Techie IT
२०८२ असार ३१, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअर्थऊर्जा क्षेत्रमार्फत मुलुक समृद्धिको मार्गमा अघि बढेको छ: ऊर्जामन्त्री बस्नेत

ऊर्जा क्षेत्रमार्फत मुलुक समृद्धिको मार्गमा अघि बढेको छ: ऊर्जामन्त्री बस्नेत


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा क्षेत्रमार्फत मुलुक समृद्धिको मार्गमा अघि बढेको बताए ।

सुनसरीको इनरुवामा आयोजना गरिएको चार सय केभी क्षमताको सवस्टेशन उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले नेपालको जलविद्युत् विकासको विगतको ७८ वर्षे इतिहासमा अढाइ सय मेगावाट मात्र विद्युत् उत्पादन भएकामा हाल एक वर्षमा पाँच सय मेगावाटभन्दा बढी विद्युत् थपिनुले देश प्रगतितर्फ अघि बढेको तथ्य र तथ्याङ्कले पुष्टि गरेको बताए ।

आगामी १० वर्षभित्र करिब ३० हजार मेगावाट विद्युत् उत्पादन गर्नसक्ने विश्वसनीय आधार देखिएको उल्लेख गर्दै मन्त्री बस्नेतले प्रसारण लाइन निर्माणमा देखिएको मार्गधिकारको समस्या र स्थानीयका मागलाई सम्बोधन गर्न कानुनीरुपमा थप व्यवस्था गर्न लागिएको बताए ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सबस्टेसन सञ्चालनमा आएसँगै प्रदेशका उद्योगी व्यवसायीले बेहोरिरहेको विद्युत् आपूर्तिको समस्या समाधान हुने विश्वास व्यक्त गरे । उनले कोशी प्रदेशले निजी क्षेत्रलाई सरकारको अङ्गका रुपमा राखेर भौतिकरुपमा मात्र नभई मानवीय विकास सुरु गरेको बताए ।

सुनसरी–४ का सङ्घीय सांसद एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सबस्टेसन सञ्चालनमा आउनु खुसी र गर्वको विषय भएको उल्लेख गर्दै यसले देशको अर्थतन्त्रमा अहम् भूमिका निर्वाह गर्ने बताए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देलले सबस्टेसन देशभित्रको विद्युत् खपत र निर्यातका लागि कोशेढुङ्गा सावित हुने बताए । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोशी प्रदेशका विभिन्न जिल्लाका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रसारण गर्न, स्थानीयरुपमा खपत गर्न र देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारततर्फ निर्यातका लागि इनरुवा सबस्टेसन मेरुदण्डका रुपमा रहेको बताए ।

“सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् प्रवाहका अतिरिक्त स्थानीयरुपमा आपूर्तिसमेत गरिनेछ, यसबाट त्यस क्षेत्रको भोल्टेज सुधार भई विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय हुनेछ, यही सबस्टेसनबाट भारतसँगको विद्युत् व्यापारका लागि इनरुवा–पूर्णिया ४०० केभी अन्तरदेशीय र नेपाल, भारत तथा बङ्गलादेशबीचको व्यापारका लागि इनरुवा–अनारमनी ४०० केभी प्रसारण लाइन प्रस्ताव गरिएको छ”, उनले भने।

मुलुकको दोस्रो ठूलो मानिएको चार सय केभी क्षमताको इनरुवा सवस्टेशनको आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका हुन् । हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी सबस्टेसन विस्तार आयोजनाअन्तर्गत निर्माण गरिएको ४००/२२० केभी इनरुवा सबस्टेसनमा तीन थान पावर ट्रान्सफर्मर छन् । तीनवटै ट्रान्सफर्मरको क्षमता नौ सय ४५ एमभिए छ । त्यस्तै, २२०/१३२ केभी १६० एमभिए क्षमताका दुई थान तथा २२०/३३ केभी, ६३ एमभिए क्षमताका दुई थान पावर ट्रान्सफर्म छन् ।

इनरुवा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएपछि इनरुवा सबस्टेसनबाट करिब चार हजार मेगावाट विद्युत् आदान प्रदान हुन सक्नेछ । इनरुवा–ढल्केबर प्रसारण प्रसारण लाइनको अहिले तार तान्ने काम भइरहेको छ । साथै १३२ र ३३ केभी प्रसारण तथा वितरण लाइनमार्फत सबस्टेसनबाट स्थानीयरुपमा विद्युत् आपूर्तिको व्यवस्था गरिएको छ । सबस्टेसनलाई भविश्यमा आवश्यकताअनुसार थप विस्तार गर्न मिल्ने गरी निर्माण गरिएको छ ।

अरुण तथा तमोर नदी र तिनका सहायक खोलामा निर्माण गरिएका तथा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् कोशी करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ । कोशी करिडोरको इनरुवा–बसन्तपुर–तुम्लिङटार खण्ड निर्माण सम्पन्न भइसकेको छ भने वसन्तपुर–ढुङ्गेसाँघु खण्ड निर्माणाधीन छ । यस्तै तुम्लिङटार–शीतलपाटी २२० केभी प्रसारण लाइन आयोजना पनि निर्माणाधीन छ । अरुण हब–इनरुवा ४०० केभी प्रसारण लाइन निर्माण प्रस्ताव गरिएको छ ।

इनरुवा ४०० केभी सवस्टेसन निर्माणका लागि भारतीय कम्पनी सिमेन्स् लिमिटेडसँग २०७५ पुसमा ठेक्का सम्झौता भएको थियो । चार सय केभी सबस्टेसनको डिजाइन तथा निर्माण सुपरीवेक्षण एनइए इञ्जिनियरिङ कम्पनीले गरेको थियो । बर्खाको समयमा तराईमा हुने डुबान, विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण उपकरण तथा प्राविधिक आउन नसक्दा सबस्टेसनको निर्माण प्रभावित भएको थियो । विसं २०७८ कात्तिकमा सबस्टेसन निर्माण क्षेत्रमा आएको बाढीले उपकरणमा क्षति पुगी पुनः आयात गर्नुपर्दा निर्माणमा ढिलाइ भएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मोरङबाट ८०२ किलो गाँजा बरामद

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखु घारीबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय रंगेली,

म्याग्दीको धवलागिरिमा थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थाल्यो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बाँसबोटको भीरबाट खसेको पहिरोले हिजो दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थालेको छ । धवलागिरि

रोल्पा थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन

काठमाडाैँ । रोल्पाको थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन भएका छन् । थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरका

अब स्वास्थ्य बीमामार्फत बिरामीले २ लाख सुविधा पाउने स्वास्थ्य मन्त्री…

काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका

रसुवा बाढीमा बेपत्ताको खोजी र उद्धारलाई प्रभावकारी बनाउन निर्देशन

काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले रसुवाको बाढीमा बेपत्ताको खोज–उद्धार कार्यलाई निरन्तरतासहित थप प्रभावकारी बनाउन सम्बन्धित

सहमति जुटेपछि चिकित्सक सङ्घको आन्दोलन स्थगित

काठमाडाैँ । सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबीच सहमति जुटेको छ । आन्दोलनरत चिकित्सक र सरकारबीच हिजो बेलुका तीन बुँदे

Techie IT