आलेखः ‘सतखलुवा’को सुन्दरतामा लोभिँदै पर्यटक

बाँके । अघिल्तिर घना जङ्गल छ । पछिल्तिर पहाडी र थारूहरूको बाक्लो बस्ती छ । जङ्गलसँगै सटेको सतखलुवा ताल, तालको पूर्वतिर ग्याङ्ग र पश्चिममा भादा खोला छ । पूर्वपश्चिम राजमार्गको बैदीचोकबाट साढे तीन किलोमिटर उत्तर लागेपछि सतखलुवा ताल पर्छ । 

 

ताल पुग्नु अगावै फराकिला बाटा, सफा मनोरम दृश्यका बीचमा सतखलुवा होमस्टे छ, जहाँ आउने पाहुनालाई हार्दिकताका साथ स्वागत गरिन्छ । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका–९ स्थित सतखलुवा पुग्ने जो कोही पर्यटक आनन्दित नभई रहन सक्दैनन् । 

 

नगरपालिकाभित्र पर्ने भए पनि बाटोमा ग्रामीण जीवनको अवलोकन गर्न सकिन्छ । बर्खा याम होस् वा गर्मी, सधैं एकनासको चिसो । जङ्गल बाटो छिचोल्दै हिँड्नुको मज्जा बेग्लै हुन्छ । सतखलुवा होमस्टे हुँदै १० मिनेट पैदल हिँडेपछि सिमसार जङ्गलमै उक्त ताल देखापर्छ । 

 

सार्वजनिक सवारीमा नेपालगञ्जबाट करीब सवा घण्टा हिँडेपछि बर्दियाको बाँसगढी हुँदै सतखलुवा पुग्न आधा घण्टा लाग्छ । निजी सवारीमा डेढ घण्टामै पुगिन्छ । बर्दियाको ककौरा हुँदै कतर्निया पुग्नु अगावै बैदीचोकबाट उत्तरतिर लागेपछि सतखलुवा पुग्न सकिन्छ । 

 

जैविक विविधताले भरिपूर्ण यो क्षेत्रमा विभिन्न २५० भन्दा बढी प्रजातिका चराचुरूङ्गी, पुतलीका साथै जङ्गली पाटेबाघ, चित्तल, बँदेल लगायतका जनावर तालमा देख्न पाइन्छ । बाटोमा होमस्टे र साना चिया पसल भेटिन्छन् । अर्गानिक तरकारी, फलफूल र दुग्धजन्य पदार्थ ठाउँ–ठाउँमा किन्न पाइन्छ । 

 

अर्गानिक खानाका परिकारको स्वाद लिने पारखीलाई स्थानीय बासिन्दा तम्तयार रहेका भेटिन्छन् । यस क्षेत्रको प्रवद्र्धन गर्न यहाँका स्थानीय बासिन्दा र जनप्रतिनिधि पनि उत्तिकै सक्रिय छन् । सतखलुवा तालको संरक्षण र पुनःनिर्माण गरी व्यवस्थित गर्ने कार्य पनि शुरु भइसकेको छ । 

 

तालको पुनःनिर्माण गर्न ताल वरिपरि माटो पटान, तटबन्ध र पानी संरक्षणका लागि सौर्य प्यानल जडान गरी डिप बोरिङबाट पानी पटान भइरहेको छ । कुल ६० विघा क्षेत्रफलमा फैलिएको उक्त ताल २१ फिट गहिरो छ । ताल वरपर सुविधायुक्त संरचनाको निर्माण भएमा आन्तरिक तथा बाह्य पर्यटकका लागि यो थप आकर्षणको स्थल हुनेछ । 

 

सतखलुवा ताल संरक्षण समितिका अध्यक्ष सुनील चापागाईंले पोखरीे वरिपरि ग्राभेल बाटो, पिकनिक स्थल, तालमा नौका विहार र आसपासका क्षेत्र अवलोकन गर्न ४० फिट अग्लो भ्यू टावर निर्माण गरिने बताए । सतखलुवा ताल पर्यटकीय गन्तव्य बन्न सक्ने प्रशस्त सम्भावना बोकेको भए पनि प्रचारप्रसारको अभावमा पछि परेको छ । 

 

