सरसर्ती संसार

तस्वीर-नेपाल खबर डटकमबाट ।
  • पुस्तक अंश

 

सन् २००४ नोभेम्बर १० का दिन मस्कोको किएभ्सकी रेल्वे स्टेसनबाट राति १० बजे हामी रेल चढ्यौं । बिहान ३ बजेतिर रुसको सीमा पार गरेर युक्रेनको जोर्नोभा भन्ने स्टेसन पुगेका रहेछौं । गहिरो निद्रामा रहेका बेला सबै यात्रीलाई युक्रेनका सीमा गार्डहरूले पासपोर्ट जाँचका लागि ब्युँझाए । रेलको डब्बामा अरू पनि केही विदेशी यात्री थिए तर म, मेरा सहपाठी मित्र डायादव र सिङ्गापुरियन दुई मित्रलाई भने थप सोधपुछका लागि भन्दै रेलबाट ओरालेर स्टेसन नजिकैको सीमा गार्ड अफिसमा लगियो । हामी चढेको रेलचाहीँ आफ्नो नियमित तालिकाबमोजिम राति नै किएभतिर लागिहाल्यो ।


त्यहाँ पु¥याएपछि हामीलाई सीमा कार्यालयको छिँडीमा रहेको एउटा कुर्सीमा बस्न लगाइयो । नोभेम्बर महिना भएकाले जाडो सुरु भइसकेको थियो । बिहान ९ बजे सीमा अधिकृत आएर सोधखोज नगरेसम्म त्यत्तिकै बस्नुपर्ने भन्दै ड्युटीमा रहेका गार्डहरूले मैले अनेक प्रयास गर्दा पनि हामीसँग थप कुरा गर्नै चाहेनन् । मैले त जसोतसो थेगिरहेको थिएँ तर त्यो चिसोमा सिङ्गापुरको न्यानो मौसम बेहोरेका लोह र माह भने लुगलुग कामिरहेका थिए । उनीहरूको अनुहार देखेर टीठ लाग्थ्यो । तर, त्यसको प्रतिरोध गर्ने वा जाडोबाट बच्ने कुनै उपाय थिएन । बिहान ७ बजेतिर लोहले यो झन्झट बेहोर्नुभन्दा बरु युक्रेनतिर नलागी मस्को फर्कने प्रस्ताव गरे । हामी तिमीहरूको देश जाँदैनौं भनेर अनेक अनुनय विनय गर्दा पनि सीमा गार्डहरूले हाम्रो पासपोर्ट फिर्ता दिन मानेनन् ।


बिहान १० बजेतिर सीमा गार्ड अधिकृत आइपुग्यो । सायद उसले आफ्नो मातहतका कर्मचारीलाई विदेशी पर्यटक देख्नेबित्तिकै यसैगरी नियन्त्रणमा लिएर राख्नू भन्ने आदेश दिएको हुँदो हो ! मैले हामी सबै उद्यमी भएको र युक्रेनमा आफ्नो व्यवसाय प्रवद्र्धन गर्न जान लागेको बताए पनि मेरो कुरामा उसले त्यति रुची देखाएन । रुसमा लामो समयसम्म बसेर कर्मचारीतन्त्रको चालामाला बुझेको हुँदा मैले उसको अन्तर्मन छाम्ने प्रयास गरेँ । सरकारको तलब थोरै भएर परिवार पाल्न र बच्चाको पढाइमा खर्च नपुग्ने भएकाले यसरी पर्यटकलाई दुःख दिनुपर्दा लज्जित भएको भनेर उसले गोहीको आँसुजस्तै आफ्नो लाचारीपन देखायो ।


