Techie IT
२०८२ भदौ १, आईतबार
NepaliPatra logo
गृहपृष्ठअर्थचियाको उर्वरभूमि इलामका किसान धानखेतीमा आकर्षित

चियाको उर्वरभूमि इलामका किसान धानखेतीमा आकर्षित


इलाम । सूर्योदय नगरपालिका–१ मकरजुङका टीकाराम अधिकारीले यस वर्ष पोहोरभन्दा तीन मुरी बढी धान फलाए । “अघिल्लो साल १५ मुरी फलेको ठाउँमा यो साल १८ मुरी थन्क्याएँ, चियामा मूल्य छैन, अब जसोतसो धानमै बल गर्ने बेला भयो”, अधिकारीले भने ।

चिया उत्पादनको उर्वरभूमि इलामका किसान धानखेतीतर्फ आकर्षित हुन थालेका छन् । नगदे बालीसहित दूध, चियालगायतका कृषि उपज उत्पादनलाई आधुनिकीकरण गर्दै बजार प्रवर्द्धनको लक्ष्य लिएको सूर्योदय नगरपालिकाले चियाको न्यूनतम मूल्य तोकेर मूल्य र गुणस्तरमा एकरुपता ल्याउन पहल गरे पनि कार्यान्वयन हुन नसकेपछि आफूहरू वैकल्पिक खेतीप्रति आकर्षित भएको किसान गिरिज घिसिङले बताए ।

गत वर्षको तुलनामा यस वर्ष जिल्लामा तीन मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ । “गत वर्ष ४९ हजार ७९ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष ४९ हजार ८२ मेट्रिक टन धान उत्पादन भएको छ”, ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाले भने, “यस वर्ष गत वर्षभन्दा धानको उत्पादकत्वसमेत वृद्धि भएको छ ।” केन्द्रप्रमुख बर्देवाका अनुसार यस वर्ष धानको उत्पादकत्व बढेर प्रतिहेक्टर तीन दशमलव ३२ मेट्रिक टन पुगेको छ । गत वर्ष प्रतिहेक्टर तीन दशमलव ३१ मेट्रिक टन थियो ।

गत वर्षभन्दा यस वर्ष धान रोपाइँ हुने क्षेत्रफल भने घटेको छ । किसानले चिया मासेरै धानखेती लगाएका छैनन् तर चियामा लगाउने मेहनतचाहिँ धानखेतीमा बढाएको पाइन्छ । सूर्योदय नगरपालिकाका गोविन्द सापकोटाले आधा खेत मासेर पोहोर उत्तिस लगाएका थिए । “चियाखेतीमा राम्रै होला भनेर खेत मासियो चियाको मूल्यले निराश बनायो”, उनी भन्छन्, “आधा खेतलाई वर्षभरि मलजल गरेकाले राम्रै धान उत्पादन भएकोे छ ।” जिल्लामा गत वर्ष १४ हजार आठ सय १५ हेक्टर क्षेत्रमा धान लगाइएकामा यस वर्ष १४ हजार आठ सय १० हेक्टर क्षेत्रमा मात्र धान लगाइएको सरकारी तथ्याङ्क छ ।

इलामको सूर्योदय नगरपालिकामा सबैभन्दा बढी चियाखेती हुने गरेको छ । जिल्लाका इलाम, माई र देउमाई नगरपालिकाका अधिकांश किसान चियाखेतीमा आबद्ध छन् । विसं १९२० मा इलामबाट चियाखेतीको व्यावसायिक सुरुआत भएको मानिन्छ ।

तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणा चीन भ्रमणबाट फर्कँदा चिनियाँ जातको बिरुवा उपहारस्वरूप ल्याएको र उक्त चियाको बिरुवा इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापालाई दिएपछि थापाले इलामको माटोमा चियाको बोट रोपेको इतिहास छ ।

त्यसपछि पूर्वी पहाडका पाखापखेरामा चियाखेती हुँदै अहिले जिल्लाका अधिकांश ठाउँमा खेती भए पनि पछिल्लो समय चियामा समस्या झेल्नुपरेका कारण खेती विस्तार हुनसकेको छैन । फलस्वरुप कतिपय किसानले छाडिसकेको धानखेतीलाई नै जीविकोपार्जनको माध्यम बनाउन थालेका छन् ।

