Techie IT
२०८२ वैशाख २५, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपाल‘रोयल ट्रेक’लाई प्रवर्द्धन गरिँदै

‘रोयल ट्रेक’लाई प्रवर्द्धन गरिँदै


गण्डकी । गण्डकी प्रदेशभित्रका विभिन्न पदमार्गमध्येको एक हो ‘रोयल ट्रेक’ । तत्कालीन बेलायती राजकुमार चाल्र्सले विसं २०३९ मा पदयात्रा गरेको यो पदमार्गसँगै प्रदेशमा विश्वकै १० उत्कृष्ट पदमार्गमध्येको अन्नपूर्ण चक्रीय पदमार्गदेखि धवलागिरि, मर्दी, सहस्राब्दी आदि चर्चित पदमार्ग छन् ।

तल्कालीन समयमा युवराज चाल्र्सले विजयपुरस्थित चाँपको चौरबाट पदयात्रा थालेका थिए । उनी पहिलो दिन विजयपुरमाथिको चिन्तेको डाँडामा पुगी रात बिताएको जनाइएको छ । दोस्रो दिन उनले कालिका, सौरे, लिपयानी, राम्चे, हुँदै स्याक्लुङको डाँडामा पुगी दोस्रो रात बिताएका थिए । तेस्रो दिन रुपाकोटको चिसापानीमा बास बसेका चाल्र्स बेगनास तालको जङ्गलमा चौथो रात बिताएर काठमाडौँ फर्किएको उल्लेख छ ।

युवराज चाल्र्सले पदयात्रा गरेको ‘रोयल ट्रेक’को गरिमा र महत्त्वलाई जोगाउनका लागि यसको प्रवर्द्धन र विकासलाई कास्कीको रुपा गाउँपालिकाले प्राथमिकतामा राखेको छ । पछिल्ला समयमा यसको प्रवर्द्धनमा पर्यटनसम्बद्ध सङ्घसंस्थाले पनि जोड दिँदै आएका छन् ।

हाइकिङका माध्यमबाट पोखरा आसपासका पर्यटकीय गन्तव्य, घरबास आदिको प्रवर्द्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो हाइकिङको ३६औँ शृङ्खला रोयल ट्रेक क्षेत्रको पचभैयाँ–रुपाताल हुँदै हात्तीमैतासम्म सम्पन्न गरेको संयोजक कृष्ण रानाभाटले जानकारी दिए ।

संरक्षण र प्रवर्द्धनको अभावमा पदमार्गहरू हराउँदै गएको वास्तविकतामा ऐतिहासिक महत्त्वको रोयल ट्रेकको महत्त्वलाई उजागर गर्ने लक्ष्यका साथ हामीले हाइकिङ सम्पन्न गरेको हौँ । विगत तीन वर्षदेखि क्लबले प्रत्येक महिनाको अन्तिम शनिबार हाइकिङ सञ्चालन गर्दै आएको उनले जानकारी गराए । पोखरामा रही विभिन्न सेवा, पेशा र व्यवसायमा आबद्ध ५० जनाभन्दा बढी व्यक्ति हाइकिङमा सहभागी भएको बताउँदै उनले यसबाट रोयल ट्रेक र यसको महत्त्व सम्बन्धमा सचेतना जगाएको उल्लेख गरे ।

पचभैयाबाट सुुरु गरिएको हाइकिङ रुपाताल, झोलुुङ्गेपुुल, भङ्गरा, जमनकुना, रुपाकोट रिसोर्ट हुँदै हात्तीमैता भ्यूटावरमा पुुगी सम्पन्न भएको थियो । रुपा गाउँपालिकाका प्रमुख नवराज ओझाका अनुसार यस पदमार्ग क्षेत्रको प्रवर्द्धन र विकासमा रुपा गाउँपालिकाले जोड दिएको छ । गाउँपालिकाले रुपातालको छेउबाट हात्तीमैतासम्म छ किलोमिटर सिँढीबाटो निर्माण गरेको उहाँले जानकारी दिए ।

पदयात्रासँगै धवलागिरि, अन्नपूर्ण हिमशृङ्खला आदिको रमणीय दृश्य एकसाथ अवलोकन गर्न सकिने यहाँबाट बेगनास, रुपा हुँदै फेवाताल, पोखरा तथा लेखनाथका दृश्यमा पर्यटक लोभिने गरेका छन् । तत्कालीन द्वन्द्वकालीन समयमा यो पदमार्ग सुनसान बनेको यहाँका स्थानीयवासी बताउँछन् ।