हामी सबै व्यापारी भएकाले जनही सय डलर दिए मात्रै पासपोर्ट फिर्ता पाउने र अगाडिको यात्रा सहज हुने बताएपछि जसोतसो चारै जनाका लागि दुई सय डलरमा मोलतोल गरी पासपोर्ट फिर्ता लियौं । त्यसपछि भने उसले देखाएको सदाशयता तारिफ गर्न योग्य थियो । उसले आफ्नो निजी सचिवलाई बोलाएर तातो कफीसहित आतिथ्य भाव दर्सायो । अर्को एक जना सहयोगीलाई बोलाएर किएभ सहरसम्म पु¥याउन मर्सिडिज कार खोजिदियो । त्यस कारलाई केही रकम तिरेर दिउँसो १ बजे मात्रै हामी किएभ सहर पुग्यौं । हुन त पृथ्वीनारायण शाहले आफ्नो दिव्योपदेशमा घुस ‘लिन्या’ र ‘दिन्या’ दुवै समान अपराधी हुन् भनेका छन् । तर, त्यहाँ हामीसँग अर्को विकल्प नै कहाँ थियो र ! ‘ह्वाइल इन रोम डु एज रोमान्स डु’ भन्ने भनाइलाई आत्मसात् नगर्ने हो भने यात्रामा दुःख र हन्डर पाइन्छ । भ्रष्टाचार सबैतिर व्याप्त छ तर त्यसदिन ती अधिकृतले गरेको व्यवहार देख्ता हामी चकित भयौं ।


यात्रीलाई रातभर चिसोमा ठिङ्ग्याएर बेसोमती ढङ्गले यसरी घुस माग्लान् भन्ने कल्पनासम्म मैलेगरेको थिइनँ ।

 

०००

‘च्यातिन्छ पत्ता जब खात खात
सिद्धिन्छ शोभा तब पूmलबाट ।’

 

सोभियत सङ्घका पन्ध्रवटा गणराज्यमध्ये सबैभन्दा दक्षिणमा रहेको ताजिकिस्तानको सोभियत सङ्घ विघटन भएपछिको अवस्था देख्ता मलाई राष्ट्रकवि माधव घिमिरेले लेखेका यी पङ्क्ति झलझली याद आयो । एउटा सिङ्गो देश राजनीतिक महत्वाकाङ्क्षाका कारण टुक्रिँदा त्यस देशका जनताले कस्तो दुर्दशा भोग्नुपर्दो रहेछ भन्ने प्रस्ट भयो । नटुक्रिएको तत्कालीन सोभियत सङ्घ देश नभएर महादेशजस्तै थियो । प्राकृतिक साधनस्रोत, सामरिक महत्व, औद्योगिक तथा खनिज पदार्थ उत्पादन, वन–जङ्गल, जैविक विविधतालगायत जुनसुकै कोणबाट हेर्दा पनि सोभियत सङ्घ एउटा महाशक्ति राष्ट्र नै थियो ।

 

अनपेक्षित राजनीतिक अव्यवस्थाको भुमरीमा फसेको मुलुक ताजिकिस्तानमा सन् १९९१ मा मैले पहिलो पटक पाइला टेकेको थिएँ ।

 

मेरो भाइ खेम सन् १९९० मा रुसी भाषा पढ्न ताजिकिस्तानको एउटा इन्स्टिच्युटमा भर्ना भएको थियो । खेमसँग अरू केही नेपाली विद्यार्थी पनि त्यसबेला पूरै पाँच दिन पाँच रातको रेलयात्रा गर्दै मस्कोबाट ताजिकिस्तानको राजधानी दुसान्बे सहर पुगेका थिए । लामो रेलयात्रा गर्ने मेरो प्रबल चाहना छतर आपूmले समय व्यवस्थापन गर्न नसक्ता अझ्ैपूरा हुन सकेको छैन। रुसको ट्रान्स साइबेरियन रेल संसारकै लामो रेलवे लाइन मानिन्छ । संसारभरिबाट रेलयात्राका सौखिनहरू यस रुटमा यात्रा गर्न आउँछन् । मसँगै सन् १९८६ मा छात्रवृत्तिमा पढ्न सोभियत सङ्घ आएका रेशमराज ढकालको सौजन्यमा खेमलाई त्यहाँ भर्ना गरिएको थियो । मस्कोतिरका इन्स्टिच्युटहरूमा भन्दा त्यतातिर ट्युसन फी अपेक्षाकृत सस्तो भएकाले खेमलाई त्यहाँ अध्ययन गर्न पठाएको थिएँ मैले ।