चियाको राजधानी भनेर चिनिने इलाममा चिया किसानलाई सधैँ हरियो पत्तीको मूल्यकै समस्या हुने गरेको छ । हरियो चियापत्ती बेच्ने किसानले वास्तविक मूल्य नपाएका कारण समस्या भोगिरहेका छन् । उचित मूल्य नपाएकै कारण पछिल्लो समयमा कृषकले चिया विस्तार गर्न छाडिसकेका हुन् ।

उद्योगी भने गुणस्तरीय चिया नहुँदा पर्याप्त मूल्य दिन नसकेको बताउँछन् । “किसानले मापदण्डअनुसारको गुणस्तरीय चिया ल्याएमा उद्योगले मूल्य दिएकै छ”, सूर्योदय टि एशोसिएसनका एक सदस्यले भने, “ग्रेड नपुगेका चियापत्तीले राम्रो मूल्य पाउन नसकेको हो ।”

स्थानीय सरकारले तोकेको मापदण्ड पूरा गरेर चिया उत्पादन गर्न खर्चिलो हुने किसानको भनाइ छ । चियामा लगानी बालुवामा पानीमात्रै हुने भएपछि परम्परागत कृषि प्रणालीमा सुधार गरी आधुनिक कृषि प्रणालीको अपनाएसँगै मल, बीउबिजन र सिँचाइको उचित व्यवस्थापन गरेर धान उत्पादन बढाउने तयारी धेरै किसानको छ ।

“चिया छाडेर धानखेती गर्नु रहर होइन”, अर्का किसान विनोद घिमिरे भन्छन्, “लागत नै नउठ्ने भएपछि चियामा के आशा गर्नु भनेर धानमै दुःख गर्न थालेका हौँ । कम्तीमा अन्न खान पाइन्छ ।”

ज्ञान केन्द्रले किसानलाई विभिन्न मेसेरेनरी तथा उपकरण अनुदानमा दिएको कृषि ज्ञान केन्द्रका प्रमुख बर्देवाले बताउनुभयो । यसले आधुनिक कृषि प्रणालीमा सहयोग पुर्याएको उनको विश्वास छ । “किसानले पनि उन्नत बीउबिजनको प्रयोग गरी मल र सिँचाइको व्यवस्थापन गरेकाले क्षेत्रफल घटे पनि धान उत्पादनमा वृद्धि भएको उनको भनाइ छ ।

चार नगरपालिका र ६ वटा गाउँपालिका रहेको जिल्लाको सबै ठाउँमा धानखेती हुँदै आएको छ । जसमध्ये माई, इलाम, देउमाई नगरपालिका, चुलाचुली र माङ्सेबुङ गाउँपालिका धानखेतीका लागि पकेट क्षेत्रका रूपमा चिनिन्छन् ।

जिल्लामा स्थानीय चुल्ठे भँगेरे, हर्दिनाथ–१, राधा–१२, मनसुली, मकवानपुर–१, चिराँखे, बेलगुठी जातका धान रोप्ने गरिन्छ । पछिल्लो समय रामतुलसी, ननिया र सावित्री जातका धानसमेत रोप्न थालिएको इलाम नगरपालिका–१० गोदकका किसान गोपाल अधिकारीले बताएका छन् । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

व्यवसायिक अकबरे खुर्सानी खेती गरेका कृषकलाई बजारको चिन्ता

म्याग्दी । व्यवसायिक अकबरे खुर्सानी खेती गरेका म्याग्दी र पर्वतका कृषकलाई बजारको चिन्ताले सताएको छ । बजारको अभावले किसानहरु मर्कामा

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो : ठेक्का सम्झौतामा…

काठमाडाैँ । डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढेको छ । प्रवर्द्धक कम्पनी र निर्माण व्यवसायीबीच निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा

धान चामल खरिदका लागि बाहिरियो ४० अर्ब

काठमाडौं । मुलुकबाट एक वर्षमा धान चामल खरिदका लागि ४० अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । स्वदेशमै उत्पादन गर्न

मेची भन्सारबाट चिया निर्यात ३२ प्रतिशतले बढ्यो

काठमाडौं । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ मा चिया निर्यात ३२ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार

डिशहोमको ‘खुशीको बोनस’ : हरेक हप्ता १४ जनालाई एक वर्ष…

काठमाडौं । डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि विशेष योजना ‘खुशीको बोनस ३६५ दिन नै सार्वजनिक गरेको छ । यो अफर

उत्पादन बढेपछि भारतमा ७ सय र बंगलादेशमा ४० मेगावाट विद्युत्…

काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले

Techie IT