…र पो भतेर ख्वाइ हुन्थ्यो !

आज उखारी (उखुबारी) माइलाकोमा लघुरुद्रीको कार्जे (कार्य यज्ञ) हो केरे (क्यारे) ! चुल्हे निम्ता गरेका भए’सि (भएपछि) म गइहाल्छु । तिमीले केटाकेटीलाई भात ख्वाइवरि (खुवाएर) स्कुल पठा’र (पठाएर) आउँदै गर्नु । डिँगा (पशुबाहन)लाई पराल हालेर छाड्नु । हिजै काटेको बढर छ केरे ! साँझ त्यै दुहुनीघाँस हालेर थुन तान्नुपर्ला (दुहुनुपर्ला) भनेर श्रीमतीले दिएको सानो स्टेलको अङ्खरामा दूध, एउटा लाँक्रो उखु र एउटा गेडो मेवा लिएर म माइलाकहाँतिर लागेँ ।

 

कार्जेघर सबै छरछिमेक जम्मा हुँदै रहेछन् । ‘अँ ! गैरारे (गहिराघरे) कहाँको ठूलो खड्कुलो ल्याउन परो (प¥यो), तामाका ठूला डाडु–पनिया पनि त्यहीँ छन्, ल्याउन नभुल्नु । त्यो बारीको ठूलो गराको कान्लातिर भतेर पकाउनी चुल्होचौको बनाउन चारतिर बाँस गाडेर माथि टाट ओडाओ, टाट छैन भने त्यता जानीले सिर्नार (सिरानघर) लाहुरेकहाँ पसेर ल्याउनु । चुल्हेढुङ्गा ल्याएर चुल्हो बनाओ । ढुङ्गा दह्रोगरी गाड्नु नि ! अस्ति छेउहारे (छेउघरे) सानाकहाँजस्तो भात चलाउँदा चुल्हो भत्केला फेरि ! खुर्मली (साना) आँसीहरू जम्मा पार र हिजो जग्गिया (यज्ञ मण्डप) बनाउन आउँदा गाम्लेले (गाउँलेले) ल्याइदिएका साग, मूलाहरू काट्न परो । पाक्न लागेका मेवाको नैवेत (नैवेद्य) बनाओ र अरू काटेर अचारमा मिसे हुन्च (हुन्छ) । खान दिने टपरी अलि ठूला र दाल नचुहिने खालका छान्न परो र पुछ्पाछ गरेर ठीक पार । माझारे (माझघरे) साइँलो कता ग’च (गएछ) र हो ? अहिलेसम्म आएन त !

 

‘छेउहारे भजन बसे गेडो (भजनको चुड्को) बिग्रँदैन, माझारे (माझघरे) भान्सा पसे भतेर बिग्रँदैन’ भन्नी उखानै छ । भान्साका सर्जाम ठीक पारेर पकाउनी ठामतिर लगिराख । हिजो त्यति राम्रो घाम पनि लागेनन् ! खुर्पा (ठूलो) आँसी निकालेर उ… त्यो बाँसको थाँक्रो गिडगाँड पार त अरू दाउरालाई दाउन हुन्च । आगो राम्रो बले बल्ल पाक पुग्च, नत्र भातै गिज्गिजिन (बिग्रन) बेर हुन्न । पल्लार (पल्लोघर) बाट पाइप ल्याएर टङ्कीमा जोड अनि उ… त्यो छेउमा रोचे राखेर भर । अलि लामो केराको सुप्लो काटेर ल्याओ र तल्लो गरामा एउटा चोके गाडेर रोचेका पिँधबाट धारो बनाउन पर्च (पर्छ) ।

 

