Techie IT
२०८२ असार १८, बुधबार
NepaliPatra logo
गृहपृष्ठअर्थबढ्यो कोदोको माग

बढ्यो कोदोको माग


बागलुङ । केही वर्ष पहिलेसम्म बागलुङका होटल तथा रेष्टुरेन्टमा कोदोका परिकार पाक्दैनथे । पछिल्लो समय यहाँका होटल तथा रेष्टुरेन्टमा कोदाको ढिँडो पाक्न थालेपछि कोदोको माग बढ्दै गएको छ । कोदोको परिकारमा प्रोटिन, आइरन र क्याल्सियम बढी मात्रामा पाइने र स्वास्थ्यका लागि उपयोगी हुने भएकाले माग बढ्दै गएको होटल व्यवसायी बताउँछन् ।

पहिले(पहिले कोदोको ढिँडो, रोटी र खोले निकै कम मात्रै पाक्थ्यो । पछिल्लो समय घरबाससँगै सहर बजारका ठुला(ठूला होटलका भान्छामा पनि ढिँडो पाक्न थालेको छ । कोदोको माग बढ्दै गए पनि बागलुङको काठेखोला गाउँपालिका ८ लेखानीका किसानले मात्रै व्यावसायिकरुपमा उत्पादन गर्ने गरेका छन् ।

रैथाने जातको कोदोको माग बढेपछि केही किसानले व्यावसायिक कोदो उत्पादनमा लागेका छन् । जिल्लाको सबै क्षेत्रमा उत्पादनका लागि उपयुक्त हावापानी भए पनि कम मात्रामा खेती हुने गरेको छ । जङ्कफुड र आयातित खाद्यान्नमा निर्भर हुँदा किसानले कोदो खेतीलाई व्यावसायिक बनाउन सकेका छैनन् ।

पछिल्लो केही वर्षयता बागलुङ बजारका होटलहरुमा कोदोका परिकारको माग बढ्न थालेको होटल व्यवसायी सङ्घ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले बताए । कोदोको ढिँडोसँगै, भाँगो, टिमुर र स्थानीय उत्पादनको परिकार पाहुनाले माग गर्न थालेको उनको भनाइ थियो । माग बढेसँगै गाउँबाट कोदोको पीठो मगाएर पाहुनालाई ढिँडो खुवाउने गरेको अध्यक्ष राजभण्डारीले बताउनुभयो । बजारमा सहजरुपमा कोदोको पीठो पाउन गाह्रो हुने उनको भनाइ थियो ।

“पहिले कोदोको ढिँडोको माग खासै आउँदैनथ्यो, अहिले होटलमा आउने धेरै पाहुनाको रोजाइ ढिँडो हुन्छ । विशेष गरी स्थानीय उत्पादनबाट बनेका परिकारको माग बढ्दो छ । अहिले धेरै मानिसमा अर्ग्यानिक खाना खानुपर्छ भन्ने सोच बढेको छ,” अध्यक्ष राजभण्डारीले भने, “कोदोको खेती कम भएर होला, भनेको समयमा पीठो पाउन सकिँदैन । कहिले गाउँबाट ल्याउँछौँ । कहिले यही अर्ग्यानिक सामान बेच्ने पसलबाट ल्याउँछौँ । स्थानीय उत्पादनको महत्त्व मान्छेहरूले बुझ्दै गएका छन् ।”

स्थानीय किसान तिलबहादुर क्षेत्रीले पहिले कोदोका खाना घरबाहिर बसेर खाँदा पनि लजाउनुपर्ने स्थिति रहेको भन्दै अहिले धेरै मान्छेले ढिँडो मन पराउन थालेको बताए । आफूले वार्षिक सात मुरी कोदो उत्पादन गर्दै आएको जनाउँदै अहिले माग बढेकाले खेती गर्ने क्षेत्रफल पनि बढाएको उनले बताए । बजारबाट कोदोको पीठो किन्ने व्यापारी गाउँमै आउने गरेको भन्दै आम्दानी पनि राम्रो हुँदै गएको क्षेत्रीले बताए । उनले अघिल्लो वर्ष झन्डै ५० हजारको कोदो बिक्री गरेको सुनाए ।

“हामी सानो हुँदा कोदोको ढिँडो, रोटी खाँदैनथे । कोहीकोहीले खाए पनि लुकाएर खान्थे । यस्तो राम्रो अन्न त्यति बेला चिन्न सकिएन, अहिले यस्तो माग बढी छ । गाउँमा त कमैले खान्छन् ढिँडो, कोदो बिक्री बढी हुने बजारमै हो,” क्षेत्रीले भने, “पहिला घरमा कोही पाहुना आउँदा चामल खोजेरै भए पनि भात खुवाउनु पर्छ भन्ने चलन थियो । अहिले त आउने पाहुनाले नै ढिँडो खाऊँ भन्छन् । कोदो स्वास्थ्यका लागि फाइदाजनक भएकाले नै ढिँडोको माग बढेको हो ।”

जिल्लाभर १८ हजार चार सय ५६ हेक्टर क्षेत्रफलमा कोदो खेती हुँदै आएको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ । हरेक वर्ष २३ हजार चार सय ५६ मेट्रिक टन कोदो उत्पादन हुने गरेको केन्द्रका सूचना अधिकारी कुमार पुन मगरले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले यहाँका किसानले रैथाने रूपमा कोदो खेती गर्दै आएका छन् । पछिल्लो समय जनमानसमा कोदोको महत्त्व बढ्दै गएपछि किसनाहरु उत्पादनका लागि उत्साहित भएका उनले बताए।

कृषि ज्ञान केन्द्रले कृषकलाई रैथाने जातका कोदोलगायतका खाद्यबाली लगाउनका लागि प्रेरित गर्दै विभिन्न कार्यक्रम गरिरहेको पुन मगरले बताउनुभयो । “बागलुङमा कोदो खेती गर्नका लागि पर्याप्त जमिन छ । किसानलाई कोदो खेतीतर्फ आकर्षित गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ”, उनले भने, “उहाँहरूले कोदोको पीठो ब्रान्डिङ, प्याकेजिङ गर्न, परिकार बनाउनका लागि आवश्यक तालिम र परामर्श दिने गरेका छौँ । केही गाउँमा व्यावसायिक रूपमा लागेर कोदोको परिकार बनाइरहेका छन् । उत्पादन गर्ने क्षेत्र बढाउनका लागि किसानलाई प्रेरित गरिरहेका छौँ ।”

यस वर्ष किसानले लगाएको कोदोमा खैरो थोप्ले र मरुवा रोग लागेकाले उत्पादनमा ह्रास आउने देखिएको पुन मगरले बताए । दुई वटा रोगको सङ्क्रमणका कारण कोदोको डाँठ कुहिएर बाला लाग्न नपाएको उनको भनाइ थियो । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

उत्पादन बढेपछि भारतमा ७ सय र बंगलादेशमा ४० मेगावाट विद्युत्…

काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।

११ महिनामा ७१ करोड रुपैयाँको कोदो आयात

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।

असारमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण शुरु

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड

Techie IT