Techie IT
२०८२ जेठ ९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालखानेपानीका लागि लहरा खोला धाउँदै ढोडेनीवासी

खानेपानीका लागि लहरा खोला धाउँदै ढोडेनीवासी


नवलपरासी । सुगम जिल्लाकारुपमा चिनिएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–३ ढोडेनीका बासिन्दा पानीका लागि खोला धाउनु परिरहेको छ । उनीहरु एक गाग्री पानी लिन दुई घण्टा उकालो हिँडेर खोला आउजाउ गर्दैआएका छन् ।

बिहान उज्यालो हुनेबित्तिकै गाग्री बोकेर पानी लिन जानेहरु दुई घण्टा डोकोमा एक गाग्री पानी बोकेर घर फर्किन्छन् । यस क्षेत्रमा सधैँभरि खानेपानीको समस्या रहेको स्थानीय सरस्वती आचार्यले बताइन् ।

“ढोडेनीवासीलाई खानेपानीको असाध्यै समस्या छ, एक गाग्री पानी ल्याउन दुई घण्टा उकाली ओराली गर्नुपर्छ”, ४० वर्षीया आचार्यले भनिन्, “यहाँका सबै घरमा खानेपानीको मिटर जडान गरिएको छ, तर धारोमा पानी आउँदैन ।” पानी बोक्न एक जनाको पूरै दिन बित्ने गरेको उनको भनाइ छ ।

खानेपानीको धारामा पानी नआएपछि उनीहरु कालीगण्डकी नजिकै रहेको लहरा खोलाको पानी पिउन बाध्य छन् । ढोडेनीबाट एक किलोमिटरभन्दा टाढा रहेको उक्त खोलामा पानी लिन जाँदा भिरालो भए पनि पानी बोकेर ल्याउँदा उकालो चढ्नुपर्छ । स्थानीय जमुना गुरुङ भन्छिन्–“खोलाबाट पानी लिएर आउँदा उकालीओराली गर्नुपर्छ, पानी बोकेर आउँदा कतिपटक त लडिन्छ ।” गाग्री बोक्न नसक्नेले झोलामा बोत्तल हालेर पानी ल्याउने गरेका छन् ।

“पानीकै पिरले गाईबस्तु पाल्न सकेकी छैन”, आचार्यले पीडा सुनाइन् ।

खोलाबाट बोकेर ल्याएको पानीले नुहाइधुहाइ गर्न समस्या हुने भएकाले स्थानीयवासी लुगा बोकेरै खोलामा पुग्ने गर्दछन् । बाख्रापालनका लागि राम्रो सम्भावना भएको यस क्षेत्रमा पानीकै समस्याका कारण पशुचौपाया केहीले मात्र पालेका छन् । हुनेखाने र सक्नेले पानीको ट्याङ्कर नै घरमा लिएर आउने गरेका भए पनि नसक्नेले खोलाको पानी पिउन बाध्य छन् ।

ढोडेनी छतिटारमा कुखुरा पाल्दै आएका विष्णुहरि अधिकारी ट्याङ्करबाट ल्याएर पानी पिउने गरेको बताउँछन् । “खानेपानीको समस्या आजको होइन, विगतदेखि नै यथावत् छ”, उनले भने, “कुखुरालाई नियमित पानी चाहिने हुँदा ट्याङ्करबाट पानी झार्ने गरेको छु, तीन हजार लिटर पानीले चार दिन जति पुग्छ ।”

ढोडेनीका झण्डै एक सय ५० परिवारलाई वर्षभरि नै खानेपानीको समस्या हुन्छ । दुई वर्षअघि प्रदेश सरकारको आर्थिक सहयोगमा केवरा ढाप र जलुकेको पानी ल्याइएको थियो । तर अहिले धारामा पानी आउनै छाडेको छ ।

“चार किलोमिटर परबाट पानीको पाइप जोडर खानेपानी ल्याइयो, अघिल्लो वर्ष मिटर पनि जोड्यौँ, हप्तामा एक दुई पटक मात्रै अलिकति पानी आउँछ”, खानेपानीका लागि जोडिएको मिटर देखाउँदै अधिकारीले भने, “पानी प्रयोग गर्न नपाए पनि हामीले मासिक रु ८० तिर्नुपरेको छ ।”

