Techie IT
२०८२ साउन ३२, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालसामुदायिक विद्यालयका विद्यार्थी लिन घर–घरमै गाडी

सामुदायिक विद्यालयका विद्यार्थी लिन घर–घरमै गाडी


ढोरपाटन । बागलुङको गलकोट क्षेत्रबाट दिनदिनै विदेश जानेको सङ्ख्या बढ्दो छ । युवा जनशक्ति विदेश पलायन भएपछि यहाँका ग्रामीण क्षेत्र सुनसान बन्दै गएका छन् ।

खेतीयोग्य जमिन वनमाराले ढाकिन थालेका छन् भने विद्यालय रित्तिदै गएका छन् । सुनसान गाउँका विद्यालयमा रित्तिन थालेपछि गलकोट नगरपालिकाले विद्यालय समायोजन तथा तह मिलान गरिरहेको छ । हाँस्दै, खेल्दै र रमाउँदै नजिकको विद्यालय जाने बालबालिका अहिले टाढा जान बाध्य भएका छन् ।

तह मिलान र विद्यालय समायोजनपछि नगरपालिकाले विद्यार्थीलाई यातायातको सुविधा दिएको छ । यातायातको सुविधा पाएपछि आजाभोलि विद्यार्थी लिन गाडी घर–घरमा पुग्छन् । गाडी आफूलाई घरमै लिन आएपछि विद्यार्थी पनि उत्साहित भएका छन् । दैनिक घण्टौँ लगाएर विद्यालय पुग्ने विद्यार्थी अहिले छोटो समयमा नै पुग्छन् भने समयमै घरमा फर्किने गरेका छन् । गलकोट नगरपालिकाको सबैभन्दा टाढाको बस्ती झिर्का र टोकरी गाउँ हुन् । यी गाउँबाट आधारभूत र माध्यमिक तह अध्ययन गर्न जनहित माध्यमिक विद्यालय मल्लमा झनुपथ्र्यो ।

विद्यालय झर्दा ओरालो पर्ने हुँदा एकै घण्टामा पुग्ने गरे पनि घर फर्किंदा दुई घण्टा बढी लाग्थ्यो । अहिले नगरपालिकाले पिकअप जीपमा विद्यार्थी ओसारपसार गर्न थालेपछि समयमै घरमा पुग्न थालेका छन् । हिउँदमा भन्दा बर्खाको समयमा बढी समस्या भोगेको जनहित माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी निकिता थापाले बताइन् । थापाले ११ कक्षा पढ्नसम्म पढ्दासम्म निकै समस्या भोगेको सुनाउँदै केही दिनदेखि गाडी घरमै लिन आउने गरेको बताइन् ।

“बिहान ८ नबज्दै स्कुल हिँड्नुपथ्र्यो, ४ बजे बिदा भएर घरमा आउँदा झमक्कै रात परिसक्थ्यो, अझ बर्खाको समयमा रुझ्दै भिज्दै हिँड्नुपथ्र्यो, अहिले त जति पानी परे पनि समस्या हुँदैन”, थापाले भनिन्, “घरमा आएर समयमै गृहकार्य गर्न पाइन्छ, बिहान स्कुल जान हतार गर्नु पनि पर्दैन, सानासाना भाइबहिनी पनि गाडी आउन थालेपछि स्कुल जान खोज्छन्, रमाइलो पनि हुन्छ, सजिलो पनि भएको छ, अब घर पुग्दा रात पर्ने चिन्ता, स्कुल जाँदा ढिलो होला भन्ने पीर हरायो ।”

नगरपालिकाले टाढाका विद्यार्थीलाई यातायातको सुविधा दिएपछि बालबालिकामा विद्यालय जाने रुचि बढेको स्थानीय विष्णु थापाले बताइन् । उनले गाडी सञ्चालनमा आउनुपूर्व बिहान विद्यालय पुर्याउन जाने र साँझ ल्याउन जाँदा आफ्नो काम धन्दा छुट्ने गरेको भन्दै अहिले गाडीले लैजाने र ल्याइ दिने भएपछि धेरै सहज भएको बताइन् । आफ्नो छोराछोरीले घर नजिकैको विद्यालयमा पढ्दै आएकोमा यस वर्षदेखि तह मिलानका कारण टाढाको विद्यालय जानुपर्नेस्थित आएको उनको भनाइ छ । टाढा जान परे पनि गाडी सुविधाले कुनै समस्या नहुने उहाँ बताउँछिन् ।

