सगरमाथाको गहिराइः ल्वाङ खाएर स्वाङ भन्दा बढी भ्वाङ

नवराजका उँधो न उँभोका कविता

खालिद हुसेनी आफ्नो एक औपन्यासिक मास्टरपिस कृति ’द काइट रनर’को सुरुवाततिर उपन्यासभित्रको प्रथम पुरुष न्यारेटरमार्फत भन्दछन् ’... यो कालो ख्याकको आख्यान एकजना मानिसको बारेमा थियो जसले अ म्याजिक कप भेटायो र पत्तो पायो कि ऊ कपको सामुन्ने रोयो भने उसका आँसुदाना मोतीदानामा रूपान्तरित हुने थियो ।

 

हुन त ऊ सदा गरिब थियो, तर पनि ऊ एउटा सन्तुष्ट मानिस थियो र सायदै कहिल्यै उसले आँसु खसाएको थियो । त्यसैले उसले आफूलाई दुःखी तुल्याउने उपायशील बाटाहरू खोज्यो ता कि आफ्ना आँसुले ऊ सम्पन्न बनोस् । जब मोती थुप्रियो, उसको लोभ बढ्यो । यो कथाको अन्त्य, त्यो मानिस मोतीको पहाडमाथि बसिरहेको, हातमा रगताम्मे छुरा, आफ्नी प्रिय पत्नीको देह आफ्ना दुबै पाखुरामा अठ्याउँदै असहाय किसिमले कपको अगाडि रोइरहेको अवस्थामा हुन्छ ।’

 

‘सगरमाथाको गहिराइ’ नामक आफ्नो छत्तीस थान कविता संकलित पुस्तकाकार कृतिको शीर्ष कवितामा नवराज पराजुली लेख्दछन् :
‘बिजुली उत्पादनमा संसारको सबैभन्दा बढी क्षमता राख्ने
मेरो देशले
मेरो बिदाइमा आएकी
मेरी श्रीमतीको आँखाबाट खसेको आँसुको ऊर्जाले
नौलाख बत्ती बाल्न पुग्ने बिजुली निकाल्यो’ रे !

 

खालिद हुसेनीको न्यारेटरको त्यो कथाप्रति उक्त उपन्यासभित्रकै एक अनपढ, ‘गँवार’ चरित्र ‘हसन’को प्रतिक्रिया यस्तो छ : ‘यदि म सोध्न सक्छु भने, त्यो गरिब मानिसले आफ्नी पत्नीलाई किन बिनसित्ती मार्यो ? वास्तवमा, आँसु खसाउनका खातिर दुःखी महसुस नै गर्नुपर्छ भन्ने बकबास कुरा उसले किन सोच्यो ? बरू आफ्नो अगाडि प्याज काट्न सक्दैनथ्यो र ?’

 

यस्तै प्रकारको प्रश्न नवराजको शीर्ष कवितामाथि एउटा ‘आम आदमी’, कविताका अनुसार परदेशी नागरिकले समेत तेर्साउन सक्छ । श्रीमतीको आँखाबाट खसेको आँसुको ऊर्जाले नौलाख बत्ती बाल्न पुग्ने बिजुली निकाल्न सकिन्छ भने परदेश नै किन जानुपर्ने ? घरदेशमै बसेर कुटपिटबाट ‘स्वास्नी’ रूवाए भइहाल्यो नि । अथवा, स्वास्नीलाई धमाधम प्याज काट्न लगाए भइहाल्यो ।

 

कवितामा कल्पना गर्न पाइन्छ भन्दैमा यस्ता नौटङ्की कल्पनाले कविताको स्तर गिराउँछ कि माथि र्पुयाउँछ ? यथार्थका खातिर यथार्थमा नै टेकेर गरिएको कल्पना पो कल्पना ! यो पृथ्वीभरिकै फोहोर पखाल्न पुग्ने पानी चाहिए यो देशका नदीसँग सापटी माग्नुपर्ने कथन कविको छ । त्यसोभए बाग्मतीसँग माग्नु ? पानी जम्मैजसो भारतले हडप गरेको त्यो महाकालीसँग माग्नु ? विश्व नै पोत्न पुग्ने रङ चाहिए गुराँस नै सापटी माग्नुपर्ने भन्ने के छ ? एउटा कोरा राष्ट्रियता ! शीर्ष कविता नै ‘टीनेजको आउट अभ सिजन लभ’जस्तो छ । टीनेजर हुँदा नयाँ वर्षको शुभकामना कार्डखो पछाडिपट्टि लेख्ने सायरी ‘जीवन मेरो बेकार रहेछ, लक्ष्यमा पुग्न सकिनँस माया भन्नु खेल रहेछ, तिमीलाई भुल्न सकिनँ’ जस्तो छ ।’ कविताको शीर्षक ‘सगरमाथाको गहिराइ’ भए पनि कविताको गहिराइ, कवितामा खँदिलोपन न्युनतम छ । कविताको खँदिलोपन, गहिराइ भिन्नताभित्रको एकत्वमा निहीत हुन्छ, न कि पुनरावृत्तिमा ।