 

गोर्बाचोभले सन् १९८५मा सुरु गरेको पेरेस्त्रोइका र ग्लास्तनोस्तपछि सबै सङ्घीय गणराज्य सोभियत सङ्घबाट छुट्टिएर आआफ्नो अलग पहिचानसहितको स्वतन्त्र राज्य बन्न लागेको सङ्क्रमणकाल थियो त्यो । त्यसैले आर्थिक र सामाजिक पक्षहरू अस्तव्यस्त थिए । जाति–जातिबीच विद्यमान सामाजिक सद्भाव बिथोलिएर एकअर्काप्रति द्वेषको भाव उत्पन्न हुन थालेको थियो ।


सोभियत सङ्घका पन्ध्र गणराज्यमध्ये रुसी महासङ्घ जनसङ्ख्या, क्षेत्रफल र स्रोतसाधन सबै हिसाबले अग्रणी स्थानमा भएकाले अरू गणराज्यमा रुसी जातिको प्रभाव बढी थियो । अन्य गणराज्यमा प्रशासन, शैक्षिक संस्थान र उद्योग–कलकारखानाका माथिल्ला पदहरूमा रुसीहरूकै बोलवाला रहन्थ्यो । सोभियत सङ्घ विघटनको सङ्घारमा आइपुग्दा प्रायः सबै गणराज्यमा रुसीको प्रभाव कम हुँदै जानु स्वाभाविक थियो । विघटनपछि त केही गणराज्यमा रुसीहरूलाई बसोबास गर्न नै असहज हुन थाल्यो । धेरै रुसी आफ्नो घर, अपार्टमेन्ट कौडीको मूल्यमा बेचेर रुसका विकट क्षेत्रमा बसाइँ सर्न थाले । ताजिकिस्तान पनि अपवाद थिएन ।


काठमाडौंको अस्तव्यस्त सहरी बस्तीलाई बिर्सिदिने हो भने राजधानी सहरदुसान्बे काठमाडौं उपत्यकाजस्तै छ ।

 

०००

पोल्यान्ड र राजधानी वार्सा सहर धेरैपटक घुमियो । त्यसमध्ये सन् १९८८ मे महिनामा घटेको एउटा घटना उल्लेख गर्नैपर्ने खालको छ । हामी बर्लिनका लागि यात्रा गर्दै थियौं । त्यसअघि पनि म निकै पटक बर्लिन पुगिसकेको थिएँ । गुप्ताजी र म वार्सामा दिनभर घुमेर साँझ् बर्लिन जाने रेल चढ्यौं । रेल चढ्ने बेला आठदस जना युवा हामीसँगै ठेलमठेल गर्दै रेलभित्र पसे । हामी आफ्नो सिटमा गएर बस्यौं । रेल चल्दै गयो । हामी झ्काउन मात्र के थालेका थियौं, तन्द्रामै गुप्ताजी आत्तिँदै चिच्याए, ‘चोरले मेरो वालेट झन्डै उडाएको यार !’


त्यसपछि मैले झटपट आफ्नो पकेट छामेँ । मेरो वालेट त चोरले पहिले नै उडाइसकेको रहेछ । युरोपमा पाकेटमारको फेला परिएला भन्ने मैले कल्पनासम्म पनि गरेको थिइनँ । वालेटमा रहेको मेरो नगद रकम र अमेरिकन एक्सप्रेस कम्पनीको ट्राभलर्स चेक एकसाथ चोरी भएको रहेछ । हराए चेक जारी गर्ने कम्पनीबाट सोधभर्ना लिन सकिन्छ तर आफ्नै हुस्सुपनका कारण बैंकले दिएको अमेरिकन एक्सप्रेस चेकको सिरियल नम्बर र खरिदका प्रमाणहरू जतनसँग नराखेकाले त्यसको सोधभर्ना लिन सकिएन ।


