मध्य अमेरिकालाई उपलब्ध सहायता कटौती गर्ने ट्रम्पको चेतावनी
- मंगलबार, ६ कार्तिक, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

मेक्सिको । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्य अमेरिकी राष्ट्रहरुलाई उपलब्ध गराइआएको सहायता रकम कटौती गरिने चेतावनी दिएका छन् । होन्डुरसका नागरिक अवैध आप्रवासीका रुपमा संयुक्तराज्य अमेरिका प्रवेश गर्न ठूलो समूह (क्याराभान) बनाएर अघि बढ्दै गएपछि अमेरिकी राष्ट्रपति ट्रम्पको यस्तो भनाइ आएको हो ।
संयुक्त राष्ट्रसङ्घले सात हजारभन्दा बढी मानिस संयुक्तराज्य अमेरिकाको सीमातर्फ अगाडि बढिरहेको जनाएको छ । मेक्सिकोमा पहिल्यैदेखि संयुक्तराज्य अमेरिका प्रवेशको मौका छोपेर बसेका समेत अहिले क्याराभानमा सामेल भएका छन् ।
ट्रम्पले संयुक्तराज्य अमेरिकाको सीमा छेउमै आउन लागेको उक्त क्याराभानका बारेमा दिनहुँझैं ट्वीट गरी अमेरिकी सीमाबललाई सचेत बनाइएको बताएका छन् । उनले क्याराभानमा सामेल कसैलाई पनि अमेरिका प्रवेश गर्न नदिने घोषणा गरेका छन् ।
“हामी अब ग्वाटेमाला, होन्डुरस र एल साल्भाडोरलाई दिइआएको बैदेशिक सहायता पूरै वा आंशिक कटौती गर्नेछौं, र त्यो बाहेक हामीसँग अर्को विकल्प छैन,” ट्रम्पले भने । सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा समेत आप्रवासी विरोधी नीतिको चर्को वकालत गरेका कारण राष्ट्रपति ट्रम्पलाई फाइदा पुगेको थियो । अहिले यही नोभेम्बरमा हुने मध्यावधि चुनावमा पनि यही मुद्दा प्रबल रुपमा उठ्ने देखिएको छ ।
“दुर्भाग्यवस, मेक्सिकोको प्रहरी र सैनिकले संयुक्तराज्य अमेरिकाको दक्षिणी सीमातर्फ अगाडि बढेको क्याराभानलाई रोक्न अक्षम भएजस्तो देखिँदैछ । अपराधीहरु र अपरिचित मध्यपूर्वका मानिसको पनि यहाँ घुसपैठ छ,” उनले थपे ।
मेक्सिकोका गृहमन्त्री अल्फन्सो नाभारेटले आफ्नो मुलुक कुनैपनि सरकारले उक्साएको आधारमा उत्तेजित नहुने स्पष्ट गर्दै संवादका लागि निरन्तर आग्रह गरिने बताए ।
मेक्सिकोका अधिकारीहरुले मेक्सिको–ग्वाटेमाला सीमानदीमा अलपत्र परेका आप्रवासीलाई रोक्न मेक्सिकोले भरमग्दुर प्रयास गरेको थियो तर उनीहरु नदीमा जोखिम मोलेर मेक्सिको प्रवेश गरेका थिए । नदी तर्नासाथ उनीहरु उत्तरतर्फ हिँडेका थिए ।
एकजना मेक्सिकाली अधिकारीले सोमबार अबेर सयौं होन्डुरसबासीलाई आप्रवासीका रुपमा मेक्सिको प्रवेश गर्न दिएको बताए ।
यो क्याराभान दक्षिण मेक्सिकोको चियापास हुँदै उत्तरी मेक्सिकोतर्फ अघि बढेको अधिकारीहरुले बताएका छन् । उनीहरुमध्ये धेरैजसो खाली खुट्टै हिँडेका वा बाटोमा भेटिने कार र ट्रकमा चढेका थिए । कतिपयका खुट्टामा प्लास्टिकका जुत्ता वा चप्पल थियो ।
अधिकारकर्मीहरुले करिब ३ हजार किलोमिटरको यो दूरी छिचोल्न उनीहरुलाई करिब एक महिना लाग्ने बताएका छन् । “हामीलाई प्रहरीले पक्राउ गर्ने हो कि भन्ने केही डर लागिरहेको छ । तर यदि उनीहरुले हामीलाई स्वदेश फर्काए भने पनि हामी प्रयत्न जारी राख्नेछौं,” नोमी बोबाडिल्लाले भने । ३९ वर्षीया बोबाडिल्ला होन्डुरसको सान पेड्रो सुलामा सरसफाइको काम गर्थिन् । उनी हिँड्न थालेको १३ दिन भइसक्यो ।
“मेक्सिकोले राम्रो व्यवहार गर्दैन भन्ने हामीलाई राम्रैसँग थाहा छ, र उनीहरुले हामीलाई होन्डुरस फर्काइदिन पनि सक्लान् । साथै, हामीलाई यहाँका लागूऔषध तस्करले अपहरण र हत्या पनि गर्नसक्ने बारे हामीलाई थाहा छ,” अर्का आप्रवासी हुँवा फ्लोरेले बताए । “तर हाम्रो देशमा योभन्दा अझ बढी त्रास छ, त्यसैले हामीले यसलाई निरन्तरता दिएका छौं ।”
