व्यस्त जीन्दगी, अस्तव्यस्त सम्बन्ध !

म आजकल ट्रेनमा निकै कम यात्रा गर्ने हुनाले जयन्तीलाई टाउन हलमा ९ बजे पुग्ने गरी ट्रेनको स्केज्यूल हेरिदेऊँ भनेर उठ्ने बित्तिकै सम्झाएको थिए । एक्स्प्रेस ट्रेन आठ सातमा र आठ बाइसमा छ भन्ने कुरा थाहा पाएपछि मैले आठ सातमा जाने निर्णय गरेँ । डिमेन्सिया इन्टरनेसनल कन्फेरेन्स २०१८ को आज पहिलो दिन थियो । सिड्नीको हिल्टन होटेलभित्र हुन गइरहेको कन्फेरेन्सको ओपनिङ स्पिच आठ पचासमै शुरु हुने भएकाले मलाई आठ बाइसको ट्रेनले समयमा पुर्याउँदैन थियो । यो स्केज्यूलको गणितलाई क्याल्कुलेट गर्दा गर्दै घडी हेरेँ । सात पैँतालिस भैसकेछ । जयन्तीले जाडोमा मेरै लागि बनाएको टोस्ट पनि नटोकिकनै निस्किए ।

 

स्टेशनको नजिकैको स्ट्रिटमा गाडी पार्क गर्दा नै आठ पाँच भइसकेको थियो । त्यसपछि म सँग दुई मिनेट बाँकी थियो । यति छोटो समयमा एउटा ट्राफिक लाइट काटेर, ओपल कार्ड ट्याप गरेर, एउटा भर्याङ चढेर, एउटा भर्याङ ओर्लेर मकार्थर हाइटबाट आएको पुरानो सिड्नीको पुरानै ट्रेनमा छिरेपछि थाहा पाए । म दौडिँदा मेरो श्वास झन् तिब्र गतिमा दौडिएको छ । ट्रेनका भुँइतलामा तीन जना अटाउने सिटको बीचमा एउटा सिट खाली थियो । त्यही बसेँ । म बिसाए पनि मेरो श्वास बिसाउन सकेन । केही बेरसम्म । श्वास छिटो–छिटो दौडिरह्यो । ट्रेनसँगै । 

 

‘तिम्रो बारेमा पनि मैले धेरै कुरा सुनेकी छु, तर आफ्नै आँखाले नदेखिन्जेलसम्म म पत्याउन्न । म त यस्तो मान्छे हो कि मैले आफ्नै भिषा लाउँदा पनि हातमा पेपर नभएसम्म आमालाई पनि भनेकी थिइन । तिमी भने अरुका कुरा सुन्छौ ।’ 

 

मैले म बसेको डिब्बामा वरपर को छ भन्ने थाहा पाउँदा÷नपाउँदै मेरो कान खोज्दै एउटा नारी स्वर आइपुग्यो । म सबैभन्दा अगाडि बसेकाले पछाडि फर्किन उचित ठानिन । यति त थाहा थियो कि ट्रेनमा भीड थियो । यस्तो एकसरो टिप्पणी सुनिसकेपछि एकैछिन संवाद रोकियो । 

 

‘मैले चाहेको भए फेसबुकमा डिलिट गर्न सक्थेँ । मैले तिमीलाई उ स्कुलको साथी हो भनेर भनिसकेको थिएँ ।’

 

अघिको संवादको पंक्ति र अहिलेको पंक्ति एउटै स्वरमा आएको र बीचमा केहीबेरको मौनता भएकाले यो ट्रेनभित्रै बसेका दुईजनाको संवाद नभएर फोन संवाद हो भनेर छुट्याउन मलाई गार्हो भएन । म अझैं पछाडि फर्किन् । तर मेरो अगाडि बसेर आफ्ना घुँडाहरू मै तिर तेर्साएर बसेका तीन जना लोग्ने मान्छेहरू मध्ये बीचको चाइनिज मुलको जस्तो देखिने प्यासेन्जरले पछाडिपट्टि हेरेर अफ्ठ्यारो मानेझैँ गर्दै थियो ।  

 

‘तिमी सिरक बोकेर जाँदाखेरि पनि मैले चाहिँ मैले केही बोलिन । तिमीलाई जाडो भयो भनेर, तिमी सुतेपछि झन् अर्को सिरक पनि खापीदिएँ । म चाहिँ त्यस्तो खालको केटी हो । सानो कुरालाई लिएर किचकिच गर्ने केटी होइन !’

