घरदेशदेखि परदेशसम्मका दसैं अनुभूतिहरु

सानो छँदा सबैलाई खुब रमाइलो हुन्छ, दसैं । हिजोआज ती दिनहरु फÞर्किएर फेरि त्यस्तै रमाइलो भैदिए जीवन कति आनन्दित हुन्थ्यो ? भन्ने चाहना नहुने को होला र ?

 

म पनि केटाकेटी हुँदा दसैंमा बालसखा झबिन र म मिलेर केही पैसा जम्मा गरी लंगुरबुर्जा किन्ने, खेल्ने खेलाउने गथ्र्यौं । पहिलो प्रयास एकदमै सानो लंगुरबुर्जा गोटी टोकरी थियो । पैसा थाप्ने बेला हामीले ठूलो कागज किनेर आफैं बनाएको अनि घर अगाडि चोकमा ससाना आफ्नै साथीहरुबीच खेलाएको खुब याद आउँछ । त्यो लंगुर बुर्जाको मालिक भएर खेलाउँदा अनि पैसा कमाएर बाँड्दा खुब ठूलो भएको भान हुने । सायद म ३÷४ कक्षामा पढाइ गर्दाको कुरा हो ।

 

घरमा ममीले दाजुभाइलाई एकै रंगका नयाँ सर्ट अनि प्यान्ट किनेर ल्याइदिनु हुन्थ्यो । अनि गाउँघरमा सबै दाजुभाइ हुनेले प्रायः एकै खालका लुगा रंग मिल्ने लगाएका हुन्थे । आजकाल बुझ्छु, सायद त्यो हाम्रो गरिबीका बाबजुद परिवारले जोहो गरिदिएको लुगा थियो । त्यस्तै एकै खालका लुगा परिवारमा किनिदिनुको पछाडि समानताको लागि र दाजुभाइमा झैँझगडा, मनमुटाव नहोस् भन्ने सांकेतिक प्रतीक मनोबैज्ञानिक कारण नजानिँदो पाराले हाम्रो समाजमा पहिले देखिनै चलनमा रहेको देखिन्छ । मैले पछि कलेज आएर मनोविज्ञान अनि समाजशास्त्र अध्ययन गर्दा पाएँ ।

 

छोरीहरुलाई मात्र दक्षिणा दिने चलन सानो हुन्जेल त, पैसा कमाउन भनेर टीको थाप्न भएभरका दाजुभाइकोमा पुगिन्थ्यो । मावली घरमा अलिक बढी दक्षिणा पाइने लोभले ममीसंग हिडेर पनि टाढाको बाटो जाने गरेको याद छ ।

 

त्यसपश्चात अलि हुर्किएपछि दशैंमा लिङ्गे पिङ्ग खेल्न हिँड्ने, पटका पड्काउने, हाटबजार जाने उमेर सुरु भयो ।

 

मलाइ लाग्छ, यो ५देखि ७ कक्षा पढुन्जेल अर्थात् २०४७÷४८ साल ताकाको कुरा हो । सवारी साधन साइकल थियो । बर्खा सकिएको तर बाटो हिलो नै हुने, पिचरोड बनेको थिएन । त्यतिबेला घरघरमा साइकल हुन्थे । बिजुलीबत्ती कहाँ हुनु ? धिप्री र लालटिन अनि राँकोमा चल्थ्यो रातको उज्यालो ।

 

८ कक्षातिर पुगेपछि खुब तास जुवा खेलमा मान्छे हिँडेको थाहा हुन थाल्यो । हाम्रो घर चोकमा भएकोले रात दिन २४ घण्टा तास खेल्नेको जमात हुन्थ्यो । मलाई त्यो देखेर बुवा, काका , गाउँघरका बुढापाका त्यसमा झुम्मिएको देखेर केटाकेटी देखिनै जुवा तास भनेपछि एलर्जी लागेर आउने ।
कोइकोइ बेला कोरम नपुग्दा साथीहरुले मलाइ पनि सिकाए । बालसखा धनराज र म भेला भएर रातिको गुडगुडेमा खुब कुद्थ्यौ । खै के को मजा हो ? खुब मजा आउने । खेतका आली, खोल्सा खोला तरेर वल्लोपल्लो गाउँ पिङ्ग खेल्न, नाच हेर्न हिँड्दा ।