बर्सेनी माघदेखि जेठ महिनासम्म खानेपानीको हाहाकार नै हुन्छ । गण्डकी प्रदेश सरकारको सहयोगमा कालीगण्डकीमा लिफ्टििङ प्रणालीमार्फत खानेपानी ल्याउने तयारी भइरहेको गैँडाकोट–३ का वडाध्यक्ष शिवकान्त तिवारीले बताए ।

“लिफ्टिङको काम अघि बढेको पाँच वर्ष भइसक्यो, तर निर्माणमा ढिला हुँदा खानेपानीको समस्या भएको हो”, उनले भने, “खानपानीको आयोजना चाँडो निर्माण सम्पन्न गराउन भन्दै पटक–पटक पोखरासम्म धायौँ ।” ठेकेदारले रकम नपाएर काम रोकेको छ । प्रदेश सरकारले पैसा भुक्तानी नगर्दा यहाँका बासिन्दाले पानी पिउन नपाएका हुन् ।

गण्डकी प्रदेश सरकारले सुरु गरेको लिफ्टिङ खानेपानी योजनाको बजेट रु छ करोड ४७ लाख ४५ हजार रहेको छ । कूल बजेटमध्ये रु पाँच करोड १६ लाख ७५ हजार प्रदेश सरकारको तथा रु एक करोड ३० लाख ७० हजार बराबरको श्रमदान गर्ने सहमतिअनुसार आयोजना अगाडि बढेको हो । चालु आर्थिक वर्ष २०७९÷८० मा यस आयोजनाका लागि रु १५ लाख मात्रै बजेट विनियोजन भएको थियो ।

विनियोजित बजेटभन्दा बढी काम निर्माण कम्पनीले गरिसकेकाले उसलाई थप रु २४ लाख भुक्तानी गर्न बाँकी रहेको आयोजना प्रमुख राजेन्द्रप्रसाद न्यौपानेले बताए । न्यौपानेका अनुसार खानेपानी आयोजनाको काम ८० प्रतिशत पूरा भएको छ । काम सम्पन्न गर्न रु ७८ लाख बजेट आवश्यक पर्छ । यहाँ डेढ किलोमिटर तल कालीगण्डकी नदीबाट लिफ्ट गरेर खानेपानी ल्याइँदैछ ।

लिफ्ट गरेर ल्याएको पानी सङ्कलनका लागि गाउँको माथिल्लो भागमा डेढ लाख लिटर पानी अट्ने ट्याङ्की निर्माण गरिएको छ । यस आयोजनाबाट झण्डै चार सय परिवार लाभान्वित हुने बताइएको छ । –टेकराज पोखरेल




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चितवनमा पौडी पोखरीमा डुबेर एक जनाको ज्यान गयो, आठ जना…

चितवन । चितवनको भरतपुर महानगरपालिका–२२ का २५ वर्षीय लोकेश महतोको पौडी पोखरीमा डुबेर ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका

दलित परिवारका लागि सुरक्षित आवास

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० सिमलखेतका जनजाली सार्कीको सुरक्षित आवासमा बस्ने सपना पूरा भएको छ । “पुरानो घरको छाना बर्खामा चुहिँदा

विश्व स्वास्थ्य सङ्गठनद्वारा ऐतिहासिक महामारी सम्झौता स्वीकृत

एजेन्सी । संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य एजेन्सी विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोभिड नाइन्टिन सङ्कटबाट उत्पन्न भएको तीन वर्षभन्दा बढीको वार्तापछि

बैतडीको बडिया र कणेलीगाउँमा खानेपानीको समस्या

बैतडी । दोगडाकेदार गाउँपालिकाको वडा नं २ बडिया र कणेलीगाउँमा खानेपानीको समस्या भएको छ । गाउँपालिकाले ‘एक घर, एक धारा

नारायणगढ–बुटवल सडक: दाउन्ने क्षेत्रमा काम केन्द्रित

नवलपरासी । नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६६ दशमलव ५० प्रतिशत पुगेको छ । आयोजनका सूचना अधिकारी शिव खनालका

विवाहेत्तर सम्बन्धका कारण युवकको हत्या, ६ जना पक्राउ

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, किसनपुरका अरविन्दकुमार पण्डितको हत्याका ६ जना आरोपितलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले सोमबार सार्वजनिक गरेको छ

Techie IT