


संघर्ष टिक्न गाह्रो भयो

काठमाडौँ, साउन १३ / गएको साता राजधानीमा प्रदर्शन भएको 'संघर्ष जिन्दगी'को निकै समय बक्स अफिसमा राज गर्ला भन्ने सोचिएको थियो तर एक साता नबित्दै राजधानीका प्रमुख सिनेमा हलबाट उत्रिन पुगेको छ । बक्स अफिसमा राज गर्ने आशा किन गरिएको थियो भने, यसमा अहिलेका चल्तीका नायक राजेश हमाल र निकै समय ठूलो पर्दाबाट हराएकी नायिका विपना थापा सिनेमाका मुख्य आकर्षण थिए ।
तर विपनाको 'कमब्याक' ठानिएको यो चलचित्रले बक्स अफिसमा पानी पनि नमागी हलबाट बाहिरिन पुगेको छ । नदी किनारमा गिटी कुटेर जीविकोपार्जन गर्ने मजदूरहरूको कथामा निर्माण भएको यस फिल्ममा टीका पहाडी, शाम्दे शेर्पा, सिर्जना बस्नेत, रोहित थेबे, रवि गिरी आदिले पनि अभिनय गरेका छन् । विपनाको जोडी नयाँ अनुहारका युवा देखिएका छन् । भोलि शुक्रबारदेखि तिनै सिनेमा हलहरूमा अर्को चलचित्र 'मन मुटु र माया' प्रदर्शन हुने भएको छ । फिल्मलाई विनोद सेरेङले निर्देशन गरेका छन् ।
त्यसो त चलचित्रका कथा बासी र धेरै समयअघि बनिसकेर प्रदर्शनमा नआउनु फिल्म नचल्नुको प्रमुख कारण मानिएको छ । त्यस्तै हो भने भोलिदेखि काठमाडौँमा रिलिज हुने 'मन मुटु र माया'ले पनि खासै चमत्कार देखाउन सक्ने छैन । यो फिल्म पनि चार वर्षअघि बनिसके पनि चलचित्र प्रदर्शनमा आउन सकेको थिएन ।
त्यसो त यी दुवै फिल्मको प्रचारका लागि कुनै कसरत पनि त गरिएको थिएन !
|
Last Updated : 2010-07-29 08:16:06 | Text Size :
|
| |


EDT 22:03
3:03
7:48
SYD 12:03

