वृद्धवृद्धालाई १२ हजार रुपैयाँ महानगर भत्ता दिन्छौं

नेकपा एमालेले काठमाडौं महानगरपालिकामा नेकपा एमाले काठमाडौं जिल्ला कमिटीका सचिव विद्यासुन्दर शाक्यलाई उम्मेदवार बनाएको छ । पार्टीमा करीब आधा दर्जन उम्मेदवारका आकांक्षीमध्ये शाक्यले मेयरको टिकटमा बाजी मारे । उनै शाक्यसँग महानगरको विकास र समृद्धीका योजनाबारे नेपालीपत्रले गरेको कुराकानी :

 

एमालेबाट काठमाडौं महानगरमा मेयरको उम्मेदवार दौड तपाईंले जित्नुभयो । धेरै जना आकांक्षीहरुमध्ये पार्टीले तपाईलाई नै काठमाडौंको मेयरमा उठाउनुको कारण के हो ?


अहिले म काठमाडौं जिल्ला कमिटीको सचिव छु । साविकको ३५ वटा र हालको ३२ वटा वडा सबैमा पार्टीको सञ्जाल फैलिएको छ र तलको सबै कमिटीमा मेरो राम्रो पहँुच पनि छ । सिङ्गो जिल्ला कमिटीले एकै स्वरमा अघि बढाएको र जनआधार पनि राम्रो भएको कारण पार्टीले विश्वास गरेको हो । त्यसमा पनि दुई पटक जनप्रतिनिधि भैसकेको र अहिले पनि महानगरमा दलिय संयन्त्रको प्रतिनिधि भएको हुनाले महानगरको काममा अभ्यस्त भएकाले पार्टीले मलाई विश्वास गरेर अगाडी बढाएको हो ।

 

तपाईंले उम्मेदवारको टिकट पाएपछि पार्टीभित्रका अरु आकांक्षीका प्रतिक्रिया कस्तो पाउनुभयो ?


मलाई सबैले शुभकामना दिइसकेका छन् । हिजो उम्मेद्वारी दर्ता गर्न जाँदा सबै नेताहरु सँगै हुनुहुन्थ्यो । आकांक्षी रहेका केन्द्रीय कमिटीका सदस्य जीवनराम श्रेष्ठ, अर्का आकांक्षी केन्द्रीय कमिटीका सदस्य सावित्रा भुषाल सँगै हुनुहुन्थ्यो । उहाँहरु दुवै जना मेरो नेता पनि हो । त्यसैगरी, उपमेयरका आकांक्षी सबै जना संगै थिए । त्यसैले बाहिर हल्ला फिँजाएजस्तो हामीमा केही द्विविधा वा अन्तरविरोध छैन । उहाँहरु आ–आफ्नो मोर्चामा खटिइसक्नु भएको छ । त्यसमा पनि पूर्व मेयर केशव स्थापितले विद्यासुन्दरलाई शुभकामना भनेर सोसल मिडियामा मार्फत भनिसक्नुभएको छ । विद्यासुन्दरलाई जिताउन मैले जे गर्नुपर्छ त्यो गर्छु भन्नुभएको छ । हामीबीचमा कुनै अन्यौल र भ्रम छैन । हामी सबै मिलेर अगाडी बढिसकेका छौं ।


०५४ सालको निर्वाचनमा काठमाडौंमा मेयर र उपमेयर सहित २५ वडामा एमालेले जितेको थियो, अहिलेको अवस्था के हुने आँकलन गर्नुभएको छ ?