 

 

कविताले नाटक देखायो भने के–कस्तो हुन्छ ? नाटकीय कविता त पक्कै हुन्छ । तर कविताले चटक गर्न थाल्यो भने ! कविताको फूल एण्ड फाइनल मूल्यांकन टेक्स्टबाट हुन्छ, न कि ‘कवितात्मक क्याटवाक’बाट ।

कवितात्मक क्याटवाक अथवा भनौं कवितात्मक मोडलिङ सुन्दर कवितामा भिकारियस एक्सपेरियन्स हो, सेकेन्ड ह्यान्ड जवानी हो । कविता आफैंमा प्रस्तुति हो । कविता आफैंमा सुन्दरता हो । कहिलेकाहीँ अझ बढी सुन्दर बन्न खोज्दा कस्मेटिक बनिन्छ ।

 

नवराजका कविताहरू टेक्स्टुअल कविताहरू हैनन्, बरू हुन् मोडलिङ कविताहरू । कविले गर्ने कविताको वाचन केवल प्लस प्वाइन्ट हुनसक्छ, कविताको जीवन्त पक्ष टेक्स्टबाट मात्रै आत्मसात गर्न सकिन्छ । तुलसी दिवसको कविता ‘बाघचाल’ पढ्दा सशक्त लाग्छ, तर उनको वाचन सशक्त नभएको हो र ? वैरागी काइँलाको कविता ‘मातेको मान्छेको भाषणः मध्यरातपछिको सडकसित’को टेक्स्टुअल पावरनेसमा सायदै कोही पुग्न सक्लान् अचेलका कविहरू । तर, उक्त कविता सुन्दा मज्जा आएन भने झुर भनिदिने ? कविता साहित्यको त्यो विधा हो, जसले एकपछि अर्को पठनको माग गर्दछ । होरासका अनुसार ‘रुखमा पातहरू पलाउनुजस्तै’ । जति धेरै भेट त्यति नै गहिरो पहिलो प्रेम । र त्यसबाट खुल्छन् नयाँ, नौला र नवीन अर्थहरू । नदी गतिशील हुन्छ, तर उँधो बग्छ । सगरमाथा चढ्न उँभो लाग्नुपर्छ । उँधो न उँभोका नवराजका कविताहरू कमसेकम तालझैँ जमेका त छन् तर ती राराझैँ सुन्दर छैनन्, तिलिचोझैँ सुन्दर छैनन् ।

 

यस प्लस यश हिसाबले भन्नुपर्दा उनका बाइचान्स कविताहरू हुन् । उनका कविताले भीड खोज्छ, वाहवाही खोज्छ, र तयार पार्छ एउटा पपुलिस्ट जमात । उनको कविताको ध्येय कविताको चर्चा, लोकप्रियता चाहिँ हैन, बरू स्वयं उनी अर्थात् कविको चर्चा, लोकप्रियता हो । हरिभक्त कटुवालको ‘आकाशका तारा के तारा’ र नवराजको ‘पीर’ती’ पढ्नुभयो भने एउटा कुरा क्लियर भइजानेछ । अथवा, उनकै ‘लोकसेवा आयोग’ र कटुवालको ‘रहर’ सँगसँगै पढौँ । कथामा भन्दा बढी न्यारेसन कविताले डिमान्ड गर्दैन, कवितामा ओभरगोबररेटेड डिस्क्रिप्सन कवितामा जायज हुँदैन । नवराजका कविताहरूले ल्वाङ खाएर स्वाङ भन्दा बढ्ता भ्वाङ पारिरहेका छन् ।

 


‘हाम्रो यो माया
दुई आत्माको मिलन हैन
मुसल र ओखलको मिलन हो
जसले
जिन्दगीको संवाद पाउन मात्र पनि
एक आपसमा रगडिनै पर्छ । (पेज १६० : जुठो माया)

 

