Techie IT
२०८१ वैशाख ११, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जननेपाली चलचित्रले जगाएको आशा

नेपाली चलचित्रले जगाएको आशा


काठमाडौँ । नेपाली चलचित्रको बजार बढिरहेको छ । नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमा समेत विस्तार भइरहेको बजारले यसलाई उद्योगको रुपमा बलियो बनाउने विश्वास पनि बढ्दै छ ।

विशेषत डिजिटल प्रविधिमा चलचित्र निर्माण तथा प्रदर्शन हुन् थालेपछि चलचित्रको बजार विस्तार हुन थालेको हो । पहिले सेल्युलाइड प्रविधिमा रिलमार्फत चलचित्र प्रदर्शन गरिँदा उपत्यका बाहिर वा भित्रमात्र प्रदर्शन गरिन्थ्यो । अहिले नेपाल मात्र नभइ विश्वभर एकसाथ चलचित्र प्रदर्शन हुन थालेका छन् । विदेशमा प्रदर्शन अनुमतिका लागि समयमा नै जाँचपास लिने हो भने विश्वभर जहाँबाट पनि एकसाथ नेपाली चलचित्र प्रदर्शन गर्न सकिन्छ ।

सेल्युलाइडको युग

निर्माताले चलचित्रको चारदेखि पाँच रिल तयार गरेपछि प्रदर्शन गरिन्थ्यो । एउटा चलचित्र भवनबाट अर्को चलचित्र भवनमा चलचित्र प्रदर्शन गर्न समय हेरफेर गर्नुपर्ने अवस्था थियो । रिलको सङ्ख्या बढाउँदा निर्माण लागत पनि बढ्ने भएकाले सिमित रिलबाट समय हेरफेर गरेर चलचित्र प्रदर्शन गरिन्थ्यो । “त्यस समयमा काम अनुभवका आधारमा गरिन्थ्यो । छायाङ्कन गरिएका दृश्यसमेत निर्देशकले हेर्न पाउथेनन् । छायाँकारकै आँखाबाट चलचित्र हेर्नुपथ्र्यो”, चलचित्र निर्देशक सुनिल पाण्डेले भने। उनले षड्यन्त्र, ‘ए’ पण्डित बाजे, हलचललगायत चलचित्र निर्देशन गरेका छन् ।

अधिकांश चलचित्र उनले डिजिटल प्रविधिभन्दा अगाडि नै तयार गरेका हुन् । उनका अनुसार सेल्युलाइडको युग नेपाली चलचित्रका लागि सिक्ने युगका रुपमा राम्रो थियो । “हामीले निर्माण गरेका चलचित्र असफल हुँदा पनि लगानी सुरक्षित हुन्थ्यो । दर्शक चलचित्र भवनमा आउनुको कारण नै मनोरञ्जन थियो”, निर्देशक पाण्डेले भने ।

निर्देशक ज्ञानेन्द्र देउजाले त्यस समयमा दर्शकका लागि अन्य विकल्प नभएकाले चलचित्र हेर्न हलसम्म जानेको भीड देखिएको बताए । “अहिले जस्तो ओटिटी थिएनन् । दर्शकसँग यो वा त्यो भन्ने रोज्नका लागि विकल्प पनि थिएन् । दर्शक चलचित्र हेर्न चलचित्र भवनसम्म आउनुहुन्थ्यो । जति आम्दानी भए पनि लगानी भने सुरक्षित हुन्थ्यो”, उनले भने ।