 

त्यसबेला तास जुवाको बिकृति अति बढेको थियो । धेरै मान्छेहरुले घरबार बिगारेको देखियो । त्यस्तै अर्को बिकृति थ्यो, खोया बिर्केको । रक्सीका बोतलमा खोयाको बिर्को लगएको हुनाले स्थानीय ठिटाहरुले त्यसलाई ‘खोया बिर्के’ ब्रान्ड दिएका थिए ।

 

हाम्रो गाउँघरमा मतुवाली परिवारमा घरघरमा जाडरक्सी बनाउने चलन छ । जसले गर्दा प्रशस्त जाँडरक्सी पाइने अनि त्यसको नसामा परेर धेरैले घरबार बिगारेका छन् । दशैंको बेला रक्सी खाएर हुने झगडा ठूलो रुप सम्म लिने गरेको थियो । आजकाल लाग्छ, रक्सी र तास हाम्रो गाउँको मनोरञ्जनको साधन त थियो तर त्यसबाहेक रचनात्मक काम अत्यन्त न्यून हुने हुनाले चाड आउँदा रक्सी र भाले खाने अनि कहाँ जुवा हान्ने ? भन्ने नै बढी चर्चा हुने ।

 

बेलाबेला तास जुवा नखेली, चुरोट र रक्सीको गिलास नउठाई म ठूलो हुन्न, मेरो इज्जत हुन्न भन्ने बिचार मनमा आउने अनि खेल्न मन लाग्ने हुन्थ्यो । कि जो जुवाडे, तासे, लफङ्गाहरु कि सामन्ती जमिन्दार, पन्चे नेताहरुको बहुत इज्जत दिने त्यो बेलाको समाज । प्रजातन्त्रपछि ठुटे नेता, जसको सोर्सफोर्समा गाउँ चल्ने भो । गरिब, साधारण गरिखानेलाई नगन्ने चरित्र थियो समाजको ।

 

हिजोआज १० वर्षे ‘जनयुद्ध’को लागि मैदान कोर्ने त्यो शैली र चरित्र छँदै छ, प्रजातन्त्रपछि चलेको अर्को लुटतन्त्र उतिकै दोषी लाग्छ । हुनत अझै उस्तै छ, पैसा हुने र शक्तिवालाहरुको बोलवाला छ । व्यवस्था धेरै फेरिए पनि अवस्था उस्तै छ ।

 

उबेला टाढा देश भनेको भारत, दिल्ली, सिक्किम, आसाम कोइलाखातसम्म जाने चलन रहेको र काठमाडौँ तिर जागिरे पनि ठाँटकाँटसँग दशैंमा आउथे । बाँकीको पेसा खेतीपाती नै हुने गरेकोले जीवनशैलीमा एकरुपता थियो ।

 

एकातिर जुवातास अर्कातिर गरिब, हरुवा, चरुवाहरुको बिजोग । रोग ब्याथाले दुख परेकाहरुलाई सहयोग गरेको अनि सबै मिलेर दुखी हेरेको कम नै सुन्न, देख्न पाइने समाजको चरित्र नितान्त फरक लाग्ने मलाइ उबेला ।

 

कतिपय गरिबहरु बर्षौसम्म रोग लागेर थलिएर मृत्युबरण गरेको देख्नु पथ्र्यो । हाम्रो घर अलि पर एकजना धिमाल दाइ अनि केही सतार दाजुभाइ, कतिपय दलित गरिब परिवारमा त्यस्तो भएको आँखाले देखेको छु ।

 

आजकल सम्झना गर्दा पनि मन दुख्ने । सायद सबैको गरिबी थियो कि, मानवीयपन अलि कम थियो हामीमा ।

 

दशैंका आयामहरु !

