कथाः युद्धले बिथोलेको एउटा जीवन

गोलो, रातो र ठूलो घाम पहाडभित्र छिर्यो । छायाँ हरायो । उतापट्टि उज्यालो भयो होला, यता अध्याँरो बढ्यो । 

 

ढोडिनी खोलामा ठडिएका साना÷ठूला ढुङ्गाहरुमाथि टक्रयाकटुक्रुक वसेका छौं– हामीहरु । भोक र थकाईले लखतरान भएका हामीलाई थाहा छ, अझै तीन घण्टा उकालो चढ्नु छ । घनघोर जंगलबीचको उकालो ।

 

१५ जनाको समूहमा सबैभन्दा थकित मै छु । सबैभन्दा कलिली मै छु । रजश्वला भएको तीन दिन भयो । रगत बगेकोबग्यै छ । तल्लो पेट उत्पात दुखेको छ । ढाँड भाँचिएलाझैं गरी दुखेको छ । हातखुट्टा कट्कटी खाइरहेको छ । तै पनि भोकभोकै– गाउँवस्ती, पहाड र जंगलहरुबीच ठूलो झोला पिठ्यूँमा र काँधमा बन्दुक बोकेर हिँडिरहेको छु, वर्गीय मुक्तिका लागि ।

 

आज दाउन्ने गाउँमा पार्टीका ठूला नेता आउँदैछन् । उनले प्रशिक्षण दिने कार्यक्रम छ । जहाँ विभिन्न साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको छ । अनि, हामीले ठूला नेतालाई भव्य स्वागत गर्नु पर्नेछ । नाचेर÷गाएर मनोरञ्जन दिनु पर्ने छ । त्यसकै लागि हामी तीनदिनदेखि हिँडेर दाउन्ने गाउँ पुग्दैछौं । अब त तीन घण्टा मात्रै हो भन्दैछन्, कमाण्डर रवी । तर आफूलाई तीन घण्टा तीन शताब्दिजस्तो लागिरहेको छ । खोलाबाट उठेर पाइलो चाल्न सक्नेस्थिति छैन । अरुले नदेख्ने गरी धेरै रोएकी छु । देख्नेगरी रुने साहस छैन । यदी रोएँ भने सबैले कायर भन्नेछन् । म कुशल योद्धा बन्न सक्दिनँ ।

 

आफूलाई यतिधेरै गाह्रो हुँदा पनि वास्तै नगर्ने, सोध्दै नसोध्ने सहयोद्धाहरु देखेर मलाई आमाको सम्झना आयो । खान्न भन्दाभन्दै पनि खुवाएको गाँस सम्झेँ । सुत्ने बेला तातो हातले गोडामा लगाइ दिएको तेल सम्झेँ । घाँसको भारीमाथि बोकेर बारीबाट घर ल्याएको सम्झें । सायद, म योद्धाले यस्तो सम्झनु हुन्थेन । परिवार र मायाभन्दा माथि उठेर देशका लागि लड्नु थियो । सर्वहारा वर्गको मुक्तिका लागि संघर्ष गर्नु थियो । तर मेरो युद्धविरोधी मनले घर, गाउँ, आमा सबैसबैलाई सम्झियो । र, रोयो ।

 

अरु सबै उकालो लागे । तर कमरेड अमृताले भने मलाई सोध्नुभयो, ‘किन नउठेकी सुनिला ? के भयो ? अनुहार मलिन देख्छु नि ।’ अमृता दिदीको सोधाइले मलाई ठूलो ढाडस मिल्यो । माया पाएको अनुभूति भयो । एकभारी माया । थेग्नै नसक्ने माया । त्यसैले होला मैले केही बोल्नै सकिनँ । मुखबाट शब्द भन्दा पहिले आँखाबाट आँशु चुहियो ।

 

‘के भयो नानू ? नरोऊ । म छु नि !’ दिदीले मेरो छेवैमा आएर भन्नु भयो । म झन् भक्कानिएँ । दिदीलाई अँग्गालो हालेर एकैछिन धीत मर्ने गरी रोएँ । र भने, ‘दिदी मलाई युद्ध पुग्यो । म घर फर्कन चाहन्छु ।’

 