पणित (पण्डित)ले अझै आफ्नो निमध्यान (नित्यकर्म) सकेनन् कि क्या हो ? महिलाहरूले रेखिसेखी पिनेर ठीक पारेउ ? ती पाक्न लागेका म्या (मेवा) र उखु काटेर नैवेत बनाम्न (बनाउन) परो । पञ्चामृत बनाउन मरिच छ कि छैन ? नभए मकहाँ गएर मुखिनीसँग मागेर ल्याओ । अपुङ्गो, मनभोग बनाउन अलि सिपालु लाग । दुना, टपरी, धान, चामल सान्साना डालीमा निकालिराख । साना केटीहरूले – मुख धोएका छौ कि छैनौ ? नधोएका भए धोएर, चोखा ठामको दुबो टिपेर ल्याउ है ! ठिटाहरूले भान्साको सर्जाम पकाउने ठामतिर पास गर, ठूला खड्कुला, देप्ची धोएर सफा गर, देप्चीमा खरानी लाइदेओ, ठूलो गाग्रीमा पानी भरेर मलमलको टालोले गाग्रीको मुख ढाकिदुनु पर्च (ढाकिदिनुपर्छ) नि ! पछि फेरि ढिला हुन्च (हुन्छ) । जग्गिया वरिपरि गुन्द्री (काम्ला) ओछ्याउन परो, अलि फराकिलो बनाऊ है, पछि वेद पढ्नी पणितलाई नपुग्ला नि !

 

… पिँडीका खाटमा बसेर मिस्रीपानीको चुस्की लगाउँदै स्यालथुम्के मुखियाले सबैलाई अह्राइपह्राई गरिरहेका थिए । यस्ता कार्जेमा मुखियाको नेतृत्व उनका शेषपछि कल्ले (कसले) गर्ला कुन्नि ?

 

वास्तवमा यस्तै अनुशासन सदा र सबै क्षेत्रमा लागू भइदिने हो भने समाज विच्छृङ्खलतातिर उन्मुख भयो भन्ने समाज सुधारकको चिन्ता दूर हुने थियो । पण्डितहरू जम्मा भएपछि रेखी छरेर मण्डपलाई पूर्ण रूप दिन थाले । यो चाहियो, त्यो चाहियो भन्ने पण्डितको उच्चारणको प्रतीक्षामा सबै महिला–पुरुषहरूले पहिलो प्राथमिकतामा राखेर तरकारी काट्ने आँसी खोज्न निस्केका व्यक्तिहरूसमेत आज्ञाकारिताको उपमा बन्न लालायित देखिन्थे । एक–दुई गरेर सबै पण्डितहरू जम्मा भए । कर्ताका रूपमा उखुबारी माहिलाले सबै पण्डितहरूलाई टीका र शिरपोस लगाइदिएर वरण गरेसँगै सबैले आ–आफ्ना जिम्मेवारी सम्हाल्न थाले । वेदका ठेलीलाई दशजनाले बाँडफाँड गरी आ–आफ्ना अध्यायहरूको वाचनारम्भ भयो । हवनकार्यले वातावरणलाई सुगन्धित बनाइरहेको थियो ।

 

मानिसहरूको चहलपहलले साँच्चिकै सामाजिक सौहार्दताको झल्को दिइरहेको महसुस हुन्थ्यो । माझाघरेले भतेर मीठो बनाउन आफूलाई भरमग्दुर समर्पण गरिरहेका थिए । भान्सामा सहयोग गर्नेहरूलाई ‘दुनाहरूमा घ्यू–चिनी राख्न परो, खै ! पाकेका फर्सीको तर्काली (तरकारी) बनाउन ढिला भइसक्यो, चाँडै काटकुट पारेर ल्याओ, दही बाँड्ने सिलटे (आल्मुनियम) साना डाडुहरू खोजी राखओ…’ भन्दै थिए । किन पो ढाँट्नुपरेको थियो र ! राष्ट्रकविलाई, प्रस्टै लेखिदिए –

 

को भन्छ र नराम्रो छु, नजाति कुन भन्छ र !
छ ईश्वर तिमीभित्र, बन हे शिव सुन्दर ।।

 

सबै आ–आफ्नो भूमिकालाई अब्बल दर्जामा दत्र्याउन (दर्ता गराउन) तल्लीन देखिन्थे । झन्डै तीन बज्दा मूल पण्डितले बेलपत्र चढाउने समय भएको व्यहोरा अवगत गराए । भोकै बसेकाले तीनपाते बेलपत्र र अरूले अन्य फूलपत्र लिई हात जोरेर उभिन आदेश दिँदै पुष्पाञ्जली स्तोत्र पाठ गर्न थाले । भान्से बनेका माझाघरेले भान्सो छाड्न मिलेन, एकजनालाई बेलपत्र ल्याइदिन लगाएर त्यहीँबाट आफूलाई सरिक गराए । जयजयकारको समयमा पण्डितले गरेको उच्चारणसँगै भान्सैबाट ‘जय’ भन्दै माझाघरेले जुम्लाहात गरे ।

