काठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् ।
हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको आमा पद्मा र बहिनी पुष्पासँग मंगलबार भेट गर्दै प्रधानमन्त्री नेतान्याहुले विपिनको रिहाईका लागि आफ्नो सरकारले कुनै कसर बाँकी नराख्ने आश्वासन दिएका छन् ।
भेटका क्रममा इजरायली प्रधानमन्त्री नेतान्याहुले नेपालको सबै मुलुकसँगको सुमधुर सम्बन्धको उपयोग गर्दै विपिनको रिहाईका लागि प्रयास गर्न सुझाव पनि दिएका छन् । केही अरब मुलुकको हमाससँग सम्बन्ध रहेको र ती मुलुकसँग नेपालको सुमधुर सम्बन्धको स्मरण गराउँदै नेतान्याहुले यस्तो सुझाव दिएका हुन् ।
नेतान्याहुसँगको भेटका क्रममा इजरायलका लागि नेपाली राजदूत प्रा. धनप्रसाद पण्डितका साथै विपिनकी आमा पद्मा र बहिनी पुष्पा सहभागी थिए । नेतान्याहुसँगको भेटका क्रममा पद्मा छोरा विपिनको तस्बिरसहित पुगेकी थिइन् ।
विपिनका आमा र बहिनी इजरायल सरकारको पहलमा इजरायल पुगेका हुन् ।