एमालेको अहिले संगठन धेरै नै राम्रो भैसकेको छ । संविधानसभाको निर्वाचनमा हामीले हारिसकेपछि हामीले संगठनलाई अझै मजबुत बनायौं । पहिलेको संगठनलाई अझै व्यवस्थित गर्ने योजनाअनुसार अझै चुस्त दुरुस्त राखेका छौं । त्यसैले जीतको सबैभन्दा मुख्य आधार भनेको हाम्रो संगठन नै हो । हालको ३२ वटै वडामा हाम्रो संगठनहरु क्रियाशिल छन् र त्यो सँगसँगै हामीले जितलाई सुनिश्चित गर्नको लागि र राष्ट्रिय योजनाहरुलाई सहकार्यमा सँगसँगै लैजानको लागि राप्रपासँग समन्वय गरेका छौं । उहाँहरुलाई उममेयर र हामीलाई मेयर बनाउने गरी तालमेलको निर्णय भएको छ । यसले पनि जितलाई अझै सुनिश्चित बनाएको छ ।


एमालेको संगठन जति नै सुदृढ भएपनि कार्यकर्ताहरु जति नै खटे पनि निर्वाचनमा गुटले प्रभाव पार्नेगर्छ । केही समयअघि काठमाडौंको जिल्ला कमिटीको विवाद पनि बाहिर आएको थियो । यसपालिको चुनावमा गुटको प्रभाव पर्छ कि पर्दैन ?


त्यस्तो केही पनि प्रभाव पर्दैन । चुनावमा जाँदा, उम्मेद्वार हुँदा सबै आ–आफ्नो ठाँउबाट लाग्नु स्वभाविकै हो । मैले पाए राम्रो वा अर्को प्रतिस्पर्धी भन्दा राम्रो काम गर्न सक्छु भनेर दावी गर्नु, नेताहरु भेट्नु स्वभाविकै हो । अहिले उम्मेद्वार निर्णय गर्दा पनि स्थायी कमिटीका सम्पूर्ण नेताहरुले एकै स्वरले निर्णय गर्नुभएको छ । उहाँहरुले पार्टीका दुई शिर्षस्थ नेताहरु अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाललाई जिम्मा दिनुभएछ । उहाँहरुले तीनै जना प्रतिस्पर्धीलाई संगै राखेर निर्णय सुनाउनुभयो । त्यसैले पार्टीभित्र त्यस्तो गुट छैन ।


काठमाडौंको राप्रपासँग सहकार्य गरेर निर्वाचनमा जाने गर्ने निर्णय एमालेले गर्यो र उपमेयर उसलाई दियो । यो सहकार्यले त काठमाडौंमा एमाले कमजोर रहेछ भन्ने सन्देश गएन र ?


कमजोर भन्ने अर्थमा नलिनुहोस् । हामी बलियो नै छौं । यो राष्ट्रिय एजेण्डालाई लिएर गरिएको सहकार्य हो । यो स्थानिय तहमा गरिएको सहकार्य होइन् । पार्टीका अध्यक्षहरुले गरेको निर्णय हो । केही राष्ट्रिय एजेण्डाहरुमा हिजोदेखि र अहिले पनि नेकपा एमालेको एजेण्डामा राप्रपाले सहयोग गरिराखेको अवस्थामा उहाँहरु र हामीसँगै जाने हिसाबले सहकार्य भएको हो । स्थानीय रुपमा हामी कमजोर भएर होइन । हामी एक्लै निर्वाचनमा जाने हो भने पनि काठमाडौंमा सजिलै बहुमत प्राप्त गर्न सक्छौं ।


एमालेले महानगरमा राप्रपासँग तालमेल गरेर चुनावमा जाने निर्णय लिएपछि एमालेकै कार्यकर्ताले सामाजिक सञ्जालमा दुःखेसो पोखेका छन् । तालमेल गर्नुहुँदैनथ्यो भनेका छन नि ?


