Techie IT
२०८२ साउन ३, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपाललुम्बिनी प्रदेशमा भारी वर्षाः तटीय क्षेत्रमा सावधानी र सतर्कता अपनाउन आह्वान

लुम्बिनी प्रदेशमा भारी वर्षाः तटीय क्षेत्रमा सावधानी र सतर्कता अपनाउन आह्वान


लुम्बिनी । रुपन्देहीसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा गएरातिदेखि परेको भारी वर्षाका कारण जनजीवन प्रभावित भएका छन् । रुपन्देही, पाल्पा, नवलपरासी, प्यूठान र आसपासका स्थानमा भारी वर्षा मापन भएका छन् । भारी वर्षाका कारण तिनाउ नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रका बस्ती प्रभावित हुनसक्ने जोखिम बढेको जनाइएको छ ।

जल तथा मौसम विज्ञान विभागले आज बिहान सार्वजनिक गरेको सूचनाअनुसार तिनाउ नदी बाढीमापन केन्द्र बुटवलमा जलसतह खतरा तहभन्दा निकै माथि पुगेको र यो क्रम बढ्दो रहेको छ । त्यसैले बाढीको उच्च जोखिम हुने स्थान तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुनसक्ने होचा स्थानका बासिन्दालाई अपराह्नसम्म सुरक्षित स्थानमा रहन सूचना प्रवाह गरिएको छ । नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रामा निस्किनेलाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

बुटवल मजुवास्थित तिनाउ नदीको बीचमा आज बिहान दाउरा खोज्न र माछा मार्न गएका पाखापानीका मीनबहादुर गाहा र दानव नदीमा फसेका अर्का एक पुरूषलाई नगर प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा सकुसल उद्धार गरिएको छ ।

तिनाउमा नदीको सतह बढेकाले दाउरा, माछा मार्ने उद्देश्य वा खोला हेर्ने उद्देश्यले नजान सबैमा अनुरोध गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । उनले नदी किनारमा विपद्को टोली र नगर प्रहरी खटाएर सावधानी अपनाइएको बताए । नदी किनार क्षेत्रमा नगर प्रहरीले माइकिङ गर्दै सावधानी र सतर्कता अपनाउन आह्वान गरेको छ ।

यस्तै जिल्लाको सैनामैना–८ रामापुरमा डुबानमा परेको स्थानीय शङ्खमुनि थारूको घर र सोही वडामा रहेको सतचिन्तन प्रतिष्ठानको भवन डुबानमा परेको छ । स्थानीय इनगुरिया नदीमा आएको बाढीले घर तथा प्रतिष्ठनको भवन डुबाएको हो । सैनामैना–८ का वडाध्यक्ष बुद्धिराम चौधरीको नेतृत्वमा इलाका प्रहरी कार्यालय सालझण्डीको प्रहरी टोली र स्थानीय संयुक्तरूपमा उद्धारमा जुटेका छन् । हालसम्म कुनै मानवीय क्षति नभएको स्थानीय नागरिक अगुवा लेखनाथ गैरेले जानकारी दिए ।

यसैगरी भारी वर्षाका कारण दाङका प्रमुख नदी राप्ती र बबईमा एक्कासी बाढी आउन सक्ने खतरा रहेको जनाउँदै सतर्क रहन अनुरोध गरिएको छ । जल तथा मौसम विज्ञान विभागले सार्वजनिक सूचना जारी गर्दै पछिल्लो समयमा भारी वर्षा भएका कारण राप्ती र बबई नदीलगायत अन्य खोलाको जलसतह बढ्न सक्ने भन्दै सतर्क रहन अपिल गरेको हो ।

दाङको बगासोगी, लालमटिया, घोराही, शुक्रबारे, भालुवाङ, लमही, रातामाटा र प्यूठानको विजुवार, मारीखोला, हंसपुर र आसपासका धेरै स्थानमा भारी वर्षा भएको जनाएको छ । दाङ र प्यूठानका खहरे खोलामा समेत बाढी आउन सक्ने भएकाले दिउँसोसम्म सतर्क रहन आग्रह गरिएको हो ।

वर्षाका कारण मुख्य सडक अवरुद्ध
अबिरल वर्षाका कारण पहिरो खस्दा पाल्पा, अर्घाखाँची, प्यूठानलगायतका जिल्लामा सडक अवरुद्ध भएका छन् । पहिरो खसेका कारण बुटवल–पाल्पा, गोरुसिङ्गे–सन्धिखर्क र भालुवाङ–प्यूठान सडक अवरुद्ध भएका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–३ हेडबक्स र झुम्सा नजिकै पहिरो खस्दा बुटवल–पाल्पा सडक बिहानैदेखि दुई ठाउँमा अवरुद्ध छ ।

यस्तै अर्घाखाँचीको शीतगङ्गा–१२ बसेनी र सन्धिखर्कको डम्पिङसाइडमा पहिरो खस्दा गोरुसिङ्गे–सन्धिखर्क सडक दुई ठाउँमा अवरुद्ध भएको छ । यस्तै प्यूठानको माण्डवी–१ गर्जेनीमा पहिरो खस्दा भालुपाङ–प्यूठान सडक अवरुद्ध भएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ दाना स्थित रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै गएको छ । चिन र

दोषी ठहर भएर फरार रहेका ३१ जना प्रतिवादी पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा विभिन्न घटनामा दोषी ठहर भएर फरार रहेका ३१ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । अर्घाखाँचीका

पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा ३ करोड ११ लाख भेटी…

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा एक वर्षको अवधिमा ३ करोड ११ लाख बढी भेटी सङ्कलन भएको छ ।

भृकुटी कागज कारखाना १४ वर्षदेखि पूर्णरुपमा बन्द

नवलपरासी । नवलपरासीको गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना विगत १४ वर्षदेखि पूर्णरुपमा बन्द हुँदा कारखानाका भवनहरु भत्किएर भग्नावशेषमा परिणत हुँदै

पर्वतमा धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै

पर्वत । पर्वतका धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै गएको छ । विगत पाँच वर्ष यता धान खेती हुने क्षेत्रफल

मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जना पक्राउ

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ

Techie IT