Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठपर्यटनमर्दी पदयात्रामा पर्यटकको घुइँचो

मर्दी पदयात्रामा पर्यटकको घुइँचो


कास्की । कास्की जिल्लामा अवस्थित विश्व प्रख्यात मर्दी पदयात्रामा जाने पर्यटकको यतिबेला घुइँचो लागेको छ । दसैँअघिदेखि नै यस पदयात्रामा पर्यटकको आगमन बढ्दा होटल तथा रेष्टुरेन्ट भरिभराउ भएका छन् । घटस्थापनादेखि आन्तरिक तथा बाह्य पर्यटक आगमन सुरु भएकामा दसैँको टीकाको भोलिपल्टदेखि पर्यटक आगमन ह्वात्तै बढेको व्यवसायीले बताएका छन् ।

मर्दी पदयात्रा छोटो समयमा गर्न सकिने उत्कृष्ट पदयात्राभित्र पर्दछ । पोखराबाट तीन दिन दुई रातमा पदयात्रा सकेर फर्किन सकिने भएकालेसमेत अधिकांशको रोजाइमा पर्ने गरेको छ । हातले समाउन सकिएला झैँ लाग्ने गरी आँखै अघि ठडिएका हिमशृङ्खला अनि हिउँले छपक्कै छोपेका सेता पहाड, हरिया वनजङ्गल, सुन्दर डाँडाकाँडा र बस्तीले पर्यटक तानेको छ ।

प्राकृतिक सुन्दरताले भरिएको पदयात्रा मार्गका हरेक मनमोहक दृश्यले पर्यटक लाभिने गरेका छन् । कुमारी माछापुच्छ्रे हिमालसहित मर्दी, अन्नपूर्ण साउथ, हिमचुली, अन्नपूर्ण प्रथम, गङ्गापूर्ण, गन्धर्व चुलीलगायत आधा दर्जनभन्दा बढी हिमाल नियाल्ने अवसर मिल्ने भएकाले यस पदयात्रामार्गमा बाह्य तथा आन्तरिक पर्यटकको आकर्षण बर्सेनि बढ्ने गरेको छ ।

मर्दी ट्रेक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङले दैनिक चार सयको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटकले अहिले मर्दी पदयात्रा गर्ने गरेको बताए । उनका अनुसार पर्यटक आगमन बढेसँगै व्यवसायीलाई उनीहरुको स्वागत सत्कार र आतिथ्यतामा भ्याइनभ्याइ छ ।

“कोभिडले थला परेको पर्यटनलाई अहिलेको पर्यटक आगमन बढ्दा उत्साहित भएका छौँ । दसैँको भोलिपल्टदेखि हामीलाई पर्यटकको व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ”, तामाङले भने । मर्दी पदयात्रामा ६० वटा होटल तथा रेष्टुरेन्ट रहेका छन् । यहाँ दैनिक पाँच सय ५० हाराहारीमा पर्यटकलाई बास बस्नसक्ने क्षमता छ । कुनै दिन पर्यटक आगमन दैनिक पाँच सयभन्दा बढी हुने गरेको बताइन्छ ।

दुईदिनअघि मर्दीको पदयात्रा गरेका गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले मर्दीको पदयात्रा गर्दा आफू रोमाञ्चित बनेको बताए । ‘भ्यू प्वाइन्ट’बाट देखिने सुन्दर दृश्यावलोकनले पदयात्रामा भोग्नुपरेका सबै थकान र कष्ट एकै क्षणमा भुलिने उहाँले सुनाए ।

बरालले भने, “मर्दी ट्रेकिङ नेपालीहरुको प्रमुख रोजाइको पदयात्रा गन्तव्य बनेको छ । यसबाट आर्थिक गतिविधिमा योगदान दिएको छ, त्यहाँ गएर बस्न खान कुनै समस्या छैन । पारिवारिक यात्राको राम्रो गन्तव्यसमेत बनेको छ ।” ‘भ्यू प्वाइन्ट’मा शौचालयको अभावका कारण पर्यटक समस्यामा परेको देखिएको बताउँदै प्रदेशसभा सदस्य बरालले समस्या समाधानका लागि प्रदेश सरकारसँग पहल गर्ने बताए ।

पोखराबाट २२ किमी दूरीमा रहेको माछापुच्छ्रे गाउँपालिकाको घलेले हुँदै कालीमाटी तथा सिदिङसम्म जीपयात्रापछि मर्दी पदयात्रा सुरु हुन्छ । त्यहाँबाट जङ्गलको बाटो हुँदै उकालो चढेर दुई हजार नौ सय ७० मिटर उचाइमा अवस्थित लो क्याम्प पुगिन्छ ।

माछापुच्छ्रे धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको काँढेबाटसमेत पोथना, अष्ट्रेलियन क्याम्प, प्रितम देउराली, फरेस्ट क्याम्प हुँदै लो क्याम्पसम्म पर्यटक पुग्दछन् । लो क्याम्पबाट बादलडाँडा, हाइक्याम्प, ‘भ्यू प्वाइन्ट’ हुँदै चार हजार पाँच सय मिटर उचाइको मर्दी आधार शिविर (एमविसी) पुगिन्छ । ‘भ्यू प्वाइन्ट’ बाट लस्करै ठडिएका आधा दर्जनभन्दा बढी हिमालसहित पोखरा उपत्यकालगायत स्थानको दृश्यावलोकन गर्न सकिन्छ ।

अधिकांश पर्यटक मर्दी हिमाल बेसक्याम्प पुगेर, घलेले, क्यानोनिङ हुँदै चिया गाउँका रुपमा परिचित ल्वाङ हुँदै पोखरा फर्कने गर्दछन् । मर्दी पदयात्रा छोटो समयको पदयात्राका रुपमा रहेकाले एक(दुई दिनको बिदाको समयमा समेत पूरा गर्न सकिने भएकाले पर्यटकको रोजाइमा पर्ने गरेको पदयात्रा क्षेत्रमा पर्ने होटल कालीमाटीका सञ्चालक शिव भण्डारीले बताए । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव हुँदै

काठमाडाैँ । धनकुटाको व्यापारिक केन्द्र हिले बजारमा आजदेखि पाँच दिने तेस्रो खाना महोत्सव अर्थात् फुड फेस्टिभल शुरु हुँदैछ । पर्यटन

सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिर्ने निर्णय गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा शुक्रबार प्रधानमन्त्री

इलाममा सुरुभयो अन्तु पर्यटन महोत्सव

काठमाडौँ । इलामको अन्तुलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सूर्योदय नगरपालिका– ४ स्थित अन्तुमा आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ आयोजना

वैशाख १ गते देखि ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुला…

काठमाडौँ । सरकारले ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्ने तयारी गरेको छ । नयाँ वर्ष आगामी वैशाख १

काठमाडौँको ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउने तयारी

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काठमाडौँका ठमेल र दरबारमार्ग क्षेत्र चौबिसैघण्टा खुलाउने तयारी गर्दै मातहतका निकायलाई निर्देशन दिएका

प्रधानमन्त्रीले गरे पोखरालाई देशको पर्यटकीय राजधानी घोषणा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार फेवाताल किनारमा आयोजित कार्यक्रममा पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेका छन् । गण्डकी प्रदेश

Techie IT