कञ्चनपुरको ऐनामा राज्यको अनुहार

कञ्चनपुर घटनाले यो सरकार कसको हो भनेर बुझ्न ठूलो सहयोग पुर्‍याएको छ । निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीको व्यवहार सरकारी अधिकार प्राप्त अपराधीको थियो भनेर अव लोकले बुझिसक्यो । हत्या या बलात्कार भएको लाश भेटेपछि प्रहरीले गर्नुपर्ने प्रारम्भिक कामको विपरित प्रमाण नष्ट गर्न लाग्ने काम सरकारले भनेजस्तो प्रहरीको ‘कमजोरी’ होइन, सिधै अपराध हो । 

 

प्रहरीको त्यो व्यवहारले संसारले सजिलै के बुझ्यो भने निर्मलाको हत्या र बलात्कारी प्रहरी नै हो या प्रहरीले बचाऊ गर्नुपर्ने कुनै ‘ठूलो माछा’ हो । श्रव्य–दृश्य सामाग्रीहरूबाट यति कुरा सार्वजनिक भइसकेपछि सरकारले छानबिन समितिको नाटक गर्नु नै बेकार थियो ।

 

सिधै प्रमाण मेट्न सहभागी र निर्देशन दिने प्रहरीहरूलाई हिरासतमा लिएर बयान लिने हो भने अपराधीहरू शतप्रतिशत फेला पर्ने थिए । तर सरकारले त्यसो नगरेर आलटाल गर्नु र छानबिन समितिको नाटक गर्नुले के पुष्टि हुन्छ ? के सरकारको यो तरिका कुनै सामान्य कमजोरी मात्र हो ? होइन, पक्कै पनि यो सरकारको सामान्य कमजोरी होइन । त्यसो भए के हो त ?  हो के भने राज्यका हरेक अङ्ग अनैतिक र भ्रष्टहरूले भरिएको छ । सिङ्गै राज्य सत्ता अनैतिक र भ्रष्टहरूले चलाएका छन । 

 

कञ्चनपुर प्रकरणमा पक्कै पनि राज्यको त्यस्तो प्रतिनिधी मुछिन पुग्यो जसलाई अपराधी घोषित गरेर काम अघि बढाउँदा सिंगो राज्यसत्ताप्रति नै जनतामा अविश्वास जन्मने सम्भावना देखियो । जसकारण सिंगै राज्य त्यो घटनालाई छोपछाप पर्न र नक्कली अभियुक्त उभ्याएर कारबाही गरेको नाटक गर्न अघि सर्‍यो । 

 

गाउँघरमा कुनै धनीमानिको छोराले कुनै गरिबकी छोरीलाई गर्भवती बनायो भने धनीमानिको इज्जत बचाउन भनेर एउटा निर्धो गरिबलाई खोजिन्छ र लोभ लालच देखाएर यो मेरो बच्चा हो भन्न लगाइन्छ । कञ्चनपुर घटनामा पनि राज्यको ठूलो दर्जाको मान्छे मुछियो र त्यसपछि नक्कली अभियुक्त उभ्याउने र अपराध कबुल गराउने काममा राज्य लाग्यो । 

 

सत्ता पक्षका कैयन् मानिसहरू के भन्ने गर्छन् भने, ‘राज्य या सरकार त घटनाका अपराधीलाई कार्यवाही गर्न प्रतिबद्ध छ तर तलका केही प्रहरीहरूले कमजोरी गरे ।’ मैले माथि नै भनें कि यो घटनामा तलका पदाधिकारीहरूले अञ्जानमा कमजोरी गरेका होइनन्, बरू जानीजानी घटनाको यथार्थ लुकाउन प्रमाण मेट्ने अपराध गरेका हुन् र प्रमाण मेटाउनेहरू जसरी अपराधी या अपराधीका मतियार हुन्, त्यसैगरी ती अपराधीहरूलाई बचाउन खोज्ने राज्य सिधै बलात्कारीको मतियार हो । 

 

