Techie IT
२०८२ असार १, आईतबार
NepaliPatra logo
गृहपृष्ठअर्थखोटाङमा स्वरोजगार बनाउन ४ सय राँगा वितरण गरिँदै

खोटाङमा स्वरोजगार बनाउन ४ सय राँगा वितरण गरिँदै


खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरका किसानलाई उन्नत जातका राँगा वितरण कार्यक्रम शुरु गरेको छ ।

नगरका किसानलाई स्वरोजगार बनाउँदै नगरपालिकालाई राँगाको मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले यस वर्ष ६२ लाख बराबरको राँगा वितरण कार्यक्रम शुरु गरिएको हो ।

नगरपालिकाको घोषित कार्यक्रम अन्तर्गत तराईका फार्मबाट खरिद गरेर ल्याइएका उन्नत जातका राँगा कृषक समूह मार्फत किसानलाई वितरण गर्न शुरु गरिएको नगरउपप्रमुख विशन राईले बताए । “यस वर्ष चार सय राँगा वितरण गर्ने कार्यक्रम छ”, उनले भने, “नगरपालिकाको कृषि कार्यक्रम अन्तर्गत ७५ प्रतिशत अनुदानमा किसानलाई उन्नत जातका राँगा वितरण गर्ने नीति बनाइएको छ । हालसम्म दुई सय राँगा वितरण गरिसहेका छौँ ।”

पन्ध्र वडा रहेको यो नगरपालिकाको वडा नं ३ बाम्राङमा १६ लाख, वडा नं ४ खाल्लेमा सात लाख, वडा नं ५ लफ्याङमा १२ लाख, वडा नं ७ दोर्पामा तीन लाख र वडा नं १५ विजयखर्कमा आठ लाख ५० हजार बराबरको राँगा वितरण गरिसकिएको छ । उक्त वडामा बाँकी रकमको समेत राँगा खरिद गरेर किसानलाई वितरण गरिने उपप्रमुख राईले जानकारी दिएका छन् ।

राँगा खरिद गरिएको कुल मूल्यको २५ प्रतिशत मूल्य किसान स्वयंले भुक्तानी गर्नेगरी राँगा वितरण कार्यक्रम तय गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिए । कृषक समूहको खातामा रकम जम्मा गरिदिएपछि समूह आफैँले खरिद–ढुवानी तथा वितरण गर्ने गरिएको छ । कृषिलाई पहिलो प्राथमिकतामा राखेको नगरपालिकाले विशेषगरी युवालाई रोजगारी र आय आर्जनसँग जोड्ने उद्देश्यले राँगा वितरण कार्यक्रम तय गरेको जनाइएको छ । राँगा तथा भैँसीपालन मार्फत मल पनि उत्पादन हुने हुनाले तरकारी तथा कृषि उपज उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ ।

गत वर्षको नगरसभाबाट पारित नीति तथा कार्यक्रम अन्तर्गत नगरपालिकाले कृषिलाई व्यवसायीकरण गर्ने कार्यक्रम अगाडि बढाएको छ । नगरपालिकाले पशुपालनसँगै केरा, किबी, कागती, सुन्तला, कफी, चिया तथा तरकारीको व्यावसायिक खेतीका लागि किसानलाई अनुदान उपलब्ध गराउँदै आएको छ । आगामी वर्षदेखि अन्यत्रबाट बिरुवा खरिद गर्न नपरोस् भनेर वडा नं ६ नेर्पा र वडा नं १४ बुइपामा कफीका नर्सरी नै स्थापना गरिएको छ । नगरपालिकाको लगानीमा ती नर्सरीमा कफीका १७ लाख बिरुवा हुर्कीइरहेका छन् ।

बाहिरबाट खरिद गरिएको बिरुवाभन्दा आफैले उत्पादन गरेका बिरुवा सस्तो हुने भएकाले पनि कफीको नर्सरी स्थापना गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख जैसीले बताए । नगरपालिकाले स्थापना गरेको दुवै ठाउँका नर्सरीमा दैनिक ज्यालादारीका करिब एक सय जना कामदार खटिएका छन् । कृषिलाई व्यवसायीकरण गर्ने कार्यक्रम अन्तर्गत कफीले फल दिन थालेपछि नगरपालिकामा प्रतिवर्ष १२ अर्ब भित्रिने अनुमान गरिएको उपप्रमुख राईले बताए ।

“दिक्तेलमा उत्पादन भएको कफी स्थानीय बजारसँगै देशका विभिन्न शहरमा बिक्री गर्ने योजना छ । नेपालमा खपत नभएको कफी बेलायत पठाउँछौँ”, उनले भने, “प्रशोधन गर्दा त नेपालमै खपत भइहाल्छ । कतिपय कफी प्रशोधन नगरी सिधैँ बेलायत पठाउने छौँ । त्यसका लागि सम्झौता भइसकेको छ ।”

नगरपालिकाले शुरु गरेको किबीखेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत रोपिएका किबीले उत्पादनसमेत दिन थालिसकेका छन् । उत्पादित किबी सङ्कलन गरेर प्रशोधन गर्नेगरी वडा नं ६ नेर्पामा प्रशोधन केन्द्र स्थापना गरिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण शुरु

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड

दुग्ध किसानले पाउनुपर्ने बक्यौता पुग्यो ५ अर्ब रुपैयाँ

काठमाडौं । सरकारी र निजी क्षेत्रका दुग्ध व्यवसायीबाट किसानलाई दुध खरिद गरेको पाँच अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

विदेशबाट फर्केर माछापालनमा रमाएका भोजपुरका ‘कमल’

भोजपुर । भोजपुर नगरपालिका–६ भङ्गेरीका कमल तामाङ व्यावसायिक माछापालन गरिरहेका छन् । विदेशमा लिएको अनुभव तथा सीपलाई प्रयोग गर्दै गाउँमा

भारतबाट १० महिनामा ४ करोड ६० लाखको खरबुजा भित्रियो

झापा । पूर्वीनाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा चार करोड ६१ लाख ३४ हजारको खरबुजा भारतबाट

जंगलमा फलेको काफल पाल्पाका स्थानीयको आम्दानीको श्रोत

पाल्पा । पाल्पामा जंगलमा फलेको काफल स्थानीयको आम्दानीको श्रोत बन्न थालेको छ । पहाडी भूगोलको पाखा पखेरा र बारीका कान्लामा

Techie IT