‘मानक’ महावीर, वायरलेस टेक्नोलोजीदेखि राष्ट्रिय अाविष्कार केन्द्रको परिकल्पनासम्म

  • जनक तिमिल्सिना
  • बिहीबार, ९ भदौ, २०७३
  • 6 months ago
  • जीवनशैली
तस्वीरः www.scmp.com

काठमाडाैं-म्याग्दी जिल्लाको राम्चे गाविसको नागीमा वि.सं. २०११ सालमा जन्मिएका हुन्—महावीर पुन । रिटायर्ड गोर्खाको सन्तानका रुपमा सामान्य किसान परिवारमा जन्मिएका महावीरको बाल्यकालको सपना लाहुरे बन्ने थियो । त्यो उनको मात्र सपना थिएन्, उनी जन्मे हुर्केको ठाउँमा हुर्किने सबै बालकको साझा सपना थियो ।

त्यतिबेला नागीजस्ता गाउँहरुमा लाहुरेबाहेक जीवनका अरु पनि सपना हुन्छन् भन्ने त्यहाँ हुर्किरहेकालाई थाहै हुन्थेन । ६२ वर्षपछि महावीर बाल्यकालको सपनाबारे यही भन्छन्, ‘गाउँमा सपना देख्ने अवस्था नै हुन्नथ्यो । केटाहरुको सपना लाहुरे हुने भन्ने हुन्थ्यो । त्यसबाहेक अरु पनि सपना देख्न सकिन्छ भन्ने कहिल्यै थापा पाइएन । कसैले भनेन ।’

भनिन्छ, नियतिले आफै बाटो बनाउँछ । लाहुरे बन्ने एकल सपना बोक्ने गाउँमा जन्मिएका महावीर नत्र अहिले रिटायर्ड लाहुरे भएर गाउँमा बुढेसकाल बिताइरहेका हुन्थे वा त कुनै पल्टनमा परेड खेलिरहेका । तर, यी दुवै कुरा उनको जीवनमा लागु भएनन् । उनी त बाल्यकालमा नकल्पेकै संसारमा बाँचे । त्यसैले त उनी लाहुरे होइन्, वायरलेस किङ, म्यागासेसे विजेता, बरिष्ठ प्रविधि विशेषज्ञ, ग्रामीण सूचना प्रविधि जागरणका महाअभियन्ताजस्ता विशेषणका हकदार बने । उनको यो भन्दा पनि ठूलो परिचय छ—सामाजिक अभियन्ता ।

वायरलेस इन्टरनेट, टेलिमेडिसिन, इकमर्सजस्ता विषयहरु ग्रामीण नेपाली जीवनका हिस्सा बनाउन २५ वर्ष खर्चिएका यी जादूगरको नाम अब अर्को माइलस्टोन विशेषणका नजिक छ । उनी अहिले राष्ट्रिय आविष्कार केन्द्रजस्तो महत्वकांक्षी योजनाको परिकल्पनाकारका रुपमा वैज्ञानिक आविष्कारमार्फत समृद्धिको गोरेटो निर्माण गर्ने परिकल्पना गरिरहेका छन् । परिकल्पनामात्र होइन्, महावीर छलाङका मार्ने सपना बुनिरहेका छन्, मुलुकको समृद्धिमा छलाङ ।

समृद्धिमा छलाङ मार्ने योजना बुनिरहेका महावीर अहिले राष्ट्रिय आविष्कार केन्द्र निर्माणका लागि ‘होलटाइमर’ भएका छन् । आविष्कार केन्द्रबारे मिनेट—मिनेट पिच्छे ब्रिफिङ, दौडाहा, सार्वजनिक कार्यक्रममा सहभागिता, भाषण, इमेल रेस्पोन्स, फोन सम्पर्क उनका जीवनका हिस्सा बनिसकेका छन् ।

सटिकमा भन्दा उनी राष्ट्रिय आविष्कार केन्द्र बनाएर नेपालभित्रै नवीनतम उपलब्धि हासिल गर्न चाहन्छन् । भन्छन्, ‘मेरो सपना भनेकै मुलुकलाई समृद्ध पार्नु हो । त्यो आफ्नै देशमा नवीनतम आविष्कारहरु गर्न सकेमात्र सम्भव छ ।’ त्यही सपना पूरा गर्नका लागि महावीर सरकारको ढोकाबाट जनताको दैलोमा पुगेका छन् । लामो कसरतपछि पनि आविष्कार केन्द्र बनाउने उनको योजनामा सरकारले उदासिनता देखाएपछि हक्की महावीर जनताकै प्रयासबाट त्यो स्थापित गराउने प्रयासमा छन् ।

राष्ट्रिय आविष्कार केन्द्रका स्थापनाका लागि उनलाई झण्डै २० देखि २५ करोड रुपैयाँ आवश्यक पर्नेछ । ‘२०/२५ करोड रुपैयाँबाट पनि राम्रो सुरुवात गर्न सकिन्छ,’ उनले भने, ‘यसका लागि निश्चित आर्थिक स्रोत बनाउनुप¥यो । त्यो निश्चित आर्थिक स्रोतबाट यो अनुसन्धान केन्द्र सञ्चालन गर्ने हो ।’ उनले त्यो आर्थिक स्रोत निर्माणका लागि १० मेगावाटको हाइड्रो पावर बनाउने परिकल्पना गरेका हुन् ।

हाइड्रोबाट वार्षिक ४० करोडसम्म विजुली बेचेर आम्दानी गर्ने लक्ष्य उनकोे छ । उक्त रकमबाट २०/२५ करोड रुपैयाँ अनुसन्धानमा भरपूर खर्चने सोच महावीरले बनाएका छन् । ‘जति अनुसन्धानकर्ताहरुले नयाँ आइडिया ल्याउँछन्, उनीहरुलाई के कति पैसा चाहिन्छ आँखा चिम्लेर कन्जुसाईं नगरी दिने हो,’ महावीरले आफ्नो योजनाबारे भने, ‘अर्कोतिर उनीहरुलाई मोनिटरिङ गर्ने हो ।’ उनले आफूहरुले पालनपोषण गर्ने ती प्रतिभाहरुबाट भएका आविष्कारहरु देशको समृद्धिमा लगानी गर्ने बताए ।

महावीरको एउटै सपना छ, देशको समृद्धि । त्यसका लागि उनी आविष्कार केन्द्रबाट नवीनतम आविष्कार गर्ने योजनामा छन् । ‘मेरो ड्रिम्स भनेको देशलाई समृद्ध मुलुक बनाउने हो । यो सधैं अविकसित देश मात्र भयो । कोशिस ग¥यो भने ३०÷४० वर्षमा जुनसुकै देशलाई पनि विकसित बनाउन सकिन्छ ।’

 

आविष्कार केन्द्रको परिकल्पना

‘आखिर कसरी जन्मियो आविष्कार केन्द्रको परिकल्पना?,’ प्रसंग बदल्दैं मैले महावीरलाई प्रश्न सोधे । उनी केही समय गम्भीर बने । भर्खरै प्रज्ञा भवनबाट सम्मान थापेर निस्किएका उनको हातमा फुलको माला र घाटीमा खादा थियो । मालामा गुथिएका फूलका केही पत्रहरु खेलाउँदैं उनले अलि पर नजर दौडाए ।

महावीर सायद ग्रामीण इलाकामा आफूले बिताएका २५ वर्षतिर फर्किएका थिए । गाउँमा वायरलेस, टेलिमेडिसिनजस्ता प्रविधी भित्र्याउने आफ्ना प्रयासहरुको कामयावीको समीक्षा गर्दै पो थिए कि?

‘यी सबै काम गर्न थालेको २० वर्षपछि म विगततिर फर्किए,’ केहीबेरपछि उनी बोले, ‘मेरो कामले समाज र देशलाई कति इम्प्याक्ट ग¥यो भन्ने हेर्दाखेरि देशलाई इम्प्याक्ट गरेको केही पाइन ।’ उनलाई लाग्यो मैले २० वर्ष त स—साना खुद्रे कामहरुमै बिताएछु । ‘मेरो त्यो प्रयासले समाजमा केही मानिसको सामान्य जीवनस्तर उठाउन सघायो, सानो पकेट एरियाहरुमा । सय डेढ सय गाउँहरुमा केही काम त भयो तर त्यसले देश विकासमा कुनै टेवा पु¥याउन सकेन्,’ उनी आविष्कार केन्द्रको परिकल्पनाको गर्भमा पुगे ।
अाविष्कार केन्द्रको संरचना
महावीरले २० वर्षसम्म आफूले ठूलै काम गरिरहेको भ्रम पालेको बताउँदैं यसले २२० भोल्ट करेन्ट लागेको बताए । ‘यस्ता साना तिना खुद्रे काम गरेर देश विकास हुँदो रहेनछ । देश विकासका लागि त ठूलो छलाङ हान्ने काम नै गर्नुपर्दोरहेछ भन्ने कुराको ज्ञान मलाई ४ वर्ष अगाडि भयो,’ उनले भने, ‘२० वर्षपछि नयाँ काम गर्ने सोच आयो ।’

