Techie IT
२०८० असोज १४, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालबाँकेका वन हेरालु भन्छन्– ‘वन्यजन्तु बढ्दा डर लाग्दैन खुसी लागेको छ’

बाँकेका वन हेरालु भन्छन्– ‘वन्यजन्तु बढ्दा डर लाग्दैन खुसी लागेको छ’


जानकी । “हाम्रो वनमा वन्यजन्तु बढेका छन् । घरपालुवा जनावर र मान्छे नै वन्यजन्तुले मारेका छन् । तर पनि हामीलाई डर लाग्दैन खुसी लाग्छ”, यो भनाइ हो बाँकेको राप्तीपीडित तथा गुलरी सामुदायिक वनका वन हेरालु धनीराम थारूको । उमेरले ५६ वर्ष लागेका उनले भने, “पहिला–पहिला वन उजाड हुन्थ्यो, हामीलाई निकै नै न्याश्रो लाग्थ्यो । तर अहिले हाम्रो पनि वन हराभरा छ । वन्यजन्तु देख्न पाइन्छ । यो हाम्रा लागि निकै खुसीको कुरा हो, यो खुसीमा वन्यजन्तुको डर लाग्दैन ।”

थारुको भनाइअनुसार आजभन्दा पाँच वर्ष पहिले उक्त सामुदायिक वन उजाड थियो । पाँच–छ वर्षयता वनलाई जोगाउन थालेपछि वन हरियाली हुन थालेको र वन्यजन्तु पनि बढेको उनको भनाइ छ । बिहानै झिसमिसेमा उठेर वनभित्र छिरिसक्नुपर्ने उनले बताए । “एकाबिहानै उठेर वनमा छिरिसक्नुपर्छ । अलि ढिला गर्यो भने त घाँसदाउरा काट्ने र तस्करले जे पनि गर्न सक्छन्”, उनले भने, “घामपानी जे परे पनि समयमै वनभित्र छिरिसकेका हुन्छौँ हामी वन हेरालुहरू ।”

बिहान ६ बजे वन कुर्न गएका थारु खाना खान ११ बजेमात्र घर फर्कने बताउँछन् । “भोकप्यास जे लागे पनि सहेरै वनलाई घाँसदाउरा चोर्न आउनेबाट जोगाउनका लागि साँझ ७ बजेसम्म बस्नैपर्छ”, उनले भने, “सिकारी पसेको सूचना पाउँदा त झनै रातिको ११–१२ बजेसम्म वनमै बस्नुपर्छ ।” वन्यजन्तुको आक्रमण हुने सम्भावना उच्च रहे पनि वन र सिकारीबाट वन्यजन्तुलाई जोगाउनकै लागि ज्यानको बाजी लगाएर वन हेर्नैपर्ने उनको भनाइ छ ।

बाह्र वर्षदेखि वनको हेरचाह गर्दै आएका थारुले वन्यजन्तुको आक्रमणबाट कसरी जोगिने भन्ने विषयमा बेला–बेला तालिममा सहभागी हुने गरेको बताए । घरबाट २० मिनेटको बाटोमा साइकल चलाएर वनको हेरचाह गरेवापत उहाँले मासिक रु १० हजार पाउँछन् । उनका अनुसार महिनाभरि वनको रेखदेख गरेर पाएको रु १० हजारले घर चलाउन गाह्रो छ । “दश हजारले के नै हुन्छ र ? त्यैपनि मैले त आफ्नो जङ्गल हो भनेर काम गरिरहेको छु”, उनले भने, “पैसाभन्दा पनि जङ्गल र वन्यजन्तुले गर्दा हाम्रो चिनारी नै फरक भएको छ, म त वन हेरालु हुन पाएकामा खुसी छु ।”

धनीरामजस्तै सोही सामुदायिक वनमा हेरालुका रूपमा कार्यरत छन् फटाहु थारू पनि । उनी ४० वर्षको छन् । उनले पनि आफ्नो वनमा वन्यजन्तु आएकामा निकै खुसी लागेको बताए । “वनमा वन्यजन्तुको सङ्ख्या बढ्दै गएपछि हाम्रो गाउँ र वनमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या पनि बढेको छ”, उनले भने, “यो कुराले हामी सबै गाउँले निकै खुसी छौँ ।”

