Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपाललोप्रेको सिङ्गो डाँडै चर्किएर लेदो बग्न थालेपछि गाउँ जोखिममा

लोप्रेको सिङ्गो डाँडै चर्किएर लेदो बग्न थालेपछि गाउँ जोखिममा


पर्वत । जलजला गाउँपालिका वडा नं ५ लेखफाँटको सिङ्गो गाउँ पहिराको जोखिममा परेको छ । बस्तीभन्दा माथि रहेको लोप्रेको सिङ्गो डाँडै चर्किएर लेदो बग्न थालेपछि गाउँ जोखिममा परेको हो ।

निरन्तरको वर्षासँगै पहाडबाट झरेको कमेरो माटो, ढुङ्गासहितको लेदोले खेतबारीसमेत पुरिन थालेको छ । वडा नं ५ लेखफाँटका साविकका दुई वडामा रहेका तीन सयभन्दा बढी परिवार विस्थापित हुने अवस्थामा पुगेको गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिए ।

उनका अनुसार पहाडको सबै भाग चर्किएकाले जोखिम न्यूनीकरणका लागि तत्काल कुनै कदम चाल्नुपर्छ । डाँडामुनि रहेका मूलघडेरी, गैरीगाउँ, पूर्णगाउँ र माझफाँटसम्म जोखिम रहेको उनले बताए । पर्वतको वारी बेनीसमेत उक्त पहिराको जोखिममा पर्ने देखिएको छ ।

वर्षायाम सुरु भएसँगै खेतबारीमा रोपेको धान, कोदो पहाडबाट झरेको लेदोले पुरिन थालेपछि गाउँलेहरुले स्थानीय सरकारलाई गुहारेका छन् । गाउँपालिकाका जनप्रतिनिधिसहित जिल्ला विपद व्यवस्थापन समितिको टोलीले जोखिमपूर्ण स्थलको अवलोकन गरेको छ ।

स्थानीय पदम कार्कीले पहाड नै चर्किएपछि बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था आएको बताए । ‘लगाएको खेतीबालीसमेत पूरै पुरिएको छ, कमेरे माटोमा खेती नहुने भएकाले हिउँदमा समेत खेतीबाली लगाउन नमिल्ने भइसक्यो, हामी निकै समस्यामा परेका छौँ, बस्ती छाड्ने कि संरक्षण गर्ने भन्ने अन्योल रहेको छ’, उनले भने ।

गाउँपालिकाले भने बस्तीमा ढुङ्गामाटो आउन नदिनका लागि तत्कालका लागि ड्याम बनाएर व्यस्थापन गर्ने योजना बनाएको छ । यो योजना दिर्घकालीन नहुने स्थानीयको भनाइ छ । पहाड खस्नबाट जोगाउनुभन्दा पनि मानव बस्तीलाई जोगाउनतर्फ लाग्नुपर्ने स्थानीयले अनुरोध गरेका छन् ।

भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख दिवाकर पौडेलले उक्त क्षेत्रको अवस्था भयावह रहेको बताए । प्राकृतिक प्रकोपलाई कसैले रोकेर रोक्न नसकिने जनाउँदै उनले कुनै पनि बेला ठूलो दुर्घटना निम्तिने अवस्था रहेको बताए । उनले पहिला मानव तथा गाईबस्तुको संरक्षणमा ध्यान दिनुपर्ने बताए ।

विसं २०७२ को भूकम्पपछि उक्त क्षेत्रमा पहिराको जोखिम बढ्दै गएको हो । तत्कालीन अवस्थामा त्यहाँका पाँच परिवार विस्थापित भएका थिए । भूकम्पपछि हरेक वर्षायाममा यहाँका बासिन्दा त्रासपूर्ण अवस्थामा बस्दै आएका छन् ।

उक्त क्षेत्रको जोखिम न्यूनीकरणका लागि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बोलाएर आवश्यक निर्णय गरिने गाउँपालिकाका अध्यक्ष आचार्यले जानकारी दिए । बस्ती स्थानान्तरण वा अन्य वैकल्पिक उपायका बारेमा छलफल गरेर निष्कर्षमा पुगिने उनले बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बजेट कार्यान्वयनमा सुधार गर्न श्रम मन्त्रालयलाई समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको

यी हुन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौँ । सरकारले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन देव भट्टलाई काठमाडौँ उपत्यका प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष तोकेको छ । बिहिबार

योजना छनोटको प्राथमिकीकरणमा सरकार चुक्यो: माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशका योजना छनोटको प्राथमिकीकरणमा सरकार चुकेको बताएका छन् ।

इलाम र बझाङमा ६९ मतदान केन्द्र अतिसंवेदशील

काठमाडौँ । इलाम २ मा प्रतिनिधिसभा र बझाङ–१ मा शनिबार हुने उपनिर्वाचनमा प्रहरीले १ हजार २४ जना जनशक्ति खटाउने भएको

धनुषाको औरहीमा झडप, अश्रुग्यास प्रहार

जनकपुरधाम । धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच

उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

काठमाडौँ । उपनिर्वाचनका लागि सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएका छन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र बनाउनको लागि

Techie IT