त्यसपछि महावीरले अरु विकसित देशको विकासका कारणहरु खोज्न थाले । यसरी खोज्दै जाँदा आविष्कार विकासको प्रमुख मेरुदण्ड हो भन्ने पत्ता लगाए । उनले प्रतिभाशाली ब्यक्तिहरु नेपालले प्रयोग गर्नै नसकेको निष्कर्ष निकाले । ‘हाम्रा सबै प्रतिभाशाली ब्यक्तिहरु बाध्य भएर विदेशमा जानुपर्ने नियति रहेछ,’ उनले आफ्नो निष्कर्ष सुनाए, ‘नेपालमा प्रतिभाशाली व्यक्तिहरुलाई प्रयोग गर्ने कुनै प्ल्याटफर्म नै रहेनछ ।’ देशको विज्ञान तथा प्रविधि विकासको दुर्गम अवस्थितीलाई दयनीय अवस्थालाई पनि उनले हेरे । देशमा आयात÷निर्यातबीच रहेको विरोधाभाष, उधोगधन्दा अवस्था यी सबै कुराले उनलाई केही नयाँ गर्न झकझकायो ।

‘काम गर्दै जाँदा २० वर्षपछि त्यो ज्ञान मलाई प्राप्त भयो,’ उनले भने, ‘यो ज्ञान प्राप्त भएपछि मलाई छलाङ मार्नुपर्छ भन्ने लाग्यो ।’ महावीरलाई लाग्न थाल्यो छलाङ कसरी मार्न सकिन्छ? उनले सोचे त्यसका लागि विज्ञान, प्रविधीको विकास हुन जरुरी छ । ‘त्यसका लागि प्रतिभाशालीहरुलाई देशमै हुर्काएर उचित अवसर दिन लगानी गर्नुपर्छ,’ उनले भने, ‘तर, खै त्यसका लागि प्लेटफर्म ?’

त्यही प्लेटफर्ममा अडकिएको प्रश्नले जन्मायो राष्ट्रिय आविष्कार केन्द्रको परिकल्पना । यो परिकल्पना तयार पार्न कति समय लाग्यो ? भन्छन्, ‘कति पनि समय लागेन २÷४ दिनमै तयार भयो ।’ आविष्कार केन्द्र स्थापनामा सरकारी सहयोगका लागि उनी सुशील कोइरालादेखि केपी शर्मा ओलीसम्म, डा. रामशरण महतदेखि विष्णु पौडेलसम्म धाए । तर, अनेकथरि बाधाका कारण सरकारसँग सहयोग माग्दा माग्दैं उनले सरकारबाट नहुने निष्कर्ष निकाले । त्यसैले महावीर अहिले जनताको बलमा आविष्कार केन्द्र बनाउन लागि परेका छन् ।

महादानी महावीर


भ्रष्टाचार, नीजि स्वार्थजस्ता नकारात्मक छविको धेरै चर्चा/परिचर्चा हुने नेपाली समाजमा लागि महावीर ‘मानक’ नै हुन् । उनी समाजमा सकारात्मक चर्चाका कारक बनेका छन् । जो आफ्नो नीजि जीवनका लागि कम सोच्छन्, बढी मुलुकका लागि । असल ब्यक्तिका लागि लिइने विशेषण ‘मानक’ उनका कयौं सकारात्मक कर्म र प्रयासहरुलाई प्रतिबिम्बित गर्छ ।

एकल प्रयासमा ग्रामीण हिमाली इलाकामा इन्टरनेट, टेलिमेडिसिन, शिक्षाजस्ता विषय पु¥याउन अहोरात्र खटिएका महावीर पछिल्लो पटक दिनरात आविष्कार केन्द्रका कामहरुमा खटिरहेका छन् । उनले ठमेलमा रेष्टुरेण्ट चलाएर गाउँमा कलेज खोल्ने तयारी गरिरहेका छन् ।

यतिमात्र होइन्, धन कमाउने चर्को होड चलिरहेको हाम्रो समाजलाई उनले अर्को सन्देश पनि दिए—२१ वर्षअघि पोखरामा बेगनास ताल छेउमा किनेको २८ रोपनी आफ्नो नीजि जग्गा नै राष्ट्रिय आविष्कार केन्द्रलाई दान गरेर । महावीर महादानीको छविमा पनि देखिए ।