द्वन्द्वपछिका अवस्थामा पनि देशको राजनीतिक अस्थिरता, कोभिडको महामारी आदिले प्रभावित बनेको यहाँको पदयात्रा पर्यटनलाई बढाउने कुरामा गाउँपालिकाले सक्रियता देखाएको छ । रोयल ट्रेकको महत्त्वलाई उजागर गर्दै पर्यटकको आगमन बढाउन सकिएमा यहाँका स्थानीय उत्पादनले बजार पाउने र होटल तथा अन्य व्यवसायले गति लिने अपेक्षा गरिएको स्थानीय समाजसेवी एवं ध्रुवतारा युुवा क्लबका अध्यक्ष त्रिविक्रम केसीले बताए ।

यहाँको पर्यटकीय सम्भावना देखेर युवाहरूको सक्रियतामा हात्तीमैता भ्यूटावर रेष्टुरेन्ट एन्ड होमस्टे सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिए । समुद्री सतहबाट एक हजार तीन सय ५० मिटर उचाइ रहेको हात्तीमत्ता भ्यूटावर रहेको स्थानमा टेन्टमा प्रत्येक रात १५ जनासम्म बस्न सक्ने व्यवस्था मिलाइएको र होमस्टेमा अरु १५ बस्न सक्ने व्यवस्था छ ।

“पदयात्राका लागि आउने पर्यटकलाई गाइडको व्यवस्थासँगै विभिन्न तालिम तथा सेमिनारका लागि हलको पनि व्यवस्था गरेका छौँ”, उनले भने, “वनभोजका लागि आउने पर्यटकका लागि एक सय जना क्षमताको वनभोजस्थलको व्यवस्था पनि छ ।”

‘भ्यूटावर’ नजिकै मल्लकालीन समयदेखि पूजाआजा हुँदै आएको कालभैरव मन्दिर यहाँको अर्को धार्मिक महत्त्वको स्थल हो । मनले चिताएको पुुग्ने विश्वासका कारण मन्दिरमा टाढा–टाढाबाट दर्शनार्थीहरू आउने गरेको स्थानीयवासी रमेश गुुरुङले बताए । मन्दिरमा प्रत्येक वर्षको बडादशैँ र चैतेदशैँमा विशेष पूजाआजा हुने उनले जानकारी दिए । रोयल टे«कको ऐतिहासिकता र महत्त्वलाई उजागर गर्न सकिएमा पर्यटनबाट यस क्षेत्रको समृद्धि हासिल गर्न सकिने उनको भनाइ छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रेबिज लागेर १ जनाको मृत्यु

चितवन । रेबिज लागेर इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ । निजको भरतपुर अस्पतालमा उपचारका क्रममा

नेपालीको औषत आयु ६० वर्ष

काठमाडौँ । नेपालीको औषत आयु ६० वर्षसम्म रहेको राष्ट्रिय तथ्यांक कार्यालयको अध्ययनले देखाएको छ । २०७८ सालको राष्ट्रिय जनगणना अनुसार

भक्तपुरले जित्यो फुल कन्ट्याक्ट किक बक्सिङको उपाधि

भक्तपुर । भक्तपुरमा पहिलो पटक आयोजना गरिएको फुल कन्ट्याक्ट किक बक्सिङ प्रतियोगिता मा आयोजक टिम भक्तपुर नै समग्र विजेता बन्न

सुरक्षण मुद्रण उपकरण खरिदमा विकल पौडेल भ्रष्टाचारी ठहर

काठमाडाैँ । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई उपकरण खरिद गर्दा भ्रष्टाचार गरेको कसूरमा दोषी ठहर

मनसुनजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारी

काठमाडौँ । सरकारले मनसुनजन्य विपद् व्यवस्थापनको पूर्वतयारीसँगै विपदपछिको पुनर्निर्माणका लागि सक्रियता बढाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन

अब नौबिसे–नागढुङ्गा सडक १० दिनसम्म रातमा चार घण्टा बन्द हुने

काठमाडौँ । नागढुङ्गा–नौबिसे सडक खण्डअन्तर्गत नागढुङ्गा–पिप्लामोड खण्ड आजदेखि १० दिनसम्म रातको समयमा चार घण्टा बन्द हुने भएको छ । मर्मतका

Techie IT