काठमाडाैँ । एक जनाको ज्यानै जानेगरी कैलाली कारागारमा भएको कैदीबन्दीहरुबीचको भडपपछि देशैभरका कारागारहरुको सुरक्षा सतर्कता बढाइएको छ ।
गएको शुक्रवार कैलाली कारागारमा कैदीबन्दीबीच झडक हुँदा एक जनाको ज्यान गयो भने ४८ जना घाइते भएका थिए ।
सुदूरपश्चिम प्रदेश सरकारले कैलाली कारागारमा भएको झडपमा ज्यान गुमाएका भरत चौधरीको परिवारलाई पाँच लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
हिजो बेलुकी मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थितिमा सुरक्षा समितिको बैठकले यो निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले निकालेको विज्ञप्तिमा भनिएको छ ।
बैठकले कैलाली कारागारका कैदीबन्दीबीच भएको झडपका क्रममा घाइते भएकालाई सरकारी खर्चमा उपचारको व्यवस्था मिलाउने निर्णय गरेको छ ।
यसैगरी कारागारभित्र होलोजन लाइट, सीसी क्यामरा जडान गर्ने, कारागारको मर्मत सम्भार आन्तरिक मामिला तथा कानून मन्त्रालयले तत्काल शुरू गर्ने, कारागारको सुरक्षाका लागि आवश्यक उपकरण तथा साधनको व्यवस्थापन गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।