‘सरकारको ढोका छाडेर जनताको ढोकामा आविष्कार केन्द्र गइसकेको अवस्थामा र मैले नेपालको विकास लागि मेरो बचेको जिन्दगीको सम्पूर्ण समय दान गर्छु भनिरहेको अवस्थामा सो २८ रोपनी जग्गा पनि राष्ट्रिय आविष्कार केन्द्रलाई दान गर्ने घोषणा गर्दछु,’ झण्डै २ करोड मुल्य पर्ने जग्गा दान गर्ने घोषणा गर्दै महावीरले आफ्नो फेसबुकमा लेखेका छन् ।

हामीसँगको कुराकानीका क्रममा पनि महावीरले उक्त जग्गा सामाजिक काममै लागि खरिद गरेको बताए । ‘त्यो ठूलो कुरा होइन । दान गरेर ठूलो मान्छे भए भनेको होइन्,’ उनले भने । महावीरले सामाजिक काम गरौला भनेर २१ वर्षअघि आफूले उक्त जग्गा किनेको बताए । ‘आविष्कार केन्द्रको बारेमा कुनै आइडिया नै थिएन, त्यतिबेला कुनै सामाजिक काम गरौला भनेर किनेको जग्गा हो,’ उनले भने, ‘घर बनाउने, घरेडी बेच्ने भनेर किनेको जग्गा नै होइन ।’


‘होलटाइमर’को खुशी


दुई छोरी र पत्नीलाई पोखरामा छाडेर निरन्तर सामाजिक कार्यमा दौड्ने महावीरलाई ‘सामाजिक होलटाइमर’ भन्दा फरक पर्दैन । उनलाई नीजि जीवनप्रति न उति साह्रो लगाव छ न त चिन्ता नै ।

अहिले महावीर दिनरात आविष्कार केन्द्रकै काममा सक्रिय छन् । उनी सहयोग थाप्न कार्यक्रमहरुमा हिड्छन् । इमेल लेख्छन्, फोनमा आविष्कार केन्द्रबारे जानकारी दिन्छन् । विभिन्न ठाउँमा आविष्कार केन्द्रबारे जानकारी दिन हिडिरहेका छन् । ‘फुलटाइममात्रैं होइन २४ घण्टा नै आविष्कार केन्द्र्रकै कामका लागि हिडिरहेको छु,’ उनले सुनाए, ‘यसबाहेक मेरो अरु कुनै काम छैन ।’
तस्वीरः www.scmp.com
सन् २००७ मा एसियाकै नोबेल पुरस्कार मानिने प्रतिष्ठित म्यागासेसे पुरस्कार विजेताका लागि सर्वाधिक खुशी क्षण कुन होला ? ‘आविष्कार केन्द्रलाई लिएर जनताको ढोकामा उभिएपछि सर्वाधिक खुशी छु, जिन्दगीमा अहिले एकदम रमाइलो भइरहेको छ,’ उनले सुनाए, ‘जिन्दगीमा यति राम्रो कहिल्यै भएको थिएन २५ वर्षमा ।’

के उनी म्यागसेसे पाउँदा पनि यति खुशी भएनन्? ‘होइन त्यो पुरस्कारले मलाई कहिल्यै खुशी बनाउँदैन्,’ उनले ठाडै अस्वीकार गरिदिए, ‘पुरस्कार भन्ने केही चिज होइन । मलाई पुरस्कार, मानसम्मान केही चाहिदैंन् । ‘के—के पुरस्कार पाउनुभयो ?,’ मैले बीचैमा अर्को प्रश्न तेस्र्याए । ‘त्यो जाबो पुरस्कारको म नामै लिन चाहन्न,’ उनले भने ‘त्यो पुरस्कारले केही गर्ने होइन । पुरस्कारको लागि काम गरेको पनि होइन । म पुरस्कारका लागि मरिमेट्ने मान्छे होइन ।’

आविष्कार केन्द्रसँग मुलुकको समृद्धि जोडिएकाले अहिले सबैतिरबाट सकारात्मक प्रतिक्रिया पाइरहेको अनुभव उनले सुनाए । ‘राष्ट्रिय आविष्कार केन्द्रको घोषणा गरेर जनताको ढोका आएको दुई घण्टा नबित्दैं मान्छेहरु देश÷विदेशबाट इमेल गर्ने, फोन गर्ने, पैसा जम्मा गर्ने गरिरहेका छन्,’ उनले भने, ‘नेपालभरिबाट मात्र होइन, विदेशका कुना—कुनामा रहेका नेपालीहरु सहयोग गरिरहेका छन् ।’