कञ्चनपुर घटना सरकारको अनुहार हेर्ने एउटा सानो आँखीझ्याल या ऐना मात्र हो र महिलामाथि हुने निकृष्ट हिंसा र त्यसमा सरकारको रवैया कस्तो हुन्छ भनेर बुझ्न यसले जनतालाई राम्रो मद्दत गर्छ । तीन करोड नेपाली र सात अरब पृथ्वीका मानिसहरू सरकारले सोचे जति दृष्टिविहीन छैनन् । उनीहरूले सरकारका काम र अभिव्यक्तिहरूलाई राम्रोसँग हेरिरहेका छन् । हो, सरकारसँग दुई तिहाई छ र सरकारलाई यो देशका अरबपतिहरूको पनि समर्थन छ । सरकारलाई भारत, चीन, अमेरिका लगायतको पनि समर्थन छ । सरकारलाई सेना, प्रहरी, कर्मचारी, न्यायालय र ठूला मिडियाको पनि समर्थन छ । ती सबै भएर पनि सरकार नैतिक हिसाबले ढलेको छ । जनताका अगाडि टाउको झुकेको सरकारले ज–जसको समर्थन पाए पनि ढले सरह हो । 

 

निर्मला पन्तको बलात्कार तथा हत्याको घटना एउटा प्रतिनिधि घटना मात्र हो । महिलाहरूको आत्म सम्मानलाई यो सरकारले कसरी हेर्छ भन्ने कुरा कञ्चनपुरको ऐनामा प्रष्ट देखिएको छ । देशैभरि बलात्कार तथा हत्याका घटनाहरू बढिरहेका छन् । जहाँ जहाँ घटनामा संलग्नहरू गरिब वर्गका छन् ती प्रायः पक्राउ परेका छन् । जहाँ जहाँ धनीमानी या ठूला ठालू परेका छन्, त्यहाँ पहिले घटना बाहिर नै नआउने, आए पनि प्रहरी प्रशासन सबै मिलेर मिलापत्रमा टुंग्याउने या अरु कुनै नक्कली अभियुक्त खडा गरेर पैसा लिएर जेल बस्ने व्यवस्था हुने गरेको छ । 

 

कतिपय घटनामा बलात्कारको उजुरी दिन जाने पीडित महिलाले उल्टै प्रहरीबाट ‘कसरी ? कतिपटक ?’ लगायत प्रश्नहरूको अश्लिल बयानमा सामेल भएर रुँदै फर्किनु परेको छ । उजुरी गर्न जाने बाबु–आमालाई पनि प्रहरीले उल्टै फर्काउने र जाहेरी लिन हत्तपत्त नमान्ने कुरा आम नागरिकलाई थाहा छ । समाजको तितो यथार्थ के हो भने, जब कुनै बस्तीमा ठेकेदारहरू आउँछन तब केही छोरी चेलीहरू शिकार हुन सुरु गर्छन् । कुनै चोक या बस्तीमा प्रहरी चौकी आएपछि कहीँ पनि यौन व्यवसाय या यौनदुर्व्यवहारका घटना घट्दैनन् बरु सुरक्षित तरिकाले चल्न थाल्छन् । किनकी ठेकेदार र प्रहरीका हाकिमहरू स्वयं बलात्कारी हुन्छन् । उनीहरूबाट हुने उनान्सय प्रतिशत बलात्कार बाहिर आउँदैनन् । 

 

बलात्कार गर्नु पुरुषको जन्मसिद्ध अधिकार हो भनेर दिमाग बनाएका मानिसहरूको जिम्मामा जनताको सुरक्षाको जिम्मा दिए पछि कसरी सुरक्षा हुन्छ ? यो तलका स्थानीय शासकहरूको मात्र समस्या होइन, सबै भन्दा माथिका शासकहरू नै सबैभन्दा बढी बलात्कारको विचारधाराबाट प्रशिक्षित हुन्छन् । सामन्ती तथा पूँजीवादीहरूले महिलाहरूलाई सग्लो मान्छे कहिले सोच्दैनन् । उनीहरूको दिमागले महिलाहरू भनेका पुरुषको राम–रमाइलो र सेवाको निम्ति प्रकृतिले सिर्जना गरेका सुन्दर तर कमजोर प्राणी हुन् । स्वयं आफ्नी आमा पनि महिला हुन् भन्ने कुरा भुलेर सामन्ती या पूँजीवादी विचारले ग्रस्त मान्छे जहिले पनि महिलालाई एक उपभोग्य वस्तु मात्र सोच्छ ।