आफ्नै वनसँग रमाउन मन लागेर अनि यहाँका पशुपक्षी र वन्यजन्तुको हेरचाह गर्न मन लागेर आफू ‘वन हेरालु’ भएको फटाहुले बताए । घरपरिवारले विदेश गएर पैसा कमाउने सल्लाह दिए पनि उनलाई भने वन हेरालु नै हुन मन परेको छ । “महिनाको जम्मा रु १० हजारले केही हुँदैन, उमेर छँदै विदेश गएर अरु साथीले झैँ टन्नै पैसा कमा भन्नुहुन्छ बाआमा । तर मलाई आफ्नै वनको सुरक्षा गर्नुछ”, उनले भने, “पैसा थोरै छ तर आफ्नो वनलाई जोगाउने काम गरेको छु । वन जोगिएसँगै वन्यजन्तु पनि जोगिएका छन् । उनीहरूको सङ्ख्यामा वृद्धि भएको छ, म यसैमा खुसी छु ।”

राप्ती पीडित तथा गुलरी सामुदायिक वनका संयोजक अजोद्धया थारूले वन संरक्षण भएदेखि उक्त सामुदायिक वनमा केही भारतबाट र केही बाँके राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु आउने गरेको बताए । चार सय ९८ हेक्टर क्षेत्रफलमा रहेको उक्त सामुदायिक वनमा पाटेबाघ, चितुवा, नीलगाई, चित्तल, बँदेल, खरायो, स्याल, रतुवालगायत रहेका छन् । उनको भनाइअनुसार अहिले उक्त सामुदायिक वनको ‘वन हेरालु’का रूपमा छ जना रहेका छन् ।

विसं २०६४ देखि आफैँ पनि ‘वन हेरालु’का रूपमा काम गरेर अहिले हेरालुको संयोजक बनेका अजोद्धयाका अनुसार बाँकेको कम्दि करिडोरमा ३८ वटा सामुदायिक वन छन् भने २८ जना ‘वन हेरालु’ छन् । मासिक रु तीन हजारबाट वनको हेरचाह गर्न सुरु गर्नुभएका अजोद्धयाको मासिक तलब रु १५ हजार छ । वनको रेखदेख गरेवापत उनले पाउने उक्त रकम थारै भए पनि धनीराम र फटाहुलाई जस्तै वनको मायाले संयोजकको जिम्मेवारी सम्हाल्दै काम गरिरहेको उनी बताउँछन् । विसं २०७०/७१ देखि सो सामुदायिक वनमा जङ्गली जनावर देखिएका हुन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

प्रतिनिधिसभामा शिक्षा विधेयक २०८० पेश

काठमाडौँ। प्रतिनिधिसभामा शिक्षा विधेयक २०८० पेश भएको छ। संसदको आइतबारको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक,

पर्यटकको गन्तव्य बन्दै ‘कुमसोत’

त्रिवेणी । पछिल्लो समय कुमसोत पर्यटकीय गन्तव्य बन्दै गएको छ । नवलपरासी (बर्दघाटा सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका-६ मा अवस्थित कुमसोत

६ क्विन्टल रक्तचन्दनसहित कपिलवस्तुमा ८ जना पक्राउ

कपिलवस्तु। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले आइतबार बिहान साढे ६ क्विन्टल रक्तचन्दन बरामद गरेको छ। रक्तचन्दनसहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको

काठमाडौँ मेडिकल कलेजका चिकित्सकमाथि आक्रमण

काठमाडौँ। सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजका चिकित्सकमाथि आक्रमण भएको छ।ओपीडीमा बिरामी जाँच गराइरहेका चिकित्सक डा. मनिष खड्कामाथि आइतबार बिहान आक्रमण भएको

‘अटोमेसन’ आयल निगमको एकाधिकार होइनः प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वचलित मूल्य प्रणाली अर्थात् ‘अटोमेसन’ भनेको आयल निगमको एकाधिकार नभएको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा

डिल्ली आचार्यको संयोजकत्वमा सुन तस्करी प्रकरणको उच्चस्तरीय समिति गठन

काठमाडौँ। सरकारले सुन तस्करी प्रकरणको छानबिनका लागि चार सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले

Techie IT