 

तेस्रो प्रतिक्रियाका रुपमा यस्तो अभिव्यक्ति सुन्दै गर्दा म भित्र एक किसिमको कौतुहलता उत्पन्न भइरहेको थियो । सोचे सायद लोग्नेसँग कुरा गर्दैछे । पार्टनर मात्रै पनि हुनसक्छ । वा ब्वाइफ्रेन्ड मात्र पनि हुनसक्छ ।  तर यति त निधो थियो कि उनीहरू सँगै बस्छन् । आजकल सायद सँगै सुत्दैनन् ।  

 

‘उ सँग मै बोल्या हो । स्कुलको साथी हो । बोलेर के भो र ?’ 

 

यो वाक्यले यो पनि संकेत गर्यो कि, केटा र केटी बीच थर्ड पर्सनको प्रभाव पनि छ । यो तेस्रो व्यक्ति आउनु संयोग नहुन पनि सक्छ । र, हुन पनि सक्छ । म भित्रको मानविय प्रकृतिले अनावश्यक रुपमा ट्रेनभित्रको यो संवादलाई इन्टरप्रेट गरिरहेको थियो । 

 

‘तिमीले मलाई गरेका छौ, तर यो भनि राख्नुपर्दैन । यो त मैले फिल गर्ने कुरा हो । ठिकै छ म ट्रेनमा छु पछि कुरा गर्छु ।’ 

 

म आफू ट्रेनमा चढिसकेपछि पनि आधा घण्टाभन्दा बढी कुरा गरिसकेपछि बल्ल यिनीलाई थाहा भएछ कि उनी ट्रेनमा छिन् । र, ट्रेनमा उनी मात्र होइन हरेक सिटमा अटेसमटेस गरेर बसेका यो मल्टिकल्चरल देशका मल्टिकल्चरल नागरिकहरू पनि छन् । अचम्म त यो भयो कि उनले यति भन्दा पनि संवाद भने टुंगाइनन् । कुरा अगाडि बढिरह्यो । अनि, ट्रेन रोकियो । टाउन हल स्टेशनमा । 

 

यति नै बेला मेरो फोन पनि आयो । तर म बोलें भने उसले मलाई नेपाली रहेछ भन्ने थाहा पाएर अप्ठ्यारो मान्छे कि भनेर फोन रिसिभ गरिन । आठ पचासमा मेरो सेमिनार शुरु हुने हुनाले ट्रेनभित्र एउटै डिब्बामा मलाई रिभस्वीदेखि टाउन हलसम्म साथ दिएकी यी नेपाली केटीसँग मात्र अर्को स्टेशनसम्म पनि सँगै यात्रा गर्न म असमर्थ भएँ । 

 

झर्ने बेलामा उनको अनुहारसम्म हेर्न मन थियो । यद्यपि हेर्नैपर्ने कारण भने थिएन । हुन त सबै कुरा गर्नका लागि कारण कहाँ चाहिन्छ र ? म झरेँ र टाउन हाल स्टेशनबाट बाहिर निक्लिन जोर्ज स्ट्रिट एक्जिटतिर सोझिएँ । हिँड्दा–हिँड्दै लाग्यो यी जोडीहरू हुन् भने निकै व्यस्त जोडी हुन् । यस्ता संवेदनशील कुराहरूसंँगै बसेर गर्ने समय पनि निकाल्न नसक्ने जोडी । मनमनै लाग्यो यी जोडीहरू नजोडिने क्रममा छन् । एउटा काममा निस्किन्छ । एउटा घरमा पस्छ । हुनसक्छ यिनीहरूको सम्बन्धको प्रगाढता यही समयको अभावले धमिलिँदै गएको छ । 

 