एउटा अङ्ग्रेजी कविता छ, ‘दी फ्ली’, अर्थात् उपियाँ । त्यहाँ एउटा एकोहोरो प्रेमीले एउटी सुकुमारी युवतीलाई प्रेमको खेल खेल्नका लागि मनाइरहेको भेटिन्छ । एन्ड्रयु मार्भेलको ‘टु हिज कोय मिस्ट्रेस’मा जस्तै । उसका अनुसार जीवन क्षणिक छ । उनको सुन्दर रूप समयले चाउरी पार्नेछ, कुरुप तुल्याउनेछ । उनको केशराशिमा हिउँ पर्नेछ । जवानीमै प्रेमको मज्जा लिइहाल्नुपर्छ । प्रेम, दुईजनाले खेल्ने र दुबैजनाले जित्ने, त्यो खेल खेलिहाल्नुपर्छ । प्रेमी प्रेमिकाको सम्पूर्ण अङ्गप्रत्यङ्गको प्रशंसा गर्छ । एकबार होइन पटकपटक ऊ मनाउने प्रयत्न गर्छ । तर अहँ केटी केही गरि मान्दिन । केटो हैरान हुन्छ । र, दुबै चुपचाप लाग्छन् । त्यही चुपचाप लागेको समयमा एउटा उपियाँ आएर केटोलाई टोक्छ । फेरि गएर उही उपियाँले केटीको रगत चुस्छ । केटो प्रसन्न हुन्छ । ‘तिमीले मेरो प्रेम लत्याएर के भयो ? हामी दुबैको विवाह भइसकेपछि,’ केटा केटीलाई भन्छ । केटी अलमल्ल पर्छे र कसरी भनेर कारण सोध्छे । प्रेमीको जवाफ यस्तो छः ‘त्यो उपियाँ आयो । मेरो रगत चुस्यो । र, फेरि त्यसले तिम्रो रगत चुस्यो । त्यसभित्र मेरो र तिम्रो हामी दुबैको रगतको मिलन भएको छ । हाम्रो रगत आपसमा मिलिसक्यो । यसरी हाम्रो विवाह भइसक्यो ।’ प्रेमिका अप्रसन्न हुन्छे । र उपियाँलाई मार्न खोज्छे । तर सक्दिन । ऊ हैरान हुन्छे । प्रेमी त्यो सब चर्तीकला नियालिरहन्छ । केटीलाई रोक्दै फेरि अर्को तर्क गर्छ, ‘तिमीले त्यो उपियाँलाई मार्यौ भने पाप गर्नेछ्यौ ।’ केटी तर्सिन्छे । ‘एउटा हैन, तीन–तीनवटा पाप ! जुन बाइबलमा वर्णित छः क्राइम, मर्डर एण्ड सुसाइड । तिमी पापी मात्रै हैन, महापापी हुनेछ्यौ ।’ केटी अझ तर्सिन्छे । केटो भन्छः ‘त्यो उपियाँलाई मार्यौ भने जीवहत्या हुन्छ । त्यो क्राइम हो । त्यो उपियाँको शरीरभित्र मेरो रगत छ, म छु । त्यसलाई मार्नु भनेको मेरो पनि मर्डर हुनु हो, जुन अर्को पाप हो । त्यसको शरीरभित्र त तिम्रो रगत पनि छ, तिमी पनि छ्यौ । त्यसलाई मार्यौ भने तिमीले पनि आत्महत्या गरेको ठहरिनेछ, र सुसाइड गर्नु पाप हो ।’

 

‘सगरमाथाको गहिराइ’का प्रेम–कविताहरू यस हिसाबले कुनै नयाँ हैनन् । अर्थपूर्ण ‘कन्सिट’को उपयोगभन्दा त्यसको मनोटोनस दुरुपयोग ।

‘तिम्रो शरीरमा भएको पूरै गाउँलाई माया गर्छु
तिम्रो शरीरमा भएको खाली ठाउँलाई माया गर्छु’ (पेज १६२ : उही)

 