त्यस डब्बामा चोरको डफ्फा ठूलै रहेछ भन्ने पछि पो थाहा भयो । हामी दुई जना मात्रै थियौं । उनीहरूसँग मुकाबिला गर्दाको परिणाम झ्न् अप्रिय होला भन्ने ठानेर हामी सुरक्षित हुन अर्को डब्बामा स¥यौं जहाँ अफ्रिकी मूलका केही विदेशी हामीझै यात्रा गरिरहेका थिए ।


पहिलो पटक रुस जाने क्रममा काठमाडौंमा भेट भएका मस्कोस्थित प्याट्रिस लुमुम्बा विश्वविद्यालयमा पढ्ने डा. अब्दुल मतिनले मैले आपूmले उपयोग गर्नसक्ने पूरै सटही सुविधा लिन नसक्ने थाहा पाएपछि आफ्ना लागि केही डलर लगिदिन अनुरोध गरेका थिए । मैले उनका लागि अमेरिकन एक्सप्रेसको ट्राभलर्स चेक लिइदिएको थिएँ । चेकमा सकेसम्म हस्ताक्षर नगर्न उनले सम्झएका थिए तर बैंकले चेक लिँदा हस्ताक्षर नलिई किन मान्थ्यो र !

 

मस्को पुगेपछि म उनलाई चेक फिर्ता गर्न गएँ । उनले चेकमा जसको हस्ताक्षर छ, उसैले मात्र उपयोग गर्नसक्ने भन्दै चेक मलाई नै थमाए । अब म आपैंmले त्यो चेकसाटेपछि मात्रै उनलाई भुक्तानी दिनसक्ने भएँ । चेक चोरी भएकाले उनको त्यो रकम मैले अर्कोपटक बर्लिन जाँदा बचत गरेको नाफाबाट मात्रै फिर्ता गर्न सकेँ । थोरै सङ्गतमा भरोसायोग्य बनेका ती विद्वान्को काम एउटा चोरीका कारण बिथोलियो । असल मानिसको काम भरपर्दो तरिकाले गर्न नसकेकामा मलाई निकै पछुतो लागिरहेको थियो ।

 

०००

युरोपको मध्य भागमा रहेर पनि स्विट्जरल्यान्डले लामो समयदेखि आपूmलाई बिलकुल तटस्थ राखी निर्बाध रूपमा सङ्घीय गणराज्यको भूमिका निर्वाह गरिरहेको छ । स्विट्जरल्यान्डमा जस्तो प्रकृति छ, त्यो नेपालसँग पनि छ । त्यो पहाडी देश पनि पेट्रोलियम, सुन र हिरा खानीमा धनी होइन । पहाडैपहाड भएको देश स्विट्जरल्यान्डमा जताततै पहाड छेडेर सुरुङमार्ग बनाइएका छन् । हाम्रा लागि त्यो असम्भव छैन । पूर्वाधार भए हामीकहाँ पनि पर्यटकको ओइरो लागिहाल्छ । काठमाडौं उपत्यकाका साथै पोखरा, जिरी, पाल्पा, इलाम, जोमसोमलगायत दर्जनौं ठाउँ छन्, जसलाई ज्युरिच, जेनेभा र बर्नजत्तिकै आकर्षक बनाउन सकिन्छ ।

 

हाम्रा हिमालभन्दा निकै होचा हिमालहरूमा स्कीलगायत अन्य स्नो एडभेन्चरको मज्जा लिन लाखौं पर्यटक वर्षैपिच्छे आउने गर्छन् । यो हाम्रा लागि असहज र असम्भव छैन । जेनेभा र ज्युरिच तालले लाखौं पर्यटक आकर्षित गर्छन् । हामीसँग फेवा, रारा र फोक्सुन्डोजस्ता सुन्दर तालहरू छन् । अभाव भनेको बाटाघाटाको मात्र हो । पूर्वाधार बनिदिए भारत र चीनको विकाससँगै उच्च मध्यमवर्गीय परिवारमा रूपान्तरित पर्यटकहरू थेग्नै नसक्ने गरी आउने थिए ।

 

