Techie IT
२०८० चैत्र १६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनगणतन्त्र दिवसः पर्दामा कम देखिन्छन् ऐतिहासिक कथा

गणतन्त्र दिवसः पर्दामा कम देखिन्छन् ऐतिहासिक कथा


काठमाडौँ । चलचित्रबाट देशको संस्कृति, भाषा र साहित्यसँगै पर्यटन क्षेत्र पनि प्रवर्द्धनमा मद्दत पुग्छ । दर्शकलाई सजिलै पात्र र कथावस्तुको वातावरणसँग जोड्न सक्नु निर्देशकको खुबी हो । पात्रसँग दर्शक ‘कनेक्ट’ भएपछि त्यसको प्रभाव बाहिर पनि पर्छ । अर्थात् अभिनेता वा अभिनेत्री विविध पहिरन लगाउने, खानेकुरा खाने र समाजमा आफ्नो विचार प्रस्तुत गर्ने काम पनि चलचित्रमा हुने भएकाले यसलाई समयको दस्तावेजका रूपमा समेत बुझ्ने गरिन्छ ।

अहिले निर्माण भइरहेका चलचित्रमा परिस्थितिसँगै वेषभूषा र त्यो समयको पनि चित्रण गरिएको हुन्छ । विदेशमा विगतमा भएका घटनाक्रमलाई लिएर चलचित्र निर्माण गर्ने प्रचलन बढ्दो छ । कुनै समय वा घटनालाई लिएर बनाइने ती चलचित्र त्यो समयलाई अहिलेको पुस्तासम्म पुर्याउनुका साथै इतिहासका लागि दस्तावेजको कामसमेत गर्छ । तर नेपालमा भने त्यस्ता कथामा कमै चलचित्र बन्ने गरेका छन् । सीमित बनेका चलचित्रले दर्शकको साथ नपाएको यथार्थ छ ।

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरको ऐतिहासिक लडाइँमा आधारित रहेर बनेको चलचित्र ‘नालापानी’ गत वर्ष प्रदर्शन भयो । निर्माता तथा निर्देशक रिमेश अधिकारीले यो चलचित्रको सार्वजनिक प्रदर्शनको समयमा निर्माणका लागि नौ वर्ष खर्चिएको दाबी गरेका थिए ।

तर चलचित्रले न समीक्षा राम्रो पायो, न दर्शक नै । अर्थात् असफल भयो । “नेपालमा ऐतिहासिक विषयवस्तुमा बनेको चलचित्रलाई प्रोत्साहन वा प्रवर्द्धन गर्ने नीति नै छैन । हाम्रो कथा देखाउन कसैको साथ नपाउँदा लगानीसमेत सुरक्षित हुँदैन”, निर्देशक अधिकारीले भने, “चलचित्रको विकासका लागि विभिन्न संस्था खुले पनि निर्मातालाई प्रोत्साहन गरिदिने र सहज महसुस गराउने कुनै निकाय छैन । ठूलो लगानी चाहिने यस्ता चलचित्र एक्लो निर्माताको प्रयासले सम्भव हुँदैन ।”

उनी पुनः ऐतिहासिक विषय रहेको ‘कोत पर्व’ शीर्षकमा चलचित्र निर्माण गर्ने तयारीमा छन् । नामले नै विषयवस्तु प्रस्ट्याउने चलचित्र निर्माण गरेर दर्शकसम्म ल्याउन उनलाई सहज छैन । किनकि यस्ता विषयमा निर्माण लागत र समयको चित्रण खर्चिलो हुन जान्छ ।

विसं २०५४ मा निर्देशक किशोर रानामगरले लिगलिगका मगर राजाले छिमेकी राजासँग गरेको लडाइँमा आधारित रहेर चलचित्र ‘सीमारेखा’ निर्माण गर्नुभएको थियो । यसले भने व्यावसायिक सफलता समेत पाएको थियो । त्यसयता भने लामो समय ऐतिहासिक कथालाई पर्दामा ल्याउने आँट नेपाली निर्माता तथा निर्देशकले गरेका थिएनन् । तर पछिल्लो समय यो क्रम बढेता पनि लगातार असफलता प्राप्त भइरहेको छ ।

‘नालापानी’ भन्दा अगाडि प्रदर्शन भएको तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा कीर्तिपुरमा गरेको आक्रमणलाई लिएर बनाइएको चलचित्र ‘कीर्तिपुरः द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ पनि सफल हुन सकेन ।