रक्षक चलचित्रमार्फत निर्देशनको सुरुआत गरेका निर्देशक देउजाले गोर्खाली, दाग्बती, शहीदगेट, मुनामदन, कुरुक्षेत्र, बरमालालगायत चलचित्र निर्देशन गरेका छन् । उनका अनुसार पहिले प्रायः सबै चलचित्रका विषयवस्तु उस्तै हुन्थे । “चलचित्रको भाषमा भन्दा ‘क्लिसे’ दृश्य बढी हुन्थ्ये”, निर्देशक देउजाले भने । उनले प्रेम कथा, जमिन्दारीका विषयमा अधिकांश चलचित्र बनेका बताउनुभयो । अन्य विधा वा विषयवस्तुलाई पर्दामा ल्याउँदा जाँचपास रोकिने डर हुने भएकाले पनि प्रायः उस्तै विषयवस्तु समेटेर चलचित्र बन्ने गरेका उनको भनाइ थियो ।

निर्देशक देउजाका अनुसार पचासको दशकमा चलचित्र हेर्ने प्रचलन बढी थियो । “पचासको दशकमा फलानो कलाकार वा फलानो निर्देशक भन्ने थिएन दर्शक कथावस्तु हेर्न र मनोरञ्जन गर्न चलचित्र हेर्ने आउथे । उक्त समयमा प्रदर्शन भएका चलचित्रले एकाउन्न, पचहत्तर र सय दिन मनाउने गर्थे”, उनले भने ।

पचासको दशकमा चलचित्रले एकाउन्न, पचहत्तर र सय दिनसम्म मनाउने गरेको चलचित्रमा निर्माता एवम् निर्देशक अशोक शर्माले बताए । उनका अनुसार एउटै व्यक्ति निर्माता, निर्देशक, कलाकार, वितरक बन्ने अवस्था थियो ।

निर्माता शर्माले निर्माण गर्नुभएको ‘ट्रक ड्राइभर’ विसं २०५० चैतमा प्रदर्शन भइरहेको थियो । “म कलाकारसहित उर्लाबारीस्थित सूर्य टाकिजमा पुगेको थिए । पाँच सय सिट रहेको चलचित्र भवनमा एक हजार पाँच सय भन्दा बढी दर्शक थिए । गर्मीको महिना भएकाले बेलाबखतमा दर्शक बेहोस पनि हुने गर्थे”, निर्माता शर्माले स्मरण गरे । बेहोस् भएर हल बाहिर ल्याइएका दर्शक होसमा आउनासाथ पुनः चलचित्र हेर्न भित्र पस्ने उनले अनुभव सुनाए । “दर्शक टिकट काटेर हलमा पुगेपछि चलचित्र नसकिदासम्म घर जादैनथे”, उनले भने, “त्यो समयमा कलाकारिता गर्न सक्नेलाई रोल दिने चलन थियो । हामी ५१औँ दिन भन्दाबढी भएपछि दर्शकसँग भेटघाट गर्थयौँं ।”

डिजिटल प्रविधि

अहिले चलचित्र निर्माण (पोष्ट प्रोडक्सन), छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गर्दछ । नेपालमा ‘डिजिटल यात्रा’ को सुरुवात भूषण दाहालले निर्देशन गरेको ‘कागबेनी’ र आलोक नेम्वाङले निर्देशन गर्नुभएको ‘सानो संसार’ बाट भएको हो ।

सन् २००७ मा क्वेष्ट इन्टरटेनमेन्टले निर्माण गरेका यी दुई चलचित्रसँगै डिजिटल प्रविधि भित्रिएको र निर्माण सहज, व्यवस्थित तथा व्यावसायिक भएको निर्देशक, निर्माताको भनाइ छ । डिजिटल प्रविधिले एउटै समयमा देशभर चलचित्र प्रदर्शन गर्न सक्ने गरी नयाँ युगमा प्रवेश ग¥यो । “पहिले मोफसलमा प्रदर्शन भएर पुरानो भइसकेका रिल काठमाडौँमा प्रदर्शन गरिन्थ्यो । रिल कोरिएको, प्वाल परेको, टाँसिएकोलगायत बिग्रिएको अवस्थामा काठमाडौँ भित्रिने हुँदा सहरिया दर्शकलाई आकर्षण गर्न सकेको थिएन्”, वितरक करण श्रेष्ठले भने । डिजिटल प्रविधिसँगै एकसाथ देशभरका हलमा चलचित्र प्रदर्शन हुन् थालेपछि निर्माता तथा निर्देशकमा उत्साह थपिएको उनको भनाइ थियो ।

“त्यो समयमा पाइरेसीको समस्या पनि देखिने गथ्र्यो । तर एकसाथ प्रदर्शन हुन् थालेपछि त्यो हरायो । एउटै चलचित्रको प्रदर्शनलाई निर्माताले धेरै समय दिनु परेन”, वितरक श्रेष्ठले भने, “काठमाडौँमा प्रदर्शनको लागि पालो पर्खिनुपथ्र्यो । लामो समय पर्खिएर पालो पाइने भएकाले पनि कतिपय चलचित्रका विषयवस्तु समयानुकूल थिएनन् ।”

नेपालमा गणतन्त्र स्थापना भएपछि नेपाल चलचित्र क्षेत्रमा डिजिटल प्रविधिले फड्को मारेको नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले बताए । “प्रविधिकै सहजताले नयाँ विचार र सोच भएका निर्देशकको आगमन भयो । लूट, छक्का पञ्जा, कबड्डीलगायत चलचित्र डिजिटल प्रविधिको विकासले मात्रै सम्भव भएको हो । डिजिटल प्रविधि र यसका सकारात्मक पक्षका कारण लगानीकर्ता भेटिएका हुन्”, उनले भने । अध्यक्ष पराजुलीका अनुसार चलचित्र प्रदर्शनमा एचडी हुँदै फोरकेसम्मको प्रविधि, ध्वनीमा आधुनिक प्रविधि र रङ्ग संयोजनजस्ता गतिविधीले नेपाली चलचित्रलाई विदेशीस्तरका चलचित्र बराबर बनाएको छ ।

नयाँ र आधुनिक प्रविधिको प्रयोगका कारण प्रदर्शन लागत घट्नुका साथै समयको बचत हुने भएकाले चलचित्र निर्माताको सङ्ख्या बढेको नेपाल चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जनले बताउनुभयो । प्रदर्शकसँगै निर्माण र वितरणसमेत रहनुभएका महर्जनले प्रविधिको रुपान्तरणले चलायमान बनाउन मद्दत गरेको बताए । “गणतन्त्र नेपाल भएपछि चलचित्रमा द्वन्द्वको विषयले पनि स्थान पाएका छन् । निर्माताका साथै चलचित्रको सङ्ख्या पनि पहिलेको तुलनामा बढेको छ । प्रविधिले चलचित्र निर्माणदेखि प्रदर्शनसम्म सहजता थपेको छ”, उनले भने ।

एकै किसिमका चलचित्र हेरिरहेका दर्शकलाई फरक विषय र शैलीका चलचित्रले हलसम्म ल्याउन सफल भएको महासचिव महर्जनको भनाइ थियो । निर्माणसँगै चलचित्र भवनमा देखिएको सेवा सुविधा र आधुनिकता पनि त्यसको कारण बनेको उनको बुझाइ छ । “मल्टिप्लेक्सको लहरले सेवा सुविधा थपियो । विश्वभर झैँ नेपालमा पनि सोही मितिमा चलचित्र प्रदर्शन हुन् थाले । यसले आकर्षण बढायो”, उनले भने ।