दशकौंअघि स्विस सरकारले दोलखाको जिरीमा बनाइदिएको कृषि केन्द्रमा गरिएको प्राविधिक सफलतासँगै उसले आफ्नो देशमा अभूतपूर्व कृषिक्रान्ति ग¥यो । तर, उनीहरूले छाडेपछि ती भौतिक संरचना हाम्रा लागि खण्डहरजस्ता भएका छन् ।

 

गैरआवासीय नेपाली सङ्घको बैठक उद्घाटनमा स्विट्जरल्यान्डकी पूर्व फेडरल चान्सलर डा. अन्नामारी ह्युबर होट्ज उपस्थित भएर बैठकको गरिमा बढाइदिएकी थिइन् । बैठकको उद्घाटन समारोह सकिएपछि उनीसँग एकैछिन भलाकुसारी गर्ने अवसर मिल्यो । नेपाललाई असाध्यै माया गर्ने यी महिलाले दुई जना धर्मपुत्रीसमेत नेपालबाटै ल्याएकी रहिछन् । निकै पटक नेपाल भ्रमण गरेकी पूर्व चान्सलरले मसँग एउटा प्रश्न सोधिन्, ‘यति सुन्दर र असल मानिस भएको देशले किन विकास गर्न नसकेको होला ? हाम्रो देशजस्तै नेपाल पनि समृद्ध भएको देख्ने मेरो सपना प्रत्येक भ्रमणमा दुर्घटनाग्रस्त हुन्छ र म सधैं मलिन भाव बोकेर फर्किन्छु ।’


०००


त्यो कम्प्युटर बोकेर म फेरि बर्लिन नै फर्किएँ । पसलेलाई सबै समस्या बताएर जति नै अनुनयविनय गर्दा पनि उसले कम्प्युटर फिर्ता लिन मानेन । अब कहाँ लिएर जाऊँ ? मैले एउटा जोखिम पुनः उठाउने विचार गरेँ । कम्प्युटर लिएरै जहाजबाट रुस फर्कने । नभन्दै हवाईजहाजबाट सामान लिएर आउँदा मस्को सेरेमेतोभा एयरपोर्टको भन्सारमा पहिले भोगेको जस्तो भन्झ्ट झ्ेल्नुपरेन । सामान सहजै पार भयो । यसैगरी मैले बर्लिनको यात्रा दर्जनौंपटक गरेँ हुँला । त्यो बेला बर्लिन जानु यति सहज मानिन्थ्यो कि साथीहरू बर्लिन जानुलाई रक्सौल जानु भन्ने गर्थे । यसबीच जर्मनीका अन्य केही सहर पनि मैले निकैपटक घुम्ने अवसर पाएँ ।


सन् १९९३ देखि जर्मनीले नेपाली राहदानी वाहकलाई जर्मनी यात्रा गर्दा भिसा लिनुपर्ने नियम बनाएपछि भने जर्मनी जाने आउने क्रम पहिलेजस्तो नियमित हुन सकेन । सन् २०१२ देखि भने जर्मनीको फ्र्यान्कफर्ट सहरमा व्यवसाय गरेर बसेका युवा उद्यमी तथा गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष कुमार पन्तसँगको साझेदारीमा व्यवसाय विस्तार गर्दै मैले लगानी सुरु गरेपछि जर्मनी मेरो अर्को कर्मभूमि हुनगएको छ ।


जर्मनीसँग युद्धका खाटा बस्न बाँकी रहेका थुप्रै घाउ छन् । प्राचीन सभ्यताको उद्गमस्थल भएर पनि यसले त्यस परिचयमा आपूmलाई अझ्ै स्थापित गर्न सकेको छैन । यही पृथ्वी हो, जहाँ चस्मा लगाएका मानिस बुद्धिजीवी हुन्छन् भनेर कम्बोडियामा छानी–छानी मारिएका कथा छन् । जातीय हेलाकै भरमा हिटलरले साठी लाख यहुदी सिध्याए । अरू त अरू विश्वविख्यात वैज्ञानिक आइन्स्टाइन पनि कोपभाजनमा परे । आइन्स्टाइन लखेटिएपछि त्यहाँका विद्वान्हरूले भनेका थिए रे, ‘जर्मनी आज युद्धमा हारेको छ ।’