आप्रवासीले सामना गर्नुपर्ने खतरा सोमबार नै देखिएको छ । क्याराभानमा सहभागी एक २५ वर्षीय व्यक्तिको हत्या भएको छ । चियापासका एक अधिकारीले एउटा सवारीसाधनमा लिफ्ट पाएका ती व्यक्ति शङ्कास्पद रुपमा सडकमै झरेको बताए । अधिकारकर्मीहरुले आप्रवासीमाथि मेक्सिकोले अभद्र व्यवहार गरेको आरोप लगाएका छन् ।
धेरैवटा अधिकारवादी समूहहरुले मेक्सिको सरकारले आप्रवासीलाई गैरकानुनी थुनामा राखेको र कानुनतः मेक्सिको प्रवेश गर्न वा निर्वासन चाहेका आप्रवासीलाई पक्राउ गरी मानवअधिकारको गम्भीर उल्लङ्घन गरेको बताएका छन् ।
मेक्सिकोको नयाँ गठन हुने सरकारमा प्रस्तावित विदेशमन्त्री मार्सेलो एब्रार्डले आप्रवासी नीतिमा महत्वपूर्ण परिवर्तन गर्ने बताएका छन् । आगामी डिसेम्बर १ मा बामपन्थी रुझानका आन्द्रेस मानुएल लोपेज ओब्राडोरले राष्ट्रपतिको पद बहाली गर्दै हुनुहुन्छ । उनले मध्य अमेरिकामा लगानी वृद्धिमार्फत आप्रवासीको प्रवाहमा न्यूनीकरणका लागि पहल गरिने बताए ।
केही अधिकारवादीहरुले ट्रम्पले क्याराभानलाई राजनीतिक लाभका लागि प्रयोग गरिरहेको आरोप पनि लगाएका छन् । “ट्रम्पलाई क्याराभानको डर होइन, उहाँले कङ्ग्रेसमा विजयी हुन क्याराभानको प्रयोग गरिरहेका छन्,” गत अप्रिलमा अर्को क्याराभानको आयोजना गर्नुभएका अधिकारकर्मी इरिनिओ मुजिकाले बताए। उक्त क्याराभान पनि ट्रम्पका लागि टाउको दुखाइ भएको थियो ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले क्याराभानका केही आयोजकको राजनीतिक महत्वाकाँक्षा रहेको भन्दै भत्र्सना गरेका थिए ।
अमेरिकी सहायता कटौती
मध्य अमेरिकामा अमेरिकी सहायतामा पछिल्ला वर्षहरुमा कटौती हुँदै आएको छ ।
सन् २०१६ मा ७५ करोड अमेरिकी डलर रहेको अमेरिकी सहायता गत वर्ष सन् २०१७ मा ६५ करोड ५० लाख मात्र रहेको थियो । ल्याटिन अमेरिकासम्बन्धी वासिङ्टन कार्यालयका अनुसार यस वर्षका लागि यस्तो सहायता ६१ करोड ५० लाख उपलब्ध हुनेछ ।
अद्यापि, होन्डुरसजस्ता मुलुकका लागि अमेरिकी सहायता महत्वपूर्ण रहने गरेको छ । गत वर्ष होन्डुरसले १८ करोड १७ लाख अमेरिकी डलर सहायता प्राप्त गरेको थियो । करिब १० अर्ब डलरभन्दा कमको वार्षिक बजेट रहेको होन्डुरसलाई यो सहायता अत्यन्त उपयोगी मानिन्छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
जग्गाको वर्गीकरण छिटो होस्ः भूमि व्यवस्था मन्त्रालय
- 20 minutes ago

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय तहलाई जग्गाको वर्गीकरण यथाशक्य छिटो गर्न सुझाव दिएको छ । स्थानीय तहले जग्गाको वर्गीकरण नगरेका कारण जग्गा बेचबिखनलगायतका कारोबार र हक हस्तान्
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
- 37 minutes ago

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान भएको भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफ
टर्कीमा पुनः भूकम्पको धक्का महसुस
- 42 minutes ago

एजेन्सी । टर्कीमा (फेब्रुअरी ७) पुनः भूकम्पको धक्का महसुस गरिएको छ । टर्कीमा २४ घण्टामा चौथो पटक पराकम्पन गएको मिडिया रिपोर्टमा उल्लेख छ ।
पर्यटन
पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
जीवनशैली
ध्यान गर्नुका फाइदाहरु

पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ । धेरै मानिसहरूलाई यसबाट स्वास्थ्य लाभहरू प्राप्त हुनेबारे थाहा भएसँगै ध्यानको महत्व बढ्दै गएको छ । यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा लिइन्छ ।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।