 

धार्मिक र साँस्कृतिक

 

दशैं पर्व हिन्दुहरुले मनाउनुमा बिबिध पौराणिक पक्षलाई जोडेर रामको बिजय, देवीको राक्षसहरुसँगको बिजयको कथालाई हेरेर मनाउने गरेको पाइन्छ । धर्मकर्ममा बिश्वास गर्नेहरु नौरथा लागेदेखि नै आराधना गर्ने, त्यो भन्दा अघि सोह्र श्राद्ध बिबिध कर्ममा तल्लीन रहेर शक्ति साधना, सञ्चय र बिजयको रुपमा लिने गरेको देखिन्छ । यसले कुनै ऐतिहसिक कालखण्डमा भएको युद्धपश्चात बिजय उत्सवको झल्को दिने गर्छ । दशैंमा प्रदर्शन हुने कला संस्कृतिले यसलाई प्रबर्धन गर्न मद्दत गरेको देखिन्छ ।

 

आर्थिक

 

दशैँको समय ठूलो किनमेल हुने सबैले रमाइलो गर्न, लगाउन, खाना आवश्यकतासँगै बजारमा भिडभाड बढ्नाले आर्थिक कारोबारलाई चलायमान राख्ने गरेको पाइन्छ ।
दशैं लक्षित बजार उत्पादनले आफ्नै स्थान र महत्व लिएका छन् ।

 

राजनीतिक

 

पछिल्ला दिनहरुमा दशैंका चियापान, कार्यक्रमहरु दशैं लक्षित घरदैलोले खुब बजार लिएको छ भने जनचेतना र बिकृति सुधारका काम न्यून पाइन्छ ।

 

बैज्ञानिक

 

बर्खाभरी कम प्रोटिन र शक्ति दिने खानेकुरा खाएर घोटिएको किसानहरुको ज्यानलाई अन्न अनि प्रशस्त मासुद्वारा प्रोटिनको लागि यो पर्वले भूमिका खेलेको देखिन्छ । घरघरमा खसी काट्ने अनि मनले मागे जति मासु खाने चलन वर्षभरिमा यो पर्वमा गर्ने चलन रहेकोबाट देखिन्छ । धेरैलाई लुगा फेर्न पनि कम्तिमा दशैं कुर्नु पर्ने अवस्था थियो ।


पारिवारिक र सामाजिक

 

टाढाको परिवारको सदस्य भेटघाटमा कम्तिमा वर्षमा एकपटक आउने चलनले परिवार सदस्यहरुबीच सामिप्यता बढाएको थियो । अझै पनि गाउँ घरतिर यो चलन जीवन्त रहेपनि मानिहरुमा बढी आफ्नै काम र बन्धनहरुले त्यस्तो चलन घटेको पाइन्छ । मैले आफैं परिवारमा आमा बुवासँग दशैंको टीका नलगाएको धेरै वर्ष भो । इच्छा भएपनि काम बिबिध बन्धन र दायित्वले विदेश बसेर वा टाढा भएर पनि दशैंमा घर जान नपाउनेहरु धेरै छन् । पहिले जसरी पनि जानु पर्छ भन्ने मान्यता थियो अहिले घट्दो छ ।
मुलुकमा २०४६ देखिको तिब्र परिबर्तन अनि माओबादी जनआन्दोलनले धेरै परिबर्तन ल्याएको छ, चाडबाडको शैलीमा ।

 

हुनत जनजाति आन्दोलन अनि जबजस्ती मनाउनु पर्ने शासकहरुको उर्दीलाई चिर्दै समाज गणतन्त्रसम्म आइपुगेको अवस्था छ । प्रबिधि, संचार अनि बिकासले गाउँहरु धेरै सहर बजारको सेवा उपभोग गर्ने प्राय परिवारको एक सदस्य विदेश पुगेको हुने अनि तिनीहरुले प्रसार गर्ने साँस्कृतिक, सामाजिक अनुभतिहरुले धेरै परिवर्तन आएको छ ।

 

अब सक्ने मिल्नेहरु विदेशबाट दशैंमा घर जाने नमिल्नेहरु फोन, मिलेसम्म भिडियो च्याटबाट दशैं मान्ने भइसकेका छन् । नयाँ पुस्तामा यसको महत्व घटेर गएको पाइन्छ ।
जसको कारण हुनसक्छ साँस्कृतिक क्षयीकरण चाडबाड जाँड, मासु र टीका मात्र भन्ने संदेश जानु । पुराना पुस्ताले यसको महत्व र उपादेयतालाई बैज्ञानिक ढंगले परिमार्जन गर्न नसक्नु बिबिध लाग्छन् ।

 

हाम्रा धर्म सँस्कृति, चाडपर्वभन्दा क्रिसमस् अनि पश्चात्य संस्कृति हाबी हुनु हामीप्रतिको संस्कृतिक आक्रमण झैँ लाग्छ । हामी भन्दा नेपाली हौँ भन्ने अनि चिनारी पाश्चात्य संस्कारबाट कसरी होला ?