‘त्यस्तो नभन नानू । मन दह्रो बनाउनु पर्छ । हामी अहिले चाहेर पनि घर फर्कन पाउदैनौं । मलाई पनि यो युद्ध पुगिसकेको छ, मन परेको छैन । तर, गाउँमै भएकालाई त छाडेका छैनन्, हामी बन्दुक चलाउन जानिसकेकालाई त कसरी छाड्लान् ? अरु धेरै माथि पुगिसके । रात पर्न लागिसक्यो । अहिले विस्तारै कुरा गर्दै जाऔं । नत्र यहाँ जे पनि हुन सक्छ । दुश्मनले भेट्न सक्छ, मार्न सक्छ ।’ दिदीले मलाई हात समाएर उठाउनु भयो । हामी विस्तारै उकालो चढ्न सुरु ग¥यौं । अरुहरुले माथिल्लो ढिक्सो पनि कटिसकेछन् ।

 

दिदीले सोध्नुभयो, ‘खासमा के भयो सुनी तिमीलाई ?’ मैले सबै दिदीलाई सुनाएँ । रजश्वला, भोक, थकाई, गाउँघरको सम्झना, आमाको माया, निर्दयी सहयोद्धा, स्वार्थी नेता सबैसबै । दिदीले भन्नुभयो, ‘यो सब सहनुको विकल्प छैन नानू । अब हामीलाई जहाँ गए पनि यिनीहरुले छाड्दैनन्, गाउँ गयो भने पनि दुश्मनले छाड्दैनन् ।’

 

‘तर दिदी म जे सोचेर युद्धमा लागेको थिएँ, यथार्थ धेरै फरक रहेछ । हज्जारौं गुणा फरक !’

‘के सोचेकी थियौ, के भएन र ?’

‘मेरो कथा भयानक छ दिदी । सम्झँदा पनि मुटु फुट्लाजस्तो हुन्छ ।’

‘भन न ! मन हलुङ्गो हुन्छ ।’

 

‘मलाई धेरै पढेर नर्स बन्ने धोको थियो । बाआमाले मेलोपर्म गरेरै भए पनि मलाई पढाइरहेका थिए । पढाई पनि राम्रै थियो । सात कक्षा पास भएर आठमा जाँदा दोस्रो भएकी थिएँ । सबैले मलाई ठूलो सम्भावना बोकेकी, ट्यालेन्ट केटी भन्थे । तर एक साँझ मेरो जीवनमा एउटा भयानक दुर्घटना भयो । जुन कुरा आजसम्म मैले कसैलाई भनेकी छैन । जुन तपाईंलाई भन्दैछु ।

 

जाडो महिना थियो । आमा मामाघर र बाबा वेसीको गोठमा जानु भएको थियो । त्यो दिन आमा पनि घर आउनु भएन, बाबा पनि गोठमा गाई ब्याएकाले उतै वस्नु भयो । घरमा एक्लै भएकाले साइला काकाको घरमा खाना खाएँ । काकीले असाध्यै माया गर्नु हुन्थ्यो । काकीले त आफ्नै घरमा वस्न भन्नुभएको थियो । तर घर कुर्न पर्ने भएकाले म आफ्नै घरमा आएर सुतेँ । एक्लै घरमा वस्नु पर्दा डर लागिरहेको थियो । डराईडराई ढल्केको मात्रै थिएँ, साइला काका आउनु भएछ । मलाई केही राहत मिल्यो । सोचेँ, ‘काकीले म एक्लै डराउँछु भनेर काकालाई साथि पठाउनु भएको होला !’ काकाले पनि त्यहीं भन्नुभयो । त्यहीं रात हो मेरो जीवनमा अतिनिर्मम घटना भएको... ।

 

म निदाएपछि काका भनौदो मेरो ओच्छ्यानमा आएर सुतेछ । ब्यूझँदा त मलाई उसले अठ्याइसकेको रहेछ । ‘बोलिस् भने मारिदिन्छु’ भनेर मेरो अस्मिता लुट्यो । सर्वश्व लुट्यो । ...’ अमृता दिदीलाई यो सुनाउँदा म भक्कानिइसकेछु । दाह्रा किटिरहेको रहेछु । मलाई सम्हालिनै कठिन भएपछि दिदीले अंगालोमा हाल्नुभयो । अनि, टाउको सुम्सुम्याउदै भन्नुभयो, ‘नरोऊ सुनि, यस्तै छ हाम्रो समाज । हामी नारीलाई एक जुनी बाँच्न पनि ज्यादै कठिन छ । एकै जुनीमा हजार पटक मरेर पनि जिउँदो भएको अभिनय गर्नु पर्ने छ ।...नरोऊ, यो तिम्रो मात्रै पीडा होइन, धेरै नेपाली नारीको साझा समस्या हो । बरु भन त्यसपछि के भयो ?’ मलाई नरोऊ भनेर सम्झाउँदा दिदीको आँखा पनि रसिलो भएको रहेछ । उहाँले पनि एकपल्ट सँुक्क गर्नु भो ।

