Techie IT
२०८३ असोज २१, बुधबार
NepaliPatra logo
गृहपृष्ठ ∕ नेपाल ∕ ‘संयुक्त राष्ट्रसङ्घको महासचिवको अन्नपूर्ण आधार शिविर भ्रमण ठुलो गौरवको विषय हो’

‘संयुक्त राष्ट्रसङ्घको महासचिवको अन्नपूर्ण आधार शिविर भ्रमण ठुलो गौरवको विषय हो’


काठमाडौँ । विजया दशमीको टीका लगाएसँगै पदयात्राका लागि पुगेका पर्यटकका कारण अन्नपूर्ण आधार शिविरको पदमार्गमा अहिले आन्तरिक पर्यटकको लर्को लागेको छ । पदमार्गको अन्तिम गन्तव्य अन्नपूर्ण आधार शिविरका साथै पदमार्गका क्षेत्रका होटल आन्तरिक पर्यटकले खचाखच भरिएका छन् ।

वि सं २०७२ को भूकम्प, केही वर्षअघि अन्नपूर्ण आधार शिविर पदमार्ग क्षेत्रमा आएको हिमआँधीले पारेको प्रभावसँगै कोरोना महामारीलगायतका कारण प्रभावित यहाँको पदयात्रा पर्यटनमा पछिल्लो समयमा आन्तरिक पर्यटकको आकर्षण ह्वात्तै बढिरहेको छ ।

विजयादशमी पछि पदमार्ग क्षेत्र आन्तरिक पर्यटकले भरिएको छोम्रोङ पर्यटन समितिका सचिव दिलीप गुरुङले जानकारी दिए । “शुक्रबार मात्रै झण्डै चार सयको सङ्ख्याका आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविरमा आएका छन्”, उनले भने, “पदमार्ग क्षेत्रका अन्य स्थानका होटेल भरिभराउ बनेका छन् ।”

पदयात्रा पर्यटनमा विश्वमा नै चासो र चर्चा हुने गन्तव्य हो अन्नपूर्ण आधार शिविर । पर्यटकीय नगरी पोखरालाई मुख्य आधार बनाएर पदमार्ग क्षेत्रको घान्द्रुकसम्म सवारीसाधनबाट पुगेका पदयात्रीहरू त्यहाँबाट तीन दिनको पदयात्रा गरेपछि अन्नपूर्ण आधार शिविर पुग्दछन् । थप लामो समय पदयात्रा गर्न चाहनेहरू पोखरा–बागलुङ राजमार्गअन्तर्गत कास्कीको नयाँपुलबाट पनि पदयात्रा गर्ने गर्दछन् ।

नेपालीमा बढ्दै गएको घुमफिर संस्कृतिको विकाससँगै पछिल्ला वर्षमा यस क्षेत्रको पदयात्राका लागि देशका विभिन्न भागबाट स्वदेशी पर्यटक पदयात्राका लागि आउने गरेको सचिव गुरुङले बताए ।

हिमाल आरोहणका क्षेत्रमा सबैभन्दा जेठो हिमालका रूपमा चासो र चर्चा कमाएको अन्नपूर्ण हिमालको परिधिमा गरिने पदयात्रा विश्वका उत्कृष्ट पदयात्रा मार्गमध्येमा पर्ने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थीले बताए । उनका अनुसार विदेशी पर्यटकका साथै पछिल्लो समयमा आन्तरिक पर्यटकको आकर्षण पदयात्रा पर्यटनमा बढिरहेको छ ।

अन्नपूर्ण आधार शिविरमा विशेषगरी युरोप, अमेरिकाका साथै मलेसिया, चीन, कोरियालगायतका देशका नागरिक बढीमात्रामा आउने गरेका छन् । जथाभाबी बाटो खन्नेक्रमले समग्र पदयात्रा पर्यटन नै जोखिममा पर्दै गएको वास्तविकतामा अन्नपूर्ण आधार शिविरसहित मर्दी हिमाल, पुन हिल, मिलेनियम ट्रेकलगायतका पदमार्ग पर्यटकको आकर्षक गन्तव्यमा पर्दै गएका छन् ।

