Techie IT
२०८२ भदौ १, आईतबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘बिताउँ जुनी हाँसेर माया गाँसेर’

‘बिताउँ जुनी हाँसेर माया गाँसेर’


‘बिताउँ जुनी हाँसेर माया गाँसेर’
‘आए म त खैजरीको तालै सुनेर
दिए मन तिमीलाई नै हजारौँमा चुनेर ।
जिन्दगी त दुई दिनको पाहुना हो
बिताउँ जुनी हाँसेर माया गाँसेर ।।’

गायक नवराज थापा, राजकुमार बगर र प्रसाद थापाको स्वरमा रहेको यो कौराहा (कौडा) गीत निकै चर्चामा छ । यो गीतभन्दा अघि र पछि पनि कौराहा गीत र नृत्य निकै चर्चामा रह्यो । आधुनिकतामा गीत चर्चामा रहे पनि मौलिक शैलीको कौराहा संस्कृति लोप हुने हो कि ? भन्ने चिन्ता छ, मगर समुदायलाई ।

यही चिन्तालाई मध्यनजर गर्दै पछिल्लो समय मौलिक कौराहा संस्कृति जोगाउन तल्लिन छन् मगर समुदाय । केटाले गीत गाएर खैजरी र मुजुरा बजाउँदै केटीलाई नचाउने कौराहा नृत्य नेपालमा मगर समुदायको परम्परा लोकप्रिय नाच हो । सोही परम्परा जोगाउन पछिल्लो समय मगर युवायुवती नै लागिपरेका छन् । नेपाल मगर सङ्घ कास्की कदममार्ग चाउथे एकाइ समितिका युवायुवती मगर समुदायले आयोजना गर्ने हरेक कार्यक्रममा पुगिहाल्छन् । मगर पोशाकमा सजिएका उनीहरू खैजरी र मुजुराको तालमा कम्मर मर्काउन सुरु गरिहाल्छन् ।

कदममार्ग चाउथे एकाइ समितिका कलाकार सीमा रानामगर आफ्नो संस्कृति हराउने हो कि ? भन्ने चिन्ताले केही समयअघि सिकेर नाच्दै हिँडेको बताउँछिन् । “मैले सिकेको पाँच–छ महिना भयो । हामीले नसिके हाम्रो संस्कृति नै हराउने हो कि भन्ने चिन्ता थियो”, सीमाले भनिन्, “युट्युबमा आएको गीतमा त पहिला पनि नाचेको थिएँ । तर खैजरी र मुजुरा बजाएर प्रत्यक्ष नाच्नु हाम्रो परम्परा रहेछ । अहिले बल्ल थाहा भयो ।” उक्त समूहमा अहिले १० जनाले नृत्य गर्ने गरेको उनले सुनाइन् । “हामी अहिले १० जना छौँ । हामीले केही भए पनि जानिसकेका छौँ”, सीमाले भनिन्, “हामीले जानेपछि पछि आउने पुस्तालाई पनि सिकाउन सजिलो हुन्छ ।”

सोही समूहमा खैजरी बजाउने अनि गीत गाउने क्याप्टेन ताराबहादुर रानामगरले लोप हुन थालेका कौराहा संस्कृति बचाउन सफल भएको बताउँछन् । “केही समयअघि त संस्कृति लोप नै हुने हो कि ? भन्ने साह्रै चिन्ता थियो”, ताराबहादुरले भने, “पछि हामीले नै हाम्रो संस्कृति जोगाउनुपर्छ भनेर लागेपछि युवायुवतीले पनि रुचि राखेर सिके । अब चाहिँ बचाउन सकिन्छ भन्ने लागेको छ ।”

कदममार्ग एकाइले जस्तै देशभरका नेपाल मगर सङ्घ अन्तर्गतका अरु समाजले पनि मौलिक कौराहा नाच्ने गरेको उनले बताए । “पोखरामा अगल–अगल जिल्लाका मगर समुदायका मानिसको बसोबास छ । त्यसैले चुनौती पनि थियो । तर हामीले आँट्यौँ”, उनले भने, “बूढापाका अनि नानीबाबुलाई बोलाएर सिक्यौँ अहिले त सजिलो भएको छ । हामीले जस्तै अरु समाजले पनि सिक्दै हुनुहुन्छ ।” पुरानो घर तनहुँ बताउने ताराबहादुरले गाउँघरको जस्तै कौराहा जोगाउन सकेकामा खुसी व्यक्त गरे । तनहुँतिरको मौलिक कौराहाको गीत उनले यसरी सम्झिए ।

‘खैजरी के को छालाको
नानी त रैछ बाजेको पालाको ।
पछ्यौरीको छेवै भिज्यो तिम्ले माया मार्दा
यो नानीको मायाले गर्दा ।।’

राष्ट्रिय मौलिक कौराहा संरक्षणका लागि समिति नै गठन गरेर काम गरिरहेको राष्ट्रिय मौलिक कौराहा संरक्षण नेपालका अध्यक्ष हर्क आलेमगरले बताए । विसं २०७३ मा स्थापना भएको समितिले सोही वर्ष मौलिक कौराहाको राष्ट्रिय सम्मेलन गरेको उनले जानकारी दिए । “स्थापनापछि हामीले दमौलीमा राष्ट्रिय सम्मेलन गर्यौँ । त्यहाँ कौराहाको पृष्ठभूमिसहित परिभाषामाथि चर्चा भयो”, अध्यक्ष आलेमगरले भने, “पृष्ठभूमिको दस्तावेजीकरणका लागि हामीले दमौली घोषणापत्र जारी गर्यौँ ।”

दमौली घोषणापत्र जारी भएपछि समूह निर्माण गरी संरक्षणका लागि विभिन्न जिल्लामा पुगेको उनले सुनाए । “यसको विकृति बढिरहेकाले मौलिकता जोगाउनुपर्छ भनेर समूह निर्माण विभिन्न जिल्लामा पुग्यौँ”, उनले भने, “जसले जस्तो किसिमले नाच्ने गाउने गरे पनि पहिला यसरी नाचिन्थ्यो भनेर मौलिकता देखाउन खोजिएको छ ।” पत्रकारिताका माध्यमबाट मौलिक कौराहा संरक्षणका लागि ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार’को स्थापना गरेको पनि उनले जानकारी दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

मौलिक तीज गीत ‘श्रीमानज्यू’ विमोचन

काठमाडौं । गायिका कविता अर्यालको तीज गीत ‘श्रीमानज्यू’ विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नारी सशक्तिकरणको भाव

चलचित्र ‘रियाल रिङ्गेट’को ट्रेलर सार्वजनिक, दिल चस्काउने दृश्यहरू

काठमाडौँ । यही श्रावण १६ गते प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।

क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने

काठमाडौं । चलचित्र ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको छ । बिहीबार काठमाडौंको गौरीघाटमा ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको हो । दीपेन्द्र के

Techie IT