केही मिनेट पहिलेमात्र सहयोग र सम्मान अन्तर्वार्ता दिन निस्किएका महावीरले गलामा बेरिएको खादा देखाउँदैं भने, ‘हेर्नोस त ठाउँ—ठाउँमा सम्मान पनि गर्ने पैसा पनि दिने यो कस्तो गज्जबको काम रहेछ ।’ आविष्कार केन्द्रको अभियान चलाएको एक महिना पनि नहुँदैं महावीर प्रफुल्ल बनेका छन् । ‘अभियानको चलाएको एक महिना पनि भएको छैन, तर एकदमै आनन्ददायक र खुशी मेरो जीवनमा छाएको छ,’ उनको अनुहार खुशीले चम्कियो, ‘अजम्बरी कोही छैन् । मानव समाज भलाईमा समर्पित हुन सक्नु नै सार्थक जीवन रहेछ ।’

भेडी गोठदेखि वायरलेस टेक्नोलोजीसम्म

 
महावीरले अनौपचारिक शिक्षाबाट आफ्नो अध्ययन सुरु गरेका हुन् । नागीजस्ता हिमाली इलाकामा स्कुलहरु थिएनन् । बालबालिकाहरु फुलटाइम पढाइमा समय दिन सक्दैन्थे । भेडा, बाख्रा, गाई चराउने खेतबारीमा काम गर्दै महावीरले अनौपचारिक शिक्षा लिए । ‘स्कुलहरु भर्खर—भर्खर खुल्न लागिरहेका थिए, किताबहरु, शिक्षकहरु पनि थिएनन्,’ उनले सुनाए, ‘शिक्षकहरु भनेका लाहुरमा गएर पेन्सन पकाएर आएका बुढाहरु थिए ।’ यसबाहेक उनका बाल्यकालका शिक्षकहरु भनेका लाहुरबाट छुट्टीमा आएका पढ्न लेख्न जान्ने लाहुरेहरु पनि थिए । किताब कापीबिनै ती लाहुरेहरुले आफूले जानेको अंग्रेजी, गणित पढाउँथे । महावीरका गुरु पनि तिनै रिटायर्ड र विदामा आउने लाहुरेहरु थिए ।

उनका बुवा कृष्ण पुन पनि रिटायर्ड गोर्खा हुन् । त्यसैले रिटायर्ड जीवनमा उनका वुवा आमा पूर्वी पुनसँगै कृषि पेशामा संलग्न थिए । कक्षा ७ सम्मको पढाइ उनले अनौपचारिक रुपमै हासिल गरे । ‘पछि गएर यसलाई फर्मल बनाइयो,’ उनले भने । हिमाञ्चल मिडिल स्कुलबाट महावीरले ७ कक्षासम्मको पढाइ सके । त्यसपछि उनी चितवन झरे । चितवनको खैरेनी हाइस्कुलबाट सेकेण्ड डिभिजनमा एसएलसी उतीर्ण गरे ।

एसएलसी पास भएपछि महावीर उच्च शिक्षाका लागि काठमाडौं आए । अमृत साइन्स कलेजमा विज्ञान पढ्न थाले । २०३० सालमा उनले सेकेण्ड डिभिजनमै आइएस्सी उतीर्ण गरे । ‘त्यसमाथिको उच्च शिक्षा पढ्न नसक्ने अवस्था भएपछि म चितवन झरेर माष्टरी गर्न थाले,’ उनले सुनाए । चितवनमा ४ वटा स्कुलमा झण्डै १२ वर्ष माष्टरी पेशामा बिताए उनले ।

भनिन्छ, जीवनमा झेल्नुपरेका कतिपय खराब कुराहरु पनि अवसर बनिदिन सक्छन् । वि.सं. २०४३ सालमा महावीरको शिक्षक जीवनमा पनि त्यस्तै संयोग आइप¥यो । पञ्चातकालको त्यो समयमा चितवनका सिडिओसँग उनको विवाद भयो । सिडिओसँगको विवादका कारण उनी ७ दिन प्रहरी हिरासतमा समेत बसे । ‘विवादको कारण के थियो ?,’ मैले सोधे । ‘त्यतिकै सिडिओ बौलायो,’ उनले सहज जवाफ फर्काए, ‘सबैले बौलाहा सिडिओ भन्थे । तर, यही घटना मेरो जीवनकै टर्निङ प्वाइन बन्यो ।’

