Techie IT
२०८३ कात्तिक १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठ ∕ नेपाल ∕ भारतमा मजदुरी गर्नेहरु भन्छन्, ‘दसैँमा घर गए गुजारा कसरी गर्नु ?’

भारतमा मजदुरी गर्नेहरु भन्छन्, ‘दसैँमा घर गए गुजारा कसरी गर्नु ?’


नैनीताल । कालीकोटको खिना घर भएका दानसिंह विक दसैँको मुखमा भारतको उत्तराखण्ड राज्यको पर्यटकीय नगरी नैनीतालमा भारी बोग्दै गरेको अवस्थामा भेटिए । उनी नैनीतालमा यसरी बोक्न थालेको १८ वर्ष भयो । विक साँझ बिहान नैनीतालस्थित एउटा होटलको नर्सरीमा काम गर्छन् । यसबाहेकको बाँकी समय भारी बोक्छन् ।

“भारी बोकेरै घरको खर्च धानेको छु, यो नगरे घरमा सबै ठप्प हुन्छ”, ४७ वर्षीय विकले भने । उनी केही दिनअघि मात्रै कालिकोट गएर नैनीताल काममा फर्किनु भएको हो । “घरमा छोरो बिरामी भएको खबर आयो, उपचारका लागि खर्च लगेर गए, अब घर ढिलै जान्छु, दसैँमा गइन्न ।”

नैनीतालमा मजदुरी गरेर विकले मासिक रु ३० हजारसम्म कमाउँछन् । “स्वदेशमै काम पाएको भए विदेश आउन मन थिएन, काम पाइहाले पनि उचित ज्याला पाइँदैन”, उनले भने–““यहाँ दुखः गरे अनुसारको पारिश्रमिक पाइन्छ ।”

नैनीताललाई सुन्दर बनाउन धेरै नेपाली मजदुरको मेहेनत छ । नैनीतालको तल्ली र मल्ली ताल क्षेत्रमा सयौँ नेपाली मजदुर दिनरात भारी बोक्दै गरेको अवस्थामा भेटिन्छन् । कोही होटल त कतिपय स्थानीय साहुमहाजनको घरमा काम गरेर जीविका चलाउँदै आएका छन् । पछिल्लो समय सडक पेटीमा पसल सञ्चालन गर्ने नेपालीको सङ्ख्या बढ्दै गएको छ । नेपालीहरुको सबैभन्दा ठूलो चाड दसैँको मुखमा समेत मजदुरी गर्नेको सङ्ख्या उत्तिक्कै छ ।

“दसैँमा घर परिवारसित बसेर पर्व मनाउने इच्छा कसको हुन्न र ?” कैलालीको घोडाघोडी नगरपालिका–२ का १८ वर्षीय रमेश रावतले भने, “दसैँमा घर गए बाँकी समय गुजारा कसरी गर्नु ?” नैनीतालकै कमाइले घर परिवारको खर्च चलाएको उनको भनाइ छ ।

राजनीतिक परिवर्तन भएपनि स्वदेशमै रोजगारीका सम्भावना नदेखिनु दुःखद् भएको रावतको भनाइ छ । उनी कक्षा १२ कक्षाको परीक्षा दिएर मजदुरी गर्न नैनीताल आएका हुन् । रावतका बुबा पनि यतै मजदुरी गर्छन् । बुबाको साथले उनलाई मदजुरी गर्न सहज भएको छ । “घरको परिस्थितिका कारण बुवासित यहाँ आए, धेरैभन्दा धेरै भारी बोकेर खर्चको जोहो गर्नु हाम्रो नियति नै बनिसक्यो”, रावतले भने ।

दसैँ तिहारमा कतिपय नेपाली घर जाँदा सो समयमा भारी बोक्ने काम बढी पाइने आशामा रावत बाबु–छोरा यसपाली नैनीतालमा बसेका छन् । यहाँ नेपाली मजदुर घरघरमा गएर तरकारी बेच्ने तथा होटलमा भाँडावर्तन सफा गर्ने काममा बढीजसो खटिने गरेका छन् । चारैतिर पहाड अनी बीचमा आकर्षक नैनीताल अवस्थित छ । कोरोना महामारीमा सुनसान बनेको नैनीतालमा पछिल्लो समय पर्यटकीय गतिविधि बढ्दै गएको छ । योसँगै नेपालीले पनि काम गर्ने अवसर पाएका छन् ।

नैनीताल, खुर्पा ताल, भीम ताललगायत क्षेत्रमा झण्डै पाँच सयको हाराहारीमा नेपाली कार्यरत छन् । नैनीताल क्षेत्रमा सिमेन्ट, छड, तरकारी, ग्यास सिलिण्डरलगायत अन्य घरायसी सामान ढुवानी गर्नमा उनीहरु दिनरात व्यस्त देखिन्छन् । दुरी तथा तौलका हिसाबले उनीहरुलाई पारिश्रमिक दिइन्छ ।

“नेपाली नागरिक इमान्दार भएर लामो समयदेखि काम गर्दैआएका छन्”, नैनीतालका एक होटल व्यवसायीले भने, “होटलमा तरकारी बोक्नेदेखि घर घरमा ग्यास पुर्याउने काममा नेपालीको ठूलो साथ र सहयोग छ ।”

बझाङ्गको तलकोटका नवराज विष्ट दसैँका लागि घरमा सरसामान पठाए पनि आफू भने नजाने मनस्थितीमा छन् । उनले भारी बोक्न थालेको झण्डै डेढ दशक भयो । होटलमा तरकारीको भारी बिसाउँदै गरेका विष्टले भने– “यहाँको कमाइले घरखर्च चलाउन सहज भएको छ ।”

परिवारको पालनपोषण नैनीतालको भारी बोकाइले चल्दै आएकाले चाडपर्वको खासै महत्व नहुने उनी बताउँछन् । “ताकत हुँदासम्म भारी बोक्ने हो, त्यसपछि घर जानु त छँदै छ”, विष्टले भने ।

कालिकोटको खानीत्रिवेणीका ५६ वर्षीय शेरबहादुर विकले भने नैनीतालमा भारी बोकेर कमाएको पैसाले छोरा जीवनलाई काठमाडौँमा लोकसेवाको तयारी गराउँदै छन् । “छोरा पढाउन लाखौँ ऋण काढेको छु, दसैँ सम्झेर घर जाने अवस्था छैन, घर गए सब चौपट हुन्छ”, उनले भने–“छोरो जागिरे होला र बुढेकासलमा घरमा सुखका साथ बस्न पाइला भन्ने आशामा भारी बोक्दै छु ।”

मुख्यतया सुदूरपश्चिम र कर्णाली प्रदेशका नागरिक यहाँ रोजगारीका लागि आउने गरेका छन् । उनीहरुका लागि नैनीताल रोजगारीको प्रमुख गन्तव्य हो । बाजे, बुबादेखि नातीसम्मको पुस्ता यहाँ एकसाथ भारी बोक्ने गरेको पाइन्छ । यहाँ मजदुरी गर्ने अधिकांश नेपालीले आफ्नो कमाइ छोरा छोरीको पढाइमा खर्चिदै आएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र

ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

Techie IT