Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालफोहरबाट मल उत्पादन गर्दै मध्यविन्दु

फोहरबाट मल उत्पादन गर्दै मध्यविन्दु


त्रिवेणी । फोहर व्यवस्थापन सहरी क्षेत्रका लागि चुनौती बन्ने गरेको छ । उचित व्यवस्थापन नहुँदा ठूला सहरले समस्या झेलिरहँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकाले भने फोहरबाट ‘कम्पोस्ट मल’ उत्पादन थालेको छ ।

मध्यविन्दुले गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा ‘नवप्रर्वतन’ कार्यक्रममार्फत फोहर व्यवस्थापनको काम सञ्चालन गरेको छ । उक्त कार्यक्रममार्फत फोहरबाट कम्पोस्ट मल उत्पादन गर्ने काम गरिएको छ । फोहरबाट मल उत्पादन र मललाई आम्दानीसँग जोड्ने गरी नगरपालिका अघि बढेको मध्यविन्दु नगरपालिका नगरप्रमुख भीमलाल अधिकारीले बताए ।

नगरपालिकाले दिगोरूपमा नगरभित्रको फोहरमैला व्यवस्थापनको कामलाई अघि बढाउन फोहरसँगै आम्दानीलाई जोडेर हिँडाएको उनको भनाइ छ । “फोहर व्यवस्थापन गर्दैगर्दा यसलाई दिगो बनाउन आम्दानीसँग जोड्ने योजनाअनुरुप काम अघि बढिरहेको छ, सोही योजनाअनुसार कम्पोस्ट मल उत्पादन जोडिएको हो”, उनले भने ।

नगरपालिकाले घरबाट उत्पादन हुने कुहिने फोहर तथा वनजङ्गलमा रहेका सुकेका पातबाट कम्पोस्ट मल उत्पादन थालेको छ । हालैमात्र विभिन्न समूहमा आबद्ध एक सय ४३ जनाले वनजङ्गलमा सुकेका पात सङ्कलन गरी नगरपालिकालाई बेचेर आम्दानीसमेत गरेका छन् । प्रतिकेजी पाँच रुपैयाँ ४० पैसासम्ममा पात खरिद गरी मल उत्पादन गरिएको छ । सुकेको पात, गाईभैँसीको गोबरको मात्रा मिलाएर मल तयार गर्ने गरिएको छ । पात सङ्कलनबाट केही भए पनि आम्दानी भएको र सामान्य घरखर्च चलाउन सहयोग पुगेको स्थानीय सीता पुरीले बताइन् । सङ्कलित पातसहित घरबाट उत्पादन हुने कुहिने फोहरबाट समेत मल उत्पादनको काम अघि बढेको छ । सुक्खा समयमा वनजङ्गलमा सुकेका पात सङ्कलन गर्दा वनमा हुने आगलागीका घटनामा कमी ल्याउनसमेत सहयोग पुग्ने अपेक्षा लिइएको छ ।

नगरले घरबाट फोहर वर्गीकरणलाई कडाइका साथ लागू गरेको छ । कुहिने र नकुहिने फोहर वर्गीकरणपछि घरबाटै फोहर व्यवस्थापनको काम हुने प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले बताए । “फोहर वर्गीकरण गर्नेबित्तिकै कतिपयले कुहिने फोहर आफैँ पनि व्यवस्थापन गर्ने गर्नुभएको छ, यसबाट नगरले व्यवस्थापन गर्ने फोहरमा कमी आएको छ”, उनले भने ।

गण्डकी प्रदेश सरकारको करिब रु दुई करोड १३ लाख र पालिकाको करिब ६४ लाखको लागतमा फोहरमैला व्यवस्थापनको कार्यक्रम अघि बढेको हो । कार्यक्रममार्फत फोहर व्यवस्थापन केन्द्र निर्माण, कम्पोस्ट मल तयार पार्ने उपकरणलगायतका सामग्री खरिद गरिएको छ ।

कुहिने फोहरबाट कम्पोस्ट मल तयार गर्नका लागि आवश्यक गोबरको व्यवस्थापनका लागि छाडा चौपाया व्यवस्थापनको कामसमेत सँगै अघि बढेको छ । यसले आवश्यक गोबर मलको माग पूरा हुने साथै छाडा चौपाया व्यवस्थापनको काममा समेत सहयोग पुग्ने कार्यक्रमका ‘फोकल पर्सन’ विवेक पोख्रेलले बताए ।

फोहर व्यवस्थापनका क्रममा उत्पादन गरिने कम्पोस्ट मल नगरभित्रका किसानलाई सहुलियत दरमा उपलब्ध गराइने योजना छ । समग्रमा कार्यक्रमले फोहर व्यवस्थापन, स्थानीय रोजगारी सिर्जना, छाडा चौपाया व्यवस्थापन, कम्पोस्ट मल उत्पादनलाई जोड्ने पोख्रेलले बताए । योसँगै उत्पादित कम्पोस्ट मलले कृषिमा रासायनिक मलको प्रयोगमा कमी ल्याउन, कृषि उत्पादन बढाउन र अग्र्यानिक उत्पादनलाई समेत सहयोग पुर्याउने उनले बताए । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

Techie IT