 

पूर्णपात्रोसँगै यज्ञादि कर्म समापन भएको जानकारी भयो । पटाहाबाट फेरि मुखिया बोले– ‘लौ ! अब, हात सफा गरेर केही युवाहरूले नैवेत बाँड्न परो, पहिला पञ्चामृत अनि अरू बाँड्नुपर्छ नि !’ पाँच–सातजना केटाकेटीहरू सो काम तामेल गर्न अघि बढे । मलाई यस्ता कार्यपछि बेलुका हुने भजन–कीर्तन गरिने जाउरित (जागृत) मा ढेब्री (मट्टीतेलको दियो) को घुर्मैलो उज्ज्यालोमा देब्रेघुँडामा टोपी राखेर ‘ए उठ ! नैवेत खाने बेला भयो’ भन्दै देब्रे हात र सरासरीतिर दाहिने हात थापेर दुईचोटि जेउरेरोटी (सेलरोटी) र नैवेत खाएको अतीतको व्यहोरा स्मरण हुँदा आज आफैँलाई सङ्कोचयुक्त हास्यरस पोखियो ।

 

कर्ताले ज्वाइँ, भान्जा–भान्जी, कन्याहरूलाई टीका लगाएर दच्छिना दिन थाले । पण्डितले सबैलाई तरेखु र अक्षता (?) को टीका लगाइदिन थाले । मलाई ‘एक सिताको पनि मूल्य हुन्छ’ भनी सिताको आत्मकथा लेखेदेखिन् चामलको टीका लगाउन त्यति मन नखुलेपछि अबिरको मात्र टीका लगाइदिन आग्रह गरेँ । हुन पनि ‘अक्षता’ भनेको त क्षत नभएका वा नहुने जौ र तिलको हुनुपर्ने हो । अन्यथा अबिर, केसरीलाई नै टीका मानिनुपर्ने तर्कलाई पण्डितले पनि इन्कार गरेनन् ।

 

टीकोटालो सकिएपछि भतेर खाने बेला भयो । डोकोमा राखिएका टपरीहरूबाट आफूलाई एकुन्टा लिएर बारीका गरामा कोदाको नलका ठोसालाई दायाँ–बायाँ मर्काएर सबैले आ–आफ्नो आसन तयार पारे । पहिला भात बाँडियो, पछि दाल, साग, फर्सी, कर्कलाको अचार, मेवाको अचार, गिठाको अचार, दुनामा घ्यू, चिनी, दही, मासका नुनिला फुरेउला (फुरौला) बाँडियो । दालको रस जति टपरीबाट चुहिए पनि सबैसँग बसेर खाएको त्यो भतेर स्वादमा अतुलनीय लाग्दथ्यो ।

 

वास्तवमा बिहानैदेखि सबै मिलेर रोचे, खँड्कुला जम्मा पारिन्थ्यो, ठूला डाडु–निया बोकेर ल्याइन्थ्यो । पणितले जग्गियामा चाहियो भनेका कुरा भित्रियासँग मागेर पु¥याउँदा भगवान्बाट राम्रै आशिष पाएझैँ लाग्दथ्यो । सबै मिलेर मेवा, उखु, केरा काटेर नैवेत बनाइन्थ्यो । फर्सी, साग काटेर, पिँडालु खुर्केर, कर्कलाका ठूला डाँठ भाँचेर तर्काली, अचारको खजना जुटाइन्थ्यो । गाउँका राम्रोसँग पकाउन सिपालुबाट भतेर तयार हुन्थ्यो । खानेबेलामा तँछाडमछाड गरी राम्रो र ठूलो टपरी हात पार्दा ठूलै लडाइँ जितेजस्तो लाग्दथ्यो । गरामा सम्म परेको ठाउँ पाउँदा भगवान्ले राम्रै भाग्य लेखिदिएझैँ लाग्दथ्यो । मङ्ग (मगमग) अदुवा बसाउने मासको दालको रस नचुहिने टपरी परेमा हर्षले गद्गद् भइन्थ्यो ।

