Techie IT
२०८२ असार १, आईतबार
NepaliPatra logo
गृहपृष्ठजीवनशैलीआज तुलसी र दामोदरको विवाह गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै

आज तुलसी र दामोदरको विवाह गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै


काठमाडौँ । हरिशयनी एकादशी देखि हरिबोधिनी एकादशीका दिन सम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकोमा आज दामोदर सँग विवाह गरी यो पर्व मनाइँदै छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदर सँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।

हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदर सँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

आदिकाल देखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रूपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दशदिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।

तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । मठको वरपर बहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद् ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महा औषधि मानिन्छ ।

तुलसी बाट बनेको चिया मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ । कोरोना, डेङ्गु जस्ता रोग बाट बच्न तुलसीको चिया नियमित सेवन गर्नाले लाभ मिल्ने आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेलले बताए ।

कात्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसी पत्र विष्णुलाई अर्पण गर्दा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । गरूड पुराणमा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसी पत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ ।

आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ । रात्रिमा ‘गोविन्द उठ्नुस् तपाईं सुते जगत् सुत्छ, तपाईं उठे जगत् उठ्छ’ भन्दै शङ्ख, घण्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ । यसको प्रतीकका रूपमा मानवका पाँच ज्ञानेन्द्रीय र पाँच कर्मेन्द्रीय एवं मन गरी ११ वटालाई जित्न उपयोग गरिने शास्त्रीय मान्यता छ ।

किसानले उखुको बोट मठमा गाड्छन् । आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वन तरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ ।

कात्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवं सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग विभिन्न ग्रन्थमा वर्णन गरिएको धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले बताए ।

विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह ब्रतबन्ध जस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढी, पहिरो आउने र सर्प जस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ ।

आजका दिन काठमाडौं उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौंका शेषनारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्दछ । यहाँ जान नसक्नेले काठमाडौंको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।

वर्षमा एक दिन धेरै दर्शनार्थीले पूजा आराधना गर्न आउने गरेकाले दक्षिणकालीको शेषनारायण मन्दिरमा विशेष व्यवस्था गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यसैगरी बूढानीलकण्ठ नारायणस्थानमा पनि आज देखि कार्तिक शुक्ल पूर्णिमाका दिन सम्म विशेष मेला लाग्ने र मेलाको सबै तयारी पूरा भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु

पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु भएको छ। मेची राजमार्गस्थित पाँचथरको

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

कञ्चनपुर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । ६५ लाख ५७ हजार दुई सय

म्याग्दीको डाडागाउँमा ‘एक घर, एक धारा’

म्याग्दी । मालिका गाउँपालिका–३ मा एक करोड १० लाखको लागतमा निर्माण भएको डाडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने

Techie IT