यो व्यस्तता भन्ने कुरा डायस्पोरिक रुटिनमा असामान्य कुरा भने होइन । आफ्नै घरको श्रीमानले श्रीमतीसँग वा श्रीमतीले श्रीमानसँग दुई÷तीन दिनपछि आफ्नै घरमा भेटेर चिया खाँदै सञ्चो बिसञ्चोका कुरा गर्छन् । 

 

तर यिनीहरुको व्यस्ततामा माया नै अस्तव्यस्त भएझैँ सुनिन्छ । हुनसक्छ अरु कुराहरु पनि होलान् । हुनसक्छ सम्बन्धको परिपक्कतालाई नबुझिकन सम्बन्धको अभ्यास गरिरहेका छन् । हुन त, यो अभ्यास पछिल्ला सम्बन्धहरूका लागि शिक्षाप्रद पनि होला ।  यो सामान्य भइसकेको छ कि केटा केटीहरू दुई÷चार बर्ष बिहे नगरी सँगै बस्छन् र विभिन्न बहानामा छुट्टिएर अर्कैसँग बिहे गर्छन् । म यस्तै नानाभाँती सोच्दै घोरिएर हिँडिरहेको थिए । उलवर्थ अगाडि एकजना अष्ट्रेलियन जस्ती देखिने गोरी केटीसँग झुक्किएर ठोक्किएछु । मेरो दाहिने कुमसँग उनको दाहिने कुम ठोक्काउने म भित्र कुनै रहर थिएन । र, पनि उसले मेरो सरीको बदला आफ्नो सभ्यतालाई अभिव्यक्त गरि, ‘ह्वाट द फक’ ! 

 


थप समाचार

हस्ताक्षर संकलनविरूद्ध जाेशीकाे टिप्पणी : महाअभियाेगकाे सामना गर्न तयार छु

  • 3 hours ago
हस्ताक्षर संकलनविरूद्ध जाेशीकाे टिप्पणी : महाअभियाेगकाे सामना गर्न तयार छु

काठमाडौं । प्रधानन्यायाधीशमा अस्वीकृत सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले महाअभियोगको सामना गर्न आफु तयार रहेको बताएका छन् । सत्तारुढ दल नेकपाले महाअभियोग प्रस्ताव पेश गर्ने भन्दै आफ्ना स

खाली कागजमा नेकपाका सांसदहरूकाे हस्ताक्षर संकलन, जाेशीविरूद्ध महाअभियाेगकाे तयारी

  • 4 hours ago
खाली कागजमा नेकपाका सांसदहरूकाे हस्ताक्षर संकलन, जाेशीविरूद्ध महाअभियाेगकाे तयारी

काठमाडौं । संसदीय सुनवाई विशेष समितिबाट प्रधानन्यायधीशमा अस्वीकृत दीपकराज जोशी विरुद्ध महाअभियोग प्रस्ताव ल्याउन सत्तारुढ दल नेकपाका सांसदहरूको हस्ताक्षर संकलन गरिएको छ । नयाँ प्रधानन्यायाधीश न

फिफा वरियतामा नेपाल एक स्थानमाथि उक्लियाे

  • 4 hours ago
फिफा वरियतामा नेपाल एक स्थानमाथि उक्लियाे

काठमाडौँ । फिफा वरियतामा नेपालको अवस्था एक स्थान सुधार भएको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

मुकेश अम्बानीको ११ हजार करोडको घरमा किन छैन ‘एसी’ ?

मुकेश अम्बानीको ११ हजार करोडको घरमा किन छैन ‘एसी’ ?

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेमा धेरै कुरा सुन्नु नै भएको होला ।

विचित्र विश्व

यी शहर, जहाँका नागरिकले कर तिर्नु पर्दैन

यी शहर, जहाँका नागरिकले कर तिर्नु पर्दैन

यहाँका नागरिकले महिनामा कति कमाउँछन् भनेर सरकारले चासो दिदैन । त्यस्तै वैदेशिक रोजगारीका लागि युएई पुगेका कामदारबाट समेत सरकारले कर अथवा अन्य कुनै पनि सुविधा लिंदैन । कामदारले कमाएको