जथाभाबी बाटो खन्ने नाममा पदमार्ग छोटिँदै जानु पदयात्रा पर्यटनका लागि चुनौतीको विषय भएको जनाउँदै अध्यक्ष पन्थीले भएका पदमार्गको संरक्षणसँगै वैकल्पिक पदमार्गको खोजी गरिनु अपरिहार्य भएको बताउनुभयो ।

फ्रान्सका हिमाल आरोही मोरिस हर्जोगले सन् १९५० जुन ३ मा सर्वप्रथम अन्नपूर्ण प्रथमको सफल आरोहण गरेसँँगै विश्वमै हिमाल आरोहणतर्फ आकर्षण बढ्दै गएको हो ।

अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै यो क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।

समुद्री सतहदेखि चार हजार एक सय ३० मिटरको उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा एरिक सिप्टनले गरेका पदयात्राले यहाँको पदयात्रा पर्यटन अघि बढाउन महत्त्वपूर्ण भूमिका खेलेको छ । अन्नपूर्ण हिमालको गरिमा र महत्वलाई उजागर गर्नका लागि प्रत्येक वर्षको अन्नपूर्ण आरोहण दिवसका अवसरमा अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म अन्नपूर्ण म्याराथन गर्दै आइएको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवका संयोजक ललित गुरुङले बताउनुभयो ।

हालसम्म तीन संस्करणसम्मको अन्नपूर्ण म्याराथन सम्पन्न भइसकेको जनाउँदै उनले त्यसबाट अन्नपूर्ण आधार शिविरिको पदयात्रामा स्वदेशी एवं विदेशी पर्यटकको थप आकर्षण बढिरहेको बताए ।

आजभन्दा साढे चार दशकअघिसम्म अन्नपूर्ण आधार शिविर जाने पर्यटक यहाँका भेडीगोठ र स्थानीयवासीले बनाएका चित्रा वा भकारीले बारेका झुपडीमा बस्नुपर्ने बाध्यता रहेकामा अहिले भने सबै किसिमका सुविधा सम्पन्न होटलले पर्यटकको स्वागत गरिरहेका छन् ।

अन्नपूर्ण आधार शिविरमा पहिलो पटक २०३८ सालमा पर्यटकलाई लक्षित गरी यस क्षेत्रका सिनुवा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छ्रे आधार शिविर र अन्नपूर्ण आधार शिविरसमेत गरी २६ होटल सञ्चालनमा आएका थिए । पछिल्ला वर्षमा थप आठ होटल थपिएको बताउँदै सचिव गुरुङले होटेलको सङ्ख्या थपसँगै भएका होटेलमा पनि पर्यटकस्तरीय पूर्वाधार थपिएको जानकारी दिए ।

धार्मिक एवं सांस्कृतिकरूपले महत्त्वपूर्ण मानिने अन्नपूर्ण आधार शिविर पदमार्गमा पर्ने बुद्धशिला, पूजनीय बराह र यहाँबाट देखिने एक सय आठ धारासहितका धार्मिकस्थलले पनि यहाँको महिमा र गरिमा अझै बढाएको छ । आइतबारदेखि नेपालको औपचारिक भ्रमण गर्न लागेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविरमा पनि आउने कुराले यहाँका पर्यटन व्यवसायी उत्साहित बनेको सचिव गुरुङले बताए ।

“संयुक्त राष्ट्रसङ्घका महासचिव जस्तो अतिविशिष्ट पाहुना अन्नपूर्ण आधार शिविरमा आउनुहुने कुरा हाम्रा लागि ठुलो गौरवको विषय हो”, उनले भने, “उहाँको आगमनले विश्वमाझ फैलिएको अन्नपूर्ण हिमाल र अन्नपूर्ण आधार शिविरका साथै समग्र यस क्षेत्रको महत्त्व आगामी दिनमा अझै चुलिएर जाने विश्वास लिएका छौँ ।” रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र

ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

Techie IT