Techie IT
२०८२ साउन ३१, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालटल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ नै भएको भूगर्भ विभागको पुष्टि

टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ नै भएको भूगर्भ विभागको पुष्टि


गोरखा । गोरखा नगरपालिका–७, सतिपीपलबाट बरामद गरी विशेष सुरक्षाका साथ जिल्ला प्रहरी कार्यालयमा राखिएको टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ भएको खानी तथा भूगर्भ विभागले पुष्टि गरेको छ ।

विभागबाट गोरखा आएको भूगर्भविद्को टोलीले दुई दिन लगाएर गरेको परीक्षणबाट उक्त टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ नै भएको पुष्टि गरेको हो । ढुङ्गाको परीक्षण गरी विभागको टोलीले जिल्ला प्रशासन कार्यालय गोरखालाई परीक्षण प्रतिवदेन बुझाएको भूगर्भविद् डा। सुस्मिता भण्डारीले जानकारी दिए । “परीक्षणबाट उक्त ढुङ्गा महत्वपूर्ण र बहुमूल्य रत्नपत्थर (क्वार्ज क्रिष्टल) भएको पाइयो, उनले भने, “संसारभरका धातुलाई कडापनका आधारमा १० भागमा वर्गीकरण गरिन्छ, सोही आधारमा बरामद गरिएको ढुङ्गा सातौँ नम्बरमा पर्छ ।”

भूगर्भविद्को टोलीले टल्कने ढुङ्गाको नापतौल लिनुका साथै अन्य विभिन्न प्राविधिक पक्षबारे पनि परीक्षण गरेको भूगर्भविद् डा। भण्डारीले जानकारी दिए । कडापनका आधारमा हीरा १० औँ नम्बरमा पर्ने उनको भनाइ छ । टोलीले गरेको परीक्षणका क्रममा उक्त ढुङ्गाको तौल ५२ किलो तीन सय ३० ग्राम रहेको पाइएको छ । यति ठूलो तौलको भएको एउटै चट्टान भेट्टाउनसमेत गाह्रो पर्ने भूगर्भविद् डा. भण्डारीले जानकारी दिए ।

‘क्वार्ज क्रिष्टल’ मुख्यरुपमा सजावटका सामग्री तथा गरगहना बनाउन प्रयोग हुने गरेको भूगर्भविद् डा। भण्डारीको भनाइ छ । त्यस्तै रेडियो ट्रान्समिटर, कम्प्युटर, घडीलगायतका अन्य विद्युतीय उपकरणमा पनि क्वार्ज क्रिष्टलको आंशिकरुपमा प्रयोग हुने उहाँले जानकारी दिए ।

टल्कने ढुङ्गाको परीक्षण सम्पन्न गरेपछि विभागको टोलीले बुधबार जिल्ला प्रशासन कार्यालयमा गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल र प्रहरी उपरीक्षक (एसपी) अनुपम श्रेष्ठलाई परीक्षणपछिको अध्ययन प्रतिवेदन बुझाएको हो । जिल्ला प्रशासन कार्यालय गोरखाले टल्कने ढुङ्गाको नमुना परीक्षणका लागि खानी तथा भूगर्भ विभागलाई पत्राचार गरेपछि विभागले भूगर्भविद् डा. भण्डारी र दुर्गा बोलाखेको टोली गोरखा पठाएको थियो ।

अध्ययन टोलीले बरामद गरिएको ‘क्वार्ज क्रिष्टल’ खानी तथा भूगर्भ विभागलाई उपलब्ध गराउन पनि प्रतिवेदनमार्फत सुझाव दिएको छ । खानी तथा खनिज पदार्थ ऐन २०४२ को दफा २५ को उपदफा १ अनुसार खनिज कार्य गर्ने अनुमति नलिई उत्खनन तथा सङ्कलन गरिएकाले उक्त पत्थर विभागलाई उपलब्ध गराई सहयोग गर्न पत्रमार्फत आग्रह गरिएको छ ।

गएको असार १४ गते प्रहरीले उक्त टल्कने ढुङ्गा सतिपीपलस्थित स्थानीयवासी राममाया शाहीको घरबाट बरामद गरेको थियो । टल्कने ढुङ्गा वर्षौंदेखि शाही परिवारले घरमा राखेर पूजा गर्दै आएको पाइएकाले उक्त ढुङ्गा गोरखकाली मन्दिर या गोरखनाथ मन्दिर परिसरमा राख्न गोरखाका विभिन्न सङ्घसंस्थाले प्रशासनसँग माग गर्दै आएका छन् ।

टल्कने ढुङ्गा ऐतिहासिक महत्वको भएको हुनसक्ने भन्दै गोरखा दरबार परिसरमा प्राणप्रतिष्ठा गरी व्यवस्थापन गनुपर्नेमा सङ्घसंस्थाको जोड छ । पूजाआजा र धर्मकर्ममा प्रयोग गरिरहेको बल्ने शिला कुनै पनि बहानामा गोरखा जिल्ला बाहिर नपठाई मूलधनीको इच्छाअनुसार गोरखकाली र गोरखनाथको पवित्र भूमिमा राख्नुपर्ने स्थानीयवासीको पनि भनाइ छ ।

गोरखा नगरपालिका प्रमुख कृष्णबहादुर रानामगरले विभागको टोलीसँगको भेटमा ऐतिहासिक र धार्मिक हिसाबले उक्त पत्थरलाई गोरखामै राख्ने व्यवस्था मिलाउन आग्रह गरे । उनले टल्कने ढुङ्गा गोरखामा राख्नका लागि नगरपालिकाले सरकारलगायतका अन्य सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने बताएका छन् । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गएको आर्थिक वर्षमा सरकारको खर्च १५ खर्ब ८ अर्ब रुपैयाँ

काठमाडाैँ । गएको आर्थिक वर्षमा सरकारको १५ खर्ब ८ अर्ब २३ करोड ११ लाख रुपैयाँ खर्च भएको छ । यसअघि,

व्यवसायिक अकबरे खुर्सानी खेती गरेका कृषकलाई बजारको चिन्ता

म्याग्दी । व्यवसायिक अकबरे खुर्सानी खेती गरेका म्याग्दी र पर्वतका कृषकलाई बजारको चिन्ताले सताएको छ । बजारको अभावले किसानहरु मर्कामा

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीले बोधगयामा भेटवार्ता गर्ने

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले आगामी भारत भ्रमणमा समकक्षी नरेन्द्र मोदीसँग बोधगयामा द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ ।

रुपन्देही–३ उपनिर्वाचनका लागि २७ दलका २८ निवेदन

काठमाडौं । कार्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर तीनमा हुने प्रतिनिधि सभा उपनिर्वाचनमा भाग लिनका लागि २७ दलले निर्वाचन आयोगमा

पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ को नेपाली पाठ्यपुस्तकमा भएको त्रुटि…

काठमाडाैँ । पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ को नेपाली पाठ्यपुस्तकमा भएको त्रुटि सच्याएको छ । बोध र अभिव्यक्ति खण्डको अभ्यास

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो : ठेक्का सम्झौतामा…

काठमाडाैँ । डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढेको छ । प्रवर्द्धक कम्पनी र निर्माण व्यवसायीबीच निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा

Techie IT