वितरक करण श्रेष्ठले व्यावसायिकरूपमै यस्ता चलचित्र तयार गरिनुपर्नेमा जोड दिए । “कलात्मकरूपमा अब्बल रहँदै बन्ने त्यस्ता चलचित्रलाई व्यावसायिकरूपमा तयार गर्नु नै चुनौती रहेको छ । ऐतिहासिक घटनाक्रम समेटिएको पछिल्लो केही चलचित्रमा स्थापित अनुहार नदेखिनु दुःखद् हो”, वितरक करण श्रेष्ठले भने ।

त्यसो त नेपालमा अहिले कथालाई दर्शकसम्म पुर्याउन कलाकारको साथ आवश्यक देखिने गरेको छ । स्थापित निर्देशक नै कलात्मक चलचित्रमा समेत परिचित अनुहार नै रोज्ने गर्दछन् । अर्थात् अभिनय क्षमतासँगै बजारको माग पनि कारण बन्ने गरेका छन् ।

परिचित अनुहारलाई अभिनय गराउँदा प्रचार–प्रसारमा सहयोग पुग्ने निर्देशक ज्ञानेन्द्र देउजाले बताए । “हामीलाई चाहिने पात्र सुहाउँदो कलाकार हो । यद्यपि कहिलेकाहीँ बजारले समेत हामीलाई निर्देशन गर्छ”, निर्देशक देउजाले भने । ऐतिहासिक घटनाक्रममा चलचित्र निर्माण कमी हुनुमा लगानीकर्ता र त्यसलाई प्रस्तुत गर्न चाहिने बजेट र चलचित्रको बजारलाई उनले कारक देखेका रहेछन् ।

“भारतमा केही समयदेखि उनीहरूले आफ्ना घटनाक्रमलाई पर्दामा ल्याइरहेका छन् । ती चलचित्रमा पहिलेको तुलनामा दर्शक पनि बढेका छन् । तर त्यहाँ बजार र लगानीकर्ता दुवै छन् । हामीले सीमित स्रोत साधनमा काम गर्नुपर्छ”, निर्देशक देउजाले भने । उनले कृतिमा आधारित चलचित्र ‘मुना मदन’ र ‘झिङ्गेदाउँ’ निर्देशन गरेका छन् ।

नेपालमा कृति र ऐतिहासिक घटनाक्रमबाट चलचित्र बन्ने क्रम विस्तारै बढे पनि त्यस्ता चलचित्रले व्यावसायिक सफलता नपाउँदा सोचेजस्तो सङ्ख्यामा बन्न सकेको छैन । साथै बितेको समयलाई पर्दामा देखाउन सहज नरहेको निर्देशक मिलन चाम्सले बताए । गोर्खालीको वीरगाथालाई पर्दामा ल्याउन उनले केही समययता सङ्घर्ष गरिरहेका छन् ।

उनको निर्माण तथा निर्देशन ‘गोर्खा वारियर’ तयार भइरहेको छ । छायाङ्कन र प्रदर्शन दुवैमा उस्तै सङ्घर्ष गर्नुपरेको उनले बताए । “छायाङ्कनमै तीन वर्षभन्दा बढी समय खर्चिएँ, प्राविधिक कार्यका लागि नेपालदेखि भारतसम्मका प्राविधिको प्रयोग गरेको छु”, उनले भने ।

आफैँ पूर्वगोर्खा सैनिक रहेका निर्देशक चाम्सले १० वर्ष अगाडिदेखि नै गोर्खालीको वीरताको कथालाई पर्दामा उतार्ने प्रयास गरिरहेका रहेछन् । तर आफैँ नयाँ भएकाले त्यो आँट गरेनन् । चलचित्रमा गोर्खालीले लडेको ‘मलाया युद्ध’लाई देखाइएको छ । गोर्खाली सैनिक जङ्गल युद्धमा अन्य भन्दा राम्रो मानिने भएकाले पनि यो कथा रोजेको उनले जानकारी दिए ।

“गोर्खालीसँग जङ्गल युद्धमा अरु सेनाले आट्ने काम नै गर्दैनन् । साथै जङ्गल युद्ध देखाउँदा हाम्रो बजेटले पनि साथ दिने भएकाले यहीँ कथा रोजेका हौँ”, निर्देशक चाम्सले भने ।

भूतपूर्व गोर्खालीसँगै अहिले सेवामा रहेकासम्मलाई भेटेर मलाया युद्धको बारेमा बुझी कथा तयार गरेपछि चलचित्रमा त्यो समयलाई पर्दामा देखाउन भने निकै सकस भएको अनुभव छ, निर्देशक चाम्ससँग । सम्बन्धित निकायबाट सङ्ग्रहालयमा भएका पुराना सामान नपाउँदा आजभन्दा ८० वर्ष अगाडिको समय देखाउन चुनौती नै थियो ।