विश्वविख्यात भौतिकशास्त्री वैज्ञानिक अल्बर्ट आइन्स्टाइनलाई यहुदीका नाममा देशनिकाला गर्नु जर्मनीका लागि अभिशाप बन्यो । बिसौं शताब्दीका यी महान् वैज्ञानिकलाई देशबाट निकालिँदाको क्षणमा विश्व रोएको थियो । अमेरिकाले आइन्स्टाइनको बुद्धि, ज्ञान र विवेकको राम्रोसँग उपयोग ग¥यो । आइन्स्टाइन नै पहिलो व्यक्ति थिए, जसले अमेरिकी राष्ट्रपति रुजवेल्टलाई एटम बम बनाउन पत्र लेखेका थिए । उनले यसबाट हुने धनजनको क्षति कम गर्न अन्तर्राष्ट्रियस्तरमा परमाणु शक्ति दुरुपयोग नियन्त्रणका लागि पनि आवाज उठाएका थिए । आफ्नै मातृभूमिमा तिरस्कृत हुनुपरे पनि उनको प्रतिभाको कदर संसारले गरेको छ । संसारकै सबैभन्दा त्रूmर शासक र दुईवटा विश्वयुद्ध जन्माउने देश जर्मनी अहिले युद्धबाट थाकेर चुपचाप विकास, विकास अनि फेरि विकासमै लागेको अनुभव हुन्छ । इतिहासमा थुप्रै अक्षम्य भूल गरेको जर्मनी अब कहिल्यै त्यस्तो भूल नगर्ने वाचा गरेर युरोपको एउटा सुन्दर पूmल बन्दै विश्वभर शान्तिको सन्देश छरिरहेजस्तो लाग्छ ।

 

०००

 

भ्रमणमा निस्कँदा मलाई सामान्य होटेलमा बस्न कुनै समस्या हुँदैन, त्यो सफासुग्घर छ भने । तर, त्यहाँ भने परिस्थिति अलि फरक थियो । मैले उनलाई त्यसो भन्नुका दुई कारण थिए । पहिलो, नेपालीहरू राम्रो होटेलमा बस्न सक्तैनन् भन्ने उनको सोचाइमा परिवर्तन ल्याउन जरुरी थियो । दोस्रो, म उनका अगाडि सबल व्यवसायीका रूपमा उभिन चाहन्थेँ ।

 

भोलिपल्ट काटो सानले हामीलाई हाकोने नेसनल पार्क घुमाउन लगे । हामी चार जना थियौं । सिङ्गापुर र ताइवानी साथीहरूले आफ्ना श्रीमतीहरूलाई किनमेलका लागि टोकियोमै छाडेका थिए । प्राकृतिक तातो पानीमा नुहाउनु जापानीहरूको परम्पराजस्तै रहेछ । शरीरमा भएका घाउखटिरा या जिउ दुख्ने रोग छ भने त्यस्तो पानीमा नुहाएपछि सन्चो हुन्छ भन्ने विश्वास गरिँदो रहेछ । सायद त्यहाँ भएको सल्फरले घाउखटिरा सन्चो बनाउँदो होला । त्यसैले काटो सानले हामीलाई हाकोनेको एउटा प्रसिद्ध ओनसेन रिसोर्टमा लिएर गए । त्यहाँ प्राकृतिक तातो पानीसहितको स्विमिङपुल रहेछ ।