ताल संरक्षण समितिका संस्थापक उपाध्यक्ष शिवप्रसाद अधिकारीले अर्थाभावका कारण आफूहरूले उल्लेख्य रुपमा प्रचारप्रसार गर्न नसकेको बताए । ताल परिसरमा पूर्वाधार निर्माणमा अहिलेसम्म एक करोड रुपैयाँ लगानी भइसकेको उपाध्यक्ष अधिकारीको भनाइ छ । बारबर्दिया नगरपालिकाको मध्यवर्ती सामुदायिक वनमा रहेको सुन्दर तालको दृश्यले त्यहाँ आउने जो कोहीलाई मन्त्रमुग्ध पार्छ । 

 

सतखलुवा ताल पर्यटकीय दृष्टिकोणले निकै रमणीय छ । सामुदायिक वनभित्रको तालमा डुङ्गा सयरको व्यवस्था गरिएसँगैं त्यस वरपर पर्यटकको भीड लाग्ने गरेको अधिकारी बताउँछन् । सतखलुवा ताल सिमसार क्षेत्रमा पर्ने भएकाले यहाँ विभिन्न प्रजातिका चराहरू देख्न सकिन्छ । उक्त तालमा साइबेरियन चराहरू पनि आउने गरेका छन् । 

 

बर्दिया राष्ट्रिय निकुञ्जसँगै सटेको उक्त तालमा आहारा र पानीका लागि पाटेबाघ, चित्तल, बँदेल, दुम्सी लगायतका जनावर आउने गरेका छन् । सतखलुवा सामुदायिक होमस्टेका अध्यक्ष सुरेश आचार्यले भने– “विभिन्न विशेषता बोकेको तालको प्रशस्त पर्यटकीय सम्भावना रहेको छ । यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न सकिए यहाँ पर्यटकहरूको आगमन हुने देखिन्छ ।” 

 

पर्यटकीय सम्भावना बोकेको भए पनि अहिलेसम्म प्रचारप्रसार र पर्यटन पूर्वाधारको अभावमा यो ताल ओझेलमै रहेको आचार्य बताए । बारबर्दिया नगरपालिका र महेन्द्र राजमार्गदेखि साढे तीन किलोमिटरको दूरीमा रहे पनि सरोकारवालाको उदासीनताका कारण पूर्वाधार निर्माण गर्न नसकिएको उनको गुनासो छ । 

 

सतखलुवा ताल र सिमसार क्षेत्रको महत्व एवं सम्भावनालाई उजागर गरी ग्रामीण वस्तीको मुहार फेर्न सतखलुवा सामुदायिक होमस्टेले अभियान सञ्चालन गर्ने योजना बनाइएको पनि उनले बताए । “यहाँ पर्यटक भित्र्याउन प्राकृतिक रूपमा कुनै अभाव छैन, प्रचारप्रसारसँगै राष्ट्रिय निकुञ्जमा हात्ती र घोडामा जङ्गल सफारी लगायतको सुविधा दिन सकिए हामी आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सक्छौँ,” अध्यक्ष आचार्यले भने । 

 

यसरी रह्यो सतखलुवा नाम 

बारबर्दिया नगरपालिका–९ मा रहेको सतखलुवा ताल प्राकृतिक ताल हो । सात वटा तालको मुहान मिलेर बनेकाले स्थानीय थारू भाषामा सतखलुवा भनिएको हो । तालको उत्तर, पूर्व र पश्चिम बर्दिया राष्ट्रिय निकुञ्ज छ । पूर्वमा ग्याङ्ग र पश्चिममा भादा खोलाको बीचमा रहेको तालमा बर्खायाम र चुरे पहाडबाट बगेर आएको पानी जम्मा हुन्छ । अहिलेसम्म उक्त तालको पानी सुकेको छैन । 

 

बारबर्दिया नगरपालिकाको मध्यवर्ती सामुदायिक वनमा रहेको तालको पानी साविकको खैरेनी हाल सतखलुवा गाउँका ३०० विघा जमीन सिँचाइ गर्ने मुख्य मुहान हो । तालमा रहेको पानीबाट त्यस क्षेत्रका किसान आफ्नो खेतमा सिँचाइ गर्छन् । किसानलाई पानीको अभाव नहोस् भनेर सौर्य प्यानल जडान गरी डिप बोरिङबाट पानी पटानको कार्य गर्ने गरिएको छ । करीब ३०० घरधुरीका १ हजार ४०० स्थानीय बासिन्दाले प्रत्यक्ष लाभ लिइरहेको होमस्टेका अध्यक्ष आचार्यले बताए । 

 

