Techie IT
२०८२ असार २५, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालझीं गाउँमा आयातित मदिरा निषेध !

झीं गाउँमा आयातित मदिरा निषेध !


बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झीं गाउँमा आयातित मदिरालाई निषेध गरिएको छ । युवा कुलतमा फस्ने र धनराशि गाउँबाट बाहिर जाने समस्यालाई हटाउन गाउँभेलाबाट झीं गाउँमा आयातित मदिरा बिक्री वितरणमा रोक लगाइएको हो ।

परीक्षणका रुपमा एक वर्षअघि देखि लागू गरिएको उक्त नियमका कारण गाउँमा मदिरा भित्रिएर बाहिरिने लाखौँ रुपैयाँ जोगिएको स्थानीयवासी बताउँछन् ।

विसं २०७९ मङ्सिर १६ गते झीं गाउँमा जनप्रतिनिधि, आमा समूह, युवा क्लब, सङ्घसंस्था, स्थानीय व्यवसायीलगायत सरोकारवालाहरुको भेलाले सर्वसम्मत रुपमा आयातित मदिरालाई पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार गाउँमा रहेका सबै होटल तथा पसलले सहरबाट मदिरा गाउँमा लैजान बन्द गरेका छन् ।

विभिन्न कम्पनीका रक्सी र बियर गाउँमा भित्रँदा युवा कुलतमा फस्ने र धनराशिसमेत मासिने भएपछि गाउँमा उक्त नियम बनाइएको रघुगङ्गा गाउँपालिका–५ का वडाअध्यक्ष मनबहादुर शेरमञ्जाले बताए । “बाहिरबाट आयात गरिएका कतिपय रक्सीको गुणस्तर नहुँदा धेरै जनालाई विभिन्न रोग पनि लाग्यो, महँगा मदिरा सेवन गर्दा ठूलो धनराशि गाउँबाट बाहिरियो, गाउँमा सामाजिक सुधारअन्तर्गत यो नियम बनाएर लागू गरेको एक वर्षमै यसले धेरै सकारात्मक प्रभाव पारेको छ”, उनले भने ।

सबैभन्दा कमजोर आर्थिक अवस्था भएकाहरुले बजारबाट आउने करुवा लगायतका गुणस्तर नभएका मदिराजन्य पेयपदार्थको प्रयोग गर्दा धेरैको स्वास्थ्यमा समेत जटिल रोगहरु लगेपछि स्थानीयवासी मदिरा नियन्त्रणमा सक्रिय भएका थिए । मदिरा सेवन गर्नेहरुलाई गाउँमै स्तरीय घरेलु मदिरा बनाएर सेवन गर्न पाउने सुविधा दिइएको छ ।

युवा घरेलु मदिरा सेवन गर्न सहजै रुपमा तयार नहुने र बाहिरबाट कुनै पनि प्रकारका मदिराजन्य पदार्थ गाउँमा नभित्रने भएकाले युवालाई समेत कुलतबाट टाढै राख्न सघाउ पुगेको स्थानीय समाजसेवी गोविन्द पाइजाले बताए । विवाह, व्रतबन्ध, किरियालगायत संस्कारजन्य कार्यमा समेत मदिरामा धेरै रकम खर्च हुने गरेकामा आयातित मदिरालाई निषेध गरेपछि फजुल खर्च बचत हुने गरेको छ । गाउँमा हुने यस्ता संस्कारजन्य कार्यमा बजारबाट आयातित पेयपदार्थहरुको समेत प्रयोगलाई हटाइएको छ ।

गत वर्ष आफ्नो छोरी सुस्मा पाइजा पुनको विवाहबाट यो नियमलाई समेत गाउँमा कार्यान्वनयमा ल्याइएको समाजसेवी पाइजाले बताए । गाउँमा आयातिय मदिरा र संस्कारजन्य कार्यमा चिसो पेयपदार्थहरुलाई प्रयोगमा निषेध गरेपछि एउटा विवाहमा रु एकदेखि दुई लाखसम्म फजुल खर्च कटौती हुने गरेको उनले अनुभव सुनाए ।

मगर समुदायको बाहुल्य बसोबास रहेको झीं गाउँमा करिब तीन सय ४० घरधुरी रहेका छन् । धौलागिरि सेन्चुरी पदमार्गको पहिलो पर्यटकीय गाउँका रुपमा परिचित झीं गाउँमा घरबाससमेत सञ्चालनमा छ ।

यहाँ आउने पर्यटकहरुलाई स्थानीय कोदो, मकै, जौ, गहुँ लगायतको अन्नबाट परम्परागत विधिबाट बनाइएको मदिराको प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ । यसअघि म्याग्दीको मालिका गाउँपालिका–५ मगरदाङमा स्थानीय आमा समूहले आयातित मदिराको बिक्री तथा सेवनमा रोक लगाएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अब स्वास्थ्य बीमामार्फत बिरामीले २ लाख सुविधा पाउने स्वास्थ्य मन्त्री…

काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका

रसुवा बाढीमा बेपत्ताको खोजी र उद्धारलाई प्रभावकारी बनाउन निर्देशन

काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले रसुवाको बाढीमा बेपत्ताको खोज–उद्धार कार्यलाई निरन्तरतासहित थप प्रभावकारी बनाउन सम्बन्धित

सहमति जुटेपछि चिकित्सक सङ्घको आन्दोलन स्थगित

काठमाडाैँ । सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबीच सहमति जुटेको छ । आन्दोलनरत चिकित्सक र सरकारबीच हिजो बेलुका तीन बुँदे

भोटेकोशीमा हिमताल फुटेर बाढी आएको हुन सक्ने ईसीमोडको अनुमान

काठमाडाैँ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड) ले वर्षाका कारण नभई कुनै हिमताल फुटेर रसुवाको भोटेकोशी नदीमा बाढी आएको

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सशस्त्र संघर्ष, जनआन्दोलन तथा तराई मधेश आन्दोलनका घाइतेको उपचारमा सहजता ल्याउने निर्णय

त्रिशूली नदी किनारमा सावधानी अपनाउन धादिङ प्रशासनको आग्रह

काठमाडाैँ । त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ । प्रशासनले सार्वजनिक सूचना निकालेर

Techie IT