चलचित्रको निर्माण

प्रविधिको विकाससँगै पछिल्लो समय चलचित्र निर्माणमा नयाँ र जनचासोका विविध विषयले स्थान पाएका छन् । देशमा भइरहेका परिवर्तनले दिएका विषयवस्तु तथा उक्त परिवर्तनसँगै भित्रिएका आधुनिक प्रविधिले दिएको सहजताका कारण अहिले चलचित्रलाई समाजसँग जोड्ने गरिएको निर्देशक खिन्से नोर्बुले बताए । “निर्माण गरिने पात्र र विषय समाजको वरिपरि हुन्छन । चलचित्रमा ‘हिरो’ भनिने पात्र आम दर्शक कै वरिपरि रहने भएकाले अहिले नेपाली चलचित्र उद्योगले पनि हलिउड जस्ता ठूला उद्योगले जस्तै विषयवस्तु प्रस्तुत गर्न सकेका छन्”, उनले भने । चलचित्र भन्ने वित्तिकै हामीले झट्ट सोच्ने व्यक्तिका कारणले निर्माता, निर्देशकलाई अभ्यस्त बनाएको निर्देशक नोर्बुको भनाइ थियो । एउटा हिरो, हिरोइन, भिलने, गीत र द्वन्द्व सोच्ने शैली विकसित गर्नुमा हलिउड र बलिउड कारक भएको उनले बताए ।

“पचासको दशकमा फरक किसिमका चलचित्रले प्रदर्शनमा सहजता पाउथेनन् । गीत, द्वन्द्व र काल्पनीक कथा भएका चलचित्र दर्शकको रोजाइमा पर्थे । दर्शक फेरिएपछि चलचित्रको निर्माण फेरियो”, निर्देशक पाण्डेले भने । उनका अनुसार नेपाली चलचित्रको बजार अहिले बढेको छ । ‘कबड्डी ४ः द फाइनल म्याच’ ले घरेलु बजारमा रू तेइस करोडको व्यापार गरेको निर्देशक पाण्डेले जानकारी दिए । छक्कापञ्जा शृङ्खला, जात्रा शृङ्खलाको बजार पनि उस्तै रहेको उनको भनाइ थियो ।

मौलिक विषयवस्तुले चलचित्रमा स्थान पाएसँगै निर्माण शैलीमा परिवर्तन आएको निर्देशक प्रदीप भट्टराईले बताए । “पर्दामा हाम्रो मौलिकता र संस्कृतिले स्थान पाएका छन् । हामीसँग भएको कथालाई पर्दामा उतार्न पाएका छौँ । राम्रा भनिने चलचित्रले स्वदेशी बजारको मात्रै भरपर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । चलचित्र राम्रो बनाउन सके व्यावसायिक रूपमा विदेशमा पनि प्रदर्शन गर्न सकिन्छ”, उनले भने ।

आधुनिक चलचित्र भवन

आधुनिक प्रविधि र नयाँ विषयवस्तुले स्थान पाउन थालेपछि अहिले चलचित्र हेराइको शैली पनि फेरिएको छ । एउटा मात्रै चलचित्र भवनमा भिडभाडका बीच चलचित्र हेर्ने शैली बद्लिएर अहिले दर्शकको रोजाइमा सुविधा सम्पन्न चलचित्र भवन पर्न थालेका छन् । अहिले चलचित्र निर्माणसँगै प्रदर्शनमा समेत आधुनिकता देखिएको छ । सहरमात्र नभइ गाउँमासमेत पुराना चलचित्र भवनलाई विस्थापित गर्दै आधुनिक प्रविधिका चलचित्र भवन सञ्चालनमा छन् ।

प्रदर्शकको छाता सङ्गठन चलचित्र सङ्घका महासचिव महर्जनले पुराना शैलीका चलचित्र भवन लगभग विस्थापित भएको बताउनुभयो । “अहिले सानो क्षमताको भए पनि आधुनिक प्रविधि र सुविधा भएका चलचित्र भवन गाउँमासमेत खोज्न थलिएको छ । त्यहीँ कारण पुराना बन्द वा नयाँ शैलीमा सुरु भएका छन्”, उनले भने । उनका अनुसार दसैँ अगाडि नै काठमाडौँ र मोफसलमा केही चलचित्र भवन थपिँदै छन् ।