पचास डिग्रीको तापक्रम भएको सल्फरयुक्त तातो पानीमा मानिसहरू निर्वस्त्र नुहाइरहेका थिए । महिला र पुरुष त्यसरी एकै ठाउँमा निर्वस्त्र नुहाएको देख्दा लाजले म भुतुक्कै भएँ । तर, उनीहरू लाज मानिरहेका थिएनन् । लाग्यो, मानिसको यौवनको तापभन्दा त्यो पानीको ताप धेरै चर्को रहेछ । त्यसैले उनीहरू लाज मानिरहेका थिएनन् । केही समय त्यहाँ घुम्दै गर्दा त म पनि उनीहरूझै लाज नमान्ने पो भएछु । त्यसलाई ओनसेन अर्थात् हटस्प्रिङ स्पा लिने भनिँदो रहेछ । त्यहाँ मलाई अनौठो र न्यानो अनुभूति भयो ।


हाकोनेबाट फर्कँदा मानिसहरू रुमालमा अण्डा पोको पारी तातो पानीमा केही बेर डुबाएर दङ्ग पर्दै खाँदै गरेको पनि देखियो । तातो पानीमा डुबाएपछि केही बेरमै अन्डा उसिनिँदो रहेछ । हामीले पनि त्यसरी नै अण्डा खायौं । मलाई नेपालमा विभिन्न ठाउँमा भएका तातो पानीको याद आयो । मुक्तिनाथ गएर आउनेहरूले गाउँमा भन्थे, ‘रुमालमा चामल पोको पारेर एकछिन तातो पानीमा डुबाउने हो भने भात हुन्छ ।’

 

दिनभरी त्यहाँ घुमेर हामी साँझ पुनः टोकियो फर्किदैँ थियौं । साँझ् विभिन्न नाकाबाट आएका सवारी साधनको चापले सडकमा खुब लामो ट्राफिक जाम प¥यो । यस्तो जाम परेका बेला माथि डिजिटल होर्डिङ बोर्डमा राता अक्षरमा लेखिएको सूचनालाई काटो सानले अनुवाद गरेर सुनाए, ‘पाँच किलोमिटर लामो ट्राफिक जाम छ । यो जाम छिचोल्न दुई घण्टा लाग्न सक्छ ।’


काटो सानले भने, ‘यो ट्राफिक जाम काटेर हामी होटेल पुग्दा रातको ११ बज्ला । यो जाम छिचोल्न लाग्ने दुई घण्टालाई हामी यतै सदुपयोग गरौं । यतै कतै रेस्टुरेन्टमा खाना खाऔं ।’

 

(लेखक एवं एनअारएन अभियन्ता जीवा लामिछानेकाे पुस्तक सरसर्ती संसारकाे अंश)



    Your Comment

    थप समाचार

    ७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

    • 10 hours ago
    ७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

    काठमाडौं, कात्तिक ५ । पहिलो चरणमा ३२ जिल्लामा प्रदेशसभाका ७४ सिटमा हुने चुनावका लागि आइतबार उम्मेदवारी दर्ता भएको छ । विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुले निर्वाधन कार्यालयमा

    आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

    • 10 hours ago
    आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

    काठमाडौं कात्तिक ५ । भक्तपुरको बोलकोटस्थित एमाले अध्यक्ष केपी ओलीको निवासमा भाईटीकाको भोलिपल्ट पनि तामझाम र रौनक उस्तै थियो । अर्थात्, आइतबार दिउसो ।

    प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

    • 11 hours ago
    प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

    काठमाडौं, कात्तिक ५ । गुन्डा नाइके दीपक मनाङेलाई मनाङबाट उम्मेदवार बनाउने नेकपा एमालेको निर्णयको चौतर्फी आलोचना भएपछि एमालेले मनाङेलाई उम्मेदवार नबनाउने भएको छ ।


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

    म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

    काठमाडौं, कात्तिक ५ । नयाँ बसपार्क नजिकै म्हैपीमा आइतबार बिहान गोली प्रहारबाट कल्याण गुरुङ घाइते भएका छन् । घटनापछि घाइतेलाई उपचारका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल लगिएको छ ।

    जीवनशैली

    कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

    कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

    नुहाउदा हामीले अक्सर कयौं गल्तीहरु गरिरहेका हुन्छौं । जसले हाम्रो छाला र कपाललाई असर गर्नुका साथै कयोैं स्वास्थ्य समस्याहरुको कारण बन्न सक्छ ।