Techie IT
२०८२ असार १६, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालबुकीमै पुगेर लम्पी स्किनको उपचार

बुकीमै पुगेर लम्पी स्किनको उपचार


बागलुङ । यतिबेला बागलुङको ढोरपाटनका पशुपालक किसान बुकी क्षेत्रमा छन्। बर्खायाम पशुचौपायाका लागि पोषिलो घाँस पर्याप्त पाइने हुँदा सयौँ किसान हजारौँ भेँडाबाख्रा र गाईभैँसी लिएर बुकी पुगेका हुन्। चार हजार पाँच सय मिटरको उचाइमा पर्ने बुकी क्षेत्र यति बेला हरियाली घाँस र पशुचौपायले ढाकिएको छ। हरेक वर्ष जेठ पहिलो सातादेखि नै निकै उत्साहका साथ बुकी जाने किसान यस वर्ष त्यत्ति उत्साहित छैनन । किसानले पालेका गाई, भैँसी र गोरुमा लम्पी स्किन सङ्क्रमण भएपछि उनीहरु निराश छन्।

सङ्क्रमणबाट धेरै पशुचौपाया मरे भने सयौँको सङ्ख्यामा सङ्क्रमित छन्। पशुको शरीरभरि घाउ हुने र जटिल बन्दै गएपछि पशु मर्ने गरेका छन्। पशुमा सङ्क्रमण बढ्दै गएपछि ढोरपाटन नगरपालिकाले बुकीमै पुगेर पशुको उपचार गरेको छ। बेसीमा सङ्क्रमित भएका पशुचौपायालाई गोठमै प्राविधिक खटाएर सङ्क्रमण नियन्त्रण गरिरहेको छ। ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद ज्ञवालीसहित पशु प्राविधिकको टोली बुकीमै पुगेर औषधि वितरण तथ खोप लगाएर फर्किएको छ।

प्राविधिकसहितको टोली बुकीमा पुगेर बिरामी पशुको उपचार गरेपछि किसानसमेत खुसी भएका छन् । बुकी ढोरपाटनभन्दा धेरै टाढा पर्छ । यो याममा सबैभन्दा बढी चौपाया बुकीमा हुने र बढी सङ्क्रमित पनि त्यही भएको हुँदा प्राविधिकको टोली बुकीमा पुगेर पशुचौयापाको उपचार गरी फर्किएको हो। आवश्यक औषधि, खोप र स्प्रे लिएर बुधबार बुकी बुकेको प्राविधिक टोली शुक्रबार साँझ मात्रै फर्किएको ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताए।

बुकीबाट पशु सङ्क्रमण भई मर्न थालेको खबर पाएपछि आफ्नो नेतृत्वमा प्राविधिक टोली बुकी गएको उनले बताए। बुकीमा पुगेर एक हजार बढी पशुचौपायालाई खोप लगाउनाका साथै उपचार गरिएको ज्ञवालीको भनाइ छ। यसले कृषकलाई ठूलो राहत पुगेको उनी बताउँछन्। बुकी निकै टाढा भए पनि आफूहरु दिनभरि हिँडेर गोठमा पुगेको ज्ञवालीले सुनाए।

“लम्पी स्किन निकै खतरनाक रोग रहेछ, धेरै ठाउँमा फैलिएको यो रोग ढोरपाटनको बुकीसम्म पुग्यो, बुकी धेरै टाढा रहेछ, चार हजार पाँच सय मिटरको उचाइको बुकीमा पुगेर तीन हजार मिटरमा ओर्लिएपछि गोठहरु भेटिए, पशुचौपाया खुल्ला ठाउँमा थिए, धेरैमा सङ्क्रमण देखियो”, प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले भने, “हामीले आवश्यक औषधि, खोप र स्प्रे लगेका थियौँ, प्राविधिकले खोप लगाउनुभयो, उपचार गर्नुभयो, केही औषधि किसानलाई नै छोडेर आएका छौँ, सङ्क्रमण बढ्दै गए नगरपालिकालाई सम्पर्क गर्न भनेका छौँ।”