चलचित्र प्रदर्शन ‘थ्री डी’सम्मको प्रविधि प्रयोग गरेर गरिन्छ । विश्वभर पछिल्लो समय लोकप्रिय भइरहेको ‘आईम्याक्स’ प्रविधि भने अहिले नेपालमा भित्रिने सम्भावना कम रहेको महासचिव महर्जनले बताए । “आर्थिक लगायत कम र आइम्याक्समा चाहिने दर्शक सङ्ख्या अभावका कारण उक्त प्रविधि नेपालमा आउन समय लाग्छ । अहिले भइरहेको आधुनिक प्रविधिलाई प्रत्येक सहरमा पु¥याउने तर्फ हामी केन्द्रीत छौँ”, उनले भने ।

नेपालमा ‘ओटिटी’

कोरोना महामारीका कारण बन्दाबन्दी भएको समयमा नेपाल ओटिटी (ओभर द टप) प्रतिको आकर्षण बढ्यो । ओटिटीमा चलचित्र रिलिज तथा नयाँ–नयाँ शृङ्खला प्रदर्शन हुन थालेपछि नेपालमा पनि यसका प्रयोगकर्ता उल्लेख्य रुपमा बढेका छन् । सो समयमा विश्व बजारमा स्थापित नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्नेप्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायत ‘ओटिटी प्लेटफर्म’ले नेपाली दर्शकलाई राम्रोसँग आकर्षित गर्न सफल भएका छन् । विदेशी ‘एप’मा दर्शक झुमिँदा सोही प्रकृतिका नेपाली एपहरु आइफ्लिक्स, भिडियो पसल, सिनेमा घरले दर्शक पाएनन् ।

नेपाल राष्ट्र बैंकले वार्षिक पाँच सय डलरसम्म खर्च गर्न मिल्नेगरी डलरकार्ड उपलब्ध गराए पनि विदेशी एपमा दर्शक बढ्दै गएका छन् । आइफ्लिक्स र चलचित्र टिभीले सफलता नपाएपछि बन्द नै भए । नेपालमा सन् २०१६ देखि सुरू भएको ‘एप सिनेमा घर’ले सदस्यता (सब्सक्रिप्सन)को सुविधा हटाएर चलचित्र अनुसार भुक्तानी गरेर हेर्न मिल्ने बनाएको कम्पनीका अध्यक्ष खगेन्द्र लामिछानेले जानकारी दिए। उनले भने, “नयाँ सामग्री आउँदा दर्शक बढ्छन्, अन्य समयमा पनि थपघट भइरहन्छ । अब भने आफ्नै सामाग्री (कन्टेन्ट) ल्याउने तयारीमा छौँ ।”

आइफ्लिक्स र भिडियो पसल सञ्चालन गरिरहनुभएका ओमप्रकाश अग्रवालले पाइरेसीको समस्याले ओटिटीमा चलचित्र राख्न जोखिम रहेको बताउनुभयो । “पाइरेसी गर्नेलाई कडा कारबाही नभएसम्म कन्टेन्ट सुरक्षित हुँदैनन् । यससम्बन्धी साक्षरता बढाउनु आवश्य छ”, उनले भने । पछिल्लो समय नेपालमा युट्युबको लोकप्रियता पनि बढेको छ । अग्रवालले सञ्चालन गरिरहेका ओएसआर डिजिटलमा चलचित्र धेरै छन् । निःशुल्क नभइ शःशुल्क चलचित्र हेर्ने शैलीको विकास गर्नु आवश्यक रहेको उनले बताए । “नेपाली चलचित्र निर्माणमा देखिएका भिन्नता, पछिल्लो समय प्रस्तुत गरिने विषयवस्तुलगायत नयाँ प्रविधिकाबारेमा हामीले युट्युबमार्फत प्रचार गर्न सफल भयौँ । निःशुल्क दर्शक बढे । भ्यूज पनि पाइयो”, अग्रवालले भने । यसलाई नै अन्तिम मान्न नहुने भन्दै विश्वबजारमा जस्तै हामी पनि ओटिटी प्रविधिमा बलियो बन्नुपर्नेमा उनले जोड दिए ।