 

रात छिप्पिँदो भए पनि हामी एकैछिन एउटा विसौनीमा वस्यौं । जून आधा थियो, जंगलमा किरा कराउदै थियो । जंगली जनावरभन्दा मान्छेसँग बढ्ता डर लाग्ने भएका थियौं हामी । वा डरलाई निस्तेज पार्न नै लडाईमा लागेका थियौं । यसर्थ हामीलाई डर कम थियो ।

 

अरुहरु कहाँ पुगे हामीलाई मतलब थिएन, हामी कहाँ आइपुग्यौं, अरुलाई मतलब थिएन । फेरि विस्तारै उकालो चढ्दै गर्दा मैले दिदीलाई सुनाएँ । ‘कतिबेला बेहोश भएँ, पत्तो भएन । होश खुल्दा रक्तमुच्छेल रहेछु । केही सोच्नै सकिनँ । त्यो काका भनौदो पनि हिँडिसकेछ । तै पनि सकिनसकी आफूलाई सम्हालेँ । ओच्छ्यानको तन्ना फेरेँ । अरुले थाहा पाउनलान् भनेर जबरजस्त केही नभएको अभिनय गरिरहेँ । तर जती छोपौं भने पनि पीडा नछोपिने रहेछ । बाआमा, गाउँका मान्छे र साथीहरुले ‘अचेल के भएको ?’ भनेर सोध्दा ‘खासमा केही भएको छैन, अलि सन्चो विग्रेको छ’ भनेर ढाँटे । अरुलाई त ढाँटे तर आफूलाई ढाँट्न सकिनँ । त्यो घाउले झन्पछि झन् पिरोल्न थाल्यो । त्यो काका भनौदोलाई देख्दा घाउ खुर्केर पिरो दलेजस्तो हुन्थ्यो । जति औसत बन्न खोजे पनि म टोल्हाउने, खान मन नलाग्ने, दुब्लाउँने, साँच्चै विरामीजस्तो भएछु । स्कुलमा सरहरुले पनि पीर मान्नुभो । साथीहरु पनि चिन्तित भए ।

 

एक दिन स्कुलमा संगठन बनाउन अखिल क्रान्तिकारीका मान्छेहरु आएछन् । उनीहरुले बढो कलात्मक ढंगमा हामीलाई क्लास दिए । ‘समाजमा महिला हिंसा बढेको छ । पितृसतात्मक समाजमा महिलालाई खेलौनाजस्तो बनाइएको छ । बाल्यकालदेखि नै छोराछोरीमा विभेद गरिएको छ । आमूल परिवर्तनका लागि क्रान्तिको जरुरी छ । अधिकार मागेर होइन, खोसेर लिनु पर्छ । त्यसैले समानताका लागि बन्दुक बोक्नुको विकल्प छैन । अहिलेको बुर्जुवा शिक्षाले समाजमा धनी र गरिबबीच झन् ठूलो खाडल बनाउछ । नारीलाई झन् तल बनाउँछ । त्यसैले सम्पूर्ण समानताका लागि राज्यसत्ताविरुद्ध युद्ध लड्नु अहिलेको पुस्ताको जिम्मेवारी हो ।...’ यस्तैयस्तै कुराहरुले म निकै प्रभावित भएँ । र, सबैभन्दा बढी त्यो कथित काकासँग बदला लिन मन लाग्यो । अनि, घर परिवार कसैलाई थाहा नदिई माओवादीमा लागेँ ।

 

कुरा गर्दागर्दै हामी गाउँनजिकै पुगिसकेछौं । खोल्सो वारिबाटै देखियो, पिलपिल वत्तिहरु बलेको छ । पिलपिलमध्ये एउटा घरमा अलि धेरै उज्यालो देखियो । सायद त्यहीं घरमा कार्यक्रम आयोजना गरिएको होला भन्ठान्यौं । गाउँ आइपुग्नै लागेकोमा थोरै भए पनि खुसी भयौं । एकैछिनको मौनतापछि मैले नै भनें, ‘तर दिदी मैले सोचेको युद्ध र भोगेको युद्ध धेरै फरक छ । गाउँगाउँमा गएर दुनियाँलाई जनकारबाही गर्ने, तर सबैभन्दा पीडा चैं यहीं भित्र रहेछ । सबैभन्दा विभेद यहीं रहेछ । नेतालाई मोजमस्ती, हामी चैं नेताको ढाल मात्रै बन्नु पर्ने रहेछ ।....’