 

बलात्कार पुरुषबाट आफ्नो शारीरिक तथा सामाजिक बलको आडमा महिलामाथि गरिने उत्पीडनको एउटा भयानक रुप हो । महिलाको इज्जत स्तन र योनीमा हुन्छ, त्योमाथि कसैले छोएपछी महिलाको इज्जत सकियो भनेर विचार बनाउनेहरू नै महिलालाई हतोत्साहित गर्न र आफ्नो पाशविक तिर्खा मेट्न बलात्कारजस्तो अपराध गर्न पुग्छन् । आजको राज्य र सरकार महिलाहरूलाई हेर्ने त्यही उपभोक्तावादी विचारले चलेको छ ।

 

राज्यको चरित्र यस्तो रहुन्जेलसम्म बलात्कारको घटनामा कसैले शतप्रतिशत न्याय पाए भने त्यो विचित्रको संयोग मात्र हुने छ । त्यसै पनि शतप्रतिशत न्याय पाउने सम्भावना कुनै हालतमा छैन । किनभने बलात्कारीलाई कारवाही गर्न बनाएका ऐन–कानुनहरू कुनै न कुनै हिसावले बलात्कारलाई सही ठान्नेहरूले बनाएका हुन् । ती कानुनलाई कार्यान्वयन गर्न बनेका निकायहरूमा जो बसेका छन्, ती बलात्कारलाई खासै ठूलो कुरा होइन भनेर मान्नेहरू नै छन् । 

 

प्रायः बलात्कारमा पर्ने महिलाहरू दलित हुन्छन्, गरिब हुन्छन्, अभिवावक नभएका हुन्छन् या शारीरिक तथा मानसिक हिसाबले अशक्त हुन्छन् । आजसम्म कुनै जर्नेलकी छोरी या आइजिपीकी छोरी बलात्कार भएको कसैले सुनेको छैन । आजसम्म कुनै न्यायाधीशकी छोरी या मन्त्रीकी छोरी बलात्कार भएको पनि कसैले सुनेको छैन । प्रायः बलात्कारको शिकार निमुखा गरिबका छोरीहरू नै हुने गरेका छन् । 

 

राज्यसत्ता धनीहरूको छ । धनीहरूको राज्यसत्ताको मूल चरित्र नै गरिबहरूमाथि सकै प्रकारका दमन, उत्पीडन र शोषण गर्नु हुन्छ । बलात्कार महिलाहरूमाथि हुने उत्पीडनको एउटा ऐतिहासिक उपकरण भएको हुनाले राज्य यस प्रकारका घटनामा उत्पीडकप्रति उदार हुने गर्छ । त्यसैले बलात्कार एकातिर पुरुष सत्ताले सत्ताविहीन महिलाहरूलाई गर्ने शोषण दमन र उत्पीडनको एउटा रुप हो भने अर्कोतिरबाट हेर्दा वर्गीय हिसावले यो धनी वर्गले गरिब वर्गलाई, अझ त्यो वर्गका पनि असहाय समुदायमा पर्ने महिलालाई गर्ने शोषण, दमन र उत्पीडनकै आधारभूत रुप हो । यस अर्थमा बलात्कारलाई वर्गीय रुपमा मात्रै बुझ्नु पनि अपूर्ण हुन्छ भने पुरुषको अत्याचारको अर्थमा मात्र बुझ्नु र त्यस भित्रको वर्गीय सारलाई नबुझ्नु पनि अवैज्ञानिक हुन्छ ।

