Techie IT
२०८२ असोज २, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालचितवनमा कृष्णसार स्थानान्तरणको तयारी

चितवनमा कृष्णसार स्थानान्तरणको तयारी


चितवन। चितवनमा कृष्णसार स्थानान्तरणको तयारी अन्तिम चरणमा पुगेको छ। कृष्णसारको दीर्घकालीन संरक्षणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट चितवनमा स्थानान्तरण गर्ने तयारी गरिएको हो।

चितवनको रत्ननगर नगरपालिकाको टिकौलीमा कृष्णसार राख्नका लागि प्राविधिकरूपमा अध्ययनपश्चात् आवश्यक तयारीको काम गरिएको नगरप्रमुख प्रल्हाद सापकोटाले बताए। उनका अनुसार असोजसम्म यहाँ कृष्णसार ल्याउने गरी काम भइरहेको छ।

टिकौलीमा कृष्णसार राख्नका लागि तयार पारिएको क्षेत्रमा तारबार, घाँसेमैदान र दुईवटा पोखरी निर्माण गरिएको प्रमुख सापकोटाले जानकारी दिए। कृष्णसारलाई चितवनमा ल्याउनका लागि नगरपालिकाले अग्रसरता लिएको उनको भनाइ थियो।

नगरपालिकाको प्रमुख संरक्षकत्वमा डिभिजन वन कार्यालय चितवनले यसको व्यवस्थापनको काम गर्नेछ। कृष्णसार व्यवस्थापनका लागि नगरपालिकाले गत वर्ष रू ३८ लाख छुट्याएको थियो भने यस वर्ष रू ५० लाख बजेट विनियोजन गरेको छ।

कृष्णसारको संरक्षण र पर्यापर्यटनको विकासका लागि कृष्णसार यहाँ ल्याउन लागिएको प्रमुख सापकोटाले बताए। “चितवनमा हात्ती, बाघ र गैँडाबाहेक अन्य जनावर पनि छन् भन्ने सन्देश दिने उद्देश्यले पनि हामीले कृष्णसारको स्थानान्तरणमा पहल गरेका हौँ”, उनले भने, “नयाँ वन्यजन्तुको आगमनले पर्यटकलाई नयाँ अनुभव दिन सकिन्छ।”

पञ्चकन्या सामुदायिक वनको टिकौलीमा १९ हेक्टर क्षेत्रफलमा तारबार गरेर कृष्णसार राखिने नगरप्रमुख सापकोटाले जानकारी दिए। उनका अनुसार निर्माण गरिएको तारबार चितुवा, बाघ र हात्तीले भत्काउन नसक्ने गरी बनाइएको छ। यही सामुदायिक वनमा नगरपालिकाले हरियाली पार्कसमेत निर्माणको तयारी गरेको उनले बताए।

कृष्णसार स्थानान्तरणका लागि स्थानीय सरकार, चितवन राष्ट्रिय निकुञ्ज र संरक्षणको क्षेत्रमा काम गर्दै आएका विभिन्न सङ्घसंस्था तथा सामुदायिक वनको संयन्त्र निर्माण गरिएको छ। अहिले कृष्णसार बर्दियाको खैरापुर र कञ्चनपुरको शुक्लाफाँटास्थित हिरापुरमा मात्र पाइन्छ।

पूर्व प्रमुख संरक्षण अधिकृत बर्णबहादुर थापाले कृष्णसारको संरक्षणका लागि स्थानान्तरणको तयारी गरिएको बताए। उनका अनुसार कुनै प्रजाति एक ठाउँमा मात्र रहँदा रोग तथा बाढी, पहिराका कारण संरक्षणमा चुनौती हुने भएकाले कृष्णसारलाई चितवन ल्याउन लागिएको हो।

वन मन्त्रालयको निर्देशनमा राष्ट्रिय निकुञ्ज विभागले कृष्णसार स्थानान्तरणका लागि हरिभद्र आचार्यको नेतृत्वमा प्राविधिक अध्ययन टोली बनाएको थियो। प्राविधिक टोलीले ‘टिकौलीमा कृष्णसार ल्याउन र टिकाउ सम्भव छ’ भन्ने प्रतिवेदन बुझाएपछि स्थानान्तरणको तयारी गरिएको हो।

विसं २०७७ मा अध्ययन सुरु भएर विसं २०७८ देखि कृष्णसार ल्याउनका लागि पूर्वाधार निर्माणको काम तयारी सुरु गरिएको थियो। “प्राविधिकरूपमा व्यवस्थापनका लागि पाँचवर्षे कार्ययोजना तयार हुँदैछ”, पूर्व प्रमुख संरक्षण अधिकृत थापाले भने, “कार्ययोजनाको रिपोर्ट बुझाउनासाथ कृष्णसार स्थानान्तरणको काम सुरु हुन्छ।” उनका अनुसार पहिलो चरणमा छ भाले र १२ पोथीसहित १८ कृष्णसार ल्याउने तयारी गरिएको छ।

“कृष्णसारको बासस्थानका लागि खुला घाँसेमैदान भएको ठाउँ उपयुक्त मानिन्छ। यसले काँस, दुबो, सिरु मन पराउँछ। कृष्णसारका लागि बयरको दाना र बुबुल पनि उपयुक्त घाँस हो”, डिभिजन वन कार्यालय चितवनका सहायक वन अधिकृत बालकृष्ण खनालले भने। कृष्णसार स्थानान्तरणका लागि तयारी अन्तिम चरणमा पुगेको उनको भनाइ थियो। उनले वन कार्यालयले कृष्णसारलाई मन पर्ने बयरलगायतका जातका बिरुवासमेत रोपेको जानकारी दिँदै अनुकूल हावापानी र वातावरण भएको समय पारेर स्थानान्तरण गरिने जनाए।

चितवन राष्ट्रिय निकुञ्जका पूर्व संरक्षण अधिकृत नारायण रुपाखेती जङ्गल र झाडी भएको ठाउँ कृष्णसारका लागि उपयुक्त नभएको बताउँदै खुला र घाँसेमैदान उपयुक्त हुने बताए। “घना जङ्गल र झाडीमा हराउने डर हुन्छ”, उनले भने, “बिहान–बेलुका घाँसेमैदानमा चर्ने र दिउँसोको चर्को घाम तापेर बस्ने यसको स्वभाव हुन्छ।”

कृष्णसारलाई उचित बासस्थान दिए संरक्षण सफल हुने भन्दै पूर्व संरक्षण अधिकृत रुपाखेतीले अहिलेसम्मका अनुभवले सफलता मिल्ने बताए। उनले कृष्णसार ल्याउन लागिएको टिकौली क्षेत्रमा ७० प्रतिशत घाँसेमैदान रहेको जानकारी दिए।

कृष्णसार नेपालको संरक्षित वन्यजन्तु हो। कुनै समय नेपालको तराई क्षेत्रमा प्रशस्त पाइने कृष्णसार पछिल्लो समय भेटिन छाडेपछि सरकारले संरक्षणको प्रयास थालेको हो। नेपालमा कृष्णसारको सङ्ख्या चार सय ५२ पुगेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। बर्दियामा एक सय ९६ र कञ्चनपुरको शुक्लाफाँटामा दुई सय ५६ कृष्णसार छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT