्, “नयाँ एअरक्राफ्ट खरिद गरेपछि पनि यसलाई निरन्तरता दिनेछौं ।”
नेपाली कामदारको गन्तव्य मुलुकमा केन्द्रित वायुसेवाहरूभन्दा फरक गन्तव्य रोज्ने बस्नेतले संकेत गरे । नेपालबाट अन्तर्राष्ट्रिय उडानको पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै त्यो सम्भावनालाई ग्रहण गर्ने क्षमता बुद्ध एअरसँगै भएको उनले दाबी गरे ।
प्रतिस्पर्धी मूल्यका कारण बुद्ध एअर नेपाली हवाई उद्योगमा सफल भएको दाबी गर्दै बस्नेतले क्षेत्रीय र अन्तर्राष्ट्रिय उडानमा समेत यो रणनीति लागू गरिने स्पष्ट पारे । बुद्धले गत वर्षको चैत दोस्रो साता अन्तर्राष्ट्रिय उडानको अनुमति पाएको थियो । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुद्धलाई २ घन्टा ३० मिनेटसम्मको उडान भर्न पाउने ‘सी’ वर्गको उडान अनुमति दिएको छ ।
बुद्ध एअरले आउँदो साउन २ गतेदेखि भुटानको पारो विमानस्थलमा सातामा ४ उडान सुरु गर्दैछ भने भदौ १६ गतेदेखि भारतका विभिन्न सहरहरूमा समेत उडान सञ्चालन गर्ने जनाएको छ । बुद्धले गत जेठ १० गते पारो विमानस्थलमा परीक्षण उडान गरेको थियो । भारतका लखनउ, पटना, गुहाटी र देहरादूनमा उडान सञ्चालन गर्ने तयारी अघि बढिरहेको बस्नेतले जानकारी दिए ।
सीमावर्ती उडानका लागि बुद्धले एटीआर–७२–५०० जहाज गत साता काठमाडौं ल्याइसकेको छ । बुद्धसँग यसअघि ४७ सिट क्षमताका एटीआर ४२ तीनवटा तथा बी १९०० मोडलका ४ वटा जहाजहरू सञ्चालनमा छन् । पारो उडानको परीक्षण एटीआर ४२ बाट गरिएको थियो ।
नयाँ थपिएको एटीआर ७२ ले ७० यात्रु बोक्ने क्षमता राख्छ । यसको नियमित उडान बिहीबारबाट गरिंदैछ । अर्को वर्ष पनि एटीआर ७२–५०० जहाज थप गर्ने बुद्धको योजना छ ।
बुद्ध एअरले एटीआर ७२–५०० जहाज एकै पटक पूरा पैसा भुक्तानी नगरी किस्ताबन्दीमा तिर्ने गरी अर्थात् ‘लिज पर्चेज’ मा खरिद गरेको हो । नेपाली एअरलाइन्सले पहिलो पटक विमान उत्पादक कम्पनीबाट ‘लिज पर्चेज’ को सुविधा पाएको दाबी गर्दै प्रबन्ध निर्देशक बस्नेतले अन्तर्राष्ट्रिय उडान विस्तारका लागि यो अवसर कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।
एटीआर ७२–५०० टर्वोप्रोप इञ्जिन शृंखलामा निर्मित रहेको विश्वकै उत्कृष्ट विमान भएको भन्दै कम्पनीले इञ्जिनको आवाज एकदम कम आउने भएकाले यात्रुले जेटविमानकै सरह आरामदायीता महसुस गर्ने दाबी गरेको छ । (कारोबार दैनिक)
|
Last Updated : 2010-07-23 11:37:24 | Text Size :
|
| |
काठमाडौँ, भदौ २२/प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा मंगलबार भएको निर्वाचनमा मतदान गर्ने की तटस्थ बस्ने भन्ने विषयमा पार्टीभित्र चर्केको तिब्र विवाद मिलाउन नसकेपछि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले आजको निर्वाचन बहिष्कार गरेको छ ।


EDT 17:14
22:14
2:59
SYD 7:14