 

प्रसङ्ग कन्चनपुरबाट सुरु भएको थियो । कञ्चनपुरमा जस्तै घटना देशैभरि भइरहेका छन् । तर खास केही कारणले कञ्चनपुर बढी चर्चामा आयो । मेरो उद्देश्य कञ्चनपुर किन बढी चर्चामा आयो भनेर चर्चा गर्नु होइन । मेरो कथन त कञ्चनपुर त्यस्तो सबैले देख्ने ऐना हो, जसमा हेरेपछि यो देशका प्रहरीका हाकिमहरूको अनुहार पनि देखिन्छ, यो देशका गृहमन्त्रीको अनुहार पनि देखिन्छ र यो देशका प्रधानमन्त्रीको अनुहार पनि देखिन्छ भन्ने हो । कञ्चनपुरको गतिशील ऐनामा यो देशका राज्यसत्ताका ठूला भनिने मान्छेहरूको छाँयाछवि मात्र देखिदैन, उनीहरूको चरित्र पनि पढ्न पाइन्छ । 

 

प्रमाण नष्ट गर्ने स्थानीय प्रहरी पहिलो दृश्यमा आउँछन र आफ्नो कर्तुत छोप्न अपराधीले अपनाउने शैलीमा तिनीहरू निर्मलाको सुरुवाल धुन लगाउँछन्, मानौं त्यो सुरुवालमा उनीहरूकै विर्य लत्पतिएको होस् । निर्मलाको योनी पखाल्न लगाउँछन्, मानौ उनको क्षतविक्षत योनी उधिन्ने अत्याचारी लिङ्ग तिनीहरूकै हो । अपराध जाँचबुझ शास्त्रको उल्लङ्घन गर्दै उनीहरू सारा प्रमाणहरू खरानी बनाउँछन् । 

 

छोरीको बलात्कार र हत्या हुँदा बाहिर रहेका बाबुको किर्ते हस्ताक्षर गराउँदा स्थानीय प्रशासनलाई कुनै आत्मग्लानिको महसुस हुँदैन, मानौं आत्मग्लानीको महसुस गर्ने उनीहरूको ग्रन्थी सरकारी सेवामा लाग्ने बेला नै चिरफार गरेर निकालेर फालिएको छ । गृहमन्त्री पूँजीवादले गर्दा बलात्कार बढेको विश्लेषण गरेर भाग्न खोज्छन् भने यो देशका हाउडे प्रधानमन्त्री अपराधी पत्ता लाग्न १२ वर्ष लाग्न सक्ने वाहियात गफ गर्छन् ।

 

सत्ताधारी पार्टीका महिला संगठनहरू आँखामा पट्टि लगाएर बस्छन्, मानौं अब उनीहरूको लक्ष्य पार्टीसँग कृपामा केही पद प्राप्त गर्नु र त्यसैमा मख्ख पर्नु मात्र हो । सत्ताधारी युवा तथा विद्यार्थीहरू बेखबर बस्छन्, मानौं उनीहरूको मुख सत्ताको सियोले सिएको छ र यसरी सिङ्गै राज्य र सरकार अनि सरकार समर्थक संयन्त्रहरू बलात्कारका मतियार बनेर उभिन्छन् ।

 

कञ्चनपुरको ऐनामा जनताले भने वास्तविकता झल्झली देखिरहेका छन् । सरकारले बलात्कारीलाई बचाउने सिधासिधा आपराधिक रवैया देखाएपछि जनता सडकमा आउँछन् र आन्दोलन अघि बढ्छ । सरकार आन्दोलनकारीहरूमाथि गोली चलाउँछ र मान्छे मार्छ । न्यायको आवाज उठाउनेहरूको रगत पिएर अट्टहास गर्ने प्रतिक्रियावादी राज्य जुन झण्डा बोक्नेको सरकार आए पनि उस्तै रहेछ भनेर जनताले अझ राम्ररी बुझे ।

 