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार

पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभइ विदेशी बजारबाट मुनाफा प्राप्त गर्न थालेका छन् । नेपालमा राम्रो भनिएका र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले पनि हेर्न थालेपछि नेपाली चलचित्र बजार विस्तार भइरहेको छ । मौलिक कथा र कलात्मक प्रस्तुति रहेको नेपाली चलचित्रका लागि अष्ट्रेलिया, अमेरिका, जापान, बेलायतलगायत देशमा बजार बनिरहेको छ । कुनै समय रेस्टुराँ वा सामुदायिक भवनमा प्रदर्शन हुने ती चलचित्र अहिले हलमै दर्शकले हेर्न पाउँछन् ।

दर्शकले व्यक्तिगत रूपमा हल बुक गरेर चलचित्रको प्रदर्शनी गर्ने शैलीमा परिवर्तन आएको अमेरिकामा नेपाली चलचित्र प्रदर्शन गर्ने कम्पनी नेपाल इलाभेन इन्टरटेनमेन्ट एलएलसीका निर्देशक प्रतीक सुवेदीले बताए । व्यक्तिगत सोका रूपमा केही घन्टाका लागि चलचित्र भवन भाडामा लिएर देखाइने चलचित्र हेर्न तिर्नुपर्ने शुल्क बक्स अफिसमा टिकट काटेर हेरिएका भन्दा महँगो पर्ने उहाँले जानकारी दिए ।

“बुक गरेर प्रदर्शन गर्दा पर्ने शुल्क झन्डै सामान्यको तुलनामा दोब्बर हुन्छ । यसको सम्पूर्ण व्यवस्थापन प्रदर्शक स्वयंले गर्नुपर्छ । बक्स अफिसमा प्रदर्शन गर्दा हामीलाई त्यो झन्झट हुँदैन”, उनले भने । ‘प्रेम गीत ३’, ‘महापुरुष’, ‘जारी’ लगायत चलचित्र नियमितरूपमै प्रदर्शन भएपछि अन्यलाई पनि हौसला मिलेको निर्देशक सुवेदीले बताए ।

नेपाली चलचित्र अहिले अन्य भाषामा स्वराङ्कन भएर समेत विदेशमा प्रदर्शन हुन् थालेका छन् । स्वदेशी र विदेशी बजारको मूल्याङ्कन गर्ने हो भने चालिस करोडसम्मको कारोबार नेपाली चलचित्रले गरिसकेका छन् । बेलाबखतमा चलचित्रकर्मीले उठाउने ‘चलचित्र ऐन र कार्यविधि’को विषयले पूर्णता पाए नेपाली चलचित्रको लागि अबको समय ‘स्वर्णीम’ हुने चलचित्र क्षेत्रसँग सम्बन्धित व्यक्तिको भनाइ छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

‘द रेड सुटकेस’ वैदेशिक रोजगारको अन्त्यको क्रान्ति होः श्रममन्त्री अर्याल

काठमाडौँ । नयाँ वर्षको अवसर पारेर ३० चैतबाट प्रदर्शनमा आएको चलचित्र ‘द रेड सुटकेस’ले यतिबेला दर्शकले रुचाएका छन् । यो

इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेशपायल

काठमाडौँ । नेपालीमा उखानै छ, ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’ । कवि लक्षित यो भनाइलाई सार मान्दै ‘जहाँ नेपाली,

१०८ जनाको स्वर रहेको ‘बुद्धम् शरणम् गच्छामी’ सार्वजनिक

काठमाडौँ । नेपालका १०८ जना गायक गायिकाहरुको स्वरमा रेडर्क गरिएको श्लोक राखिएको ‘त्रिशरण गमनम्’ एल्बममा काठमाडौँमा सार्वजनिक गरिएको छ ।

Techie IT