Techie IT
२०८२ वैशाख १७, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालललितपुरमा ‘इन्टेलिजेन्स ट्राफिक लाइट’ सञ्चालनमा

ललितपुरमा ‘इन्टेलिजेन्स ट्राफिक लाइट’ सञ्चालनमा


ललितपुर । ललितपुरमा ‘इन्टेलिजेन्स ट्राफिक लाइट’ सञ्चालनमा आएको छ । बाग्मती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले पुल्चोकमा रहेकाे ललितपुर महानगरपालिका अगाडिको सडक छेउमा रहेको ‘स्विच अन’ गरेर आज यो प्रविधिको शुभारम्भ गरेका हुन् ।

ललितपुर महानगरपालिकाको लागतमा गाडी व्यवस्थापनका लागि सडकमा इन्टेलिजेन्स ट्राफिक लाइट शुभारम्भ गरिएको हो । त्यस अवसरमा मन्त्री महर्जनले ललितपुरमा ट्राफिक व्यवस्थापनका लागि राम्रो प्रयासको शुरुआत भएकामा प्रशंसा गरे । ‘महानगरका सबै प्रमुख सडक क्षेत्रमा ट्राफिक व्यवस्थापनका लागि यो प्रणाली प्रभावकारी हुनेछ, देशभर दर्ता भई सञ्चालनमा रहेकामध्ये ६० प्रतिशत गाडी बाग्मती प्रदेशमा छन्, यसलाई व्यवस्थापन गर्नु ज्यादै चुनौतीपूर्ण छ । विज्ञान र प्रविधिमा आधारित गरेर ‘स्मार्ट ट्राफिक’ व्यवस्थापनका लागि भएको यो काम महत्त्वपूर्ण छ’, उनले भने ।

ललितपुर प्रतिनिधि क्षेत्र नम्बर २ का सांसद प्रेमबहादुर महर्जनले नयाँ प्रविधियुक्त प्रणालीले ट्राफिक व्यवस्थापन प्रणालीले यातायात सञ्चालनमा सहजता र यात्रुलाई समय व्यवस्थापनमा प्रभावकारी हुने बताए ।

ललितपुर क्षेत्र नमरब २ ‘ख’ प्रदेशबाट निर्वाचित बाग्मती प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले नागरिकसँग जोडिएको महत्त्वपूर्ण समस्या समाधानका लागि ललितपुर महानगरले सराहनीय काम गरेको बताए । ‘लोकतन्त्र र गणतन्त्रमा नागरिकलाई अनुभूति गर्नेगरी सेवा दिने काम महत्त्वपूर्ण हो, ट्राफिक व्यवस्थापन, वायु प्रदूषण र फोहोरमैला व्यवस्थापन उपत्यकाको प्रमुख समस्या हो, यसका लागि ललितपुर महानगरले गरेको प्रयास सराहनीय छ’, उनले भने ।

महानगरका मेयर चिरीबाबु महर्जनले महानगरबाट अध्ययन गरेर ट्राफिक व्यवस्थापनका लागि लाइट जडान गरिएको र यो नेपालमै पहिलो पटक भएको बताए । ‘हाम्रो उद्देश्य काठमाण्डाैतर्फको ट्राफिक समस्या पार गरेर थापाथली पुल हुँदै ललितपुरतर्फ आएकालाई केही समय पनि रोक्न नपरोस् र ट्राफिक लाइटले सहजता प्रदान गरोस् भन्ने हो’, उनले भने, ‘यो लाइट स्वचालित भएकाले अन्य परम्परागत ट्राफिक लाइटभन्दा फरक र सहज पनि रहेको छ । सँगै राखिएको ‘भेहिकल डिटेक्टर’ ले गाडीको नम्बर तथा विवरण ‘रिड’ गर्छ । प्रणालीले नै कुन दिशातर्फ कति समय चाहिने हो आफैं निर्धारण गर्छ । अहिले यसको ‘मनिटरिङ’ प्रणाली ट्राफिक कार्यालयमा राखिएको छ ।’

महानगरकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले धेरै विधामा ललितपुर महानगरपालिकाले नयाँ कामको शुरुआत गरेको छ भन्नुभयो । ‘एक सय छ औं स्थापना दिवसको सन्दर्भमा हामीले यो प्रविधिको प्रयोग शुरू गरेका छौँ, हामीले गरिरहेका काममा बौद्धिक जगत‍्ले पनि सहयोग र समन्वय गरेर हौसला प्रदान गरिरहेको छ । उपत्यकाले झेलिरहेको ट्राफिक समस्या व्यवस्थापनका लागि ललितपुर महानगरले यो नयाँ र नौलो प्रयास गरेको छ’, उनको भनाइ थियो ।

उपमेयर बज्राचार्यले नेपालमै पहिलो पटक सञ्चालनमा आएको यो प्रविधिलाई प्रभावकारी बनाउन सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए । उनले गाडी र गाडी चालक तथा पैदलयात्रीलाई ध्यान दिएर ‘म्युनिसिपल मास्टर प्लान’ अन्तर्गत यो परियोजना लागू गरिएको बताए ।

ललितपुर महानगरपालिकाले दशैँअघि शुरू गरेर कुपन्डोलदेखि जावलाखेलसम्म पाँच वटा ठाउँमा यस्ता लाइट जडान गरेको छ । जडानको सबै प्रक्रिया सकिएपछि आजदेखि नियमित सञ्चालनमा ल्याइएको हो । पहिलो चरणमा पुल्चोकमा दुई, कानदेवता स्थानमा एक, दमकल चोकमा एक र जावलाखेलमा एक गरी पाँच वटा लाइट जडान गरिएका छन् ।

लाइटसँगै राखिएको ‘भेहिकल डिटेक्टर मेशिन’ ले सडकमा गाडीको सङ्ख्या तत्काल ‘रिड’ गरेर तत्कालै ट्राफिक लाइटको ‘चिप’ तथा ‘सर्भर’ लाई जानकारी गराउँछ । त्यही आधारमा व्यवस्थापन प्रणालीले जता धेरै गाडी छन् त्यतातिर हरियो बत्ती बाल्छ । काठमाडाैँतर्फका ट्राफिक लाइटमा यात्रुले धेरै समय कुर्नुपर्ने भए पनि ललितपुरमा धेरैमा ३० देखि ५० सेकेन्ड मात्रै पर्खे पुग्ने अवस्था बनाइएको महानगरले जनाएको छ ।

यो लाइट ‘फिक्स’, ‘पुलिस म्यानुअल’, ‘सिङ्क्रोनाइजेसन’, ‘एटीसीएस’ लगायत आवश्यकताअनुसारको ‘मोड’ मा प्रयोग गर्न सकिने प्राविधिक सुयसभक्त माथेमाले जानकारी दिए । उनका अनुसार यसमा पाँच वर्षसम्म तथ्याङ्क भण्डारण हुन्छ भने गाडीको र दुर्घटनाको विवरणसमेत रहन्छ । लाइट जडान गरेको नमूना पावर ग्रेड जेभीले शुरूमा एक सय १७ ठाउँमा सम्भाव्यता अध्ययन गरे पनि अति आवश्यक पर्ने पाँच वटा ठाउँमा यो प्रविधि जडान गरिएको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल

काठमाडौं । नेपाल पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा अच्युतप्रसाद सिग्देल निर्बिरोध निर्वाचित भएका छन् । सङ्घको मङ्गलबार राजधानीमा सम्पन्न छैटौँ

द ब्रिटिस कलेज र फिक्कल गाउँपालिकाबीच सहकार्यताको लागि सम्झौता

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका लागि सहकार्य भएको छ । ब्रिटिस

विद्युत् आपूर्तिमा समस्या छैन, लोडसेडिङ पनि हुँदैन : प्राधिकरण

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको र लोडसेडिङ पनि नहुने स्पष्ट पारेको छ । प्राधिकरणले विज्ञप्ति

तरबूजा खेती गरेरै जीविका चलाउँछिन् बन्धु चौधरी

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएकी छिन् ।

अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय

इलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका

Techie IT