


पलेंटीमा तेस्रोपल्ट गायक फत्तेमान

काठमाण्डौ, साउन ९ / आउँदो जुलाई ३० तारीख साँझको पलेँटीमा गायक फत्तेमानले तेश्रोपटक आफ्नो तन्नेरी गायनको जादू छर्ने भएका छन् । ७४ वर्षे यी जोशिला गायकको पलेँटीमा यो तेस्रो प्रस्तुति हो ।
नेपालयको 'आर' शालामा हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रबार आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम पलेंटी श्रृंखलाको छैटौं वर्षको अर्धवाषिर्क कार्यक्रममा उनी प्रस्तुत हुने भएका हुन् ।
वाद्यवादकहरुसंग अभ्यासमा तल्लीन गायक फत्तेमानले भने- "यसपटक म फेरि पलेँटीमा आउने भएको छु । उमेर पाको भए पनि गाउने रहर जागै छ भनौं । यसपालि केही नयाँ गीतहरु पनि गाउनका लागि अभ्यास गरिरहेको छु । श्रोता, दर्शकको माया पाइरहेको छु । खुसी छु ।"
यसपालिको पलेँटीमा यसभन्दा पहिले मञ्चमा प्रस्तुत नभएका गीतलाई प्राथमिकता दिइने कुरा पनि उनले जानकारी गराए ।
यसपालि महाकवि लक्ष्मीप्रसाद देवकोटाको रचनादेखि लिएर कविवर माधव घिमिरे, रत्नशमशेर थापा, राममान तृषित, यादव खरेल, तीर्थराज तुलाधर, कालीप्रसाद रिजाल, मञ्जुल, बनीरा गिरी, तीर्थ श्रेष्ठ, विक्रम सुब्बा, अर्जुन पराजुलीलगायतका रचनाहरु उनले छानेका छन् ।
संगीतज्ञ अम्बर गुरुङ र नातिकाजीका सङ्गीतदेखि लिएर ज्ञानबहादुर, अमृतसम्मका धुनहरु समेटिएको यसपालिको कार्यक्रममा उनको पछिल्लो एलबम 'फत्तेमान ७०मा'का संगीतकार आभासका धुनहरु पनि प्रस्तुत हुनेछन् । साथै यो पलेँटीमा फत्तेमान आफैले सिर्जेका धुनका गीत पनि सुन्न पाइने भएको छ ।
|
Last Updated : 2010-07-25 10:45:16 | Text Size :
|
| |


EDT 22:43
3:43
8:28
SYD 12:43

