Techie IT
२०८२ साउन ३, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालपाँचखाल खानेपानी आयोजनाः सात हजार घरमा पानी पुर्याइने

पाँचखाल खानेपानी आयोजनाः सात हजार घरमा पानी पुर्याइने


पाँचखाल । सात हजारलाई खानेपानी पुर्याउने लक्ष्यकासाथ सुरु गरिएको पाँचखाल बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजना थपिएको निर्धारित समयमा सम्पन्न गर्न निर्माणका कामलाई तीव्रगति दिइएको छ । विविध कारण आयोजनाको समायावधि एक वर्ष थपिएपछि आउँदो पुस महिनाभित्र नगरका सात हजार घरमा खानेपानी पुर्याउने लक्ष्य लिइएको जनाइएको छ ।

विसं २०७६ भदौ १२ गते सम्झौता गरिएको परियोजनाको २०७९ पुस महिनाभित्र सक्नुपर्ने गरी सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता गरिए पनि कोरोना महामारीलगायत सामग्री अभाव तथा विविध कारणले एक वर्ष समयावधि थपिएको हो । सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा २०७९ सालभित्र पाँचखाल सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम सक्नेसमेत उल्लेख गरिए पनि आयोजना लम्बिएको हो ।

नगरको १३ मध्ये १० वटा वडाका लागि उक्त खानेपानी आयोजना सञ्चालनार्थ रु एक अर्ब ३४ करोड ६६ लाखमा हुवाइ कन्काई जेभिसँग सम्झौता भएको थियो । आयोजना सम्झौताको शर्तानुसार कुल योजनाको पाँच प्रतिशत अर्थात् रु ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गरिसकेका छन् । जसअनुसार प्रतिउपभोक्ता परिवारले खानेपानी परियोजनाको बैंक खातामा रु १८ हजार जम्मा गरेका छन् ।

हाल खोनेपानी आयोजनाको काम ८५ प्रतिशत सकिएको जनाउँदै केही स्थानमा पानी परीक्षणसमेत गरिएको छ । परीक्षणबाट मुहानमा लगातार चार पम्प प्रयोग गरी चार कलेक्टर वेलबाट सङ्कलन भएर दुईवटा सम्वेलमा जम्मा भएको पानी २४ घण्टा तान्दा पानीको सतहबाट ८० सेन्टिमिटरमात्रै घटेको पाइएको उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले बताए ।

उनका अनुसार योजना प्रारम्भिक लक्ष्यअनुसार प्रतिसेकेन्ड ८४ लिटर पानी तान्न सफल भएको छ । प्रतिघण्टा तीन लाख दुई हजार चार सय पानी तान्न सहज ढङ्गबाट सकिने भएको छ । यस्तै दैनिक लगातार २० घण्टा पानी तान्दा ६० लाख ४८ हजार लिटर पानी उपभोग गर्न सकिने भएको हो ।

योजना लागू भएको क्षेत्रमा हाल छ हजार ३७ धारा जडान हुने भएको छ । हालको अवस्थामा प्रतिधारा दैनिक एक हजार एक लिटर पानी आउने छ । जसमध्ये दैनिक प्रतिव्यक्ति एक सय ९२ दशमलव पाँच लिटर पानी दैनिक उपभोग गर्न पाउने प्रक्षेपण गरिएको छ ।

समिति अध्यक्ष लामिछानेले आयोजनामा हाल दैनिक एक सय ३० जना कामदार खटिरहेको बताउनुभयो । आयोजनाका सुपरभाइजर इन्द्रमानसिं बस्नेतका अनुसार आयोजनामा कलेक्टर–वेल चार, सम्प–वेल दुई, भुई ट्याङ्की १६, ब्रेक प्रेसर ट्याङकी छ, पानी प्रशोधन प्लान्ट (फ्लोकुलेटर दुई, प्लेन सेडिमेन्टेसन ट्याङ्की दुई, ¥यापिड–स्याण्ड फिल्टर एक), प्रसारण लाइन नौ दशमलव १३ किलोमिटर, शाखा प्रसारण लाइन ३७ दशमलव २३ किलोमिटर, वितरण लाइन एक सय ८९ दशमलव तीन किलोमिटर, कार्यालय भवन एक, गार्ड भवन १७, जेनेरेटर भवन पाँच, फायरहाइड्रेन्ट २०, इलेक्ट्रिकल तथा इलेक्ट्रोमेकानिकल कार्य तथा अन्य सम्बन्धित कार्य, सरसफाइका संरचना तथा आवश्यक शौचालय निर्माणका काम अन्तिम चरणमा पुगेका छन् ।

पाँचखाल नगरमा खानेपानी व्यवस्थापनका लागि भुम्लु गाउँपालिका–१० विमिरेस्थित सुनकोसी नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधिका भौतिक पूर्वाधार निर्माणसँगै ढलान तथा ग्राभेल गरी सडक पुर्याउने काम भइसकेको छ ।

यस्तै हाल मूल र रिजर्भ ट्याङ्कीसम्म पहुँचमार्गको काम भइरहेको छ भने करिब चार हजार घरमा धारा जडानकार्य सकिएको लामछिानेले बताए । उनका अनुसार कोरोना सङ्क्रमणका लहर तथा गत असार–साउनमा सुनकोसी नदीको बाढीले मुहान क्षेत्रका संरचनामा क्षति पुर्याएका कारण पनि आयोजनाको काम केही धकेलिएको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ दाना स्थित रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै गएको छ । चिन र

दोषी ठहर भएर फरार रहेका ३१ जना प्रतिवादी पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा विभिन्न घटनामा दोषी ठहर भएर फरार रहेका ३१ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । अर्घाखाँचीका

पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा ३ करोड ११ लाख भेटी…

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा एक वर्षको अवधिमा ३ करोड ११ लाख बढी भेटी सङ्कलन भएको छ ।

भृकुटी कागज कारखाना १४ वर्षदेखि पूर्णरुपमा बन्द

नवलपरासी । नवलपरासीको गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना विगत १४ वर्षदेखि पूर्णरुपमा बन्द हुँदा कारखानाका भवनहरु भत्किएर भग्नावशेषमा परिणत हुँदै

पर्वतमा धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै

पर्वत । पर्वतका धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै गएको छ । विगत पाँच वर्ष यता धान खेती हुने क्षेत्रफल

मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जना पक्राउ

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ

Techie IT