००
रोबर्ट फ्रस्टले भनेजस्तो ’कविता आनन्दबाट थालनी हुन्छ र विवेकमा गएर अन्त्य हुन्छ ।’ कुनै कवि जतिसुकै चिच्याउने काम गरोस् कविताको अर्थको विरुद्धमा, तर त्यो हुन्छ । ‘सर्प विषालु हुन्छ भनेर पत्तो पाउनु सूचना हो । त्यो विषले मानिस मर्नसक्छ भनेर थाहा पाउनु ज्ञान हो । उक्त विषलाई निस्तेज पार्ने औषधीको आविष्कार गर्न सक्नु बुद्धि हो । यति सब भएर पनि सर्पसँग कहिल्यै नजिस्कनु चाहिँ विवेक हो ।’ येल युनिभर्सिटीका क्लियन्थ ब्रुक्सका अनुसार, ‘रोबर्ट फ्रस्टका कविता दर्शनीय रूपले सरल छन् । फ्रस्टका कविता धोकेबाज तौरले सरल छन् । बट देअर रन्ज एन अन्डरकरेन्ट फिलोसोफी विदीन द्याट सिम्प्लिसिटी ।’ कविता सिम्पल हुनुपर्छ, तर सिम्प्लिस्टिक हुनु चाहिँ घातक सिद्ध साबित हुन्छ । ‘ब्रह्माजीको रजस्वला’ बहुत विरोधाभासपूर्ण ‘पन’ कविता हो । महिला उत्थानको कुरा गरेर महिलालाई नै विरुद्धमा सम्बोधन गरिएको कविता । छाउगोठ पठाइएकी एउटी छोरी सुरुदेखि नै आफ्नी आमालाई दोषारोपण गर्छे, छाउगोठमा नपठाऊ भन्नुका लागि रियल कारणहरूका सट्टा ‘हावा’ कारणहरू पेश गर्छे । ब्रुक्सका अनुसार कविताको भाषा विरोधाभासको भाषा हो । कवितामा विरोधाभास सुहाउने हुन्छ । तर, सबैभन्दा बढी विरोधाभास केमा हुन्छ ? चुट्किलामा । कविताले खोजेको टोन अर्थात् ध्वनि लाइक रियलिस्टिक, लाइक नोस्टाल्जिक दिन सकिएन भने त्यो कविता कविता हैन, चुट्किला बन्दछ ।

 

 

‘घामबाट आएका किशोरी किरणहरू
सबैभन्दा पहिला मेरो ओठमा देउडा खेल्छन्
अनि मात्र
कोपिलाको ओठमा गएर आराम गर्छन्
अनि मात्र
रजस्वला हुन्छ कोपिलालाई
अनि मात्र यहाँका फूल मुस्कुराउँछन्’ (पेज १२ : ब्रह्मजीको रजस्वला)

‘बर्खाभरि
खेतलाई आमा बनाएका गोरूहरूलाई
बुबाले बिउले नुहाइदिनुहुन्थ्यो’ (पेज २४ : मैझारो)

 

 

अङ्ग्रेजी एउटा सेन्टेन्स छ : ‘Madam I am Adam’ यो वाक्य सुल्टोबाट, उल्टोबाट जताबाट पढ्नुस्स उस्तै हो ।
‘म सतीदेवी... सतीदेवी यादव
याद अब मेरो पतिदेवलाई नहोला,’ (पेज ४५ : सतीदेवीको गाण्डिव’

 

‘यी तिम्रा तिनै हात हुन्
जसले रातमा र मातमा मात्र मेरो साथ दिए,
यी तिम्रा तिनै हात हुन्
जसले मेरा दाइ, जो दाइजो दिन सक्दैनथे
तिनका हात भाँचिदिए,’ (पेज ४७ : उही)

‘सगरमाथाको गहिराइ’भित्रका कविताहरूमा प्रयोग गरिएका पनिङ टेक्निक, (जस्तो, दाइ जो, दाइजो) नेपालीमा ‘श्लेष’ सुन्दर हो । तर, कविताले खोजेको टोन, पनअनुसार उपयोग हुन नसक्दा त्यो पन (एगल) को कारणले कविता फन भइदिएको छ, फन्नी भइदिएको छ । न्युनतम कविताहरू सुन्दर छन् । केही कविताहरू जबर्जस्ती तन्काइएका छन् । नवराज पराजुली मनु मन्जिलियन पोएटिक अदाबाट हाइली इम्प्रेस्ड हुन् ? त्यो अर्कै कुरा । ह्यापिली डिभोर्स्ड एण्ड ह्याभ नो रिग्रेट्स ? यो त झन् हुँदै नभएको कुरा ।

 

एउटा फ्रेन्च उखान छः ‘विवाहित जोडीमा केटी अन्धी भएकी राम्रो, केटा बहिरो भएको राम्रो ।’ ‘च्याउ’ कविता पढ्दा नारीवादीहरूले के अर्थ–अनर्थ लगाउने हुन्, त्यो चाहिँ भन्न नहुने कुरा । ‘सिमाना’ कविता भुइँ थच्चिन्छ, गुलजारको ‘लकीर’ र विजय मल्लको ‘छोरीलाई मानचित्र पढाउँदा’सँग राख्दा । ’सपना’ कविता पढ्दा त्यो हास्यास्पद लाग्छ, भलै त्यसमा फ्रायडको छाया आएको किन नहोस् । उनका सबैजसो कविताहरू एलिट वर्गीय ढर्राका हुन्, जहाँ विपन्न वर्गीय दारिद्र, आँसु, वेदनासित पनि रोमान्टिक भइन्छ ।