यही घटनाले महावीरले १५ वर्ष लामो माष्टरी पेशालाई फुलस्पट लगाए । उनी उच्च शिक्षा अध्ययनका लागि विदेशमा अवसरहरुको खोजीमा जुटे । यतिकैमा उनलाई अमेरिकाको नेब्रास्का युनिभर्सिटीले त्यो अवसर दियो । आखिर कसरी जुट्यो त्यो अवसर ? भन्छन्, ‘जबरजस्ती अमेरिका जाने अवसर जुटाए,’ हातमा रहेको फुलको माला उनले १९० डिग्री घुमाए, ‘त्यतिबेला अमेरिका जान पनि सहज थिएन । वाइचान्स मलाई अमेरिका जाने मौका मिल्यो ।’

सन् १९८९ मा उनी युनिभर्सिटी नेब्रास्काको पूर्ण छात्रवृतिमा पढ्नका लागि अमेरिका हानिए । महावीर शिक्षक थिए, त्यसैले उनी अमेरिकाको एजुकेशन सिष्टम हेर्न र कम्प्युटर पढ्न चाहन्थे । पूर्ण छात्रवृति पाएकाले महावीरका लागि अमेरिका सुरुवाती दिनहरु उति कठिन रहेनन् । ‘अमेरिका बसाइँ सुरुवाती दिनहरुदेखि नै रमाइलो रह्यो,’ उनले सुनाए, ‘टन्नै छात्रवृति पाएकाले काम गर्नु परेन । मज्जाले जहाँ—जहाँ जे जे पढेपनि हुने । एकदमै आनन्दसँग पढियो ।

सन् १९९६ मा उनले नेब्रास्का युनिभर्सिटीबाट साइन्स एजुकेशनमा ग्राजुयशन गरे । त्यसअघि १९९२ मा नेपाल आउँदा उनले स्कुलमा बनाउने, स्वास्थ्य सेवा, आय आर्जन, पर्यटन, इन्टरनेट र कम्प्युटर तालिमजस्ता कामहरुमा केही कामहरु अगाडि बढाएका थिए । सन् २००१ मा उनले नेब्रास्काबाटै एजुकेशन एडमिनेष्ट्रेटीभमा मास्टर्स गरे । विभिन्न समय गरी झण्डै ७ वर्ष अमेरिकामा बिताएपछि उनी पूर्ण रुपमा ग्रामीण क्षेत्रमा शिक्षा, कम्प्युटर र इन्टरनेट प्रविधि भित्र्याउन लागि परे ।

नेपाल फर्केपछि महावीरले हिमाञ्चल निमाविलाई गाउँलेहरुको मावि बनाउने प्रयासमा सघाए । उनले आफू पढेको त्यही विद्यालयमा पढाए पनि । उनको कम्प्युटर शिक्षा दिने अभियानमा नेब्रास्का युनिभर्सिटीले पनि विभिन्न कार्यक्रमहरु चलाएर सहयोग गरिदियो ।

महावीरले नागीको हिमाञ्चल माविलाई संसारसँग जोड्न चाहे । यसमा उनलाई अष्ट्रेलियाको विलानुक कलेजका विद्यार्थीहरुले दुई थान कम्प्युटर सहयोग गरे । द्वन्द्व चलिरहेकाले गाउँमा फोन थिएन । फोन नभएकाले हिमाञ्चल र विलानुकका विधार्थीबीच कुरा गराउने उनको सपना त्यतिबेला पूरा भएन ।

हिमाली संसारमा इन्टरनेट जोड्ने सपना देखेका महावीर यतिकैमा थाक्ने वाला थिएनन् । उनले सन् २००१ मा बीबीसीलाई सस्तो इन्टरनेटबारे सोधेर इमेल गरे । उनको इमेल बीबीसीले हिमाञ्चल माविमा कम्प्युटर चलाइरहेका विद्यार्थीको फोटोसहित आफ्नो अनलाइनमा ‘भिलेज इन द क्लाउड्स इम्ब्रेस कम्प्युट्र्स’ अर्थात ‘ बादलभित्रको गाउँ कम्प्युटरलाई अँगालो मार्दै’ शीर्षकमा छापिदियो । यसले उनको सपना साकार पार्नका लागि संसारभरबाट सहयोगी हातहरु अगाडि बढे । जापान, सिंगापुर, मलेसिया, अष्ट्रेलिया, अमेरिका, युरोपजस्ता ठाउँहरुबाट उनको कम्प्युटर शिक्षा, इन्टरनेट र आर्थिक उपार्जनका क्षेत्रमा सहयोग जुट्यो ।

