Techie IT
२०८२ असार १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालआहा डल्फिन उफ्रँदै गरेको हेर्न क्या मज्जा !

आहा डल्फिन उफ्रँदै गरेको हेर्न क्या मज्जा !


टीकापुर । कैलालीको लम्कीचुहाका हरि सुनार डल्फिन हेर्न कैलालीको टीकापुरस्थित वडा नं ७ बैदी ढुङ्गानाटोलमा पुगे । साथीसहित बैदीस्थित मोहना, पथरैया र काँडा नदीको सङ्गममा पुग्नुभएका उनले डल्फिन उफ्रेको हेरेर आनन्द लिए । बर्खा लागेपछि कैलालीको टीकापुर–७ स्थित मोहना, पथरैया र काँडा नदीको सङ्गममा दैनिक डल्फिन देखापरिरहेका छन् ।

नदीमा साँझ र बिहानको समयमा साना र ठूला डल्फिन देखिने गरेका छन् । “नदीमा पानीको बहाव बढेको छ । डल्फिन उफ्रँदै रमाइरहेका देख्यौँ”, सुनारले भने, “डल्फिन बडो आनन्दले रमाउने रहेछन्, नदी किनारमा बसेर करिब एक घण्टा बच्चासहित डल्फिन नाचेको हेर्यौँ, आनन्द लाग्यो ।”

बर्खाको यो समयमा ढुङ्गानाटोलमा दैनिक सर्वसाधारण डल्फिन हेर्नकै लागि आउने गरेका छन् । डल्फिन अवलोकन गर्न स्वदेशीदेखि विदेशी नागरिकसमेत आउने गरेका स्थानीय संरक्षणकर्मी बताउँछन् । हरेक वर्ष विदेशी पर्यटक पनि डल्फिन हेर्नका लागि यहाँ आउने गरेका डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले बताए । “विदेशी नागरिकले हप्तौँसम्म बसेर डल्फिनबारे अध्ययन गर्ने गरेका छन्”, उनी भन्छन्, “नेपालका विभिन्न जिल्लाबाट समेत सर्वसाधारण आउने गरेका छन् । डल्फिन अवलोकनका लागि यहाँ भ्यूटावर र प्रतिक्षालय बनाइएको छ ।”

डल्फिन अवलोकन क्षेत्रसम्म जाने सडकलगायतका पूर्वाधार स्थानीय सरकारले निर्माण गरिदिएको छ । बर्खामा डल्फिन बढी देखिने भएकाले संरक्षण नेपालले सप्ताहव्यापी प्रचार–प्रसारका लागि कार्यक्रम गर्ने भएको छ । “डल्फिनको संरक्षण, प्रवर्द्धन, प्रचार तथा पर्यापर्यटनसँगै स्थानीय क्षेत्रको विकासका लागि सप्ताहव्यापी कार्यक्रम गर्न थालेका छौँ”, ढुङ्गाना भन्छन्, “स्थानीय समुदायलाई डल्फिन संरक्षणमा उत्प्रेरणासँगै अन्य जलप्राणीबारेमा जानकारी दिन थालेका छौँ । डल्फिनमात्र होइन अन्य जलचरको पनि संरक्षण आवश्यक छ ।”

भदौ दोस्रो सातादेखि सप्ताहव्यापी कार्यक्रम हुँदैछन् । बर्खामा याममा देखापर्दै आएका डल्फिन संरक्षण, प्रवर्द्धन, प्रचार आवश्यक रहेको स्थानीय संरक्षणकर्मी जयप्रसाद ढुङ्गानाको भनाइ छ । “हामीले पछिल्ला केही वर्षयता डल्फिन देखापर्ने यही समयमा संरक्षणका क्षेत्रमा जनचेतना जगाउने गरेका छौँ”, उनले भने, “हामीले डल्फिन क्षेत्रमा माछा मार्न निषेध गरेका छौँ, माछा मारेमा कारबाही गर्ने गरिएको छ ।”

यस वर्ष वर्षात् ढिलो हुँदा असार १६ गते पहिलोपटक चारवटा डलिफन देखापरेका थिए । गत वर्ष जेठ मसान्तमै डल्फिन देखिएका थिए । नदीमा पानीको बहाव बढी भएमा डल्फिन देखिने गरेका स्थानीय बताउँछन् । “कैलालीका मोहना, पथरैया, काँडा, कान्द्रा नदीमा डल्फिन देखिन्छन्, जैविक विविधताको संरक्षण, जलचर संरक्षणका लागि स्थानीय सजग हुन आवश्यक छ”, स्थानीय कृष्णा चौधरी भन्छिन्, “यहाँ मगर गोही पनि त्यत्तिकै मात्रामा पाइन्छन्, पर्यापर्यटनका हिसाबले पनि डल्फिनलगायतका जलचर संरक्षण आवश्यक छ ।”

डल्फिन हेर्नका लागि टाढा–टाढाबाट सर्वसाधारण आउने गरेका छन् । विगत लामो समयदेखि टीकापुर र भजनीका स्थानीय डल्फिन संरक्षणमा जुटेका छन् । स्थानीयकै पहलमा दर्जनौँ स्थानमा डल्फिन संरक्षण केन्द्र स्थापना गरिएका छन् । स्थानीयकै पहलमा २०५६ सालदेखि डल्फिन संरक्षण अभियान थालिएको हो । कैलालीका नदीमा ग्याँगेटिक जातको डल्फिन पाइन्छ । यो जातको डल्फिन नेपालका साथै भारत, पाकिस्तान र बङ्गलादेशमा मात्रै पाइने गरेको संरक्षणकर्मी बताउँछन् । यो मांसाहारी प्राणी भएकाले यसले मुख्य आहराका रूपमा माछा, घोँगीलगायत खान्छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

संविधान सभा सदस्य रामअयोध्या यादवको निधन

काठमाडौं । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका २ कवहीजगात गाउँ घर भएका यादवको ७२

निजामती विधेयकको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था विवादमा

काठमाडाैँ । प्रतिनिधिसभाबाट पारित भइसकेको निजामती सेवा विधेयकमा अवकाशप्राप्त कर्मचारीहरूलाई दुई वर्ष अरू नियुक्तिमा निषेध गर्न राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी

पाथीभरा मन्दिरमा भक्तजनले चढाएको सिक्काहरुको गणना शुुरु

ताप्लेजुङ । ताप्लेजुङको धार्मिक तथा पर्यटकीय क्षेत्र पाथीभरा देवी मन्दिरमा भक्तजनहरुले चढाएका सिक्काहरुको गणना कार्य शुुरु गरिएको छ । भक्तजनले

Techie IT