 

परम्परा, संस्कृति संस्कारलाई जगेर्ना गर्न गलत अभ्यासहरुलाई चिर्दै । जस्तैः बली प्रथा, चामलका टीका इत्यादीलाई परिमार्जन गरेर सद्भाव र मानव कल्याणको उत्सवको रुपमा बिबिध रचनात्मक आयामहरु जोडेर यसलाई मनाइनु पर्छ भन्ने मलाई लाग्छ ।

 

बलीको सट्टा बधशाला अनि चामलको सट्टा रंग प्रयोग गर्ने, सक्नेले नसक्नेलाई मद्दत गर्ने, गरिबलाई पर्व मनाउन सरकार र सबैले सहयोग गर्ने । अझ सबै धर्मको साझा बनाउन आ–आफ्नै रीत अनुसार मनाउने चलनले यसको महत्व बढ्ने देखिन्छ ।

 

पछिल्ला दिनहरुमा जनजाति समूहहरुले सेतो टिका लगाउने, कसैले बली नदिने कसैले प्रतिकात्मक बली, कसैले मानव कल्याणका काम गर्ने बिबिध रुपबाट गर्ने गरेको पाइएको छ । जुन सकारात्मक पाटा हुन् । अन्य धर्म मान्नेहरुले टीको र बिधि नगरी खाने पिउने गरेको पाइन्छ ।

 

केही जातीय अतिबादीहरु नेपालका छिमेकी, सबै दाजुभाइले मनाउने दशैं मनाउँदा जात जाने धाराणा लिने पनि भेटिएका छन् ।
उसो त तिनै ब्यक्ति क्रिस्चियन धर्मको चर्चमा ससम्मान जाने, मुस्लिमको इदमा शुभकामना दिने मनाउने र हिन्दूलाई सराप्ने छन् । कस्तो बिडम्बना र दुखको कुरा एउटा गोरेलाई ।

 

दशैंमा हिन्दूलेझैँ गरेर टीका लगाउँदा, मन्दिर जाँदा उसको जात जाँदैन । हिन्दुहरु पनि इद, क्रिसमस अन्य पर्व धार्मिकरुपले नमाने पनि खाने र सामाजिक रुपले सम्मान गर्ने मनाउने ग्लोबल नागरिकको चलन सुरु भएको छ । बिगतमा हिन्दु राजा र राज्यले गरेको अनि धर्मको नाममा भएको विभेदलाई लिएर नयाँ पुस्तासँग बदलालिनु पनि न्यायोचित छैन । बेलायतमा संसद बैठकको सुरुवात क्रिस्चियन पूजाबाट सुरु हुने र अन्त्य हुने परम्परा पक्कै धार्मिक मात्र हैन यो परम्पराको इज्जत र सम्मान हो ।

 

अमेरिका, बेलायत, अस्ट्रेलियामा क्रिसमसमा मात्र बिदा हुन्छ । अरु धर्म मान्नेलाई आस्था अनुरुप होलिडे दिने चलन छ त्यस्ता देशमा बसेर । पढेर, घुमेर नेपालमा ८० प्रतिशत हिन्दु रहेको देशको दशैंको बिरोध गर्ने केही जातीय नेताहरुले पनि सोच्नुपर्ने देखिन्छ भने बाहुनबादको कर्मकाण्डी छुत, अछुत, पवित्र अपवित्र घेराबाट माथि उठेर सबैले एक अर्काको अस्तित्व स्वीकार्ने वातावरण सिर्जना गर्ने र हृदयदेखिनै ग्रहण गर्ने जिम्मा भने हिन्दुबादको मसिहा ठान्ने पण्डितहरुकै हो ।

 

अतिबादी कुरा नगर्ने अहिंसाको सिद्धान्त बोकेको संसारकै पुरानो सभ्यता बोकेको, धार्मिक सहिष्णुता बोकेको यो धर्मका केही फटाहा पण्डितको गलत ब्याख्याको पछि लागेर हेला गर्नुहुन्न । सबै धर्मका, जातका अतिबादीहरु उस्तै हुन् । तिनलाई ठीक ठाउँमा आउन बाताबरण सिर्जना गर्ने मध्यमार्गी मानव सभ्यताका महान विचारक बुद्ध जन्मिएको देशमा हामी सबैले सहिस्नुता कायम गरेर नेपाललाइ बिश्वको नमुना शान्ति क्षेत्र बनाउन लागौं ।