महावीर वायरलेस इन्टरनेटको सपना मात्र देखेनन्, त्यसलाई गाउँ—गाउँसम्म पु¥याए । ‘नेपालका ग्रामीण क्षेत्रहरुमा वायरलेस कम्प्युटर टेक्नोलोजी आविष्कार’ गरेर योगदान पु¥याए वापत उनलाई सन् २००७ मा एसियाको नोबेल पुरस्कार मानिने म्यागासेसे पुरस्कार दिइयो । यो पुरस्कारपछि महावीरको चर्चा झन सर्वत्र फैलियो । ‘त्यो बेला मैले २२÷२३ वटा गाउँमा वायरलेस इन्टरनेट पु¥याइसकेको थिए,’ उनले भने । त्यसपछि पनि उनको यो अभियान जारी रह्यो ।

महावीरले अहिले १५ जिल्लाका २ सय वटा गाउँमा वायरलेस इन्टरनेट पु¥याइसकेका छन् । ‘यो विस्तार हुने क्रम निरन्तर अगाडि बढिरहेको छ,’ उनले भने । संस्थागत रुपमा काम गर्ने कुरामा ज्यादैं कम विश्वास गर्ने महावीरले केही कामहरु औपचारिक रुपमा गर्नुपर्ने बाध्यकारी नियमहरुका कारण ‘नेपाल वायरलेस’ संस्था खडा गरेका छन् । भन्छन्, ‘म संस्थागत रुपमा जाने भन्ने कुरामा एकदमै कम विश्वास गर्छु । तर, केही कामहरु फर्मल्ली गर्नुपर्ने भएकाले नेपाल वायरलेस भन्ने एउटा संस्था खडा गरेको छु, औपचारिक गर्नुपर्ने कामहरु त्यो संस्थाबाट हुन्छ ।’

सन् २००७ पछि नेब्रास्का युनिभर्सिटीले उनलाई मानार्थ विद्यावारिधीको उपाधिबाट समेत सम्मान गरिसकेको छ । महावीरका कामहरुले नेब्रास्का युनिभर्सिटी मात्रै गौरवान्वित भएन्, नेब्रास्का सहरकै मान्छेहरु गर्वित भए । त्यसैले त नेब्रास्कामा महावीरलाई नचिन्ने कोही छैन् । ‘त्यो युनिभर्सिटी त मेरो घरजस्तै भएको छ,’ उनले भने, ‘त्यो युनिभर्सिटी र सहरमा मलाई नचिन्ने कोही छैन् । बरु, नेपालमा उति नचिन्न सक्छन् ।’ यसबाहेक महावीरले आफ्नो योगदान, आविष्कार र समाजसेवाका लागि अन्य विभिन्न पुरस्कार तथा सम्मानहरु पनि पाइसकेका छन् ।

विदेशका नेपालीलाई सन्देश 

राष्ट्रिय आविष्कार केन्द्र स्थापनाको महत्वपूर्ण उद्देश्य लिएर हिडिरहेका महावीरले विदेशमा रहेका नेपालीहरुलाई पनि राष्ट्र निर्माणको यो अभियानमा साझेदारी गर्न आग्रह गरे । उनले आविष्कार केन्द्रबारे मिडियाहरुमा निकै चर्चा भइसकेको बताउँदैं सबै नेपालीको सहयोग आवश्यक रहेको बताए ।

‘विदेशमा बस्ने जति पनि नेपाली दाजुभाई दिदिबहिनी हुनुहुन्छ उहाँले यो राष्ट्रिय आविष्कार केन्द्रको अभियान बारेमा विभिन्न मिडियामा हेर्नोस्,’ उनले भने, ‘युट्युब, मिडिया, पत्रपत्रिका र अनलाइनहरुमा प्रशस्त चर्चा भएको उल्लेख गर्दै उनले यतिले मात्र पूूरा जानकारी हासिल गर्न नसके ‘एनआइसीनेपालडटओआरजी’ भन्ने वेवसाइटबाट सबै जानकारी पाउन सकिन्छ ।’

उनले त्यसबाहेक अन्य विषयमा जानकारी लिन चाहेका वेवसाइटमा रहेको आफ्नो फोन र इमेलमा सम्पर्क गर्न समेत अनुरोध गरे । ‘केही बुझिएन भने त्यहाँ रहेको मेरो फोनमा फोन गर्नुस् वा इमेल गर्नुस्,’ उनले भने, ‘म बुझाउने प्रयास गर्नेछ ।’