हामीले हेर्‍यौं भने के थाहा पाउँछौ भने कञ्चनपुरमा मात्र हैन, राज्यका ठूला–ठालुतिर निशाना सोझियो भने अरु घटना पनि झिसमिस पारिन्छन् । ३३ किलो सुन प्रकरणमा गोरेको गिरफ्तारी पछि अब ठूला माछा जालमा पर्ने भए भनेर खुब चर्चा भयो । तर जब अनुसन्धानको गोहो राज्यका ‘सम्मानित’हरूको ढोकामा पुग्यो तब अनुसन्धान टोली अँधेरो मुख लगाएर झोक्रायो । महिनौंको अनुसन्धान गतिहीन बन्यो र अन्तमा गोलमटोल प्रतिवेदनको पुलिन्दा सरकारलाई बुझाइयो । 

 

अहिले कञ्चनपुर प्रकरणमा पनि छानबिन समितिकै सदस्यले असुरक्षाको कारणले राजीनामा दिनेसम्मको घटना घट्यो । तर उनलाई फकाई–फुलाई गरेर फेरी काममा फर्काइयो । फेरी एउटा झुटको पुलिन्दा सरकारलाई बुझाउने काम भयो । यसबाट के बुझिन्छ भने सरकार स–साना अपराधहरूमाथि नियन्त्रण गरेको देखाएर जनतामा भ्रम छर्छ र ठूला अपराधलाई ढाकछोप गर्छ । 

 

सरकारका यस प्रकारका जनविरोधी आपराधिक गतिविधि हुँदा पनि आफुलाई कम्युनिष्ट भन्न मन पराउने ठूलो संख्या यो समय के सोचेर बसेको होला ? अपराध नै अपराधको मतियार भएको सरकारको समर्थन गर्दा ती अपराधहरूको भागीदार आफु पनि बन्नु पर्छ भनेर ती मानिसहरू सोच्छन् कि सोच्दैनन् होला ? या तिनीहरू पनि अपराध टुलुटुलु हेर्न अभ्यस्त भइसके ? या तिनीहरू अपराधको थुप्रो माथि आनन्दले निदाउने प्राणीमा रुपान्तरण पो भई सके कि ?

 

घटनाक्रमहरूबाट के बुझ्न सकिन्छ भने वर्तमान सरकार जनताको समर्थनको बलमा होइन बरु देशभित्र र बाहिरको पूँजीवादको समर्थनमा बन्दुकको बलले टिकेको छ । चुनावको बहुमतको नाटक पूँजीपतिका पैसाको खेल मात्र हो । पूँजीवादको मुख्यालयले जसलाई जिताउन चाहन्छ, उसलाई चुनावको नाटक गरेर जनतालाई धोका दिइन्छ । यही धोकाको बलमा पाँच वर्ष जनतामाथि शासन गरिन्छ । 

 

एउटा कल्पना गरौँ, कम्तिमा एक घण्टा यो देशको राज्यसँग बन्दुक छैन भन्ने जनतालाई एकैसाथ थाहा हुने हो भने के हुन्छ होला ? के राज्य एक घण्टा बन्दुक भुईंमा राखेर खाली हात बस्न सक्छ ? के राज्य सत्ताका मानिसहरू त्यति साहसी होलान् ? अहँ जनतामाथि लगातार अपराध गरेको कारणले उनीहरू सधैं त्रासमा हुन्छन् । बन्दुकको बल भनेको नैतिक बल होइन बरु दमनको अनैतिक बल हो । त्यही अनैतिक बलमा जनतामाथि विभिन्न प्रकारका शोषण, दमन तथा उत्पीडन गरेर यो सत्ता चलेको छ । जहाँसम्म सरकारको प्रश्न छ, सरकार भन्ने कुरा राज्यसत्ताको अस्थायी अवयव मात्रै हो । यौटा वर्गको राज्यसत्ता र अर्को वर्गको सरकार भन्ने कुरा हुने सक्दैन । 

 