 

‘एक दिन मैले
मेरो देब्रे हातले उसको दाहिने हात समातेर सोधेँः
‘तिमी किन सधैं मेरो देब्रेतिर मात्रै बस्छ्यौ ?’
‘उसले उसको देब्रे हातले मेरो दाहिने हात समातेर भनीः
‘किनकि
मेरो बुबाले
हरेक दसैंमा टीका लगाइदिँदा
मलाई भन्नुहुन्छः
“छोरी !
ईश्वर सधैं तिम्रा दाहिने रहुन् ।“ (पेज ११७ : वामपन्थी लभ)

 

००

हामी बच्चाबेलामा एउटा कविता गाउँथ्यौँः ‘टालाटुली बटुली, कति राम्री पुतली ।’ पुतली बहुत सुन्दर हुन्थे । हामीलाई सानामा खेल्दा पुतली पनि आफूजस्तै साँच्चीकै लाग्थ्यो । तर, थियो त त्यो कृत्रिम । त्यसको विवाह गरिन्थ्यो, त्यसलाई खुवाइपियाइ गरिन्थ्यो । तर, सब केटाकेटी भुलभुलैया । नवराज पराजुलीको ‘सगरमाथाको गहिराइ’ त्यही ‘टालाटुली ... पुतली’ हो । यी निर्दोष भइदिएका भए त ठीकै हुनेथियो । तर, त्यो एउटा बच्चाको मकुन्डोमात्रै हो । मकुन्डाहरूले विचार गर्दैनन्, अक्सर बिगार गर्छन् ।

 

(अनलाईन बुक रिडिङ ग्रुप बुकाहोलिक्सबाट साभार) 



Your Comment

थप समाचार

अझै बुझाएनन् छ सय ५४ उम्मेदवारले निर्वाचन खर्च

  • 18 minutes ago
अझै बुझाएनन् छ सय ५४ उम्मेदवारले निर्वाचन खर्च

सिन्धुली, असोज ७ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि छ सय ५४ उम्मेदवारले अझै निर्वाचन खर्च बुझाएका छैनन् । निर्वाचन आयोगले जिल्ला समन्वय समितिको नि

त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

  • 24 minutes ago
त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

नवलपरासी, असोज ७ । महाभारत चुरे पहाडबाट बगेर आउने पानीको निकास नहुुँदा त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै आएका छन् ।

अर्नाको स्वास्थ्य नाजुक

  • 33 minutes ago
अर्नाको स्वास्थ्य नाजुक

चितवन, असोज ७ । कोशी टप्पुबाट स्थानान्तरण गरी यहाँ ल्याइएका अर्नाको स्वास्थ्य नाजुक बन्दै गएको छ ।


Loading...

भिडियो

hamropatro

नेपाल

त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

नवलपरासी, असोज ७ । महाभारत चुरे पहाडबाट बगेर आउने पानीको निकास नहुुँदा त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै आएका छन् ।

जीवनशैली

कतै तपाईको पनि खुट्टाको औंलाले आकार यस्तो त छैन ? जान्नुहोस् के हुन्छ यसको अर्थ

कतै तपाईको पनि खुट्टाको  औंलाले आकार यस्तो त छैन ? जान्नुहोस् के हुन्छ यसको अर्थ

एजेन्सी । मानिस आ–आफ्नै स्वाभाव र व्यवहारका हुन्छन् । फरक–फरक मान्छेमा छुट्टै गुण र शैली हुन्छ । हिन्दु धर्म र परम्परा अनुसार मानिसको शरिरको बनावटबाट मानिसलाई बुझ्ने गरिन्छ । मानिसमा भएका विभिन्न अंगमा आकार र बनावटले मानिसको स्वाभाव पत्ता लगाउने चलन रहिआएको छ ।

विचित्र विश्व

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

मनिला, ५ असोज (रासस÷प्रोजेक्ट सिन्डीकेट) ः एसियाली मुलुकहरुमा अहिले मनसुनी वर्षा जारी छ, र महिनौं लामो गर्मीबाट राहतको श्वास लिन सकिने अवस्था छ । तर के गर्नु, यो प्रचण्ड गर्मी फेरि दोहोरिनेछ