तालमा यतिबेला दुईवटा डुङ्गा सयरका लागि राखिएका छन् । प्रतिव्यक्ति एक घण्टाको २० रूपैयाँ र समूहका लागि २०० रूपैयाँ शुल्क लाग्छ । ताल वरिपरि आठ मिटर चौडा बाँध र बाँधमा ग्राभेल बाटो निर्माण गरिएको छ । ताल प्रवेशद्वारसँगै वनभोज आउनेका लागि पानी, शौचालय, आरामका लागि छाप्रोसमेत निर्माण गरिएको छ । यहाँ ४० फिट अग्लो भ्यू टावर बनाइँदैछ । घोडा चढीबाट तालको अवलोकन गर्न सकिन्छ भने कुखुरा, खसीका मासु, कोदो ढिँडो, रक्सी, सेल, थारू परिकारको स्वाद लिन सकिन्छ । ताल अवलोकनसँगै स्थानीय जीवनशैली र संस्कृति बुझ्ने मौका मिल्छ । सिमसार क्षेत्रभित्र पर्ने सतखलुवा सामुदायिक होमस्टेले सतखलुवाको प्रवद्र्धनमा ठूलो टेवा पु¥याएको छ । 

 

धार्मिक महत्व 

सिमसार क्षेत्रमा अवस्थित सतखलुवा ताल यसअघि स्थानीय रूपमा ठेक्कामा माछापालनका लागि दिइन्थ्यो । त्यस क्षेत्रमा एकजना स्थानीय चौकीदार रहन्थे । उनी बिहान बेलुकी ताल वरिपरि चौकीदारी दिन्थे । त्यस क्रममा उनले एकदिन तीनमुखे नाग देखे । 

 

नियमित रूपमा उक्त नाग पोखरीमा आउन थालेको पाएपछि ती चौकीदारले तालको बीचमा सानो नाग मन्दिर बनाई पूजाअर्चना गर्न थाले । नागका बारेमा थाहा पाएका स्थानीय बासिन्दाले औपचारिक रूपमा हरेक वर्ष नाग पञ्चमीमा त्यहाँ दूध, फलफूल चढाई भव्य रूपमा पूजाअर्चना गर्न थाले । अहिले नाग पञ्चमीमा नागको विशेष पूजा गर्ने परम्परा बसेको आचार्य बताइन्छ । 

 

सिमसार क्षेत्रमा रहेको सतखलुवा गाउँ नजीकै रहेको तालमा जङ्गली जनावर आहारा र पानी पिउन आउँदा गाउँवासी भयभित हुनुपर्ने स्थिति छ । तिनीहरुबाट घरपालुवा जनावर र खेतीबाली नोक्सानी भइरहेको छ । जङ्गली जनावरको सम्भावित आक्रमण र जोखिम रोक्न वरिपरि तारबार गरिए पनि त्यो अपुग छ । यसमा स्थानीय तह, पर्यटन बोर्डलगायत सरोकारवाला निकायको सहयोग आवश्यक रहेको अध्यक्ष आचार्य औँल्याए । 


थप समाचार

‘बिप्लपुरुष चन्द्रबहादुर थापा’माथि विमर्श

  • 7 minutes ago
‘बिप्लपुरुष चन्द्रबहादुर थापा’माथि विमर्श

काठमाडौँ । नेपालका प्रथम महालेखा परिक्षक चन्द्रबहादुर थापाको जीवनीमा आधारित ‘बिप्लपुरुष चन्द्रबहादुर थापा’ स्मृतिग्रन्थको लोकार्पण कार्यक्रममा बोल्दै महालेखा परिक्षक टंकमणि शर्माले देशमा भ्रष्टाचारको

सञ्चारमाध्यम सकारात्मक नभए समृद्धि असम्भव : मन्त्री शाह

  • 7 minutes ago
सञ्चारमाध्यम सकारात्मक नभए समृद्धि असम्भव : मन्त्री शाह

मार्तडी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले सञ्चारमाध्यम सकारात्मक नभए समाज र देश समृद्ध बनाउन सम्भव नहुने बताएका छन् । बुढीनन्दा नगरपालिकाको कोल्टीमा उत्

नुन कत्तिको चर्को खानुहुन्छ ? होस गर्नुहोस् अधिक नुन खादाँ स्वास्थ्यमा कस्तो असर पर्छ

  • 9 minutes ago
नुन कत्तिको चर्को खानुहुन्छ ? होस गर्नुहोस् अधिक नुन खादाँ स्वास्थ्यमा कस्तो असर पर्छ

एजेन्सी । अनुसन्धानकर्ताहरुका अनुसार अधिक मात्रामा सोडियमको सेवन आत्मघाती हुनसक्छ ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।