महावीरले गरेको काम देशका लागि आवश्यक छ र राम्रो हो भन्ने लागेमा सहयोग गर्न आग्रह गरे । पैसाले मात्र मद्धत हुन नसक्ने बताउँदैं उनले आइडिया दिएर मद्धत गर्नु सबैभन्दा ठूलो सहयोग भएको बताए । ‘सक्नुहुन्छ आर्थिक सहयोग गर्नुहोस्,’ उनले थपे, ‘सकिएन भने यो कुरालाई आफ्नो छरछिमेक, इष्टमित्र, दाजुभाई सबैलाई यो कुरा प्रचार—प्रसार गर्नुहोस । यो अभियानमा भाग लिनुहोस ।’

 
(तस्वीरहरू महावीरको फेसबुक तथा इन्टरनेटबाट लिइएको हो ।)


    Loading...

    Your Comment


    भिडियो


    Related Post

    मानक नेपाली भाषा अभियानको अन्तर्राष्ट्रिय सञ्जालमा अनेसास बेलायतको ऐक्यबद्धता

    • 3 days ago
    मानक नेपाली भाषा अभियानको अन्तर्राष्ट्रिय सञ्जालमा अनेसास बेलायतको ऐक्यबद्धता

    लण्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायतले प्रा.डा.खगेन्द्रप्रसाद लुइटेलको अध्यक्षतामा गठित ६३ सदस्यीय मानक नेपाली भाषा अभियान अन्तर्रा्ष्ट्रिय सञ्जाल समितिमा ऐक्यबद्धता जनाएको छ ।

    राष्ट्रिय आविष्कार केन्द्र बनाउन महावीर जुटे घरदैलो अभियानमा

    • 6 months ago
    राष्ट्रिय आविष्कार केन्द्र बनाउन महावीर जुटे घरदैलो अभियानमा

    पर्वत । राष्ट्रिय आविष्कार केन्द्र बनाउनका लागि घरदैलो अभियान सुरु भएको छ । पटक पटक सरकारसँग आग्रह गर्दा पनि आविष्कार केन्द्रका लागि आवश्यक सहयोग नपाएपछि म्यागासेसे पुरस्कार विजेता महावीर पुनले घ

    महावीरको अभियानमा साथ बढ्दै, ५ कक्षाका विद्यार्थीले दिए पाँच हजार

    • 6 months ago
    महावीरको अभियानमा साथ बढ्दै, ५ कक्षाका विद्यार्थीले दिए पाँच हजार

    काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रको स्थापनामा जुटिरहेका सूचना–प्रविधि अभियानकर्मी महावीर पुनलाई काठमाडौंका कक्षा ५ मा पढ्ने निशान घिमिरेले पाँच हजार सहयोग गरे

    hamropatro

    नेपाल

    मधेसी मोर्चाले ४८ घण्टाभित्र सरकारलाई दिएको समर्थन फिर्ता लिने

    मधेसी मोर्चाले ४८ घण्टाभित्र सरकारलाई दिएको समर्थन फिर्ता लिने

    काठमाडौं, फागुन १४ । आन्दोलनरत संघीय गठबन्धनले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको २४ घण्टा नबित्दै मधेसी मोर्चाले पनि सरकारलाई दिएको समर्थन फर्ता लिने बताएको छ ।

     

    शनिबार काठमाडौंमा आयोजित अन्तक्र्रियामा उनले भने,‘हामी २४ देखि ४८ घण्टाभित्रै सरकारलाई दिएको समर्थन कुनैपनि क्षण तोड्न सक्छौं, सरकारसँगको सम्बन्ध विच्छेद गर्छौं ।’ यद्धपी उनले अहिले नै समर्थन फिर्ता लिएपनि ओली र देउवा मध्य एक जना नेतृत्वमा आउने भएकोले ती सबै टेष्टेड अनुहार भएको जिकिर गरे ।

    जीवनशैली

    पेट फुल्ने समस्याले हैरान हुनुहुन्छ भने अपनाउनुहोस यी १० घरेलु उपाय

    पेट फुल्ने समस्याले हैरान हुनुहुन्छ भने अपनाउनुहोस यी १० घरेलु उपाय

    खानपानको गलत बानीको कारणले पेटमा ग्याँस जम्मा हुनु वा पानि जम्मा भएर पेट फुल्ने गर्छ । आजकाल धेरै मानिसहरुमा बारम्बार पेट फुल्ने समस्या देखिन्छ । यो सामान्य जस्तो लाग्ने समस्याको कारणले धेरै मानिसहरु हैरान भएका हुन्छन ।