“बेलायत र भारतबाट केही सामग्री पाए पनि त्यो पर्याप्त थिएन । मलाई समान जुटाउन नै एक वर्ष लाग्यो”, निर्देशक चाम्सले भने । यसको छायाङ्कन १८ दिन मलेसिया र ५० दिन सिन्धुलीमा गरिएको छ । देशले गर्व गर्न सक्ने कथालाई पर्दासम्म ल्याउने क्रममा नीतिगतसँगै संस्थागत सहयोगको आवश्यकता निर्देशक चाम्सले बताए । “व्यावसायिक चलचित्रमा लगानी गर्ने जति पनि पाइन्छ तर जोखिमयुक्त ऐतिहासिक विषयमा लगानी गर्ने लगानीकर्ता पाउन गाह्रो छ । त्यसैले यस विषयमा सम्बन्धित सङ्घसंस्थासँगै राज्यले समेत सोच्नुपर्छ”, उनले भने ।

बेलायतको लण्डनको लिसेस्ट स्क्वायरस्थित आइम्याक्स प्रविधिजडित सिनेवल्र्डमा निर्देशक चाम्सले ‘गोर्खा वारियर’को प्रिमियर गर्दै छन् । भदौ २४ अर्थात् १० सेप्टेम्बरमा हुने प्रिमियरमार्फत विश्वभर नेपाली चलचित्र र वीरताको गाथा गुञ्जिने विश्वास उनको छ ।

“पूर्वसैनिक भएकाले पनि यो मेरो लागि चलचित्र मात्र होइन । यसको सफलताले हामीलाई आगामी दिनमा यस्तो चलचित्र निर्माण गर्न प्रेरित गर्नेछ । साथै नेपाली चलचित्र विश्वलाई देखाउने सपना छ”, निर्देशक चाम्सले भने ।

नेपालमा ऐतिहासिक घटनाक्रमलाई आधार बनाएर निर्माण गरिने चलचित्रमा लागत समस्या बन्ने गरेको छ । कम लागतमा महत्वपूर्ण विषयलाई पर्दामा महसुस गर्न नसक्दा दर्शकको उपस्थिति चलचित्र भवनमा कम देखिन्छ । यस्ता चलचित्रको आगामी बाटो तय गर्ने सङ्केत ‘गोर्खा वारियर’को सफलता वा असफलताले दिनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

२०८१ माघ ११ मा चलचित्र ‘अञ्जिला’ रिलिज हुने

काठमाडौं। महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको नेपाली चलचित्र ‘अञ्जिला’को रिलिज मिति तय

दश सहरमा सिनेमा साक्षरता अभियान सञ्चालन गर्दै अस्कर कलेज

काठमाडौँ । विगत दुई दशकदेखि नेपालमा सिनेमा शिक्षा प्रदान गरिरहेको अस्कर कलेजले देशव्यापी ‘सिनेमा साक्षरता अभियान’ सञ्चालन गर्ने भएको छ।

पहिलो नेपाली एनिमेटेड फिल्म ‘सलिना’को ट्रेलर सार्वजनिक

काठमाडौंँ । फिल्म ‘सलीना’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मको कथा केही बुझाउने गरेर एनिमेटेड पात्रहरुलाई प्रस्तुत गरिएको

‘बोक्सीको घर’को फर्ष्ट लुक्समा केकीकाे यो रूप

काठमाडौँ । आगामी २०८१ वैशाख १४ गतेबाट रिलिज हुने चलचित्र ‘बोक्सीको घर’को ‘बोक्सी लुक्स’ सार्वजनिक गरिएको छ । ‘बोक्सी लुक्स’मा

१० वटा आदिवासी जनजाति चलचित्र हल निर्माण गर्न आवश्यक छः…

काठमाडौँ । चलचित्र निर्माता एवं निर्देशक मिलन चाम्सले चलचित्रले राम्रो व्यापार गर्न नसकेसम्म राम्रा चलचित्र बन्न कठिन रहेको बताएका छन्

‘बलिदान’बाट समीर भट्टको डेब्यु हुने पक्का, चलचित्रमा हुनेछ प्रमुख भूमिका

काठमाडौं। निर्माणाधीन नेपाली चलचित्र ‘बलिदान’बाट अभिनेताको रूपमा समीर भट्टले डेब्यु गर्ने भएका छन् । यस मेगा प्रोजेक्टको निर्माण कम्पनी आसुसेन

Techie IT