 

यस्तै गुम्सिएका धेरै कुरा दिदीलाई सुनाएपछि थोरै हलुंगो भएको अनभूत गरेँ । मेरो पीडा, गुनासो, आक्रोश सबै सुनिसकेपछि दिदीले भन्नुभो, ‘बैनी मेरो पनि कथा दर्दनाक छ । म पनि रहरले लडाईंमा होमिएको होइन । मलाई पनि कम्ती सास्ती छैन । अब त गाउँ आइपुग्नै लाग्यो । तिमीलाई मेरो कथा पछि भन्छु । अहिले चुपचाप हिँडौं ।’

 

रात झमक्क परिसकेको थियो । कार्यक्रम आयोजना गरिएको घरमा मादल बजाएर नाचगान सुरु भइसकेको रहेछ । हामी पुगेपछि कोही साथी हौसिए । मलाई नाच्नु पर्छ भने । तर मैले विसन्चो नभएको भन्दै नाच्न अस्विकार गरेँ । एकैछिन नाचगान चल्यो । नाचगानपछि खाना खाएर औपचारिक कार्यक्रम गर्ने तयारी रहेछ । नेता कमरेडहरुले बुइगलमा वसेर लोकल कुखुराको मासु र भात खानुभो । हामीले छिँडीमा उभिएर एक टपरी रायोको साग र भात खायौं । सन्चो नभएकाले पनि होला, मलाई खाना रुचेन ।

 

एकैछिनपछि औपचारिक कार्यक्रम सुरु भयो । हामी चिसो आँगनमा पँलेटी कसेर वस्यौं । पिँडीबाट कमरेड विपिनले क्रान्तिकारी शैलीमा उद्घोषण गर्नुभो । कमाण्डर रवीले सभापतिको आसनग्रहण गरिसकेपछि प्रमुख अतिथिको आसन ग्रहणको बेला भो । हामी धेरै साथीहरु नेता कमरेडलाई देख्न उत्सुक र आतुर थियौं । विपिनले निक्कै लामो भूमिकापछि भन्नुभयो, ‘आज हामीलाई प्रशिक्षण दिन पाल्नु भएको छ, पार्टीका वरिष्ठ नेता, कुशल संगठक, इमानदार व्यक्तित्व कमरेड क्षितिज । परर्रर्रर्र....ताली बज्यो ।

 

अनुहारभरी अबिर पोतिएको र घाँटीभरी फूलमाला लगाएका नेताले पिँडीको डिलैमा आएर दुबै हातले मुठ्ठि कस्तै अभिवादन गरे । फेरि सबैले ताली बजाए । तर मैले बजाइन । मलाई त्यो नेता भनिएको मान्छे चिनेजस्तो लागेर बहुत घोरिएर हेरें । चिनेकै मान्छे हो रहेछ । त्यो मान्छे त मलाई आठ कक्षा पढ्दापढ्दै मेरो सर्बश्व लुट्ने कथित् साइलो काका पो रहेछ ।

 

 



Your Comment

थप समाचार

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

  • 5 hours ago
सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

कुटपिट गर्ने छात्रविरुद्ध मुद्दा

  • 5 hours ago
कुटपिट गर्ने छात्रविरुद्ध मुद्दा

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै यहाँको सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । 

माधव नेपालसँग मिलेर ओलीले म विरुद्व षड्यन्त्र गरे : झलनाथ खनाल

  • 5 hours ago
माधव नेपालसँग मिलेर ओलीले म विरुद्व षड्यन्त्र गरे : झलनाथ खनाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले केपी ओली र माधव नेपालले तोकेको बरियता कुनै पनि हालतमा नमान्ने बताएका छन् ।


Loading...
The British College

भिडियो

hamropatro

नेपाल

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

जीवनशैली

यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

तपाईले हारवर्ड विश्वविद्यालयको नाम सुन्नु भएको छ, प्रिन्सटन विश्वविश्वविद्यालयको नाम सुन्नु भएको छ । तर कहिल्यै यो विश्वविद्यालयको अवधारण कहाँबाट आएको हो त्यो बारे भने धेरै जना अनविज्ञ छन् ।

विचित्र विश्व

एउटा अजबगजबको बेश्यालय, यस्तो छ कहानी !

एउटा अजबगजबको बेश्यालय, यस्तो छ कहानी !

एजेन्सी । बंगलादेशमा विश्वको त्यस्ता मुस्लिम राष्ट्रहरुमा पर्छ, जहाँ बेश्याबृत्तिलाई कानुनी मान्यता दिइएको छ । बंगलादेशमा टंगेल जिल्लामा रहेको सबैभन्दा पुरा बेश्यालय हो कन्दापारा बेश्यालय ।