Techie IT
२०८२ असार १८, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालहेवाखोलाको बाढीमा बेपत्ता हुने को–को छन् ?

हेवाखोलाको बाढीमा बेपत्ता हुने को–को छन् ?


पाँचथर । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवाखोलामा आएको बाढीमा परी बेपत्ता भएका पाँचै जनाको पहिचान भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीमा परी हिलिहाङ गाउँपालिका–७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका–११ का २८ वर्षीय सञ्जोग लिम्बू र फिदिम–५ का ५५ वर्षीय राजकुमार राई सम्पर्कविहीन छन् । उनीहरुलाई हेवाखोलाले हेवाखोला पुल क्षेत्रबाट बगाएको प्रहरीको अनुमान छ ।

यस्तै फिदिम –४ र हिलिहाङ–७ को सिमाना माझीटार तमोर दोभानबाट दुई जना बेपत्ता भएका छन् । स्थानीयवासी २८ वर्षीय आशिष माझी र २५ वर्षीया एलिसा माझी सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । बाढीले फिदिम–४ का रेशम कटुवालको दुईतले घर र मतान बगाएको छ ।

बाढीले याङवरक गाउँपालिका–२ फलैँचाका रामप्रसाद राईको एकतले घर, चन्द्र बेघाको दुईतले घर र एकतले मतान र कृष्ण बेघाको एकतले घर बगाएको छ । यहाँ मानवीय क्षति नभएको र बाँकी क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हालसम्म बाढीले हेवाखोलामा रहेका चारवटा सडक पुल बगाएको छ । फिदिम–४ र हिलिहाङ–७ को सीमामा मेची राजमार्गको एक सडक पुल, तमोर करिडोर एक सडक पुल (बेलीब्रिज)बाढीले बगाएको छ । यस्तै फालेलुङ गाउँपालिका वडा नं ३ र ७ को सीमामा रहेको एउटा तथा सोही गाउँपालिका वडा नं ३ र ५ को सीमामा रहेको अर्को सडक पुल बाढीले बगाएको छ । सो स्थानबाट जलविद्युत् आयोजनाको एउटा ‘स्काभेटर’ पनि बाढीले बगाएको प्रहरीले जनाएको छ ।

बाढीका कारण मेची राजमार्ग र तमोर करिडोर सडक अवरुद्ध भएका छन् । वर्षापछि मेची राजमार्गको फाल्गुनन्द गाउँपालिका–३ पाङ्ग्रेभीरमा पहिरो झरेर सडक पूर्णतः अवरुद्ध भएको छ भने फिदिम–३ कान्छीदोकानमा पनि भेलले सडक अवरुद्ध पारेको छ ।

वर्षाका कारण सडक बगाएपछि फिदिम–यासोक सडकको कुम्मायक गाउँपालिका–४ वनथाकमा सडक अवरुद्ध भएको छ । यस्तै फाल्गुनन्द–७ बाट घुर्बिसेपञ्चमी जोड्ने सडक पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ । बाढीले याङवरक–२ मा दुईवटा र फालेलुङ–३ र ५ को सीमाको एक झोलुङ्गे पुलमा समेत क्षति पु¥याएको प्रहरीले जनाएको छ । बाढीले जिल्लामा निर्माण र सञ्चालनमा रहेका अधिकांश जलविद्युत् आयोजनामा क्षति गरेको छ । क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

सडक सम्पर्कविच्छेद
भीषण वर्षापछि आएको बाढीले हेवाखोलामा रहेका दुईवटा पुल बगाएपछि पाँचथरबाट ताप्लेजुङ जिल्ला तथा जिल्लाका दुई गाउँपालिकासँगको सडक सम्पर्कविच्छेद भएको छ ।

गए राति भीषण वर्षा भएपछि हेवाखोलामा आएको बाढीले मेची राजमार्गको फिदिम –४ र हिलिहाङ–७ जोड्ने हंवाखोला पुल बगाएको छ । बाढीले ५४ दशमलव ५२ मिटरको उक्त पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । विसं २०४२ मा बनेको यो पुल बाढीका कारण हालसम्म कहिल्यै जोखिममा समेत परेको थिएन । तर गए रातिको बाढीले तीन स्पान रहेको पुलका सबै संरचना बगाएको हो ।

यस्तै तमोर करिडोर सडकअन्तर्गत तीन वर्षअघि हेवाखोलामै निर्माण भएको माझीटारस्थित बेलीब्रिज ९फलामको पुल० पनि बाढीले बगाएको छ । फिदिम–४ र हिलिहाङ –७ लाई जोड्ने बेलीब्रिजका सबै संरचना बाढीमा बगेका छन् । दुवै पुल बगेपछि मेची राजमार्ग र तमोर करिडोर सडकबाट ताप्लेजुङ जिल्ला तथा पाँचथरको हिलिहाङ र याङवरक गाउँपालिकासँगको सडक सम्पर्कविच्छेद भएको छ । सडक सम्पर्कविच्छेद भएपछि आकस्मिक बिरामीलाई अस्पतालसम्म पुर्याउने कार्य चुनौतीपूर्ण भएको छ । यस्तै यस क्षेत्रमा उत्पादन हुने दुग्धजन्य उत्पादन र सागसब्जी खेर जाने अवस्था आएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

संविधान सभा सदस्य रामअयोध्या यादवको निधन

काठमाडौं । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका २ कवहीजगात गाउँ घर भएका यादवको ७२

निजामती विधेयकको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था विवादमा

काठमाडाैँ । प्रतिनिधिसभाबाट पारित भइसकेको निजामती सेवा विधेयकमा अवकाशप्राप्त कर्मचारीहरूलाई दुई वर्ष अरू नियुक्तिमा निषेध गर्न राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी

पाथीभरा मन्दिरमा भक्तजनले चढाएको सिक्काहरुको गणना शुुरु

ताप्लेजुङ । ताप्लेजुङको धार्मिक तथा पर्यटकीय क्षेत्र पाथीभरा देवी मन्दिरमा भक्तजनहरुले चढाएका सिक्काहरुको गणना कार्य शुुरु गरिएको छ । भक्तजनले

Techie IT