राष्ट्रिय एजेण्डालाई लिएर उहाँहरुसँग सहकार्य गर्नुपर्ने अवस्था थियो । स्थानीय रुपमा मात्रै होइन एमालेले लिएको राष्ट्रिय एजेण्डा बलियो बनाउनको लागि पनि उहाँहरुसँग तालमेल गरेको हो । यो कुरा हामी कार्यकर्ताहरुलाई राम्रोसँग बुझाउने छौं ।


एमालेले महानगरमा राप्रपासँग तालमेल गरेर चुनावमा जाने निर्णय लिएपछि एमालेकै कार्यकर्ताले सामाजिक सञ्जालमा दुःखेसो पोखेका छन् । तालमेल गर्नुहुँदैनथ्यो भनेका छन नि ?


राष्ट्रिय एजेण्डालाई लिएर उहाँहरुसँग सहकार्य गर्नुपर्ने अवस्था थियो । स्थानीय रुपमा मात्रै होइन एमालेले लिएको राष्ट्रिय एजेण्डा बलियो बनाउनको लागि पनि उहाँहरुसँग तालमेल गरेको हो । यो कुरा हामी कार्यकर्ताहरुलाई राम्रोसँग बुझाउने छौं ।

 


काठमाडौंको मेयर जित्नुभयो भने काठमाडौंलाई कस्तो बनाउने योजना बनाउनुभएको छ ?


काठमाडौं तुलनात्मक रुपले हेर्ने हो भने अहिले पनि शान्त छ, सुन्दर छ र सम्पदाको हिसाबले पनि राम्रो छ । तर, त्यसको प्रभावकारी व्यवस्थापन हुन नसकेको मात्रै हो । हामी भैरहेका कामहरुलाई व्यवस्थित ढंगले योजनाबद्ध रुपमा अगाडी बढाउन चाहन्छौं । महानगरेको कर्मचारी प्रशासन असक्षम होइन सक्षम छ तर उहाँहरुको राजनीतिक नेतृत्व नहुँदा, भन्ने र अह्राउने मान्छे नहुँदा वा अभिभावक नभएकोले मात्रै राम्रो काम गर्न नसकेको हो । उहाँहरुको क्षमता र योग्यतालाई सम्मान गर्दै हामीले पारदर्शी ढंगले र व्यवस्थित रुपले महानगरपालिकालाई इ–गर्भनेन्स प्रणालीमा लैजान्छौं । उहाँहरुको सहयोग लिँदै उहाँहरुको क्षमता र उपलब्ध स्रोतसाधनको पूर्ण प्रयोग गर्नेछौं । त्यो गर्न सकियो भने हामीले धेरै कुरा व्यवस्थित गर्न सक्छौं । जस्तो काठमाडौंको सवारीको अवस्था हेर्ने हो भने त्यो व्यवस्थापनको समस्या हो । हामी त्यो व्यवस्थापन गछौं ।


तपाईको पाँचवर्षै कार्यकालमा काठमाडौं महानगरपालिकालाई कस्तो बनाँउछु भन्ने परिकल्पना रहेको छ ?


काठमाडौंलाई हामी एउटा स्मार्ट सिटीको रुपमा विकास गर्छौं । हामी कुरा मात्रै गर्ने होइन काम गरेर देखाउँछौं । कतिपयले धेरै कुरा भन्छन् तर गर्ने बेलामा केही पनि गर्दैनन् र भ्रम मात्रै छर्ने काम गर्छन् । तर, हामी काठमाडौंलाई स्मार्ट सिटीको रुपमा विकास गर्छौं । अहिले भैरहेको संरचनालाई अझै व्यवस्थित गर्नेछौं । काठमाडौंलाई राम्रो शहर बनाउनको लागि युवाहरुलाई परिचालन गर्नेछौं । एक घर एक रोजगारीको व्यवस्था गर्नेछौं ताकि युवाहरु विदेश पलायन हुन नपरोस । त्यसैगरी, युवाहरुलको लागि युथ पार्क, बालबालिकाहरुलाई खेल्नको लागि बाल उद्यानहरु र वृद्धवद्धाहरुको सम्मान हुने किसिमको ‘ओल्ड एज होम’हरु बनाउने छौं । उहाँहरुलाई राज्यले अहिले पनि वृद्धाभत्ताको रुपमा मासिक दुई हजार रुपैंया दिएको छ र हामी महनगरको तर्फबाट ८० वर्ष नाघेका वृद्धहरुलाई एकमुष्ट रुपमा वार्षिक १२ हजार रुपैंयाँ महानगर भत्ता प्रदान गर्नेछौं । शिक्षा र स्वास्थलाई पनि हामी ख्याल गर्नेछौं । महानगरीय विश्वविद्यालय खोल्ने हाम्रो योजना छ । स्वास्थ उपचारको लागि महानगरिपालिकाले नै एउटा सुविधासम्पन्न अस्पताल खाल्ने छ जहाँ जेष्ठ नागरिक, बालबालिका, दलित, सिमान्तकृत, अपाङ्गहरुलाई निःशुल्क स्वास्थ परीक्षणको व्यवस्था गर्नेछौं ।