“पहिला छोराछोरीलाई एक्लै स्कुल पठाउन डर लाग्थ्यो, अप्ठेरो बाटो कतै लडेकी, चोटपटक लगाएकी भन्ने डर हुन्थ्यो, बिहान लैजान र साँझ ल्याउन जानुपर्ने बाध्यता थियो, अहिले बिहान सरसफाइ गरेर खाना दिएपछि गाडी ल्याउन आउँछ, साँझ आफैँले ल्याई दिने हुँदा ढुक्क भएका छौँ”, उनले भनिन्, “नगरपालिकाले दुर्गम गाउँका बालबालिकाका लागि ठूलो काम गर्यो, यहाँका बालबालिकाको समस्या बुझेकोमा धन्यवाद दिनुपर्छ, केटाकेटीको पढाइ पनि राम्रो हुनेछ अब ।”

गलकोट नगरपालिकाले यस वर्ष पाँच वटा विद्यालय तह मिलान र छ वटा विद्यालय समायोजन गरेको छ । तह मिलान तथा विद्यालय समायोजन कार्यविधि २०७९ नगर सभाबाट पारित गरेर कार्यान्वयन गर्न थालेको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारी (हेमन्त)ले जानकारी दिए । गलकोट भौगोलिक हिसाबले छरिएको र बसाइँसराइ तथा विदेश जानेको सङ्ख्या बढेपछि विद्यालयमा विद्यार्थी सङ्ख्या कम हुँदा तह मिलान तथा विद्यालय समायोजन गरेको उनको भनाइ छ ।

वडा नम्बर ७ स्थित मल्मको देउराली आधारभूत विद्यालय, नेटा आधारभूत विद्यालयलगायतका विद्यालयको तह मिलान गर्दा दूरीले टाढा पर्ने विद्यार्थीलाई यातायात सुविधा दिएको उनको भनाइ छ । विद्यार्थीलाई यातायातको सुविधा दिनका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा रु १० लाख विनियोजन गरेको प्रवक्ता भण्डारीले बताए ।

भण्डारीले भने, “यस वर्षदेखि टाढाका विद्यार्थीलाई गाडी उपलब्ध गराएका छौँ, हरेक दिन गाडी विद्यार्थीको घरमै लिन जान्छ, दूरीका आधारमा यातायात सुविधा उपलब्ध गराउने निर्णयलाई कार्यान्वयन गर्ने पहिलो चरणमा छौँ, अहिलेसम्म बाहिरबाट पनि राम्रो ‘फिटब्याक’ पाइरहेका छौँ, आगामी वर्षदेखि अझै प्रभावकारी बनाउने योजना छ ।”

नतिजा सुधारका लागि यस वर्षदेखि कक्षा ८ र १० को अर्धवार्षिक परीक्षासमेत नगरपालिकाले लिने उनले बताए । शिक्षिका सुत्केरी बिदामा भएको बेला सट्टा शिक्षक राख्ने कार्यक्रमसमेत नगरपालिकाले ल्याएको सुनाउँदै, हरेक वर्ष गलकोट शिक्षा क्षेत्रमा ठूलो लगानी गर्दै आएको बताउँछन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गएको आर्थिक वर्षमा सरकारको खर्च १५ खर्ब ८ अर्ब रुपैयाँ

काठमाडाैँ । गएको आर्थिक वर्षमा सरकारको १५ खर्ब ८ अर्ब २३ करोड ११ लाख रुपैयाँ खर्च भएको छ । यसअघि,

व्यवसायिक अकबरे खुर्सानी खेती गरेका कृषकलाई बजारको चिन्ता

म्याग्दी । व्यवसायिक अकबरे खुर्सानी खेती गरेका म्याग्दी र पर्वतका कृषकलाई बजारको चिन्ताले सताएको छ । बजारको अभावले किसानहरु मर्कामा

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीले बोधगयामा भेटवार्ता गर्ने

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले आगामी भारत भ्रमणमा समकक्षी नरेन्द्र मोदीसँग बोधगयामा द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ ।

रुपन्देही–३ उपनिर्वाचनका लागि २७ दलका २८ निवेदन

काठमाडौं । कार्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर तीनमा हुने प्रतिनिधि सभा उपनिर्वाचनमा भाग लिनका लागि २७ दलले निर्वाचन आयोगमा

पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ को नेपाली पाठ्यपुस्तकमा भएको त्रुटि…

काठमाडाैँ । पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ को नेपाली पाठ्यपुस्तकमा भएको त्रुटि सच्याएको छ । बोध र अभिव्यक्ति खण्डको अभ्यास

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो : ठेक्का सम्झौतामा…

काठमाडाैँ । डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढेको छ । प्रवर्द्धक कम्पनी र निर्माण व्यवसायीबीच निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा

Techie IT