आफूहरु बुकीमा दुई दिन बसेर पशुको उपचार गरेको उनले बताए। गोठमा बस्दै आएका किसानले पशुको उपचारसँगै त्रिपाल, सोलार लगायतका आवश्यक सामग्रीको माग गरेको भन्दै त्यसलाई पनि नगरपालिकाले व्यवस्थापन गर्दै जाने ज्ञवालीले बताए। अहिले नगरपालिकाले एकजना प्रविधिकलाई बुकीमै खटाएको उनको भनाइ छ।

हालसम्म ढोरपाटन नगरपालिका भर एक हजार सात सय बढी पशुचौपाया सङ्क्रमित भएको नगरपालिकाका रोजगार संयोजक हिरालाल खनालले जानकारी दिए। सङ्क्रमितमध्ये एक सय सात बढी चौपाया मरेको खनालको भनाइ छ । सङ्क्रमणपछि मृत्यु हुनेमा अधिकांश गोरु रहेको भन्दै केही गाई, केही भैँसी र बाच्छाबाच्छी रहेको उनले बताए। नगरपालिकाले गाउँमा भएका पशुचौपाको पनि प्राविधिक खटाएर सङ्क्रमण नियन्त्रण गरिरहेको उनको भनाइ छ।

“बुकीमा भएका धेरै पशुमा पनि समस्या देखियो, भौगोलिक रुपले टाढा र अफ्ठ्यारो स्थानमा हुँदा किसानले समयमै खबर गर्न सक्नु भएन, यद्यपि केही ढिला भए पनि त्यहाँ पुगेर सङ्क्रमण नियन्त्रण गर्ने प्रयास भएको छ, अहिलेसम्म सङ्क्रमित भएकामध्ये मृत्यु हुनेको सङ्ख्या कम छ”, उनले भने,“सङ्क्रमणलाई पूरै नियन्त्रण गर्न गाउँमा भएका पशुचौपायको पनि उपचार भइरहेको छ, जहाँ सङ्क्रमण फैलिएको छ, त्यहाँ नगरपालिकाबाट प्राविधिक गएर उपचार गर्ने खोप लगाउने काम गर्नुभएको छ ।”

उनले बुकीमा भएका किसानलगायत सङ्क्रमण फैलिएको नगरपालिकाको जुनसुकै ठाउँबाट पालिकामा खबर गर्न सूचना गरेको बताए। सङ्क्रमण दर बढी भए पनि मृत्यु दर कम रहेको उहाँको भनाइ छ । ढोरपाटन नगरपालिकालाई शून्य सङ्क्रमण गराउनका लागि प्राविधिक खटाउने, आवश्यक औषधि, खोपको व्यवस्थापन गर्ने काम भइरहेको खनालले जानकारी दिए। रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिभिल सोसाइटी फोरमको प्लेनरी समापन सत्रलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै अन्तर्राष्ट्रिय वित्तीय प्रणाली

एस.इ.ई.को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा एस.इ.ई.को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत

प्रधानमन्त्री ओली शनिबार स्पेन भ्रमणमा जाँदै

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार त्यसतर्फ जाने

उत्पादन बढेपछि भारतमा ७ सय र बंगलादेशमा ४० मेगावाट विद्युत्…

काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले

भूमिगत विद्युतीकरणको काम ३ महिनालाई स्थगित

चितवन । चितवनको भरतपुर महानगरपालिकामा जारी भूमिगत विद्युतीकरणको काम रोकिएको छ । सडक विभागले वर्षायाममा सडक खन्न स्वीकृति नदिने जनाएपछि

रोल्पाको थवाङ -५ का वडाध्यक्ष घर्तीमगरको मृत्यु

काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–५ का वडाध्यक्ष गोवर्धन घर्तीमगरको मृत्यु भएको । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका घर्तीमगरको नेपालगन्ज मेडिकल

Techie IT