तपाईले देखेको काठमाडौं महानगर भित्रको अहिलेको प्रमुख समस्या के हो ?


अहिले यहाँको प्रमुख समस्या खानेपानी नै हो । खानेपानीको लागि मेलम्ची आयोजनाको काम भैरहेको छ त्यो आएपछि कम होला । त्यसबाहेक पनि यहाँ भएका पानीका अन्य स्रोतहरुलाई पनि पहिचान गरी त्यसको पानी ल्याउनेछौं । ड्रेन वाटरलाई पनि प्रयोग गर्न सकिने व्यवस्था मिलाउनको लागि महानगरले काम गर्नेछ । र, अर्को समस्या धुलो धुँवाको हो । त्यसलाई हटाएर केही समयभित्रै हामी काठमाडौंलाई धुलो धुँवा मुक्त शहर बनाउनेछौं । काठमाडौंको सार्वजनिक यातायातको समस्या हटाउन र ट्राफिक जामको समस्या हटाउनको लागि मोनो रेल सञ्चालन गर्नेछौं । मेट्रो रेलको लागि गुरु योजना बनाँउछौं । सडकहरुमा साइकल लेन बनाँउने छौं र साइकल प्रयोग गर्न प्रोत्साहन गर्नेछौं जसले प्रदुषण र ट्राफिक जाम दुवै घटाउने छ । पार्किङको समस्या कै कारण ट्राफिक जाम समेत बढाएको छ त्यसको लागि स्मार्ट पार्किङ सिस्टमको विकास गर्नेछौं ।


२१ वर्षकी युवादेखि पूर्व सचिवसम्म काठमाडौंको मेयरको उम्मेदवार भएका छन् । उनीहरुलाई तपाईको जितमा कत्तिको अफ्ठयारो पार्लान भन्ने ठान्नुभएको छ ?


चुनावी प्रतिस्पर्धामा त जो पनि आउन सक्छन् नि । तर, अहिलेको राजनीतिक परिस्थितिमा हाम्रो प्रतिस्पर्धा भनेको राजनीतिक दलहरुसँग नै हो । व्यक्तिगत रुपमा उहाँहरु योग्य हुनुहुन्छ होला तर उहाँहरुको सञ्जाल वा संगठन छैन् । हाम्रो ३२ वटै वडामा सञ्जाल छ । २५ वर्षदेखि दिन रात खटेर आएका छौं । स्थानीय जनतासँग भिजेर काम गरेरका छौं । जनतासँग हाम्रो सुख दुःखको सम्बन्ध छ । त्यसरी व्यक्तिगत रुपमा आएका उम्मेदवार हाम्रा प्रतिस्पर्धि होइनन् । स्थापित राजनीतिक दलहरुसँग नै हाम्रो प्रतिस्पर्धा हो ।


त्यसोभए तपाईको मुख्य प्रतिस्पर्धि को हो त ?