 

परदेशसम्म फैलिएको निर्यातित दशैं

 

हिजोआज नेपालीहरु स्थायी रुपमा विदेशिने चलन खुब बढेको छ तिनको बसाइसराइसँगै देश, परम्परा र भेष पनि सँगसँगै विदेशसम्म पुग्ने गरेको छ । बेलायतमा आप्रवासमा बस्ने करिब २ लाख नेपालीमध्ये धेरैले यो चाड मनाउने चलन छ । क्यानाडा अमेरिका, अस्ट्रेलियादेखि अरब र मलेसियामा सबैले आफ्नै किसिमले मनाएको फोटो अनि आफ्नै कथा व्यथा सामाजिक संजालमा पढ्न देख्न पाइन्छ ।

 

आफ्नै देशको संस्कृति भएकोले पनि फरक धर्म मान्नेहरु भएपनि नेपालीहरुले आदरपूर्बक हेर्ने गरेको पाइन्छ । विभिन्न संस्थाको पहलमा सामुहिक दशैंदेखि अञ्चल, जिल्लाबासी भेटेर होस् वा सम्बन्धित दूतावसमा भेला भएर दशैं मनाउने प्रचलन बढेको छ । व्यस्तताका बाबाजुत परदेशीलाई घरदेशको सम्झना, माया र यादले चाडबाडमा अति नै नियास्रो लाग्दोरहेछ । बालक हुँदा, जहाँ दशैं तिहार मनाएको छ । त्यस ठाउँ अनि साथीहरुको खुब याद आउँदो रहेछ ।

 

समग्रमा दशैंको मजा उमेर, स्थान र व्यक्तिको अवस्थाले निक्र्याेल गर्ने रहेछ । चाडबाडमा भित्रिएको विकृति विसंगतिले गर्दा चाडबाडको परिभाषा नै बदलिँदो लाग्दै गएको पाइन्छ । हामीले जस्तो सामाजिक, राजनीतिक र साँस्कृतिक व्यवस्थाको स्विकृती दियौँ, त्यस्तै व्यवस्थाले समाजमा जरा गाड्नेछ ।

 

 

चाडबाड मनाउने परम्परा अनि रमाइलोलाई पनि रचनात्मक बनाउन सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइलाई दुर्गा भवानीको आशिष लागोस् ! शुभ दशैँ ।



    Your Comment

    थप समाचार

    ७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

    • 10 hours ago
    ७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

    काठमाडौं, कात्तिक ५ । पहिलो चरणमा ३२ जिल्लामा प्रदेशसभाका ७४ सिटमा हुने चुनावका लागि आइतबार उम्मेदवारी दर्ता भएको छ । विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुले निर्वाधन कार्यालयमा

    आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

    • 10 hours ago
    आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

    काठमाडौं कात्तिक ५ । भक्तपुरको बोलकोटस्थित एमाले अध्यक्ष केपी ओलीको निवासमा भाईटीकाको भोलिपल्ट पनि तामझाम र रौनक उस्तै थियो । अर्थात्, आइतबार दिउसो ।

    प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

    • 11 hours ago
    प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

    काठमाडौं, कात्तिक ५ । गुन्डा नाइके दीपक मनाङेलाई मनाङबाट उम्मेदवार बनाउने नेकपा एमालेको निर्णयको चौतर्फी आलोचना भएपछि एमालेले मनाङेलाई उम्मेदवार नबनाउने भएको छ ।


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

    म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

    काठमाडौं, कात्तिक ५ । नयाँ बसपार्क नजिकै म्हैपीमा आइतबार बिहान गोली प्रहारबाट कल्याण गुरुङ घाइते भएका छन् । घटनापछि घाइतेलाई उपचारका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल लगिएको छ ।

    जीवनशैली

    कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

    कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

    नुहाउदा हामीले अक्सर कयौं गल्तीहरु गरिरहेका हुन्छौं । जसले हाम्रो छाला र कपाललाई असर गर्नुका साथै कयोैं स्वास्थ्य समस्याहरुको कारण बन्न सक्छ ।