काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र उपयोगमा ल्याउन सकिने गरी दैलेखमा रहेको मिथेन ग्यासको उत्पादनमा लाग्न निर्देशन दिएका छन् ।
हिजो उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायका प्रतिनिधिसँग दैलेखको ग्यास उत्खनन् र पूर्वी नवलपरासीको धौवादी फलाम खानी उत्पादनका विषयमा ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले यसका लागि आवश्यक बजेट र सहजीकरणमा सरकारबाट कमी नहुने समेत बताए ।
छलफलमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा भएको पेट्रोलियम अन्वेषण कार्यको नतिजा एवम् भावी कार्यदिशाबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको थियो ।
यसैगरी, धौवादी फलाम कम्पनी लिमिटेडले पूर्वी नवलपरासीमा ड्रिलिङ काम तथा फलाम खानीको सम्भाव्यता अध्ययन भई प्रक्रिया अघि बढिरहेको विषयमा प्रधानमन्त्री ओलीलाई अवगत गराएको छ ।
प्रधानमन्त्री ओलीले २०८५ साल अघि नै फलाम र स्टिल उत्पादन गरी बिक्री र उपयोगमा ल्याउने गरी तयारी गर्न निर्देशन दिनुभएको छ । यस कामका लागि स्रोत, साधन र कानूनी सहजीकरणका लागि सरकारले सबै व्यवस्था मिलाउने प्रधानमन्त्रीको भनाइ छ ।