काठमाडौं महानगरपालिकामा हाम्रो मुख्य प्रतिस्पर्धा भनेको नेपाली काङ्ग्रेससँग हो ।


अन्त्यमा काठमाडौं महानगरपालिकाका मतदाताहरुलाई के भन्न चाहनुहुन्छ ?


राष्ट्र र राष्ट्रिय हितको लागि नेकपा एमालेले अगाडी ल्याएको एजेण्डालाई सम्बोधन गराउनको लागि, काठमाडौंलाई जिवन्त शहर बनाउनको लागि, सफा र समृद्ध शहर बनाउनको लागि स्थानीय निर्वाचनमा मेयरमा नेकपा एमालेका उम्मेद्वारलाई, उपमेयरमा राप्रपाका उम्मेद्वार र वडामा नेकपा एमालेका सुर्यध्वजाबाहक उम्मेद्वारलाई अत्याधिक मत दिएर विजयी गराउन अनुरोध गर्दछु । हाम्रो काठमाडौं हामीले नै बनाउनु छ । त्यसको नेतृत्व नेकपा एमालेले गर्छ । एमालेलाई मत दिनुहोला ।



Your Comment

Related Post

वृद्धवृद्धालाई पौष्टिक पदार्थको अभाव हुन नदिन च्याउखेती

  • 5 months ago
वृद्धवृद्धालाई पौष्टिक पदार्थको अभाव हुन नदिन च्याउखेती

कञ्चनपुर, ३ पुस । वृद्धवृद्धालाई पौस्टिक पदार्थ उपलब्ध गराउन भिमदत्तनगरपालिका– ५ मा रहेको महिला तथा वृद्ध सेवा केन्द्रमा च्याउखेतीे सुरु गरिएको छ ।

अनुमति दिन्छौ भने

  • 7 months ago

अनुमति दिन्छौ भने

अाेली चीन जादा दैनिक भत्ता एक करोड बढी खर्च हुने, डलरमा भत्ता पाउनेहरू यी हुन्

  • 1 year ago
अाेली चीन जादा दैनिक भत्ता एक करोड बढी खर्च हुने,  डलरमा भत्ता पाउनेहरू यी हुन्

काठमाडाैं । चैत ७ गतेदेखि हुन लागेको प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा सरकारी जम्बो टोलीका लागि एक करोड रुपैयाँभन्दा बढी दैनिक भ्रमण भत्ता टीएडीएमा खर्च हुने भएको छ ।


भिडियो


Loading...
hamropatro


नेपाल

राष्ट्रपतिको चियापानमा जे देखियो, हेर्नुहोस् ८ रोचक तस्वीरः

राष्ट्रपतिको चियापानमा जे देखियो, हेर्नुहोस् ८ रोचक तस्वीरः

काठमाडौँ, जेठ १४ । राष्ट्रपति विद्यादेवी भण्डारीले दशौं गणतन्त्र दिवसका अवसरमा चियापान समारोहको आयोजना गरेकी छिन् ।

जीवनशैली

यो हो विश्वकै सबैभन्दा महँगो कार

यो हो विश्वकै सबैभन्दा महँगो कार

एजेन्सी–उक्त बलिस्टिक मिसाइल ४५० किलोमिटर उडेको र पुर्वी समुन्द्रमा खसेको थियो जुन पेनिसुला र जापानको बीचमा रहेको छ ।

विचित्र विश्व

विचित्र विचित्रका विवाहः कसैले कोब्रा सर्पसँग त कसैले आइफल टावरसँग गरे विवाह

विचित्र विचित्रका विवाहः कसैले कोब्रा सर्पसँग त कसैले आइफल टावरसँग गरे विवाह

संसारमा धेरै नै अजिव किसिमका मानिसहरु देख्न पाइन्छ । यस्ता अजिव किसिमका मानिसहरुले कहिलेकाँहि यस्ता अजिव हर्कतहरु गर्छन् कि त्यस्ता हर्कतहरु थाहा पाएर हामी अाश्चर्यचकित हुन्छाै ।