नेपालको राज्यसत्ता दलाल तथा नोकरशाह पूँजीपति वर्गको हातमा छ । सरकारमा जानेहरू त्यही वर्गको हीत रक्षा गर्ने निरीह नोकर मात्र हुन् । बाहिर प्रधानमन्त्री, मन्त्री बनेर जति फुईं गरे पनि उनीहरूको हातमा वास्तविक सत्ता हुदैन । कैयन् घटनामा देशका गृहमन्त्रीले सुरुमा रेडिकल कुरा गरेको तर अन्तमा ओइलाएको मुला जस्तै बनेको घटना हामीले देखिरहेकै छौं । बिचरा गृहमन्त्री बेलाबेलामा दलाल तथा नोकरशाहहरूको नोकर बस्न गएको कुरा भुल्छन् । आफुलाई विद्रोही कमाण्डर सम्झेर हाँक्क हुँक्क गर्छन् । पछि आफैं लजाउँछन् । यी दृश्य देख्नेहरूले सजिलै बुझ्न सक्छन् कि गृहमन्त्री बादल बुख्याँचा मात्र हुन् । 

 

कन्चनपुर घटना त्यस्तो प्रतिनिधि घटना भइदियो कि बादशाह नांगै छन् भनेर हजार पटक भन्दा नबुझेको कुरा जनताले छर्लंग हुने गरी थाहा पाए । कन्चनपुरको ऐनामा हेरे पछि राज्यको अनुहार मात्र होइन आदत पनि खुलेको छ । हिजो अहिलेको सरकारलाई भोट हाल्नेहरू आज आफ्ना हातहरूमा थुक्न थालेका छन् । नक्कली कम्युनिष्ट कति नालायक र खुनी हुने रहेछ भनेर मानिसहरूले बुझ्दै छन् । 

 

अब खाँचो छ जनताको वैकल्पिक शक्तिको र जनताको योजनाबध्द र सचेत आन्दोलनको । खाँचो छ नक्कली मार्क्सवादबाट मुक्ति र असली मार्क्सवादको खोजीको । खाँचो छ एउटा असली कम्युनिष्ट पार्टी निर्माणको । खाँचो छ आजको शताव्दीका साम्राज्यवादका विशेषताहरूलाई चिनेर आजकै विशेषताको क्रान्तिको रणनीति र कार्यनीतिको विकासको । खाँचो छ वैज्ञानिक समाजवादको लागि संघर्षको ।

इमेलः balaram2025@gmail.com


थप समाचार

स्पेनको फुटबल क्लबले नेपाललाई सहयोग गर्ने

  • 5 hours ago
स्पेनको फुटबल क्लबले नेपाललाई सहयोग गर्ने

स्पेनको फुटबल क्लब एथ्लेटीको म्याड्रिडले नेपालको फुटबल विकासका लागि सहयोग गर्ने भएको छ ।

खर्च घटाएर दशैंकाे दक्षिणा जाेगाउनुहाेस् ! आठ कम्पनीको ४ अर्ब बराबरको हकप्रद शेयर आउँदै

  • 5 hours ago
खर्च घटाएर दशैंकाे दक्षिणा जाेगाउनुहाेस् ! आठ कम्पनीको ४ अर्ब बराबरको हकप्रद शेयर आउँदै

आठ कम्पनीको ३ अर्ब ८३ करोड २ लाख ७४ हजार ४५० रुपैयाँ बराबरको ३ करोड ८३ लाख २ हजार ७४५ कित्ता हकप्रद शेयर जारी गर्ने भएका छन् । हकप्रद जारी गर्न अनुमति मागेको कम्पनीमध्ये अपी कम्पनी पावर कम्पनीले सबै



भिडियो

प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

विचित्र विश्व

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज !

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज  !

एजेन्सी । तपाईले पनि सुन्नु वा देख्नुभएको होला एयरपोर्टमा सेक्युारीटी वा क्यामराले यस्ता चीजहरु फेला पारेका हुन्छन् जसले आममानिसको होस उडाउँछ ।