 

झुक्याएर घ्यूचिनीका दुईटा दुना हात पारेको अवस्थामा खाइसकेपछि आफ्नो चलाखी व्याख्या गर्न सङ्कोच लाग्दैनथ्यो । कोक्क्याउँदो भए पनि पिँडालु र कर्कलाको अचार थपी–थपी खाइन्थ्यो । एक डाडु दही चुहिएर एक सुर्की बन्दा, छेउका साथीले भातैमाथि थापेर खाएको देख्दा – थुक्क ! किन पहिल्यै भात सकेहुँला ? जस्तो खिन्नताबोधमा आनन्द महसुस हुन्थ्यो । आफूले प्रयोग गरेका टपरी आफैँले उठाइन्थ्यो । बर्तुन गरेका दाजुहरू र बा, हजुर्बाहरूले धोती फेरेर भान्सा पस्थे । रोचेबाट उभाएको पानीलाई केराको सुप्लाबाट धारो बनाएर हात धुने बन्दोबस्त मिलाइएको हुन्थ्यो । आफ्नो पालामा एक लोहोटा पानीको धारामा हात धुन पाउँदा धारो बनाइदिने उपर अन्तरमनले धन्यवाद, आभार प्रकट गर्दथ्यो र पो भतेर खाएझैँ लाग्दथ्यो ।

 

अचेल त कर्तालाई तिब्बती भाषामा लेखिएको जाडोमा कान छोप्न पनि काम नलाग्ने, गर्मीमा पसिना पनि नपुछ्ने खादा पहि¥याइदिएर बधाई प्रकट गरी बफेट नामको मनचिन्ते ठोस, तरल भोजन उठी–उठी खानु अनि लङ, सुकमेल, सौंफादि मुख्याएर औपचारिक बिदाइ गरी बाहिरिने प्रकृतिको भोज पनि केको भतेर ? आत्मीयतालाई अपनत्वको सान्निध्यतासँग तादात्म्य गराउँदाको रौनकै अर्कै ! कि कसो ?

 

…सके सपारौँ, नसके नबिगारौँ… ! साभार : घटना र विचार



Your Comment

थप समाचार

तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

  • 2 hours ago
तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

एजेन्सी । शरीरको हरेक भागका बारेमा गम्भीर हुन महत्त्वपूर्ण छ। किनभने जबसम्म हाम्रा शरीरका सबै भागहरू फिट हुँदैन तबसम्म तपाईले आफूलाई स्वस्थ राख्न सक्नुहुन्न ।

महिलाको नाइटोमा लुकेको हुन्छ यस्ता राजहरु

  • 2 hours ago
महिलाको नाइटोमा लुकेको हुन्छ यस्ता राजहरु

एजेन्सी । महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाइटो अर्थात नाभीको ।

वेस्ट मिडल्याण्डमा हाम्रो नेपाली समाजले मनायो नयां वर्ष

  • 3 hours ago
वेस्ट मिडल्याण्डमा हाम्रो नेपाली समाजले मनायो नयां वर्ष

लण्डन । हाम्रो नेपाली समाज वेस्ट मिडलण्डले हरेक वर्ष जस्तै यस वर्ष पनि एक कार्यक्रमका साथ नेपाली नयां वर्ष मनाएको छ ।


Loading...
The British College

भिडियो

hamropatro

जीवनशैली

तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

एजेन्सी । शरीरको हरेक भागका बारेमा गम्भीर हुन महत्त्वपूर्ण छ। किनभने जबसम्म हाम्रा शरीरका सबै भागहरू फिट हुँदैन तबसम्म तपाईले आफूलाई स्वस्थ राख्न सक्नुहुन्न ।

विचित्र विश्व

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

विश्वमा लाखौं मानिसहरु अपराधमा संलग्न छन् । ठगी, डकैती, चोरी, आतंकवाद, लागुपदार्थ तस्करी, हत्या, अपहरण र युद्ध अपराधहरु लगाएत अपराधमा संलग्न धेरै अपराधिहरु अन्तराष्ट्रिय प्रहरी संगठनको मोस्ट वान्टेड लिस्टमा छन् ।